
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिमा सोमबार सांसदहरूले निर्माण व्यवसायीको ढिलासुस्तीले नागढुंगा–मुग्लिन सडक खण्डमा सर्वसाधारणले बर्सेनि दुःख पाउने गरेको बताएका छन् ।
सरकारले समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई म्याद थपेको भन्दै जनताले सास्ती भोग्नु परेको सांसदहरूको भनाइ छ ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काम नगर्ने निर्माण व्यवसायीलाई सरकारले सम्मान गरेजसरी समय थप्दै जाँदा जनताले सास्ती भोग्नु परेको बताए ।
“अहिले पनि नागढुंगा–मुग्लिन सडक खण्डमा धुलोले हिँडिसक्नु छैन । यो मात्र हैन चक्रपथको पनि हालत त्यस्तै छ । काम नै नगर्ने निर्माण व्यवसायीलाई सरकारले किन दण्ड तथा सजाय गर्दैन ?,” उनले भने, “वर्षौसम्म एउटा योजना सम्पन्न हुँदैन कारण के हो ? यस्ता समस्या हल गर्न सकिँदैन ? त्यसका लागि हामीले कानुन नै पो संशोधन गर्नुपर्ने हो कि ? के हो ?”
त्यस्तै, समितिका सभापति दीपकबहादुर सिंहले पनि एउटा सडक आयोजना वर्षौंदेखि सम्पन्न नहुँदा सर्वसाधारणको भान्सामा धुलो धुवाँ जाने गरेको बताए । यसलाई दीगो रूपमा समाधान खोज्न पनि उनले मन्त्री प्रकाश ज्यालासँग आग्रह गरे ।
“वर्षाैंदेखि एउटै सडक आयोजना निर्माण हुँदा पनि समस्या निम्तिएको छ । राजमार्ग छेउछाउका जनताले सास्ती पाएका छन् । यसको दिगो समाधान के हुन सक्छ ? खोज्नु पर्यो । भत्काउँदै बनाउँदै गर्ने सडक बनाएर भएन । टिक्ने खालको सडक बनाउनु पर्यो,” उनले भने ।
मन्त्री ज्यालाले नागढुंगा–मुग्लिन–पोखरा सडकको अनुगमन गरेर अहिले देखिएका समस्याको समाधान गर्न लाग्ने बताए ।
कतिपय निर्माण व्यवसायीले समयमा काम नगर्दा समस्या निम्तिने भए पनि तत्कालै कारबाही गर्न सक्ने अवस्था नरहेको उनले बताए । त्यसका लागि अहिलेको सार्वजनिक खरिद ऐनलाई खारेज गरेर अर्काे ऐन लागु गर्न आवश्यक रहेको उनले बताए । त्यसका लागि ड्राफ्ट तयार भएको उनको भनाइ छ ।