site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अनि...?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

हो, कथा भन्ने त म, तर तपाईं सुन्ने, पढ्ने–कथाको मजा, स्वाद वा यस्तै अरू जुनसुकै कुरा पनि पाउनेले– अलि मलाई सहायता दिनुभो, कहानी भन्दाभन्दै थाकेको वा कतै रिक्त स्थानमा भन्न नसकिने अक्षमताले कथाप्रवाह थामिन जाला कि जस्तो बेलामा दुई–चार वाक्य जोडिदिनुमा तपाईं पनि सहायक हुनुभो भने, कुनै बाधा पर्न त जाओइन !

सुन्नुहोस्, त्यही तपाईंको छिमेकमा नै तपाईंको घरभन्दा, चार–छ, घर, परको घरमा बिहा हुने तरखर भइरहेको छ । भइरहेको के, बिलकुल तयारी नै भइसकेको छ अर्थात् बाँकी छ भने, त्यही शास्त्रीय क्रिया, सामाजिक घोषणा; पाणिग्रहण र भोज–उत्सव ।

घरपट्टीलाई चिन्नुभएकै होला ! अलिक परै भए पनि छिमेकी त हुँदै हुन् । उनै, साहु भने पनि वा जे भने पनि–रामध्वज नाउँ भएका, मझ्यौला जिउडालका र तीन सय पैँसट्ठी दिने उनन्चास वर्षहरूलाई पचाइसकेका मानिस !

KFC Island Ad
Dabur Nepal
NIC Asia

होइन, कुनै नराम्रो कुरा तपाईंसित स्वीकार गराउन चाहन्नँ । तपाईंलाई पनि थाहा छ, मलाई पनि थाहा छ । फरक केही छ भने त यति मात्रै कि म भनिरहेको छु र तपाईंले सुनि–बुझिरहे पनि अझसम्म –नगण्य–स्वाभाविक भएकाले– एउटा बिहा जस्तो कुरालाई ‘घटना’ भनेर त्यतातिर नजरै पुरÞ्याउनुभएन । यसैले त तपाईंको सहायताको खाँचो पर्न गयो ।

भनि त म रहेकै छु, अलि धेरै प्रयत्नपूर्वक चियाएकाले मेरो जानकारी पनि विशेष छ र तपाईं पनि एकदम अनभिज्ञ हुनुहुन्न । यसले आफ्नै तर्फबाट मात्रै नभनेर तपाईंसित चर्चा गर्न थालेको हूँ ।

Royal Enfield Island Ad

न आतिनोस् न ! भन्ने सुन्ने कुरा लामो छैन । उनै रामध्वजकी छोरी रत्नमायाको बिहा छ । नरदेवी हो कि उतैतिरका कुनै टोलबाट जन्ती आउने रे । रामध्वज मानिस पुराना भए पनि पढेलेखका हुन् ।

म्याट्रिक उनले पास गरेको बेलामा अचेलका ‘एम. ए.’ भन्दा पनि बढ्ता ज्ञानी गनिन्थे र निकै मान–सम्मानपूर्ण दृष्टि उनमा पर्दथे । पढेलेखेर पनि धर्म–कर्म नमान्ने नभएर निष्ठापूर्वक पूजापाठ, गृहस्थ–कर्म गर्ने र धरैजसो किताब, कथाहरू पनि पढ्ने, कलकत्ताका नाचहरू पनि राम्ररी बुझेर हेर्ने मानिस भई आज उनले उनन्चास वर्ष बिताए ।

‘शिक्षित’ र ‘सद्’ दुवै ! शिक्षाले पनि सबै चलिरहेको मान्यता बढाएर शुद्ध सामाजिक सदस्य, चारैतिरका आँखामा बुज्रुक !

तर एउटा कुरा कुन्नि के भएर कस्तो भयो, मैले त बुझ्न सकिनँ, तपाईंले सके बुझ्न सक्नुभएको छ कि भन्न सक्तिनँ ।

एकदम मान्य रूपमा दुई–तीन बिहा गर्ने चाला नै भए पनि –शिक्षित भएपछि– एउटी दश–एघार वर्षकी छोरीलाई छोडेर मर्न गएकी स्वास्नीपछि रामध्वजले बिहा किन गरे ? प्रथाले उनीसित बिहा गर्नलाई प्रार्थना गर्न गएको त होओइन ! बिचमा छोरी र शिक्षा पनि छ । फेरि बिहा गर्ने आवश्यकता ?

होला, तपाईंकै भनाइ ठिक होला । छोरा नभएर कुलको उद्धार हुने कसरी ? साथै अपूतोका प्रति आउने स्वाभाविक उपेक्षा, रामध्वज जस्तो दुनियाँको बराबरको तहमा चिप्लिने मानिसलाई, सह्य हुन्यै भएन होला । भो, जान दिनुहोस् यी कुरा ।

एउटा अर्को कुराको पनि शंका छ । छोरीलाई ‘माया’ भनेर त्यतिको प्यार किन गरेको ? के छोराको प्रभाव छोरीबाट पूरा गरेको ? तर त्यति मात्रै कहाँ ! उसलाई पढाउने, उसलाई लेखाउने, भानुभक्तको रामायणका साथै कथा–कहानीको किताब पनि दिने !

अझ काशीमा बस्ताखेरि त हिन्दी बोली पनि सिकिसकिछ ! ट्याप्प ट्याप्प हिन्दी किताबमा भएका जम्मै कुराहरू निर्धक्कसित टिप्न सक्ने ! यी सबै त रामध्वज जस्तालाई स्वाभाविक थिएन ।

छोरीको यति माया गरेर यस्तो पारिदिनु...! ओहो ! आश्चर्य मान्नुभयो ? होइन, म सबै कुरा राम्ररी नबुझेर छोड्छु कहाँ र ? म नै बताइदिन्छु सुन्नुहोस्— रामध्वज सामाजिक मानिस । आचार–विचार, धर्म–कर्मका पक्का । हरेक प्रकारका उद्विग्नता र जीवनको निश्चितपनामा बाधा, व्यतिक्रम आउनै नदिने मानिस हुन् । तर यसमा उनको दोष नै के छ र कि रत्नमाया पढिलेखिसकेकी रहिछ !

उनले आफ्नो जीवनमा त्यत्तिको निर्विघ्नता र सहजता त पाए–आफ्नो दुनियाँदारीले, दुनियाँका प्रतिको नियमितताले । किन्तु उनले आखिरमा थाहा त यही नै पाए कि ‘म शिक्षितै भएर पो यतिको बुझ्ने भई आरामसाथ जीवन–क्रिया चलाइरहेको छु ।’

यसैले शिक्षाकाप्रति उनमा कुनै उपेक्षाको भाव त हुनै सक्ने थिएन । तर कुनै अंशमा उपर्युक्त कुरा ठिक भए पनि, यही पक्का पनि हो, यो कुरा होइन ।

रत्नमायाको पढाइ लेखाइमा यदि कदाचित्, कहिल्यै पनि अलिकति बाधा जस्तोले चियाएको भए, रामध्वजको शिक्षाप्रियताले उहाँ कुनै काम गर्न सक्तैनथ्यो । किन्तु गत उनन्चास वर्षमा रामध्वजले आफ्नो ढाँचाकाँचाले र भाग्यको सफलताले कुनै काममा बाधा भन्ने कुराको चालै पाएका रहेनछन् ।

अतः रत्नमायाको विषयमा मुख्य कुरा यही हो । वस्तुतः रामध्वज बाधा हटाउने मानिस होइनन् कि स्वीकृतिबाटै बाधा पचाउनुमा उनको शिक्षा सहायक भएको उनको गत उनन्चास वर्ष हो । नत्रभने रामध्वजले पत्नी मरेपछि सन्तान वा कुलोद्धारका निम्ति मात्रै बिहा गर्नुमा उनको शिक्षा सहायक कताबाट हुन सक्थ्यो ?

अब अगाडि सुन्नोस् । थाहा पनि पाउनुभएकै होला । त्यही रत्नमायाकै कुरा ! बुझ्नुभएन के ? त्यही युवक, रामध्वजको घरको पल्लोपट्टिको घरमा बसेको । उसैसित रत्नमायाको प्रेम रहेछ । ऊ पनि अक्सर गरेर रामध्वजकहाँ आउने गर्दछ ।

युवक, सौम्य र निकै पढेलेखेको साथ भलादमी पनि छ– यो त सबैलाई थाहै छ । तर उसको र रत्नमायाको निकै प्रेम छ । किन्तु पख्नोस्, ‘प्रेम’ भन्दैमा कुनै अर्को शारीरिक सम्बन्धको कल्पनाचाहिँ नगर्नुहोला ।

त्यस्तो सन्दिग्ध कुरा भएको भए यस्तरी सजिलैसित मै पो कहाँ भन्न सक्थेँ र ? साथै रामध्वज जस्ताको घरमा र उसकी छोरीसित कुनै सन्दिग्ध कुरा पलाउने हावा नै उतातिर कसरी छिर्न सक्तछ ?

त्यहाँको त जम्मै एकदम मान्यतिरकै पक्का छ, खँदिलो, सग्लो छ । त्यसैले त्यता एउटा साँचा अथवा ढाँचाबाहेक अरू केही पनि पाइएन । त्यहाँ त अक्सिजन जस्तो प्राण वृद्धि गर्ने वायु पनि त्यस ठाउँको परिमाणभन्दा बढ्ता आउन दिने कुनै प्रकारको चेष्टा रहेनछ ।

यसैले त त्यो रामध्वजको घर हो ! त्यहाँ आकाङ्क्षा छैन, चलिआएको मात्रै छ । चढाउ–उतारको ठाउँ भए पनि अझसम्म कुनै त्यस्ता कुराले चियाएकै रहेनछन्, अवसरै पाएनन् ।

साँच्चीकैको कुरा त, रामध्वज ‘रामध्वज’ होइनन्, उनी त हाम्रो नेपालका, नेपालको यस टोलका, एउटा व्यक्ति हुन् ।

रत्नमायाको प्रेम रहेछ । रत्नमायाको बिहा पनि त्यही नरदेवी टोलतिरका कुनै ठाउँको मानिससित हुने भएको छ । यो कुरा पनि ठिक जस्तो लाग्छ कि बाबुकी छोरी रत्नमाया, बाबुले सँगालेको परिधिलाई नाघ्नको त के नाघ्ने कल्पनापर्यन्त पनि गर्न सक्तिन । किन्तु ननाघे पनि प्रेम त छँदै छ र रत्नमाया ढुंगा होइन, भित्र त रगत र मासुका मुटु छँदै छ ।

धेरै उपन्यास–कथाहरूको पठनले मानव–भावका प्रति त्यसको रुचि पनि तीव्र–स्पर्शशील छ । फेरि केही नभए पनि प्रेम त छ ! हृदयप्रति चरितार्थ भएर फल्नु–फुल्नु प्रेमको स्वभाव हो ।

यो कुरा हुन पाए ‘सुख’, हुन नपाए ‘दुःख’ भन्ने कुराहरू यसका अविचल नियम हुन् । तब सोच्नुहोस्, रत्नमायालाई हुने के ?

के भन्नुभो...? ‘चाहे सुख होस्, चाहे दुःख । ‘शरीर’ संसारको हो, उसकै नियममा रहला, ‘मन’ रत्नमायाको हो, उसले त्यसको प्रयोग आफैँ गरी । दुवै ठिक छ ।’ यही न ?

किन्तु मन र शरीरको सामञ्जस्य नभए ‘ठिक’ भन्ने कुराले त ठिक्क तवरले ठाउँ पाउँदैन । यो कुरा अलि प्रस्ट पारेर बुझ्ने चेष्टा किन नगरौँ— 

मान्नुहोस्– रत्नमायाको बिहा भयो । प्रसन्नतासाथ रत्नमायाले पतिलाई वरण गरी । रामध्वज पनि सफल र सन्तुष्ट भए । बिहा–कार्य सिद्धियो । दुलही–दुलाहाको आवत–जावत पनि नयाँपन छोडेर वास्तविक स्थितिमा स्थापित हुन गयो ।

चारैतिरका नाता, सम्बन्ध, नियम, विहित, धर्म र अचार इत्यादिका भिडहरूले आफ्ना–आफ्ना बाटो तताए । अब केवल रत्नमाया र उसको लोग्ने पत्नीत्व र पतित्वका निम्ति परस्पर एक्लै शेष छन् ।

‘पत्नी रिक्त छे कतैबाट’ भन्ने कुरा पति भन्नेले थाहा पायो । थाहा पाउनलाई बताउन परेन, थाहा हुन गयो ! अब भन्नुहोस् ‘पति असन्तुष्ट हुने कि नहुने ?’

ठिक, अवश्य असन्तुष्ट हुने ! पत्नीको मन अर्कैतिर छ, पत्नी उसकी हो; यो पतिलाई सह्य हुने कसरी ? तर सोध्दछु– ‘सह्य नहुने किन ?’ आखिर बिहे नै त गर्यो, वैध नियमबाट शरीरको मालिक्याइँ प्राप्त गर्यो । शरीरचाहिँ शुद्धतापूर्वक, बिलकुल सत्यतापूर्वक, एकदम स्वच्छताका साथ पतिको अधिकारमा छ ।

साथै, शरीर कहिले पनि भिन्न स्पर्श प्राप्त गर्ला भन्ने कुनै सानो आशंका पनि छैन । शरीरले आफ्नो हर प्रकारका नियम, संयमद्वारा यस्तो कुनै आशंकालाई उम्रन दिने ठाउँ नै राखिछोडेको रहेनछ । तब फेरि उपद्रव, असन्तुष्टिहरूले उठ्ने अधिकार कहाँबाट पाए ? किन, कसरी पाए ?

उत्तर छैन, तैपनि बाधा उठिरहन्छ । निरन्तरको कार्यकलापमा जब सधैँ एउटा मौन विरक्ति वर्तमानै रहन्छ र कहिलेकाहीँ साना–साना, नगण्य कुराहरूले पनि– त्यही असन्तुष्टिको महास्रोतबाट सिञ्चित भएर आफ्नो विराट् वितण्डावादको रूप देखाइ नै दिन थाल्दछन् भने कतै–न–कतैबाट कुनै ठुलो भुल अवश्यै रहन गएको रहेछ (जसलाई शुद्ध शरीरयुतको अति शुद्ध विवाहले पनि पन्छाउन सकेन) भन्ने कुरा निश्चयपूर्वक आफैँ साबित हुन आउँछ ।

अनि यस कल्पनाले विचार गर्दा आखिरमा यही कुरा सामुन्ने आयो– मनबाहेक शरीरको कुनै अस्तित्व छैन । रत्नमायाले मन अर्कालाई दिएपछि शरीर त दिएकै रहिछ !

‘मन’ जस्तो ‘महान’लाई दिइसकेपछि शेष बचाउन सक्ने कुनै प्रकारको ‘अदेय’ वस्तु संसारमा सृजित भएकै छैन । जसलाई मन दिइएथ्यो, शरीरलाई पनि सहज भावले सुम्पिदिएकी भए, सायद रत्नमायालाई प्रवञ्चनाले सक्तैनथ्यो ।

कमसेकम एउटाको प्रति त रत्नमाया सत्य रहन सक्तथी, पूर्ण रहन सक्तथी ! किन्तु अब त त्यस ‘प्रेमी’ युवकतिर र चाँडै नै हुन ‘पति’ दुवैतिर प्रवञ्चना, दुवैतिर मात्रै होइन कि आफूलाई समेत लिएर तीनैतिर– धोका, सबैतिर छल मात्र सामुन्ने आयो ।

आखिर यो कुरा कसैलाई किन चिन्त्य भएन कि प्रेम दिएपछि फेरि उसको सत्यको प्रतिष्ठा नगरी भित्रको देउता कता जालान् ? अब तपाईं नै भन्नुहोस्, यतिका प्रवञ्चनाको ठाउँभित्र ‘रामध्वज’ कता फालिन जान्छन् ?

उनको साँचाबद्ध जीवन र त्यसको परिणाम रत्नमाया, दुवैले त यस वास्तविकतालाई छोप्न सक्तैनन् ! रामध्वजका समस्त प्रकारका वैध व्यक्तित्वबाट उकालो–ओरालोको मार्ग त अवरुद्ध हुन सकेन !

म त के भन्छु भने, यदि रत्नमायाले शरीरलाई अपवित्र पारिदिएकी नै भए, हुने पति उस बखत शरीरकै अपवित्रतालाई लिएर आफूलाई अल्झाइहाल्दथ्यो; (भित्रतिर चियाउने प्रयत्न गर्ने अवसरै पाउँदैनथ्यो) निरन्तरको झगडा–कलह हुन्थ्यो, स्पष्ट र खोला गरेको स्थितिमा !

फेरि उसको एउटा–न–एउटा तह लागि नै हाल्थ्यो– चाहे यता, चाहे उता, चाहे राम्रो, चाहे नराम्रो ! झगडामा स्पष्ट परिश्रम पर्न लागेपछि कहिल्यै त थकाइ लाग्थ्यो ! कारण भएपछि परिणाम पनि सामुन्ने आउँथ्यो ।

तर यस अवस्थामा, जहाँ झगडा–कलह हुन, गर्न चारैतिरको ठाउँलाई साँचा र नियमले थुनिराखिएकै छ, कतैतिर छिद्र छैन भने भित्रभित्रै उम्लनबाहेक अरू हुन्यै के होला ?

थकाइ लाग्दै–लाग्दैन, त्यसैले निरन्तरको दाह, निरन्तरको जलन, सधैँको पीडा मात्र सामुन्ने आइरहला । यस अवस्थामा रामध्वज, उनको साँचा, रत्नमाया र समस्त पार्थिव पवित्रता, टोल छिमेक र उसभित्र रामध्वज–परिवारको श्रद्धा, कसैको केही पनि त लाग्दैन !

जम्मा तीन दिन शेष छ । त्यसपछि बिहा भएर निश्चय र स्पष्टतापूर्वक रत्नमाया त्यही नरदेवी टोलतिरबाट आउने दुलाहाका दुलही भइहाल्छे ।

बिलकुल शास्त्रीय पत्नी रत्नमाया बन्न सक्छे, बन्न पनि बन्छे, यसमा कुनै अलिकति पनि, सन्देह छैन । तब रत्नमाया, उसको प्रेम र उसको प्रेमी त्यो युवक– यी सबैको सृष्टि किन भयो ?

तपाईं उत्तर दिनुहोला— ‘यो स्वभाव हो; मानिसलाई स्वभावको माथि पुग्नुपर्छ ।’ त्यसो भए कि स्वभावै, कि मान्छे नै, दुवैमध्ये कोही यतिको तुच्छ छ जसको सृष्टि नै नहुनुपर्ने हो । किन्तु दुवै नभई जगत्ले बाटै पाउँदैन भन्ने कठिनाइलाई के गर्ने ?

कुरा यत्तिकै हो । अब पर्सि वा निपर्सि रत्नमायाको बिहा नै हेर्नुहोला; अनि कथा समाप्त भइहाल्ने छ ।

चारैतिर बिहा हुने चाँजोपाँजोको धूमधाम छ । किन्तु उपन्यास पढ्न सक्ने रत्नमाया, एउटा किताबको पत्र पल्टाउँदै, उसमा भएकी कुनै आदर्शवादिनीसित आफ्नो चरित्रलाई सामञ्जस्य दिने चेष्टा गरिरहेकी छे ।

