site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राज्यको शक्ति राहत र पुनर्निर्माणमा केन्द्रित गरौँ, राहतमा हुने दुरुपयोग रोक्छौँ : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत्तिलाई पुनर्निर्माणको महत्वपूर्ण अवसरका रूपमा सदुपयोग गर्नुपर्ने बताएका छन् । 

जाजरकोट र रुकुम (पश्चिम)मा गएको विनाशकारी भूकम्पबारे छलफल गर्न आइतबार बसेको विपद् व्यवस्थापन जोखिम न्यूनीकरण  तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औँ बैठकमा प्रधानमन्त्रीले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माण प्रभावकारी बनाउनेतर्फ गम्भीर हुन सबैलाई निर्देशन दिए । 

“भूकम्पपछि सबै दल, संघीय सरकार र विभिन्न निकायहरू, प्रदेश सरकार र स्थानीय सरकारहरूले लिएको पहलका निम्ति सबैमा धन्यवाद व्यक्त गर्दछु,” उनले भने, “हिजो हामीले खोज, उद्धार र उपचारको काम गर्नुपर्थ्यो, हामीले त्यो काम मूलभूत रूपमा पूरा गरेका छौँ । अब राहत र पुनर्स्थापनातर्फ केन्द्रित हुनुपर्छ ।” 

प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि राहतमा अधिकतम पहल गर्नुपर्ने बताए । 

“तीन दिन हामी राहतका निम्ति अधिकतम राम्रो गर्न पहल गरौँ । पुनर्स्थापना प्रभावकारी बनाउनुपर्छ । त्यसका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचना चाहिन्छ,” उनले भने, “भइरहेको ऐन, विधि र संरचनाले पुनर्निर्माणको काम प्रभावकारी देखिएको छैन, विगतको अनुभवको पनि हामीले राम्रो समीक्षा गर्नुपर्छ । आउने दिनमा थप प्रभावकारी बनाउने गरी हामीले काम गरौँ ।” 

उनले यस पटक राहतमा एकद्वार प्रणाली अपनाइने बताए । राहतमा हुने दुरुपयोग रोकिने प्रधानमन्त्रीको भनाइ छ ।

“यसपटक एकद्वार प्रणालीबाट जान्छौँ । जसलाई जे मन लाग्छ, त्यो गर्न दिँइँदैन । राहतमा हुने दुरुपयोग रोक्छौँ । केन्द्र, प्रदेश र स्थानीय सरकारमार्फत मात्र राहत दिने स्थिति बनाउँछौँ,” प्रधानमन्त्रीले भने, “कहिलेकाहीँ सरकार निरीह भएको विगतको अनुभव छ, यसपटक त्यसलाई छुट दिँदैनौं । यसपटक आवश्यकताका आधारमा सबै पीडितलाई समान व्यवहार गर्ने नीति लिन्छौँ ।”

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro