ब्लग
त्यो ई मेल पाउँदा मेरो खुसीको ठेगान थिएन।
छ वर्ष अघिको त्यो परिस्थिति वास्तवमै अचम्मलाग्दो थियो।
म भारतीय सेनामा क्याप्टेन थिएँ। भुटानी सेनालाई तालिम दिन पठाइएको तालिम टोलीमा 'कमान्डो टेक्निक' प्रशिक्षकका रूपमा म भुटान पुगें। भुटान हेरेँ, बुझेँ । त्यहाँको भूगोल, भूराजनीति र सामरिक महत्त्व पेसाले अध्ययन गरायो । शासक वर्ग र सामाजिक व्यवस्था संगतले बुझायो । तर, एउटा कुरा भने त्यहाँ जान्न बुझ्न साह्रै गाह्रो भयो - त्यहाँका नेपालीबारे ।
हामी सानै हुँदा गाँउतिर मजदुरी गर्न भुटानी-नेपाली आउँथे । तीमध्ये एक जना हेर्दै भलाद्मीजस्ता थिए । धेरै दिन लगन र नीष्ठाका साथ घरबारीमा काम गरेको देखेपछि हाम्रा हजुरबुवाले घरको पिँढीमा बसालेर उनलाई चिया खुवाउँदै गफ गर्नुभएको थियो । म नजिकै उभिएर, उत्सुक भएर गफ सुनेर बसेको थिंएँ ।
त्यतिबेला हामीले थाहा पायौँ लखेटिनु अघि उनी न्यायाधीश रहेछन् । हजुरबुवाले उनलाई दिनभर पिँढीमा बसालेर चार पाँच गिलास चिया र नास्ता खुवाउनुहुन्थ्यो । अलिअलि काम गराएजस्तो गरेर दिनभरको ज्याला दिनुहुन्थ्यो । हजुरआमा साह्रै रिसाउनुहुन्थ्यो, त्यो देख्दा । हामी अचम्म मान्थ्यौँ ।
हजुरबुवाले धेरै कुरा गर्नुभएको थियो उनीसँग । जीवन, दु:खसुख, भाग्य, दर्शन र धर्मका बारेमा अनेक कुरा - हामी केटाकेटीले नबुझ्ने कुरा ।
भुटान जाने कुरो चल्न थालेपछि ती 'न्यायाधीश मजदुर'लाई झल्झली सम्झन्थेँ म । कहिले उनले मल्खाताको गोबर उठाएको दृश्य आउँथ्यो स्मृतिपटलमा, कहिले उनका ठेलैठेला भएका हातले हामी केटाकेटीलाई मुसारेको सम्झन्थेँ । एक दिन तिनै न्यायाधीशले एउटा हातमा न्यायाधीशको काठको हथौडा र अर्को हातमा फलामको ठूलो घन लिएको सपना देख्दै म ब्युँझेको थिएँ । उनको सम्झना आउँदा मेरो मन खिन्न भएर आउँथ्यो ।
भुटान गएपछि म पनि मानार्थ 'दासो' भएको थिएँ । जोन्खा भाषामा अधिकृत तह वा त्यसभन्दा माथिका मान्छेलाई सम्मानपूर्वक सम्बोधन गरिने शब्द हो 'दासो' । म भने सबै दासोहमा क्रूर राजाको झलक देख्थेँ । र, आफू दासो भएर डुल्दा तीनै 'मजदुर न्यायाधीश' प्रति धोखा दिइरहेजस्तो मलाई लाग्थ्यो ।
गल्ती त मैले के नै पो गरेको थिएँ र ! तर पनि मन भने अमिलो नै रहन्थ्यो । के हो के बेचैनी थियो ।
त्यसपछि भुटानका नेपालीबारे पढ्न थालेँ । झापाको शरणार्थी शिविरमा गएँ । भुटान घुम्ने क्रममा त्यहाँका नेपालीको हालत त्यहाँका द्रुक्पासँग दाँजेर हेर्ने बानी नै भयो । केही नेपाली साथीका कथामा लुकेको भेदभाव र त्राशका पीडा चुन्न थालेँ । खप्नै नसक्ने भएपछि 'पिपुल विदआउट अ नेसन' शीर्षकमा एउटा लेख लेखेँ ।
त्यतिबेला म सेवामा नै भएको हुनाले मेरो वास्तविक नाम दिनेश तिवारी नलेखेर 'दिनकर नेपाल' को नाममा त्यो लेख अंग्रेजी दैनिक रिपब्लिकामा छाप्ने निर्णय भयो । फोटो पनि हालिएन ।
दिनकर नेपालको नाममा ईमेल ठेगाना भने पुछारमा लेखिएको थियो ।
त्यो लेखपछि मलाई थुप्रै ईमेल आएका थिए । विदेशी लेखक, पत्रकार र अधिकारकर्मीका पनि ईमेल आए । केही भुटानीका साह्रै रिसाएका प्रतिक्रिया आएका थिए । केही प्रशंसाका ईमेल पनि आए । तीनैमध्ये एउटा ईमेल 'कनकमणि दीक्षित'को थियो ।
त्यो ईमेल पढ्दा मेरो खुसीको ठेगानै थिएन ।
व्यक्तिगतरूपमा चिनेको नभए पनि नाम नसुनिएको थिएन । त्यसको दस वर्षअघि मैले उनको एउटा अन्तर्वाता 'रिडर्स डाइजेस्ट' भन्ने अंग्रेजी म्यागेजिनमा पढेको थिएँ । पहाडी भेगमा एक्लै पदयात्राको बेला उनी दुर्घटनामा परेका थिए । चार दिनसम्म हल न चल भएर पहरामा थलिएर बस्दा पनि उनलाई भगवान सम्झन मन लागेन रे ! पानी जम्मा पारेर पिउन उनले हातले खोस्रेर खाल्डो खनेका थिए रे । हात खुट्टा, ढाढ र घाँटीमा 'मल्टिपल फ्रेक्चर' भएको रहेछ । चार दिनपछि दाइको अनुहार देखेपछि अब बाँचिन्छ भन्ने ठानेर बल्ल उनी बेहोस भएका रहेछन् ।
'म नास्तिक हुँ, ईश्वर मान्दिन । म मानवतावादी हुँ' भन्ने उनको विचारले म प्रभावित भएको थिएँ ।
त्यो असह्य पीडा सहनु एउटा कुरा थियो । त्यो दुर्घटनालाई नै प्रेरणा बनाएर अवसरमा परिणत गर्नसक्नु चमत्कार नै थियो । त्यही चोटपटकबाट निको भएपछि उनले ‘स्पाइनल इन्जुरी पुनर्स्थापन केन्द्र’को स्थापना गरेका रहेछन् । म झनै प्रेरित भएको थिएँ ।
'लेख राम्रो लाग्यो, मैले पनि भुटानको बारेमा लेखेको छु । हामी भेटौँ । गफगाफ गरौँ ।' भन्ने आशयको ईमेलमा उनले आफ्नो फोन नम्बर र ठेगाना पठाएका थिए । उनको भुटान बारे लेख 'हिमाल साउथ एसिअन' भन्ने अंग्रेजी पत्रिकामा मैले पढेको थिएँ । यस विषयमा थप छलफल गर्ने मेरो इच्छा पनि थियो ।
तर, दिनकर नेपालको वास्तविक परिचय थाहा पाउनेमा त्यति बेला रिपब्लिका दैनिकका प्रधान सम्पादक अमित ढकाल र 'ओपएड' हेर्ने भुवन शर्मा र त्रैलोक्य अर्यालबाहेक कोही पनि थिएनन् । भुवनजी र त्रैलोक्यजीबाहेक कसैसँग मैले भेटघाट गरेको थिइन । मेरो परिचय जान्नेको संख्या थोरैभन्दा थोरै राख्न चाहन्थेँ । मेरो परिवारलाई पनि म यसरी लेख्दैछु भन्ने थाहा थिएन ।
ईमेलको शिष्टतापूर्वक उत्तर फर्काएर मैले धन्यवाद भने । भेट्न भने म त्यति बेला चाहन्नथेँ । आफ्नो परिचय पनि खुलाइन । बरु, 'एउटा किताब लेख्न दार्जीलिङ, सिक्किम, भुटान र पूर्वोत्तर भारततिर घुम्दै छु । काठमाडौं आएँ भने भेट्छु' भनेर लेखेँ ।
कनकको ढोकैमा
ईमेलमा ठेगाना थियो - 'ढोकैमा क्याफे', पाटन ढोका ।
नभनेको भएपनि त्यो ठेगाना मलाई थाहा थियो । काठमाडौं जान्ने जो सुकैलाई पनि पाटनस्थित 'दीक्षित इस्टेट' बारे थाहा नहुने कुरै भएन । लगभग पन्ध्र वर्ष पहिल्यै म पाटन क्याम्पस पढ्दा पाटन ढोकाको पुस्तक पसलमै मेरो बास हुन्थ्यो ।
एकपल्ट एउटा कार्यक्रमको निम्तो लिएर कमलमणि दीक्षितसँग भेट्न पनि गएको थिएँ । उहाँले नेपाली साहित्यमा गरेको योगदानको सम्मान गर्न एउटा कार्यक्रम आयोजना गरिएको थियो । त्यही कार्यक्रमको तयारीका क्रममा उहाँले नेपालका लागि गरेको योगदानका बारेमा मैले पढेको थिएँ ।
म सत्र वर्षको केटो थिएँ । तर उहाँले आदरपूर्वक मलाई आफ्नो घरभित्रको अफिसमा बोलाएर बसाल्नु भयो । आएको निम्तो पढेर एउटा 'रिग्रेट लेटर' तुरुन्तै कम्प्युटरबाट प्रिन्ट गरेर आफ्नो एक कपी स्क्यानर बाट निकालेर मिति र संख्या चढाएर एउटा खाममा दिनुभएको थियो ।
कार्यक्रममा उहाँ जानु भएन । कुनै पनि सम्मान वा उपहार कार्यक्रममा नजाने सायद उहाँको प्रतिबद्धता थियो । मेरो आदर झनै बढ्यो । त्यसपछि नै मैले उहाँको 'साइबर भानु' भन्ने निबन्ध संग्रह पाटन ढोकाको पुस्तक पसलबाट किनेको थिएँ ।
उनै कदी का छोरा कनकमणि दीक्षितलाई पहिलो पटक भेट्दा लोकमान सिंह कार्कीको सम्भावित नियुक्तिको विरोधमा प्रदर्शनमा थिए । म भारतीय सेनाको मेजर पदबाट राजीनामा दिने निश्चय गरेर काठमाडौं आएको थिएँ । रिपब्लिकामा लेख्न थालेको चार वर्ष भएको थियो तर व्यक्तिगत चिनजान भने मेरो कसैसँग थिएन । मेरो वास्तविक परिचय थाहा पाउने त्यति बेलासम्म पनि तिनै तीन जनामात्र थिए ।
दुई दिनजस्तो त्यो विरोध प्रदर्शनमा अपरिचितरूपमा नै सम्मिलित भएँ । तेस्रो दिन बल्ल अमित ढकालसँग चिनिएँ । प्रदर्शनको सोरगुल र भाषणकै बीचमा छोटो कुराकानी भयो । त्यहीँ उनले कनकमणिसँग पनि चिनाए ।
कार्यक्रम सक्कियो । सबै आआफ्नो बाटो लागे । कनकले आफ्नो गाडीमा पाटन ढोकासम्म छोडिदिने 'अफर' गरे । मैले हुन्छ भने । हामी त्यहीँ गाडी चढ्यौँ ।
दस मिनटको त्यो यात्रामा मैले आफ्नो कथा भनें । उनी चुपचाप सुनेर बसे । अहिले आएर उनको व्यवहार विचार गर्दा, काठमाडौंका 'सुपर एलिट'को दम्भ नभएर अतिथिलाई सम्मान गर्ने एकजना भद्र पुरुषको जस्तो थियो ।
उमेरमा उनको छोरा उमेरको मलाई उनले सहजै 'वेल्कम' फिल गराए । म पनि खुलेँ । मेरो आन्तरिक संघर्ष र बाध्यता खोलेरै भने ।
पत्रकार प्रशान्त झाले धेरै पटक भन्ने गर्छन् रे - 'नेपालमा आउने सबै विदेशीले कनकमणिलाई चाहिँ भेट्नै पर्ने किन ?'
बिहान सात बजे तिरबाट बेलुका आठ नौ बजेसम्म कुनै पनि बेला जानुस्, पाटन ढोकाको ‘ढोकैमा क्याफे’मा रोचक मान्छेहरू फेला परी रहन्छन् । कनकसँग म त्यहाँ छिर्दा एक जना समाजशास्त्री, एक जना पूर्व मन्त्री र दुई जना पत्रकार आआफ्ना श्रोताबाट घेरिएर बसेका थिए । धेरै जसो विदेशी थिए । कनकले नै बेग्लाबेग्लै टेबलमा गएर भेटघाट गरे । केहीसँग मलाई पनि चिनाए ।
त्यसपछि हामी एउटा टेबलमा बस्यौँ । केही बेर नेपालबारे छलफल भयो । उनी बोले, मैले सुने । केही प्रश्न सोधेँ । धेरैजसो सुनेर बसेँ ।
त्यस बसाइमा म नेपाल बारे उनको धारणा सुन्दै थिएँ, तर सँगसँगै उनलाई पढ्दै थिएँ । त्यस ठाउँमा उनको स्वाभाविक 'पोजिसनिङ', उनको हाउभाउ, विभिन्न व्यक्ति र विषयबारे कुरा गर्दा उनको अनुहारको प्रतिक्रिया र आवाजको उतारचढाव र त्यहाँ भेट भएका मान्छेसँग उनको 'बडी ल्याङवेज', सबै हेर्दै थिएँ ।
कसरी त्यो प्रभाव आयो, के ले उनी प्रेरित हुन्छन्, कसरी उनी नेपाललाई हेर्छन् र कहाँ उनी त्यो नेपालमा आफूलाई पाउँछन् भन्ने छर्लङ्ग हुँदैथियो ।
पन्द्र वर्षअघि कमलमणि दीक्षितलाई सम्मान गर्न निम्तो पठाउने 'साहित्यकार' महानुभावलाई मैले को हो उहाँ भनेर सोधेको थिएँ ।
म सत्र वर्षको थिएँ । भारतमा १२ कक्षासम्म पढेर नेपाल आएको थिएँ । पाटन क्याम्पसमा कम्प्युटर साइन्स पढ्न थालेको थिएँ । जिज्ञासु स्वभाव र पढ्नेलेख्ने बानीले गर्दा पत्रिकाहरूमा लेख्न थालेको थिएँ । उहाँ कै संगतमा 'तरुण' साप्ताहिकमा र 'नयाँ सडक' भन्ने दैनिकमा साप्ताहिक व्यङ्ग्य लेख्न सुरु गरेको थिएँ ।
त्यति बेला मलाई नेपाल र काठमाडौं बारे केही थाहा थिएन । एउटा कार्यक्रममा कमलमणि दीक्षितको सम्मान गर्ने तय भएपछि ती 'साहित्यकार'ले मलाई त्यो निम्तो लिएर पाटन ढोका पठाएका थिए ।
मैले सोधेको थिएँ - को हो उहाँ ?
हरेकपल्ट बाहिरबाट काठमाडौं आउँदा मैले पूर्णत: अपरिचित बाहिरियाको नजरले हेर्ने र खोज गर्ने गरेको छु । हरेकपटक काठमाडौं बारे एउटा नयाँ पाटो र नेपाल बारे एउटा नयाँ आयाम जानेजस्तो लाग्छ । त्यो नयाँ ज्ञानले मेरो समग्र बुझाइ (पर्सेप्सन) मा हरेकपल्ट केही न केही गहिराइ थपिएजस्तो भान हुन्छ । तर अझै केही कतै लुकेजस्तो सँधै लाग्छ ।
'कमलमणि दीक्षित', उनले अंग्रेजीमा कुरा गरेको भए 'द कमलमणि दीक्षित' भन्ने पाराको लवज र स्वरमा फेहरिस्तको खात फरर भनेका थिए । नेपाली साहित्य, कला र संस्कृतिमा योगदान, पुस्तक, मदन पुरस्कार, साझा प्रकाशन र अरू पनि थुप्रै ।
सत्र वर्षे 'विद्रोही' स्वभावको मलाई त्यो प्रभावले लुटुपुटु पार्ने कुरो थिएन । त्यो उमेरमा कसैलाई गनिदैनथ्यो । बरु एक प्रकारको जिज्ञासा भने जागेर आयो । कसरी मान्छे त्यस्तो प्रभावशाली हुन सक्छ ? के छ त्यसमा मेरो लागि पाठ? के सिक्न सकिन्छ? भन्ने कौतुहलले मैले उनैलाई प्रश्न गरेको थिएँ ।
'खास कुरो के हो भने बाबु, यिनीहरूले रानी जगदम्बाको अपुताली खाएका हुन् । त्यो अथाह सम्पत्तिले गर्दा नै हो यो प्रभाव ।' उनले एक प्रकारको नमीठो लवजमा भनेका थिए ।
केही बेर क्याफेमा सामान्य औपचारिकतापछि कनकले जोडिएको बारमा लिएर गए । एउटा 'श्रीदर्बार सर्बत' चाख्न कर गरे । त्यो 'परिवार'को पारम्परिक 'रेसिपी' हो भने ।
धेरै गुलियो थिएन, मलाई मन पर्यो् ।
'यो ठाउँलाई 'आइरिस बार'को ढाँचामा फेर्ने मेरो धोको छ,' उनले भने । भन्दा भन्दै त्यहीँ काम गर्ने भाइलाई आफूले दिएको के निर्देशन सम्झेछन्, के भयो भनेर सोधिहाले । अनि सन्तोषजनक उत्तर नपाउँदा झपारे । कडा स्वरमा कुरा गर्दा गर्दै मतिर फर्केर भनी पनि हाले - 'यो त पहिला अस्तबल थियो ।'
रातो बंगला र वरपरको कम्प्लेक्सको त्यो ऐतिहासिक भवनमा कनकमणिसँग बस्दा त्यति बेला मलाई वास्तवमा थाहा पनि थिएन उनी संलग्न संघ, संगठन, संस्था के के हुन् ? केही बेर उनले यलमाया केन्द्र भन्ने नामको 'एक्झिबिसन सेन्टर'को कुरा गरे । अनि आफ्नो परिचयको क्रममा रातो बंगला फाउन्डेसन र स्कुलको कुरा गरे । फेरि हामी नेपालको राजनीतिमा फर्क्यौं । अनि दक्षिण एसिया बारे कुरा भयो ।
‘डलर मणि’ ?
मह जोडीको एउटा डकुमेन्ट्रीमा भ्रष्ट्रचारीको चित्रांकन गर्दा कपाल सेतै फुलेको एक जना व्यक्ति देखाइएको छ । झलक्क हेर्दा त्यो कनकमणि कै प्रतिविम्ब लाग्छ ।
बुझ्नै नखोजेर छोड्ने हो भने छुट्टै कुरा, नत्र भ्रष्टाचारी भनेपछि 'दीक्षित' भन्ने छवि नै त्यो भिडियोले देखाउँछ । कनकका दाई कुन्द दीक्षित पनि सेतो फुलेको कपालमा उस्तैउस्तै देखिन्छन् ।
दीक्षितहरूको हिमाल मिडियाको एउटा कार्यक्रममा मैले हरिवंश आचार्यलाई भेटेँ । दुवै दाजुभाइसँग उनको राम्रो सम्बन्ध छ । त्यहाँ उनको हाउभाउबाटै त्यो स्पष्ट हुन्थ्यो । त्यस पार्टीमा सबैभन्दा लामो समयसम्म रोकिनेमध्ये हरिवंश पनि थिए ।
तर पनि किन त्यसरी बुझाइमा फरकै नखाने गरी महकै भिडियोमा त्यो 'भ्रष्टाचारी'को चरित्र निर्माण दीक्षितजस्तो देखिने गरी भयो ? मलाई अचम्म लाग्यो ।
पहिलोपल्ट हेर्दा मैले सोचेको थिएँ - त्यो हेर्दा दीक्षित के सोच्दा हुन्? उनको परिवारले के सोच्दो हो ?
बाहिरबाट अड्कल काट्न सजिलो छैन । तर उनीसँगको त्यो पहिलो भेटमा नै मैले त्यो चित्रांकनको उनीमाथि असरको झलक भने पाइसकेको थिएँ ।
केही बेर कुराकानीपछि कनक आँफै यस विषयमा पसेका थिए - 'यहाँ एक प्रकारको प्रोपगेन्डा मसिन मेरो विरोधमा नै खनिएको छ । नियोजितरूपमा हाम्रो छवि बिगार्न त्यो तप्काले आफ्नो भएभरको तागत लगाएको छ ।'
अरू कोही हुन्थ्यो भने यस्तो कुरालाई म घमण्डी मान्छेको आत्मरति भनेर उपेक्षा गरिदिन्थेँ होला । तर कनकलाई न मेरो अनुचित ध्यानाकर्षणकै आवश्यकता थियो, न त मबाट टिठमा केही पाउनु थियो ।
सुने । मैले बुझ्न खोजेँ ।
एकपल्ट बसन्तपुरमा नागरिक समाजले आयोजना गरेको एउटा कार्यक्रममा भिड आक्रोशित भएर स्टेजमा भएका विभिन्न राजनीतिक दलका नेतालाई आक्रमण गर्न तम्सियो । मैले त्यो रोक्न बल प्रयोग गरें । कसैले फोटो खिचेछ । त्यही फोटो प्रयोग गरेर माओवादीको प्रोपगन्डाले मलाई दमनकारी र जनताको शत्रु भनेर चित्रित गरे ।'
'खासमा राजतन्त्रपछि शत्रुहीन हुन पुगेको माओवादी प्रोपगन्डा फ्याक्ट्रीले जनताको पर्सेप्सनमा दीक्षित परिवारलाई वर्ग शत्रुको प्रतीक बनाएर स्थापित गर्यो,' त्यो परिवारलाई राम्रोसँग चिन्ने र माओवादी तथा उनीहरूको प्रोपेगेन्डालाई पनि राम्ररी बुझ्ने किरण नेपाल (कनकद्वारा प्रकाशित हिमाल साप्ताहिकका सम्पादक) भन्छन् - 'शत्रुबिना चल्दै नचल्ने राजनीतिमा दीक्षित उनीहरूका लागि सजिलो टार्गेट भए । हरेक विषयमा प्रष्ट अडान राख्ने, खरोभन्दा खरो पनि बोल्न नडराउने र नागरिक समाजका अगुवामध्ये निक्कै चलायमान भएको हुनाले कनक त्यो 'रातो रोष' का तारो बन्न पुगे ।‘
दीक्षितले माओवादी र राज्य दुवैतर्फबाट हिंसाग्रस्त समयमा भएका मानव अधिकार हननका चर्को स्वरले आलोचना गर्दैआएका छन् । माओवादीले मागेको 'ब्ल्यान्केट एम्नेस्टी' अर्थात् सबै युद्धकालीन अपराधको आममाफीको विरोध गर्दैआएका छन् । यस विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय पत्रपत्रिका, सम्मेलन, फोरम आदीमा बलियो धारणा राख्दैआएका छन् । यिनै विषयमा गरिएको लापर्बाहीको विरोध गर्दै आएका छन् ।
अहिले आएर खुल्न आएको कुरा के हो भने माओवादी नेतृत्वले आफ्ना कार्यकर्तालाई नियन्त्रणमा राख्न पनि युद्धकालीन अपराधको मुद्दालाई प्रयोग गरेका छन् । साथै यही कुराले शीर्ष नेतृत्व पनि नियन्त्रित छन् । युद्धअपराधीमाथि कार्बाही नहोस् भन्ने सुनिश्चित गर्नु नै हरेक राजनीतिक सहमतिमा प्रचण्डको पहिलो प्राथमिकता हुँदैआएको छ ।
यो विषय सबैभन्दा चर्को स्वरमा उठाउने कनकमणि दीक्षित माओवादीका लागि वास्तवमै 'ट्रबल मेकर' थिए । यसरी हेर्दा उनको छवि धुमिल बनाएर विश्वसनीयतामा शंका उत्पन्न गर्नु नै माओवादीको स्वाभाविक रणनीति थियो, त्यही भयो । उनी 'डलर मणि' बनाइए । त्यो शब्द निकै बिक्यो ।
मह जोडीको डकुमेन्ट्रीमा देखिएको इमेज नियोजित सायद थिएन होला तर यसैको प्रत्यक्ष असर भने पक्कै थियो । काठमाडौंको समाजमा पनि यसको प्रत्यक्ष असर पर्यो ।
कनकद्वारा सञ्चालित मिडियामा अंग्रेजी र नेपाली दुवैमा सक्रियरूपमा लेख्ने एक जना पत्रकारले मलाई केही दिनपछि भनेका थिए - 'तपाईं जोडिन त जोडिनु भयो उनीहरूसँग तर दीर्घकालीन रूपमा चाहिँ यो सम्बन्धले तपाईँलाई नराम्रो पनि गर्न सक्छ ।' त्यति बेलासम्म मैले कनकद्वारा प्रकाशित हिमाल साप्ताहिकमा 'विचार विविध' भन्ने नियमित स्तम्भ सुरु गरिसकेको थिएँ ।
'हजुर आँफैले लेख्नुहुन्छ उनैका लागि अनि, किन त ?' भनेर मैले ठाडै सोध्दा उनीसँग चित्तबुझ्दो उत्तर थिएन ।
'तपाईँलाई फ्र्यान्क कुरा भन्छु म दिनकरजी,' ती पत्रकार दाइले मपट्टी ढल्किँदै स्वर मधुरो बनाएर भनेका थिए, 'अहिलेको परिस्थितिमा त ‘यिनी’हरूलाई प्रयोग गर्ने र अघि बढ्ने हो । देखिने गरी आन्द्रा गाँसियो भने पिरोल्छ ।'