बाबु रामध्वजको साँचा नै उसको बाह्य र आन्तरिक रूपरेखा, आकार–प्रकार सबै हो । त्यस परिधिलाई अतिक्रम गरेर विचार गर्न सक्ने त के कुरा, त्यस्तो वृत्तिकै निर्माण त्यहाँ रहेनछ ।

यता, ‘प्रेम’ स्वभाव हो । त्यसले राम्ररी आफ्नो डेरा जमाइसकेको छ । गत पाँच–सात दिनदेखि त्यो छिमेकको युवक त्यसकहाँ आउँदै आएन । आउनु नपर्ने पनि हो ! तर रत्नमायाको मनमा त्यो नआएकै कारणले उसमाथि क्रोध, रिस किन उठिरहेछ ?

रामध्वजले पनि दुई–चारपल्ट कामकाजको चेपाचेपमा भने— ‘खोइ... आजभोलि गोविन्द (त्यही युवक) किन आउन छोडे ? काम परेको बेलामा त झन् आउनुपर्ने ।’ इत्यादि ।

रामध्वजको साँचाभित्र युवक पनि छ । त्यस हिसाबले उसको आवश्यकता पनि छ । युवक सच्चरित्र छ, सौम्य छ, भलादमी छ । रामध्वजको साँचामा उसको एउटा सीमित स्थान छ । किन्तु जहाँ हृदयावेग त्यो साँचासित आफ्नो सुख–दुःख, करुणा–हर्षको खेल खेल्न थाल्दछ त्यहाँ त्यही साँचा नै कुण्ठा किन प्राप्त गर्छ ? यस अवस्थालाई कता फाल्ने ?

पर्सि रत्नमायाको जीवन परिवर्तित हुने छ । सुन्दर र सुन्दर वेष–भूषामा, सुन्दर मनका साथ आएर एउटाले आफ्नो समस्त प्रेम दिने प्रतिज्ञाद्वारा उसलाई बाँध्ने छ । निश्चयतः त्यसले प्रेम पनि देला, दिन सक्ला । फेरि सुन्दर गृहस्थीकी, सुन्दर घरमा, सुन्दर कोठाभित्रकी सुकुमार दुलही रत्नमाया अत्यन्त सफल, अत्यन्त कृतार्थ हुन जाली ।

रामध्वज पनि पूर्ण हुने छन्, साँचा मिथ्या हुन जाओइन । तर यी सबै सफलताभित्र त्यसको कुन स्थान होला, त्यो कता ठाउँ पाउला जसले अझसम्म रत्नमायाकै खुट्टामा आफ्नो सबभन्दा पूर्ण अमृत–अर्घ्य चढाएको छ ?

फेरि एक्लै त्यही होइन, रत्नमायाले पनि त त्यही पूजालाई स्वीकार गरेर आफूलाई देउता तुल्याएकी थिई ! कृतकृत्य भएकी थिई ! तब यो कृतघ्नता होओइन ? पापको संज्ञाभित्र के यसको स्थान आउँदैन ?

रत्नमायाको सामुन्ने आयो— ‘बाबु, इज्जत, गृहस्थी र स्वयं सद् रत्नमाया ।’ बिहा पर्सि नै हुने । मनको समस्त भक्ति, स्नेह, ममतालाई एक रस, एक धाराभित्रै, एकैतिर जीवनपर्यन्त झरिरहने स्वर्गीय परिकल्पना, शाश्वत विधान, मङ्गलमय अनुष्ठान ‘बिहा !’

बिहाको अमान्यता समस्त भूमण्डलमा कतै पनि छैन, त्यो अविजित हो । उसभित्र बाबु, आमा, लोक, परलोक, समाज, धर्म सबैको सफलता छ । तर– रत्नमायाले रोक्ने चेष्टा गर्दागर्दै पनि आएको– ‘तर’, के यी सबै हुनाले नै रत्नमाया स्वयंको आफ्नो केही पनि छैन ? रत्नमाया स्वयम् आफ्नो होइन ?

फेरि रत्नमायाको सृष्टि नै किन ? त्यो बिहा कस्तो होला, जसभित्र पत्नीको स्थान छ, किन्तु रत्नमायाको स्थान छैन । त्यस परिधिभन्दा परै रत्नमायालाई बस्नुपर्ला ।

आदर्श छ, मर्यादा छ, नियम (साँचा) छ, तर साथै आकाङ्क्षा छ, इच्छा छ, लोभ छ, ममता पनि छ । के यी दुवैको निरन्तर द्वन्द्वकै प्रतिफल रत्नमायाको भविष्य हुन जाने छ ? त्यसैमा त्यो असफल–विफल भई पिँधिइरहिरहन्छे, थिचिइरहन्छे ?

फेरि त यी सबै नियमै असफल हुन गए । सबै आदर्श, मर्यादा अत्यन्त हीन र निर्जीव देखिन आए । उनीहरूको त्यति ठुलो भक्त रत्नमायालाई पूजा नै जब ती सारा नै आएर यस्तो प्रतिफल दिन लाग्छन् भने ती सबैको गर्ने कसरी ? स्थान दिने कहाँ ?

रत्नमायाको निम्ति कुनै उत्तर छैन । बिहा हुने तरखर चलिरहेको छ । चर्म–चक्षुको अगाडि उत्साह छ, आमोद छ, सफलता छ र सबै प्रकारको शुभको विधान छ । किन्तु रत्नमायाकै लागि जोरिन आएका यी समस्त शुभले उसलाई अँगालो हाल्न सक्ने महत्ता किन पाएनन् जसको अप्र्य स्वयं रत्नमाया नै हो ? प्रसादलाई शुभ पार्न सक्नेले देउतालाई नै कसरी अपवित्र पारे ? केही उत्तर छैन ।

अनि सबै सिद्धियो । रत्नमायाको कल्पना, रत्नमायाको हृदय–मन्थन, रत्नमायाको सबै अत्यन्त वास्तविकले पनि रामध्वज र साँचाको अतिक्रमण गर्न सकेनन् । त्यसभित्र यी सबैको स्थान छैन ।

यसका निम्ति चाहे त्यो संकुचित होओस् वा अत्यन्त क्षुद्र भनियोस् किन्तु त्यो रहन्छ ‘साँचा’ र त्यहाँ रहने छन् ‘रामध्वज !’ आफ्आफैँमा पूर्ण व्यक्ति होइन कि रामध्वज नाउँ मात्र भएको सहस्रौँमध्येको एउटा टुक्रा अथवा ‘रामध्वज प्रतिनिधि ।’

प्रतिनिधित्व पूरा गरेर रामध्वज प्रतिनिधिले रत्नमाया कन्याको बिहा गरे । सबै रीति, क्रिया आदि पनि समाप्त भए । शास्त्र–सङ्गत र थिति–सङ्गत सबैको तह लाग्यो ।

तब एक सुन्दर, सुकुमार समयमा, सुन्दर शैय्यामा, सुन्दर कोठाभित्र सुन्दर पतिले त्यही रत्नमायाको लाजले परिपूर्ण निमीलित आँखालाई खोल्दै, त्यसमा आफ्नो अनुरागपूर्ण दृष्टि छर्ने चेष्टा गर्यो, गर्यो !

रत्नमाया काम्न थाली । ‘यो, ओहो ! यो त चिरपरिचित त्यही दृष्टि ! त्यही हो; त्यस्तै आकुलता, त्यही आकाङ्क्षाको अनुकरण यहाँ पनि त छ ! किन्तु ‘अनुकरण’ मात्रै, प्राण उपलब्ध हुने प्राकृतिकताको सट्टा स्वादिलो ताप !

के यतिका शुभभित्र यही कुरा आज यहाँ वरण गर्नुपर्ला ? के यसैका निम्ति त्यो यहाँ आएकी छे ? तब, आह ! के यत्तिका शुभभित्र सिँगारिएका सबै दम्भभाव थिए, सबै देखाउने कुरा मात्रै ? आज यसमा कुनै विशेषता किन प्राप्त भएन ? तब के वास्तविकता त्यही थियो जसलाई यत्तिको हृदयको पीडा दिएर रत्नमायाले ‘लिन नहुने’ भनी, विसर्जित गरिआएकी रहिछ ?

यही थियो भने त्यो पहिलेकैलाई नै विसर्जित किन गर्नुपर्यो ? यत्तिको पीडा, उत्ताप सबैलाई विषको घुट्को झैँ सही–सही घाँटीबाट किन तल उतार्नुपरेको थियो । तब यत्तिका संयम, आदर्श, उच्चहरूले त्यसभन्दा बढ्ता शुचि, उदार दिनुको त के कुरा त्यसभन्दा अत्यन्त तलको केवल उत्तप्त, केवल प्रचण्ड, केवल प्रबल दिए ?

–जसमा आज स्निग्धता पनि छैन, महत्त्व पनि छैन । आज रत्नमायाले केही दिएकी रहिनछ, लिएकी मात्रै रहिछ, त्यसको प्रतिदान दिनु नै उसको जीवन हो । रत्नमाया आज अनुग्रहदात्री होइन, अनुगृहीत मात्रै छे !

पतिले रत्नमायालाई अंकमाल गर्यो । रत्नमाया पानीझैँ उसको काखमा ढल्किन गई । पतिले चुम्बन गर्यो, रत्नमायाका ओठ जल्न थाले । तर रत्नमायालाई यी सबै हुन लागेको थाहा छैन ।

एकाएक, उसले गरेको विसर्जनको एक दृश्य, त्यो युवक जस्तो प्रेम–दृष्टिको एउटा झल्को चिन्नलाई रत्नमायाका स्निग्ध आँखा अलि खुले । तर उफ् ! यो के ? यहाँ त त्यो स्निग्धता, त्यो... त्यो उत्सर्ग र मोहको पुण्यप्रद नम्र दृष्टिको सट्टा, यहाँ त...।

रत्नमायाको प्राणले भन्यो, चिच्च्यायो— ‘धोका, छल, दम्भ । एकदम ठग्ने कुरा...र... (पतिले रत्नमायालाई छातीमा टाँस्यो)– र... उफ् ! आह !! रत्नमाया !!!

‘पत्नी’ रत्नमायाले बिहान हेरी– रामध्वजको, पतिको, टोल–छिमेक सबैको साँचा त्यस्तै छ, बिलकुल अविशृङ्खल रूपमा । रत्नमायाले आफ्नो समस्त नारी–सर्वस्व लुटाएर पनि उसमा केही अलिकति पनि थप्न सकिन ।

रत्नमायाको कुनै दया, विशेषता, त्याग त्यसमा अलिकति पनि पर्न, पस्न गएका रहेनछन् । जम्मै त्यस्तै सुचारु छ, त्यस्ती संयमित, नियमित, सुशृङ्खल । तब रत्नमायाको अन्तरबाट महा–हाहाकारभित्र एउटा अव्यक्त मूक प्रश्न उम्ल्यो— ‘अन्तर्यामी ! फेरि आफूलाई ठगाउनु, लुटाउनु नै किन पर्यो ? कुन विशेषताका निमित्त कुन फलका निमित्त ! हरे ! तब के यी सबै एउटा व्यवसाय मात्र थिए ? हाय स्वर्गको देउता !

तिम्रो हिसाब–किताब त तिमी नै बुझ, किन्तु जसका निम्ति आफ्नो सब स्निग्धता, सबै तुष्टि, सबै सुख छोडेर आफूलाई नै होम गर्नुपर्यो त्यसले अलिकति कृतज्ञपर्यन्त नभएको कुरामा, मैले केही भन्न नपाए पनि, मेरो यो अन्तरको देवताले कसरी क्षमा गर्न सक्ला, भगवान् ?’

–रचनाकाल : पुस १९९८

(कथाकार भिक्षुको कथाकृति ‘गुनकेसरी’बाट ।)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ११, २०८०  ०७:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro