site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टाढिएकै हुन् शेखर– गगन ? महिना दिनदेखि बोलचालै छैन 

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवासँग को लड्ने भन्ने ठूलै रस्सकासी थियो, १४औं महाधिवेशनमा । तत्कालीन समयमा संस्थापन इतर खेमाका रामचन्द्र पौडेलसहित तत्कालीन महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशन सिंह, डा. शेखर कोइराला सबै सभापतिका आकांक्षी थिए । उनीहरूको ध्येय थियो, इतर समूहको नेतृत्व गर्दै सभापतिमा चुनाव लड्ने ।

इतर समूहमा सभापतिका उमेदवार को भन्ने विषय पेचिलो बनिरहँदा बाजी भने शेखर कोइरालाले मारे । 

देश–दौडाहा गरेर आफूलाई स्थापित गरेका कोइरालालाई उनको शक्ति र चर्चाको पछाडि साथ दिन उभिए, तत्कालीन केन्द्रीय सदस्य गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डे लगायत नेताहरु । इतर खेमाबाट महाधिवेशनकेन्द्रित टिम बन्यो ।

यही टिमबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीमा जीवन परियार र बद्री पाण्डे विजयी भए । टिमबाट अन्य धेरै नेताहरू केन्द्रीय सदस्यमा विजयी भए ।  उक्त महाधिवेशन भएको २ वर्ष पुग्न लागेको छ । महाधिवेशन भएको २ वर्ष पश्चात् शेखर कोइराला नेतृत्वमा बनेको इतर समूह एक ढिक्का छन् कि छैनन् भन्ने प्रश्न उठ्न थालेको छ ।

२०७९ को आमनिर्वाचनपछि संसदीय दलको निर्वाचनले इतर टिममा खटपट ल्यायो । अर्थात्, संसदीय दलको निर्वाचनपछि शेखर कोइराला र महामन्त्री गगन थापाबीच खटपट आएको बुझाई टिमभित्र छ । 

दलको नेता कोइराला लड्न चाहेका थिए । तर, त्यो चाहना पूरा भएन । गगन थापा दलको नेताका निम्ति चुनावी मैदानमा उत्रिए । 

त्यो टिमसँग ३४ मत टिमसँग भएको आँकलन थियो । शेरबहादुर देउवासँग प्रतिस्पर्धा हुँदा गगन थापाले २५ मत मात्र प्राप्त गरे । यसबाट दुई नेताबीच अविश्वासको विजारोपण भएको स्वयम् टिमका नेताहरू बताउँछन् ।

त्यसपश्चात् केन्द्रीय मन्त्री बनाउने समयमा पनि शेखर एकलौटी हिँडेको भन्ने आरोपमा थापा पक्ष छ ।  शेखरले मन्त्री पठाउँदा सल्लाह नगरी सभापति देउवालाई नाम दिएर विदेश उडेको थापा समूह बताउँछ । 

कोइरालाले पनि विदेश जाने समय आफूले गगनलाई फोन नगरेको स्वीकार गरेका छन् । त्यसपश्चात् यी दुई नेताबीच नजिकको सम्बन्ध नभएको इतर समूहका नेताहरू बताउँछन् । 

दुई नेताबीच विश्वासको वातावरण बन्न नसक्दा समूहको बैठक पनि कमै बस्ने गरेको छ । “न शेखर न गगन, कसैले पनि हामीलाई बोलएको अवस्था छैन । उहाँहरूबीच पनि कुरा नभएको महिनौं पुगेको छ,” एक पदाधीकारीले भने, “यो दुवैका लागि घाटा हुँदैछ । खोई किन कुरा बुझ्दैनन् !”