वास्तवमा दीक्षित परिवारप्रतिको दृष्टिकोण, बुझाइ र सम्बन्धमा यस्तै अन्तर्विरोध मैले नेपालमा हरेक तह, तप्का, गुट र वर्गमा भेटेको छु । काठमाडौंभित्रकै अरु 'परिवार'को दृष्टिकोणमा एक प्रकारको नकरात्मक छवि बनाउन ईर्ष्याले ठूलो भूमिका खेलेको छ । बाहिरियामा भने सकेसम्म गाँसिन खोज्ने र बाटो नभेटेपछि गाली गर्दै हिँड्ने पनि भेटेको छु ।
लोकमान कार्कीको अख्तियार प्रमुखका रूपमा नियुक्तिको विरोध गर्नेमा सबैभन्दा अगाडि कनकमणि दीक्षित नै थिए । माओवादीले सुरु गरेको नियोजित अभियानकै अर्को स्वाभाविक कडी त्यहीँबाट सुरु भयो । 'ठूलो माछा' समात्न नसकेको आरोप लागेको लोकमानको अख्तियारलाई कनक सजिलो तारो पनि भए, कारण त कनकले नियुक्तिको विरोध गरेर दिएकै थिए ।
वेल्कम टु काठमाडौं
काठमाडौं बुझ्न खोज्दा म आफूलाई एकदमै बेग्लै स्थितिमा पाउँछु । त्यसै कारण मेरो दृष्टिकोण पनि अलि फरक खालको हुने गर्छ । मेरो घर स्याङ्जाको वालिङ हो । मेरो परिवारबाट नेपाली राज्यसत्ता र पारम्परिक 'पावर इक्वुएसन' मा स्थान बनाउनसक्ने कोही पनि छैनन् । बरु भारतीय सेनामा मेरो मावली हजुरबुवा र मेरो आफ्नै बुवा हुनुहुन्थ्यो ।
मेरो हजुरबुवाले आफ्नो जीवनको ३० वर्ष भारतको आसामको दिग्बोइ भन्ने ठाउँ बिताउनु भयो, भारतका ठूला ठूला सहर घुम्नुभयो तर काठमाडौं कहिले देख्नुभएन ।
वास्तवमा काठमाडौं मेरो लागि ब्ल्यान्क स्लेट अर्थात् 'खाली पाटी' जस्तो नै थियो । सधैं म एकदमै पूर्वाग्रहविनाको हेराइले काठमाडौं बुझ्ने प्रयास गर्छु, नरंगिएको चस्माले यहाँका मान्छे चिन्ने कोसिस गर्छु । जे जति मेरा चिन्नेछुट्याउने फर्मा छन् ती कि त मेरो पढाइले बनेका छन् कि देशविदेश डुल्दा बटुलिएका अनुभवले ।
सेनाको जागिरमा पनि धेरै मान्छेसँग धेरै प्रकारका परिस्थितिमा अन्तर्क्रिया हुने हुँदा त्यस्ले पनि मान्छे चिन्न मद्दत गरेको छ । तर यीबाहेक मेरा लागि अझै पनि काठमाडौं 'ब्ल्यान्क स्लेट' नै हो ।
पहिलोपटक काठमाडौंमा कनकलाई भेट्दा उनी लोकमान सिंहको अख्तियार प्रमुखका रूपमा सम्भावित नियुक्ति रोक्न संघर्ष गर्दै थिए । कनकले विरोध प्रदर्शनलाई संगठित गरेर त्यति बेला ठूलो जनभावना बनेको थियो - लोकमानको विरोधमा । तर विरोध काम लागेन, लोकको मान भएन, लोकमानले नियुक्ति पाएरै छोडे ।
मैले यसपटक भेट्दा ठ्याक्कै तीन वर्षपछि उनी तीनै लोकमान प्रमुख रहेको 'अख्तियार दुरुपयोग अनुसन्धान आयोग' सँग आफ्नो प्रतिष्ठाको लडाइँ लड्दै थिए । त्यही अख्तियारले डा गोविन्द केसीलाई पागल भनी सकेको छ ।
कनकको यो लडाइँ आज सुरु भएको होइन । माओवादीले गरेको प्रोपगेन्डाले बनाएको नकारात्मक छविले आम जनतामा कस्तो भ्रामक असर गरेको छ भन्ने उनको फेसबुक वाल अथवा उनीबारे छापिएका लेखमा पाठक प्रतिक्रिया पढे बुझिन्छ । धेरैजसो कमेन्ट गालीगलौज र तथ्यहीन आरोपमात्र हुनेगरेका छन् ।
'त्यसैको लहलहैमा लागेर बौद्धिक मान्छे पनि तर्किन थाले । केही समय त यहाँको बौद्धिक सर्कलले मलाई ब्ल्याकआउटजस्तो नै गर्यो । डराए सबै ।' आँखा चम्किला पार्दै उनले भनेका थिए ।
'आई एम हियर,' लामो समयपछिको यो भेटमा मैले भने ।
हल्का मुस्कुराउँदै उनले भने - 'वेल्कम होम! वेल्कम टु काठमाडौं!'
सुरुमा यसो हेर्दा यसपल्ट उनको ऊर्जा र उत्साह भने पहिलाजस्तो नभएको मैले सेन्स गरेँ । सायद उनी अहिले फेरि पानी सँगाल्ने खाल्डो हातैले खन्दैछन् ।
म आँफू पनि जागिर छोड्ने क्रममा निक्कै कठिन परिस्थितिबाट निस्केको थिएँ । तीन वर्षअघि सुरु भएको त्यो उथलपुथल अहिले बल्ल आएर शान्त भएको थियो । म थकित थिएँ । सायद मैले त्यस्तै उनीमाथि पनि कल्पना गरेँ ।
तर, एकै छिनको बसाइमा मैले बुझी पनि हालेँ - साँच्चै नै निरन्तर लड्न सक्ने मान्छे हुन् उनी । उनको जीवन ठूलो संघर्षको कथा भन्दा कम छैन ।
हो, कनकमणि दीक्षितलाई सामान्य जीविका जोहो गर्न संघर्ष गर्नुपर्ने कहिल्यै थिएन । वास्तवमा, उनीहरूसँग प्रशस्त थियो, छ । तर, जे छ त्यसबाट विलासी जीवन जिएर अथवा विशुद्ध व्यापारमा लगेर धनार्जन नै जीवनको साध्य बनाएर बाँच्न नै दीक्षित परिवारको लागि सजिलो थियो । किन्तु, उनीहरूले त्यसो गरेनन् ।
दीक्षित परिवारले काठमाडौंमा अनेक संघसंस्था खडा गरेका छन् र तिनको अन्तर्राष्ट्रिय ख्याति छ । व्यक्तिगत रूपमा कनकमणि दीक्षितले लोकतन्त्र, विधिको शासन, मानव अधिकार र न्यायसंगत समाजका लागि आफ्ना कलमले र क्रियाकलापले लडाइँ लडेका छन् । आफूलाई लागेको कुरा खरोरूपमा बोलेका छन् । यसै क्रममा फरक धारमा उनका शत्रु पनि धेरै छन् ।
तर, जब उनले हरेक पटक न्यानो गरी 'वेल्कम होम, वेल्कम टु नेपाल,' भन्छन् । म उनको काठमाडौं र नेपालप्रतिको आफ्नोपन स्पष्ट देख्छु ।
पहिलोपल्ट कनकमणि दीक्षितलाई भेटेर उनको गाडीमा पाटन ढोकासम्म पुगेपछि, कनक डिक्कीबाट दुइटा गरुङ्गा स्पिकर र ठूलो एउटा माइक इकुइप्मेन्ट सकी न सकी निकाल्दै थिए । यो माइक लोकमानको नियुक्तिको विरोध गर्ने प्रदर्शनमा प्रयोग गरिएको थियो । कार्यक्रमपछि उनी आँफैले बोकेर गाडीमा हालेको मैले देखेको थिएँ ।
'ही कुड ह्याभ लीभ्ड लाइक अ किङ !' भन्ने सोच्दै मैले उनलाई त्यो स्पिकर उठाउन मद्दत गरेको थिएँ । हुन पनि उनी भारत र अमेरिकाको विश्वविद्यालयबाट पढाइ सकेपछि संयुक्त राष्ट्रसंघको राम्रो पदको जागिर दस वर्ष खाएपछि छोडेर नेपाल आएका हुन् ।
त्यो 'न्यानोपन' दिल्लीको गर्मीमा पनि महसुस गर्न सके सायद पत्रकार प्रशान्त झाले बुझ्ने थिए होला - किन बाहिरबाट आउने हरेक विदेशीले कनकलाई भेट्नै पर्छ !
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७३ ११:११
प्रतिक्रिया दिनुहोस्