
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ ।
मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेट मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले तेस्रो ओभरमा पहिलो विकेट गुमाएको हो । नेपालका ओपनर कुशल भुर्तेललाई यूएईका निलान्स केशवानीले मुहम्मद वसिमबाट क्याच गराए । भुर्तेलले टिमको खातामा ११ रन थपे ।
जारी खेलको तेस्रो ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर २६ रन बनाएको छ । त्यसअघि टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको थियो ।
आजको खेलमा जित निकाल्ने टिम प्रतियोगिताको फाइनलसँगै आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने ट्वान्टी–२० विश्वकपमा छनोट हुनेछन् ।