site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अभिनेता पो कहिले थिएँ र !
Sarbottam CementSarbottam Cement

किशोर डंगोल किन सेलाए, थाहा भएन । नाटकप्रति उनको लगाव र ऊर्जा देखेरै एकपल्ट फेरि रंगमञ्चमा ओर्लने मेरो रहर पलाएको थियो ।

कोरोनाकै बीचमा हो, एक दिउँसो सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईको चेम्बरमा पुराना नाट्यकर्मीबीच नाटक गर्ने विषयमा सहमति भएको ।

मित्र अशोक पनि उत्साही थिए । उनले अग्रज नाट्यकर्मीको यो अभियानलाई भरपुर साथ दिने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

बद्री अधिकारी, राजेन्द्र शलभ, रवीन्द्र खड्का, मोहन निरौला, किशोर, वीरेन्द्र हमाललगायत व्यक्तिको उपस्थितिमा अशोकले अग्रजलाई हौस्याएका थिए ।

अशोकले वीरेन्द्र नाचघरमै कार्यरत रहेकाले उनलाई यसको जिम्मा लगाउने कुरो गरेका थिए ।

Global Ime bank

उनले केही नाटकको नाम लिँदै नाचघरमै रिहर्सल गर्न सकिने बताए । अर्थात्, वीरेन्द्र पनि उत्साही थिए ।

त्यो बैठक बस्नु केही साताअघि अग्रज नाट्यकर्मीको बृहत् जमघट भएको थियो । भुवन थापा चन्द, रमेश बुढाथोकी, मदनदास श्रेष्ठ, सरोज खनाल, हरिहर शर्मा, हरि थापालगायत उपस्थित सबै नाटक गर्न तम्तयार देखिए ।

‘नाटक गर्ने हो भने मलाई नछोड्नु है !’ अधिकांशको भनाइ यस्तो रह्यो ।

त्यसअघि, प्रारम्भिक चरणमा किशोर, शलभ, रमण घिमिरे र मबीच यस विषयमा कुराकानी भएको थियो । अनि, पुराना रंगकर्मीजतिको नाम टिपियो । फोन नम्बर खोजियो ।

त्यसपछि मात्रै नाचघरको ‘हरिप्रसाद रिमाल हल’मा अग्रज नाट्यकर्मीको भेला भएको थियो ।

तर, दुई वर्ष बढीभन्दा समय बितिसक्यो । त्यस दिन भएको जमघट अग्रजहरूको भेटघाटमा सीमित भइदिएको छ ।

यतिखेर किशोर आफ्नै कर्ममा छन् । शलभ दाइ र म पनि आ–आफ्नै काममा लागेका छौँ । अरूलाई त आज त्यो भेला पनि सम्झना छैन होला ।

०००

नाटकप्रतिको मेरो रुचिलाई मलजल गर्ने साथी किशोर पनि हुन् । २०३९ सालतिर हामी सर्वनाम धाउँथ्यौँ, नाटकमा खेल्न पाउने लोभमा । डिल्लीबजार ओरालोको देब्रे गल्लीमा (अहिलेको ट्रिनिटी कलेजछेउछाउ) सर्वनामको अड्डा थियो ।

प्रायः साँझ हाम्रो जमघट त्यतै हुन्थ्यो । रामकृष्ण निरालाले सर्वनामसम्म मलाई डोर्याइदिएका हुन् । उनी व्यवस्थापक थिए सर्वनामको ।

त्यहीँ अशेष मल्ल, विष्णुविभु घिमिरे, किशोर पहाडी, गोविन्द सिंह रावत, दिनेश अधिकारी, पुष्कर गुरुङहरूसँग भेट भयो ।

त्यसअघि नै सडकमा मैले हेरेको थिएँ, सुनील पोखरेल अभिनीत अशेष दाइको नाटक ‘हामी वसन्त खोजिरहेछौँ’ ।

समकालीन राजनीतिमाथि विम्बात्मक व्यंग्य प्रस्तुति रहेको त्यो सडकनाटकले उस बेला तहल्का मच्चाएको थियो ।

त्यसपछि नै हो, ‘सडकदेखि सडकसम्म’ । अशेष दाइको एउटा अर्को प्रसिद्ध नाटक । त्यसअघि अरू पनि थुप्रै नाटक मञ्चन भयो, सर्वनामबाट ।

‘सडकदेखि सडकसम्म’ नाटकमा अभिनय नगरे पनि यसको प्रचारमा म खुबै भिडेँ । महाराजगन्जदेखि सातदोबाटोसम्म टेम्पोमा ‘नाटक हेर्न आउनुस्’ भन्दै प्रचार गर्दै हिँडेँ ।

त्यो नाटक राष्ट्रिय सभागृहमा भइरहेको थियो ।

सर्वनाममा नभए अर्कोतिर पाइएला ! त्यसैले फुर्सद मिल्यो कि किशोरले नाट्यकर्मीको अर्को जमात ‘शुभ समूह’तिर पुर्याए ।