थापा–कोइरालाबीच संवादकै अभाव
यी दुई नेताबीच सम्बन्ध सुमधुर नभएको महामन्त्री गगन थापाको अभिव्यक्तिले स्पष्ट पार्छ । बिहीबार नेपाल प्रेस युनियन काठमाडौं शाखाले आयोजना गरेको एक कार्यक्रममा महामन्त्री थापाले शेखर कोइरालासँग संवाद नभएको एक महिना भइसकेको जानकारी दिए ।

उनी कोसी प्रदेशमा भएको विद्रोहबारे आफू खास जानकार नभएको बताउँछन् । “वरिष्ठ नेतासँग एक महिना भयो भेटघाट भएको छैन । पत्रपत्रिकामा पढ्दैछु कुराहरू थप कुरा यहाँ भन्दा भेटेरै भनौँला,” थापाले भने ।

थापा यतिमै रोकिएनन् । संसदीय दलको नेतामा आफू उठ्दा सभापतिलाई भोट हालेको फोटो पठाउनेहरूले विद्रोह गर्नुपर्छ भन्ने सुन्दा छक्क लाग्ने धारणा उनले राखे । 

उनले भने, ‘‘भोट हालेपछि फोटो खिचेर सभापतिजीलाई देखाउने वा देखाउन लगाउने साथीहरूले बाहिर धेरै विद्रोह गर्नुपर्छ भनी चकचक देख्दा मुसुमुसु हासेर बसेको छु ।” 

जवाफदेहिता खोज्दै शेखर समूह 

समूहका नेता डा. शेखर कोइराला भने १५ औं महाधिवेशन अगाडि ४१ प्रतिशत मतलाई ५१ प्रतिशत पुर्‍याउनुपर्ने धारणा राखेका थिए  । उनले समूहबाहेकका मानिसलाई पनि साथमा लिन सक्ने मात्र चुनाव जित्न सकिने धारणा केही समयअघि राजनीतिक विट हेर्ने संवाददाताहरूसँग भनेका थिए । 

“४१ प्रतिशतलाई ५१ प्रतिशत पुर्‍याए मात्र  महाधिवेशन जितिने र सभापति बनिने हो,” शेखरले भनेका थिए । 

उनकै भनाइलाई आधार मान्ने हो भने गगन थापाले टिमलाई ‘इन्ट्याक्ट’ राख्दै संस्थापन पक्षबाट पनि नेता र भोट तान्नुपर्ने हुन्छ । तर, महामन्त्री थापाको भनाइलाई आधार मान्दा भने समूहभित्रै समस्या छ । 

आखिर किन त ? 

शेखर निकट एक विश्वापात्र गगन थापासँग जवाफदेहिता खोजिएको बताउँछन् । कस्तो जवाफदेहिता भन्ने प्रश्नमा ती नेता भन्छन्, “उहाँ अलि बढी खेल्न थाल्नुभयो ।”

ती नेताका अनुसार, थापाले शेखरलाई वाइपास गर्न खोजेका हुन् । “शेरबहादुर दाइसँग वान टु वान, पदाधिकारी लगायत अनेक बैठक बस्छन् । कुनै बैठकको ब्रिफिङ छैन,” ती नेताले भने, “टिमको नेता शेखर हो भनी मान्नु त प¥यो नि । कहिले कोसँग गएर मिल्छु भन्दिएको छ । सबै थाहा पाएपछि शेखर दाइले जवाफदेहिता खोज्नुभएको हो ।”

‘‘त्यसो भए समूहमा फुट आइसक्यो हैन ?’ ती नेता घुमाउरो स्वीकार गर्छन् । “फुट त नभनी हालौं । हामी एक हुने भए दुवैतिर सुधार आवश्यक छ,” उनको घुमाउरो जवाफ छ । 

समूहका अर्का एक नेता शेखर–गगन दुबै देउवाको ‘ट्रयाल एण्ड इरर’मा परिरहेको धारणा राख्छन् । देउवा अर्को समूहमा खेलेरै शक्तिशाली भइरहेको धारणा ती नेताको छ । 

“हाम्रा दुई नेता झगडा गर्छन् बुझेर पनि किन बुझ्न नचाहेका होलान्,” ती नेताले भने, “सभापतिले शेखर दाईले उचाई लिँदा गगन बोकेर खेल्ने तथा गगनले उचाई लिँदा शेखर बोकेर खेल्ने गर्नुभएको छ । यो कुरा सबैले बुझेका छन् तर, बुझ्नै चाहेको देखिँदैन ।”
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro