काठमाडौं । चलचित्र ‘लुट’, ‘चपली हाइट’, ‘पशुपतिप्रसाद’, ‘कबड्डी’, ‘जात्रा’, ‘छक्का पञ्जा’, ‘प्रेम गीत’लगायत सिनेमा बक्सअफिसमा ‘हिट’ भए । यी सिनेमाका सिक्वेल पनि बनाइयो । तर, यिनका दोस्रो सिरिज एवं सिक्वेलले सफलता प्राप्त गर्न सकेनन् । जति पहिलो सिरिजले वाहवाही पाए त्यति नै दोस्रोबाट मेकरले गाली खाए ।
व्यापारिक रूपमा दोस्रो सिरिजले दर्शक र समीक्षक दुवैको मन जित्न सकेनन् । तर, पहिलो सिरिजका कारण लोभलाग्दो हाइप बनेकाले दोस्रोले इनिसियल बिजनेस राम्रो गर्यो । पहिलो चलचित्र रिलिज गरिँदाभन्दा मल्टिप्लेक्सको संख्या बढ्नु पनि बक्सअफिस कलेक्सन राम्रो देखिनुको अर्को कारण हो ।
‘लुट’, ‘चपली हाइट’, ‘पशुपतिप्रसाद’, ‘कबड्डी’, ‘जात्रा’, ‘छक्का पञ्जा’, ‘प्रेम गीत’का दोस्रो सिरिज पहिलाको तुलनामा मेकिङका हिसाबले केही राम्रा अवश्य छन् । तर, समग्रमा यी चलचित्रका दोस्रो सिरिज कमजोर भए । कारण हो, मेकरमा देखिने उच्च आत्मविश्वास र कम मिहिनेत ।
पहिलो चलचित्रले बनाएको लोकप्रियताको जगमा नै सिरिज चल्छ भनेर मेकरमा देखिने आत्मरति र उच्च आत्मविश्वासले दोस्रो सिनेमा बिग्रिने गरेका छन् । जबकि, दोस्रो चलचित्र मेकरको अनुभवका हिसाबले केही परिपक्व हुनुपर्ने हो । सिनेमा बनाउँदा पहिलोमा जस्तो दोस्रोमा बजेट/लगानीको समस्या हुँदैन । टिम पनि आफूअनुकूल बनाउन सक्ने ‘हैसियत’ हुन्छ ।
‘लुट’, ‘जात्रा’, ‘छक्का पञ्जा’ क्रमशः निश्चल बस्नेत, प्रदीप भट्टराई र दीपाश्री निरौलाका पहिलो सिनेमा हुन् । उनीहरूकै पहिलोको तुलनामा दोस्रो चलचित्र कमजोर भए ।
एक भेटमा निर्देशक रामबाबु गुरुङले भनेका थिए, ‘मैले जे गर्दा पनि हुँदो रहेछ भनेर मेकरले अहंकार पाल्यो भने त्यो नै पतनको बाटो हो । यो कुरा म स्वयंलाई पनि थाहा छ ।’
पहिलो चलचित्र दर्शकले मन पराएर हाइप क्रिएट गरिदिएपछि सकारात्मक ऊर्जा प्रदान गर्ने र त्यो मेकरका निम्ति राम्रो पक्ष भएको उनको भनाइ छ । विगतको भन्दा राम्रो गर्छु भन्दा कहिलेकाहीँ पहिलेको भन्दा पनि नराम्रो हुने गरेको सत्यलाई नजरअन्दाज गर्न नसकिने रामबाबु बताउँछन् । चलचित्र टिमवर्क भएकाले सबैले एउटै ‘स्प्रिट’मा काम नगर्दा पनि बिग्रिने गरेको आफूसँग अनुभव रहेको उनी सुनाउँछन् ।
मेकरको लापरबाहीलाई पनि नजरअन्दाज गर्न सकिँदैन । नेपालका ‘टप–टप’ मेकरसँग उनीहरूका सिरिजमै काम गरेका अभिनेता विपीन कार्कीको यस्तै अनुभव छ । पुरानै अस्थिपञ्जरमा मासु भर्ने काम भइरहेको उनले केही समय अगाडिको भेटमा बताएका थिए ।
‘सिक्वेल भनेको पुरानै अस्थिपञ्जरमा आवश्यकताअनुसार धेरथोर मासु भर्ने काम मात्रै हो । ज्यान ठूलो बनाउने कि सानो बनाउने मात्रै हो । मेरुदण्ड र मुहार त्यही हो, बाँकी अलिअलि थपथाप मात्रै गर्ने हो,’ उनले पंक्तिकारसँग भनेका थिए, ‘यसले क्रिएसन मर्र्दै जान्छ । आर्टिस्टिक वेबाट हेर्दा यो नराम्रो हो । मलाई मन नपर्ने ट्रेन्ड हो ।’ उनको यो भनाइले पनि मेरकले सिक्वेलमा मिहिनेत नगर्ने गरेको पुष्टि हुन्छ ।
‘लुट’को छायांकन गर्दा धपेडीले निर्देशक निश्चल बस्नेत सेटमै ढलेका थिए । त्यसयताका चलचित्रमा उनले त्यही तहमा मिहिनेत गरे ?
‘पशुपतिप्रसाद’ १३ दिनमा खिचिएको सिनेमा थियो । ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ ५७ दिन लगाएर खिचियो ।
चलचित्र ‘कबड्डी’ फाइभ–डीमा खिचिएको थियो । त्यो समय मूलधारका सिनेमा बनाउने मेकरले फाइभ–डीमा खिचिएकालाई चलचित्रको दर्जामै राख्दैन थिए । यसरी अभावमा ‘तानतुन’ गरेर बनाइएका सिनेमा दर्शकले रुचाउने तर पर्याप्त बजेट र समय लगाएर निर्माण गरिएका सिनेमा किन मन पराइँदैन ? अथवा, राम्रा हुँदैनन् ?
कुनै–कुनै कथा यस्ता हुन्छन् जसलाई ‘र’ देखाउँदै राम्रो हुन्छ, विश्वसनीय हुन्छ । त्यसलाई साजसज्जासहित झकिझकाउ गर्दा राम्रो देखिँदैन । यसको पछिल्लो उदाहरण ‘पशुपतिप्रसाद–२ : भष्मे डन’ हो ।
पहिलो सिनेमा बनाउँदा मेकरमा जुन जुनुन हुन्छ, त्यो दोस्रोसम्म आइपुग्दा रहेको देखिँदैन । तन, मन र धन खर्चिएका सिनेमा मात्र राम्रा हुन्छन् । धन मात्र खर्चिएका सिनेमा सुकिलामुकिला त देखिएलान्, तर राम्रा हुँदैनन् । कमर्सियल भनेर बनाइएका सिनेमाले नै बक्सअफिसमा उल्लेख्य ग्रस कलेक्सन गर्न सकेका छैनन् । हाइपका कारण हुने ‘इनिसियल बिजनेस’ छुट्टै पाटो भयो ।
अर्को कारण पनि छ दोस्रो सिनेमा हिट नहुनुको । त्यो अभिनेता विपीनको तर्कसँग केही नजिक छ । पहिलो सिनेमा निर्माणको फर्मुलामै दोस्रो बनाउनु चलचित्र राम्रो नहुनुको अर्को कारण हो । पहिलो बनाउँदा मेकरले यो कथा र चलचित्र छैन, त्यसैले यो बनाउँदा राम्रो हुन्छ भनेर नयाँ विषय र शैलीमा मिहिनेत गर्छ । त्यसले सकारात्मक नतिजा पनि दिन्छ । त्यही फर्मुलामा बनाइएको अर्को सिनेमा दर्शकले किन हेर्ने ? पुरानै कन्टेन्टमा किन खर्च गर्ने दर्शकले ? अहिले भइरहेको त्यही नै हो । पहिलो सिनेमा चल्यो, त्यस्तै अर्को बनाउँदा ‘सेफ जोन’मा बसिन्छ भन्ने मेकरमा विश्वास छ । यो भ्रम हो ।
मःम खाँदा मःमकै स्वाद आउँछ, चाउमिनको होइन । एउटै ‘फर्मुला’मा बनाइएका सिनेमामा ठूलो भिन्नता हुँदैन । मेकर एउटै भए पनि दर्शकले उसका हरेक चलचित्रमा नयाँपन खोज्छ । पैसा तिरेर हेर्ने दर्शकको त्यो अधिकार पनि हो ।
मेरो ट्रेडमार्क नै यही हो भनेर पहिलो चलचित्रकै ब्याज दोस्रोमा खान खोज्ने प्रवृत्ति मेकरमा हाबी छ । बुझ्नुपर्ने कुरा के हो भने साग र फर्सीको तरकारी पकाउने फर्मुला बेग्लै हुन्छ । यसरी पकाउँदा साग मिठो भयो भनेर त्यसैगरी फर्सीको तरकारी पकाए त्यो खानयोग्य होला ? शतप्रतिशत हुँदैन ।
हरेक सिनेमा शून्यबाट सुरु हुन्छ । हरेक चलचित्र आफैैँमा नयाँ हो । स्क्रिप्ट लेखनदेखि रिलिजसम्मको ‘प्रोसेस’ नै नयाँ हुन्छ भने किन पुरानै अस्थिपञ्चरभित्र मासु थपथाप गरिएको चलचित्र हेर्छन् दर्शक ?
पहिलो चलचित्र बनाउँदा मेकरले स्क्रिप्टमा साथीभाइ, अग्रज र जानकारसँग ‘फिडब्याक’ लिन्छ । दोस्रो सिनेमामा उसले कथा र स्क्रिप्टमा कसैको ‘फिडब्याक’ आवश्यक ठान्दैन । त्यसैले पहिलोको तुलनामा दोस्रो चलचित्र कमजोर बन्छ ।
त्यसो त मेकरमा तीव्र इच्छाशक्ति नभए सिक्वेलले सिर्जनशीलता नै मार्छ । सिक्वेल बनाउन लालायित हुनु आफैँमा ‘कम्फर्ट’ जोनमा बस्न खोज्नु हो । सिक्वेलमा सिर्जशीलता देखाउने काम त्यति धेरै हुँदैन । यो अडियन्स क्यास गर्ने राम्रो विकल्प मात्र हो ।
अक्सर विदेशमा निर्देशकको करिअर ओरालो लाग्ने बेलामा सिक्वेल बनाएर पुनः माथि उठ्ने भर्याङका रूपमा यसलाई लिने गरेको पाइन्छ । निर्देशक, निर्माता र प्रोडक्सन ओरालो लागेका बेला पुनः पिकअप लिन सिक्वेलको सहारा लिने गरेको देखिन्छ ।
‘इन्डस्ट्रीको फाइनान्सियल ग्रोथका लागि सिक्वेल राम्रो हुन्छ । तर, फिल्ममेकरको ग्रोथका लागि भने यो अवरोध हो,’ एक भेटमा निर्देशक मीन भामले भनेका थिए ।
सिक्वेल भन्नेबित्तिकै मेन आइडिया, थिम, प्लट, परिवेश, ब्याकग्राउन्ड स्कोर अक्सर सबै पुरानो हुने भएकाले नयाँ काम देखाउने ठाउँ कमै हुन्छ । त्यसैले पैसा कमाए पनि सिर्जना गर्ने व्यक्तिका निम्ति सिक्वेल मृत्युसरह हो ।
पहिलो चलचित्र जहाँ सकिएको छ, त्यहीँबाट दोस्रोको कथा समानान्तर रूपमा अगाडि बढाउने सिक्वेलबाट धेरै नयाँ काम हुने सम्भावना पनि कमै हुन्छ । त्यसैले यसले मेकरको सिर्जनशीलता मात्र मार्दैन, चलचित्र आफैँमा राम्रो बन्ने सम्भावना पनि न्यून हुन्छ ।