site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
छोरीको विवाह गर्न बचत गरेको रकम सहकारीले खाइदियो
क्याप्सन : छोरीको विवाह गर्न जम्मा गरेको बचतसम्बन्धी कागजात देखाउँदै सुन्दरी राजवंशी ।

विराटनगर । सुन्दरी राजवंशीले गत वैशाखमै छोरीको विवाह गर्ने तयारी गरेकी थिइन् । विवाहअघि सरसामान खरिदारी गर्ने योजना बन्दै थियो । परिवारले सरसल्लाह गरे ‘त्यो सहकारीमा राखेको पैसा पनि झिक्नुपर्छ’ ।

आफूले सहकारीमा तीन लाख रुपैयाँ बचत गरेको श्रीमान्‌लाई सुनाइन् । यो रकमले त विवाहको खर्च टार्न ठूलो मद्दत मिल्ने परिवारको विश्वास थियो । केही दिनपछि सुन्दरी विराटनगर–७ स्थित माछापुच्छ्रे सहकारीमा पुगिन् ।

कर्मचारीलाई हिसाब हेर्न भनिन् । केही ब्याजसमेत जोडिएको रहेछ । कर्मचारीले ‘एक दुई दिनपछि रकम लिन आउन’ भने । संस्थामा पासबुक देखाएर सुन्दरी फर्किइन् ।

Dabur Nepal
NIC Asia

मोरङको बुढीगंगा गाउँपालिका–३ की सुन्दरी सहकारीले भनेकै दिन फेरि कार्यालय पुगिन् । तर, कर्मचारीले त्यो दिनपनि रकम दिएनन् । “फेरि भोलि आउनु भने,” उनले भनिन्, “बचत फिर्ता दिन आनाकानी गर्न थाले । मैले यो कुरा श्रीमान्‌लाई सुनाए । हामी फेरि भोलिपल्ट गयौं । पैसा दिएनन् ।”

सुन्दरीका अनुसार हस्ताक्षर गर्ने अध्यक्षसहितका पदाधिकारी नभएकोले पैसा ननिस्कने भनियो । ऋण गरेर जसोतसो छोरीको विवाह गराए तर सहकारीमा जम्मा गरेको बचत अहिलेसम्म फिर्ता पाएको छैनन् । अहिले पनि सहकारी धाइरहेका छन् ।

वैशाखयता पाँच महिना बितिसक्यो । सुन्दरी जस्ता बचतकर्ता सहकारी धाइरहेका छन् । रकम फिर्ता आउनु त कता हो कता सहकारीका सञ्चालक कार्यालयमा ताला झुन्ड्याएर गायब भएका छन् । दुई महिनादेखि यो सहकारीको कार्यालयमा ताला लागेको छ ।

बुढीगंगाकै दिपेश राजवंशीले सात लाख रुपैयाँ फिर्ता पाउनुपर्ने छ । मुद्दतीमा धेरै ब्याज पाइने आशाले बचत गरेका उनले भने, “नाफा खाने चुत्को साँवा पनि फुत्कियो भने जस्तै भएको छ । आफ्नै पैसा लिन बारम्बार धाउँदा पनि पाइएको छैन ।”

उनले आफूहरू जस्ता सयौँ बचतकर्ताको करोडौँ रकम जोखिममा परेको सुनाए ।

अनिलकुमार ठाकुरलाई तीन लाख ५० हजारको चेक सहकारीले दियो । भजाउन बैंक पुगे तर रकम निस्किएन । बैंकले ‘ब्यालेन्स नभएको’ भन्दै फिर्ता पठाई दियो । “पैसा फिर्ता नपाएर हाम्रो ज्यान नै आधा भइसक्यो अब के गर्ने नगर्ने भन्ने चिन्ता भएको छ,” उनले सुनाए ।

मोरङको कटहरी गाउँपालिका–२ का बमकुमार शर्माको एक लाख ३० हजार २०० रुपैयाँ सहकारीमा फसेको छ । श्रम गरेर कमाएको पैसा उनले बचत गरेका थिए तर सहकारीले अझै फिर्ता गरेको छैन । भन्छन्, “हामी जस्तो समान्य मानिसले बनिबुतो गरेर जम्मा गरेको रकम खाएर सञ्चालक खुलमखुला हिँडेका छन् । उनीहरूलाई केही कारबाही भएको छैन ।”

यो सहकारी संकटमा परेसँगै अध्यक्ष कमलेश कर्णसहितका पदाधिकारी फरार भएका छन् । बचतकर्ताको उजुरीपछि जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधिसहितको छानबिन समितिले अध्ययन गरी प्रतिवेदन तयार गरेको छ । यसमा बचतकर्ताको रकम सञ्चालककै लापरवाही र जथाभावी खर्च गरेका कारण जोखिम भएको उल्लेख छ । बचतकर्ताले सहकारीले गरेको ठगीविरुद्ध विराटनगर महानगरपालिका–७ को कार्यालयमा उजुरीसमेत दर्ता गराएका छन् ।

बचतकर्ताको रकम फिर्ता गर्न सात दिनको समय दिएर प्रदेश सहकारी रजिस्टार तथा प्रशिक्षण कार्यालयले माछापुच्छ«े सहकारीका सञ्चालकलाई निर्देशन दिएको थियो । तर निर्देशन पालना गराउनुको साटो सञ्चालकहरू फरार भएका छन् । बचतकर्ता दिपेश राजवंशीले कतिपय सञ्चालक विराटनगरमै लुकेर बस्ने गरेको आफूहरूले सूचना पाएको सुनाए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro