site stats
बाह्रखरी :: Baahrakhari
विदेश
आणविक हतियारको परीक्षण प्रतिबन्ध गर्ने सन्धिबाट बाहिरिने रुसको घोषणा

काठमाडौं । रुसले आणविक परीक्षण प्रतिबन्ध गर्ने सन्धिको अनुमोदन खारेज गर्ने घोषणा गरेको छ । 

रुसी तल्लो सदनका सभामुखले मंगलबार वैश्विक सुरक्षामा अमेरिकाको गैरजिम्मेवारीपनाका कारण यस्तो गर्नुपरेको बताएका छन् ।

रुसी सुरक्षा विज्ञ एवं सांसदले पश्चिमलाई चेतावनी दिन आणविक बम परीक्षण गर्न आग्रह गरेको बताइएको छ । तर, यस विषयमा केही दिनअघि पुटिनले कुनै प्रतिक्रिया दिएका थिएनन् । 

Argakhachi Cement Island Ad

“हाम्रो देशको सुरक्षा सुनिश्चित गर्नका लागि हामी कम्परहेन्सिभ न्युक्लियर परीक्षण प्रतिबन्ध सन्धि (सीटीबीटी)को अनुमोदन फिर्ता लिइरहेका छौँ,” ड्यूमाका सभामुख व्याचेस्लाभ भोलोडिनले सन्धि खारेजीका लागि संसदीय मतदान हुनु अघि भनेका छन् ।

रुसले सन् २००३ मा अनुमोदन गरेपनि वासिंटनले वैश्विक सुरक्षा मुद्दामा गैरजिम्मेवारपूर्ण दृष्टिकोण राख्दै सन्धि अनुमोदन नगरेको उनको भनाइ छ ।

रुसले अनुमोदन खारेज गरे पनि यो सन्धिको हस्ताक्षरकर्ताका रूपमा रहनेछ । कुनै पनि आणविक परीक्षणबारे अलर्ट गराउने विश्वव्यापी निगरानी प्रणालीमा पनि यसको संलग्नता रहिरहनेछ ।

सोभियत संघपछि रुसले कहिल्यै आणविक परीक्षण गरेको छैन । सोभियत संघले अन्तिम पटक सन् १९९० मा र अमेरिकाले सन् १९९२ मा आणविक बमको परीक्षण गरेको थियो ।

सन् १९४५ देखि १९९६ सम्मको पाँच दशकमा दुई हजारभन्दा बढी आणविक परीक्षण गरिएको संयुक्त राष्ट्र संघको तथ्यांक छ । जसमध्ये अमेरिकाले एक हजार ३२ वटा र सोभियत संघले ७१५ वटा आणविक परीक्षण गरेको थियो ।

रूस, अमेरिका र चीनले आणविक परीक्षणको पुनः सुरु गरेमा ठूला शक्ति राष्ट्रबीच आणविक हतियारको नयाँ दौड सुरु हुने ठानिएको छ । सीटीबीटी सन्धियता १० वटा न्युक्लियर परीक्षण भएको राष्ट्र संघको तथ्यांक छ । जसमा भारत र पाकिस्तान प्रत्येकले दुई वटा र उत्तर कोरियाले ६ वटा आणविक परीक्षण गरेको छ ।

सन् १९९६ को सेप्टेम्बर २४ मा न्यूयोर्कमा यो सन्धिमा हस्ताक्षर गर्न सुरु भएको थियो । हालसम्म १८७ राज्यले हस्ताक्षर गरेको सन्धिलाई १७८ राज्यले अनुमोदन गरेका छन् । अमेरिकाले सन्धिमा हस्ताक्षर गरे पनि अनुमोदन भने गरेको छैन । 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्