नाटकमा अभिनय गर्ने यही रनाहामा किशोरले ‘भष्मासुरको नलीहाड’सम्म पुर्याए । प्रसिद्ध आख्यानकार डा. धु्रवचन्द्र गौतमको नाटक ‘भष्मासुर...’ केही समयको पूर्वाभ्यासपछि नाचघरमा मञ्चन हुने तयारीमा थियो ।

कलाकार छनोट गरिँदै थियो । एउटा भूमिका किशोरको भागमा पर्यो । एउटा पात्रको जिम्मा मैले लिएँ । एउटा सरोज खनालको भाग लाग्यो । एउटा पात्रलाई रवि अधिकारीले बोके । सुभाष गजुरेल, शान्ति शर्मा पनि नाटकमा भित्रिए ।

चितवनमा अनेक नाटक गरे पनि काठमाडौंमा यो सरोजको पहिलो नाटक थियो । मेरो र रविको पनि पहिलो नाटक थियो ।

नाचघरमा केही साताको मञ्चनपछि नाटक सकियो । हामीमध्ये सबैभन्दा राम्रो अभिनय गर्ने सरोज ठहरिए ।

त्यहीँदेखि सरोज आरोहणसँग जोडिए । किशोर शुभ समूहमै थिए । रवि पनि आरोहणतिर पुगे ।

त्यसैताका रंगकर्मी (हांस्यकलाकार) खेम शर्माले सरोजलाई साइकलमा डोहोर्याएर बद्री दाइसामु पुर्याएझैँ मलाई पनि पुल्चोक पुर्याए ।

पुल्चोकमै श्रीओम श्रेष्ठ र पूर्ण थापासँग खेमले चिनजान गराएपछि युवा नाट्य परिवार (युनाप)बाट अर्को नाटक खेलेँ ।

‘जब बादल पन्छिन्छ’ युद्धकथामा आधारित नाटक थियो । मञ्चमा जति सैनिक थुपारे पनि हुने । संवाद नभए पनि मञ्चमा मनग्यै ओहरदोहर गर्न पाइने ।

एकमहिने रिहर्सल सकाएर नाचघरसम्म आइपुग्दा दुईचार संवाद मेरो भागमा परिसकेकोे थियो ।

युनापबाट नाटक खेल्न थाले पनि सर्वनाम, शुभ समूह, आरोहण, रंगकर्मी जमात, जेनापतिर चक्कर मार्न छोडिनँ । कसैले बोलाइहाल्छन् कि ‘राजेश, एउटा सानो रोल छ है’ भनेर । यो लोभले मलाई छोडेको थिएन ।

तर, जुरेन अन्यत्र नाटक गर्न । ‘नाटक खेल्न आऊ’ कसैले भनेनन् । त्यसैले युनापबाटै केही नाटक गर्दै गइयो ।

नाट्यकर्मी मोहन निरौलासँग राम्रो सम्बन्ध थियो मेरो । उनले निर्देशन गरेका केही नाटकहरू हेर्दै त्यस बेलाका साप्ताहिक पत्रिकामा टिप्पणी लेखेँ । तर, उनको नाटकमा काम गरिनँ ।

बेलाबखत युनापले सानोतिनो भूमिका मेरा लागि छुट्ट्याउँथ्यो । यस्तै दुईचार नाटक, ‘युद्ध र शान्ति’, ‘घर ज्वाइँ’लगायत अरू पनि केही ।

नाटकको भूत यति साह्रो दिमागमा सवार थियो, भनेरै साध्य छैन । दुईचार मिनेट मात्रै भए पनि मञ्चमा ओर्लन पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।

विस्तारै अभिनयप्रति मोहभंग हुँदै गयो । नाटक खेल्न मन लाग्न छोड्यो । हातमुख जोर्न जागिर थियो । पत्रकारिताको मोहले मज्जैले जकडेको थियो । त्यसैले अभिनयमा भन्दा रंगक्षेत्रबाहिरफेराको काममा ध्यान जान थाल्यो ।

एउटा प्रसंग सम्झना छ, आज पनि । २०४७ साल मंसिर÷पुसको महिना थियो । युनापको एउटा नाटक धोबीघाटमा मञ्चन हुँदै थियो । मैले पनि अभिनय गरेको थिएँ ।

यही नाटकपछि अभिनय गर्न छोडेँ । लाग्यो– म राम्रो कलाकार होइन । हुँदै होइन । यदि, राम्रो कलाकार हुन्थेँ भने सर्वनाममै अशेष दाइले कुनै न कुनै नाटकमा रोल दिन्थे होलान् ।

आरोहणका नाटकहरू हेर्न ठाउँठाउँ पुगिरहन्थेँ । बद्री दाइको निर्देशनमा अभिनय गरिसकेकाले उनले पनि अर्को कुनै नाटकमा बोलाउन सक्थे । सुनील पोखरेलले ‘लौ, यो रोल गर’ भन्न सक्थे ।

श्रीओमहरूसँग नाटक गर्दा पनि सानोसानो भूमिका मात्रै मसम्म आइपुग्थ्यो । लामो संवाद आफूलाई कण्ठ गर्न गाह्रो । त्यसैले सानो भूमिकामै रमाउन थालेको थिएँ । पछि सानो भूमिकाको बानी बस्यो । र, अभिनय मोह पातलिँदै गयो ।

मेरो ठूलो रहर थियो सर्वनाममा एउटै नाटक भए पनि खेल्ने । त्यो सम्भव भएन । किन भएन ? अशेष दाइसँग सोध्दा पनि हुन्थ्यो होला, तर सोधिनँ ।

२०४७ सालताका नै ‘म नाट्यकर्मी हुँला, तर अभिनेता होइन’ भन्ने आफैँले स्वीकार गरिसकेकाले अशेष दाइसँग यस विषयमा फेरि सोधिरहन उचित लागेन ।

वास्तवमा म राम्रो अभिनेता कहिल्यै भइनँ । आज पनि त्यो महसुस हुन्छ । गाउँमा नाटक गर्ने रहर थियो । त्यसैले अभिनय गरेजस्तो गरियो ।

त्यही रहरमाथि आगोमा घिउ सरी केही थपियो । त्यसले अभिनय क्षमता त बढेन, बस् नाटकमा लागिरहनुपर्छ, नाटक खेलिरहनुपर्छ भन्ने धङधङीलाई मलजल मात्रै गर्यो ।

उप्रान्त नाटकमा अभिनय त गरेँ, सन्तुष्ट हुन सकिनँ ।

यही गूढ अनुभव दिएको थियो, मैले पाएका नाट्य भूमिकाहरूले । केही नाटकमा लामो रोल पाएको थिएँ । परन्तु, पूर्वाभ्यास सकिँदासम्म मेरो रोल खुम्चिएर चारपाँचवटा संवादमा सीमित भइसक्थ्यो ।

त्यसैले पनि होला, पछिपछि म नाटकमा भन्दा पत्रकारितामा रमाउँदै गएँ ।

एकफेर जनकपुरमा भाइसाथीहरूले नाटक गर्ने भए, अशेष मल्लको ‘तुवाँलोले ढाकेको बस्ती’ । जन्डिसले घरै बसेको मलाई भाइसाथीले उनीहरूलाई सिकाइदिने जिम्मा दिए ।

करिब एक महिना गोपाल धर्मशालाको छतमा गएर आफूले सिकेजानेको सिकाएँ । मलाई पनि ‘एउटा पात्रमा पस्नुस्’ भन्दै थिए केटाहरू । तर, जन्डिसबाट पूरा तंग्रिन नसकेकाले नाइँ भनेँ ।

दसैँमा नाटक मञ्चन भयो, चुरोट कारखानाको हलमा । दर्शकहरूले खचाखच थियो हल ।

अचेल त्यो नाटकको सम्झना मात्रै हुन्छ । त्यस नाटकका कलाकार अशेष गिरी फिल्म÷टेलिफिल्म बनाउँदै हिँडेका छन् । नवराज बास्कोटा घरी धनुषाधाम त घरी मुम्बई धाइरहेका छन् ।

हालै नवराजको फेसबुक वालमा अटल बिहारी बाजपेयीको भूमिका निर्वाह गर्दै गरेको तस्बिर देखेँ । खुसी लाग्यो । साथीहरूले यसै क्षेत्रमा केही न केही गर्दै छन् ।

धनञ्जय अहिले पनि भेट हुँदा ‘नाटक गर्ने होइन दाइ ?’ भनेर सोध्छन् । यो सुन्दा ‘ना नौ मन तोरी होए, न राधा नाचे’ भन्ने आहानको सम्झना हुन्छ ।

०००

किशोरले अग्रज कलाकारको जमघट गराउँदा मनमा उत्साह बढ्यो । नाचघरका महाप्रबन्धक राईको सहयोगी मनले आफूले अभिनय नगरे पनि अग्रजलाई सहयोग गर्न सकिने विचार मनमा आयो । प्रफुल्ल भएँ ।

वीरेन्द्रले लिएका नाटकका नामले केही राम्रा नाटक दुईचार दिन रहर पुर्याएर हेर्न सकिने कुराले मन गदगद भयो । अग्रज नाट्यकर्मीको अभिलेखांकनका लागि पनि काम गरिने प्रसंगले उत्साह दुई गुना बढेर गयो ।

अचम्म, त्यतिविधि कुरा त्यत्तिकै सेलाएर गयो ! किशोर सेलाए । शलभ दाइ र म सेलायौँ ।

म कहिले अभिनेता थिएँ र सेलाएँ भनेको हुँला ! यही सोच्दै छु– म अभिनेता पो कहिले थिएँ र !

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement