विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार विश्वासको मत लिनुअघि राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला निकै तनावमा थिए । उनलाई यो तनाव खासमा आफ्नै दलका एकजना सांसदको निर्णयका कारण भएको थियो ।
जसपाबाहेक अन्य दलले औपचारिक रुपमै विश्वासको मत दिने तयारी गरेका थिए । राप्रपा संसदीय दलले पहिल्यै निर्णय गरी विपक्षमा मतदान गर्ने घोषणा गरेको थियो । तर, राप्रपाका एक सांसद भने कार्कीलाई मत दिने पक्षमा थिइन् ।
झापा क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षमा निर्वाचित सविना बजगाईंले कार्कीलाई मत दिने तयारी गरेकी थिइन् । संसदीय दलका केही सदस्यलाई समेत उनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठन भएकोले ह्विप नलाग्ने भन्दै मत दिने तयारी गरेको बताएकी थिइन् । यो जानकारी दलका नेता सिटौलाले नपाउने कुरै भएन । त्यसपछि दलका नेता सिटौला झस्किन पुगे ।
एकातिर उपधारा ५ अनुसार सांसदले स्वःनिर्णय गरेर मत दिन सक्ने संवैधानिक प्रावधान, अर्कोतिर दलको ‘पोजिसन’ । सिटौला केही बिलखबन्दमा परे । त्यसपछि बजगाईंलाई मौखिक रुपमै सम्झाउने कोसिस गरे । तर, सांसदको मनस्थिति बुझेपछि सिटौलाले दलको नेताको अधिकार प्रयोग गरे, त्यो पनि लिखित ।
सिटौलाले बिहीबार बाह्रखरीसँग भने, “मैले पत्र नै थमाएर लिखित रुपमा सचेत गराएँ । संवैधानिक कुरा गर्ने हो भने ह्विप नलाग्ने अवस्था थियो । तर, दलको अनुशान र निर्णय सम्झाउन पत्र दिएँ ।”
सिटौलाका अनुसार राप्रपाले सरकार बन्न नसक्ने अवस्था आए जुन दल भए पनि सहयोग गर्ने तयारी गरेको थियो ।
“कांग्रेसका आठ सांसदको समर्थन र एमालेको सहयोग मिलेपछि मुख्यमन्त्री कार्कीले सहज रुपमा विश्वासको मत प्राप्त गर्ने अवस्था थियो । त्यसैले हामीले प्रतिपक्षमै बस्ने निर्णय गरेको हो,” उनले भने, “ह्विप नलाग्ने भए पनि पार्टीको निर्णय र लाइनविपरीत मत दिँदा पार्टी नै विभाजनतर्फ जानसक्ने भन्ने हाम्रो प्रस्ट बुझाइ थियो । यो कुरा मैले माननीयज्यूलाई पनि ध्यानाकर्षण गराएँ ।”
कोसी प्रदेशसभामा राप्रपाका ६ सांसद छन् । विश्वासको मत दिन एकजना अनुपस्थित थिए । सांसद बजगाईले भने दलले पत्राचार गरेरै विश्वासको मत दिन रोकेको विषयमा प्रतिक्रिया दिएकी छैनन् ।