काठमाडौं । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसले पश्चिम नेपालका भूकम्प पीडितको राहत, उद्धार र पुनर्स्थापनाको नेतृत्व प्रदेश र स्थानीय सरकारलाई दिनुपर्ने बताएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कांग्रेसले संघीय सरकारले अनुगमन र सहजीकरण गर्ने तर राहत, उद्धार र पुनर्स्थापनाको कामको नेतृत्व गर्ने प्रदेश सरकार र स्थानीय सरकारलाई दिन उपयुक्त हुने सुझाव दिएको हो ।
राहत र उद्धार कार्यक्रममा सहयोग गर्न स्वदेश तथा विदेशमा रहेका नेपालीहरू र संघ, संस्थाहरूलाई अपिल गर्न पनि सरकारलाई सचेत गराइएको पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।
प्रभावित क्षेत्रमा सुत्केरी, साना बालबालिका, वृद्धवृद्धा र अपांगता भएका नागरिकहरूले झनै जटिल स्थिति सामना गर्नुपरेको तथ्य दृष्टिगत गरी तिनको पहिचान गरेर अस्थायी आवास, खाद्यन्न, लत्ताकपडा, औषधिको अलग र विशेष व्यवस्थापन गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
पार्टी प्रचार विभाग प्रमुख विश्वकर्माले भूकम्पमा घाइते भएकाहरूको सम्पूर्ण उपचार राज्य कोषबाट गर्ने व्यवस्थालाई राज्यको प्राथमिक जिम्मेवारीका रूपमा व्यवस्थित ढंगले सम्पादन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । राहत वितरणको काममा एकद्वार प्रणालीबाट गर्न पनि सरकारलाई आग्रह गरिएको छ ।