‘वाच योर थर्ट्स, दे विकेम वर्ड्स
वाच योर वर्ड्स, दे विकेम एक्सन
वाच योर एक्सन, दे विकेम ह्याबिट
वाच योर ह्याबिट, दे विकेम क्यारेक्टर’
– लाओ त्सु
डा. ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’ पढेर आनन्दको अनुभूति मात्रै भएन, संस्मरणात्मक यो पुस्तक ज्ञान प्राप्तिको माध्यम पनि बन्न पुग्यो भन्ने मलाई लाग्छ ।
समयले अहिले मानिसलाई आत्मकेन्द्रित बनाएको छ । त्यसैले मानिस व्यक्तिवादी भएका छन् । मानिस व्यक्तिवादी हुँदा सम्बन्धहरू गौण हुँदा रहेछन् । यो तितो सत्यलाई पुस्तकले गतिलो जवाफ दिएको छ भन्ने लाग्दछ ।
२३१ पृष्ठ र ५३ शीर्षकमा समाविष्ट यो पुस्तक पठनीय छ, किनकि यसका लेखक मनद्वारा निर्देशित छन् । त्यसैले नै डा. ओम मूर्ति अनिल यान्त्रिक लाग्दैनन् ।
मानवीय संवेदना, छोराको बाबुप्रतिको कर्तव्यबोध मात्र यस पुस्तकमा छैन, अध्यात्म र विज्ञानको कुशल संयोजन पनि यसले गरेको छ । यसबाट विज्ञानवादी डा. ओम मूर्ति अनिल अध्यात्मवादी डा. ओम मूर्ति अनिलमा रूपान्तरित भएका देखिन्छन् भन्न सकिन्छ ।
‘मानिसको सबैभन्दा ठूलो आडभरोसा र साथी ऊ आफैँ हो । ऊभित्रको कमजोर अनुभूतिले मात्र उसलाई निर्बल बनाउने हो ।’ यो पुस्तकले पाठकलाई सिकाएको महत्त्वपूर्ण पाठ यही नै हो ।
समग्रमा हेर्दा यो पुस्तक बाबु र छोराबीचको सम्बन्धको कथा मात्र हो, बाबुछोराबीच हुनुपर्ने सम्बन्धको शिक्षा हो वा डा. ओम मूर्ति अनिलको आत्मकथा हो ? प्रश्नहरू थुप्रै हुनसक्छन् । तर, मेरो विचारमा यो तीनवटै पक्षको कुशल संयोजन हो ।
जीवनलाई सहज र पीडामुक्त बनाउनतिर प्राथमिकता दिनुपर्ने दृष्टिकोणमा सहमति र असहमतिका दुवै पक्षहरू छन् । कुनै पनि सन्तानले अन्तिमसम्म जीवनको प्रयास गर्छु भन्ने चाहना राख्छ ।
यो पाटोबाट हेर्दा मृत्युको स्वीकृति कठिन पक्ष हो । अर्कोतिर, कतिसम्म पीडा र कष्टमा राख्ने भन्ने पक्ष पनि त्यत्तिकै सबल छ । यो एकैरातमा परिवर्तन हुने विषय पनि होइन । मानिसको सोचमा क्रमिक रूपमा समयको क्रमसँगै परिवर्तन हुँदै जाने हो ।
यो पुस्तकको अर्को राम्रो पक्ष भनेको यसले चिकित्सा क्षेत्रको सामान्य जानकारी दिने काम पनि गरेको छ । बिरामीको हेरचाह गर्न मात्रै सिकाएको छैन, दायित्वबोध पनि गराएको छ ।
पुस्तकमा एउटै पात्र कुनै बेला डाक्टर भएका छन् भने कुनै बेला छोरा । दुवै भूमिकामा ती पात्र सफल भएका छन्, योचाहिँ पक्कै भन्न सकिन्छ ।
पुस्तक पढ्दा एउटा कुराचाहिँ निर्धक्क भन्न सकिन्छ– डा. ओम मूर्ति अनिल श्रीमद्भागवत गीताको श्लोक ‘मानिसले आफ्नो मनको सहायताले आफूलाई बचाउनुपर्छ, आफूलाई पतन हुन दिनु हुँदैन’बाट निर्देशित छन् ।
त्यसैले डा. ओम मूर्ति अनिल सबै पक्षमा राम्रा छन् । कर्तव्यबोधमा सतिसालझैँ अविचल उभिएका छन्, जुन कुरा पुस्तकमा राम्ररी अभिव्यक्त भएको छ । यो नै डा. ओम मूर्ति अनिलको सबैभन्दा सबल पक्ष हो ।
(घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त हुन् ।)