site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
जनकपुर, मनु ब्राजाकी र ‘तोहर कनियाँ आ हम’
Sarbottam CementSarbottam Cement

 एक वर्ष नै भयो, महोत्तरीको औरही पुगेर ‘तोहर कनियाँ आ हम’को ‘गृह विमोचन’ गर्ने चर्चा चलेको ।

सबै व्यस्त । किरण थापा दाइ समाजसेवामा व्यस्त । श्रीओम (श्रेष्ठ)को साहित्यिक व्यस्तता उस्तै । बेलाबखत म पनि व्यस्त भइदिने !

व्यस्तैव्यस्तताले कथाकार मनु ब्राजाकीको गाउँ औरही पुगेर साहित्यिक कर्म गर्ने काममा अड्को लागिरह्यो । नजाने कसैको चाहना थिएन, मौका मिल्नासाथ औरहीतिर हुइँकिहाल्ने तयारी छँदै थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तयारी हुँदाहुँदै पनि सबैलाई एकसाथ समय मिलाउन गाह्रो । गाह्रोलाई सजिलो बनाउने प्रयास नभएको होइन, तर समय मिल्दै नमिलेपछि कसैको केही लाग्दो रहेनछ ।

पोहोर साल नै ‘तोहर कनियाँ आ हम’को औपचारिक विमोचन गरियो । ‘तोहर कनियाँ आ हम’ अर्थात् ब्राजाकीको कथाकृति ‘तिम्री स्वास्नी र म’को मैथिली अनुवाद ।

Global Ime bank

मैथिली भाषासाहित्यमा कलम चलाउने पत्रकार विजेता चौधरीले उक्त कथाकृतिलाई अनुवाद गरिन् । मैथिली भाषाकै अर्का सर्जक विनीत ठाकुरले सम्पादन गरे ।

अन्ततः हतारहतार कृति सार्वजनिक गरियो, २०७९ साउन ११ गते । त्यसपछि नै हो, औरही पुगेर फेरि अनुवाद कृतिमाथि चर्चापरिचर्चा गर्ने कुरो चलेको ।

खासमा ब्राजाकीको गाउँमै पुगेर कसरी कार्यक्रम गर्ने ? व्यवस्था कसले मिलाउने ? त्यस भेगका साहित्यकार/पाहुनालाई औरहीसम्म कसरी डाक्ने ? यी यावत् प्रश्नले आजभोलि भन्दाभन्दै समय घर्कंदै गयो । दिन बितिरह्यो । जाने मेलोमेसो जुरेन ।

केही महिनाअघि अनुवादक विजेताले सामाजिक सञ्जालमा अनूदित कृतिको आवरण तस्बिर राखिन् । आफूले अनुवाद गरेको पुस्तकका विषयमा लेखिन् । त्यसपछि कृतिका बारेमा धेरैले जिज्ञासा राखे ।

यही जिज्ञासाले जनकपुर यात्राको जोग जुर्यो । र, सम्पन्न भयो पुस्तक सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रम ।

रिडर्स हबमा आयोजित ‘महफिल–ए–काव्य उपासना’मा कवि धीरेन्द्र प्रेमर्षिसँग भेट हुँदा यसै विषयमा कुरा चल्यो । उनले जनकपुरमा कला, साहित्य, संस्कृतिका क्षेत्रमा काम गर्दै आएको संस्था मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीसँग कुराकानीको मेलोमेसो मिलाइदिए ।

सेतुको काम गरे कवि प्रेमर्षिले । फोनमा छलफल हुँदा अनूदित कृतिमाथिको परिचर्चा कार्यक्रम संयोजन गर्न कोषका अध्यक्ष जीवनाथ सहर्ष राजी भए ।

यति कुरो भइसकेपछि कथाकार ब्राजाकीको ‘तोहर कनियाँ आ हम’ किताबसहित शुक्रबार (असोज ५) हामी (श्रीओम र म) जनकपुरतिर लाग्यौँ । अनुवादक विजेता शनिबार पुगिन् ।

शनिबार साँझ साहित्यका मर्मज्ञहरू ब्राजाकीको कृतिमाथिको चर्चामा उपस्थित थिए । मैथिली र नेपाली साहित्यका हस्तीहरूको उपस्थितिमा ‘तोहर कनियाँ आ हम’ मिथिला क्षेत्रमा सार्वजनिक गरियो ।

डा. राजेन्द्र विमललगायत साहित्यकारले कृति सार्वजनिक गरेका थिए । मञ्चमै थिए, मधेस प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी भ्रमर, पूर्वाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा. रामअवतार यादव, पूर्वसांसद महेन्द्र मिश्र, कोषका अध्यक्ष जीवनाथ चौधरी ।

ब्राजाकीसँगको सम्बन्धका बारेमा बोले डा. विमलले । उनीकहाँ कथाकार ब्राजाकी पुगिरहन्थे । ब्राजाकी कथा लेख्ने, डा. विमल पनि कथा लेख्ने । यी दुईको सम्बन्ध अस्वाभाविक थिएन ।

सात/आठ महिनाअघि नै होला, विमल डाक्टर साहबकहाँ जाँदा उनी कथाकार मित्र/दाइ ब्राजाकीको सम्झना गर्दै थिए । डा. विमलले भनेका थिए, ‘मनु ब्राजाकीको कलम सशक्त थियो । उनको जीवन सार्थक भएको छ । सार्थक हुने माध्यम हो, उनको कलम ।’

शनिबार पनि उनले ब्राजाकीलाई सम्झिए । उनको कथाकारिता र आत्मीयता उल्लेख गरे । मध्यपान प्रवृत्ति सेयर गरे ।

ब्राजाकीको कृति मैथिलीमा अनुवाद गरिएकामा उनले खुसी व्यक्त गरे । उनले भने, “देशको भावनात्मक एकताका लागि क्षेत्रीय भाषाबाट नेपाली भाषामा र नेपाली भाषाबाट क्षेत्रीय भाषाहरूमा निरन्तर अनुवाद भइरहनुपर्छ । अनुवाद ठूलो शास्त्र हो । चुनौतीपूर्ण भए पनि त्यसको सामना गरिरहनुपर्छ र अनुवाद कृतिहरू जन्मिइरहनुपर्छ ।”

प्रा. डा. रामअवतार यादवले पनि अनुवादकै प्रसंग कोट्ट्याए । मूल कृतिभन्दा अनुवादकले बढी मिहिनेत गर्नुपर्ने उनले तर्क गरे । “अनुवादलाई आज विश्वमै गौरवशाली कामका रूपमा लिइन्छ,” उनले भने, “त्यसैले अनुवादमा मिहिनेत पर्छ नै ।”

मधेस प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी भ्रमरले आफूले ब्राजाकीका गजल मैथिली भाषामै छापेको प्रसंग सुनाए । ब्राजाकीसँग आफ्नो सम्बन्धबारे चर्चा गर्दै उनले हिन्दी भाषामा पनि गजलहरू लेख्ने गरेको स्मरण गरे ।

उनले यसो भनिरहँदा म सम्झिरहेको थिएँ, दुई वर्षअघिको भ्रमरसँगको भेट । ‘तोहर कनिया आ हम’ प्रकाशित हुनुमा उनको पनि भूमिका छ । अझ त्यस कृतिको बीउ नै त्यही क्षण थियो भन्दा गलत नहोला ।

जनकपुरमा साहित्य महोत्सव हुँदै थियो । महोत्सवको अन्तिम दिन म पुगेको थिएँ । त्यस दिन बिहानै साहित्यकार भ्रमरसँग बाह्रखरीको कला–साहित्यका लागि कुरा गरौँ भनेर समय लिएको थिएँ । उनले जानकी मन्दिरमा भइरहेको महोत्सवस्थलमै बोलाए । म रामानन्द चोकमा ओर्लिएर सिधै मन्दिरतिर हान्निएँ ।

उनीसँग भेट हुनासाथ मन्दिर परिसरकै एउटा कुना समाएर कुराकानी थालेँ । महोत्सवमा उनको सेसन पनि भएकाले वर्तालाप छोटो नै गर्ने मनसुबा थियो मेरो ।

त्यसैक्रममा मधेसकै साहित्यकार मनु ब्राजाकीको प्रसंग निस्कियो । ब्राजाकीलाई मधेसकै पाठकले नचिन्ने नगरेको कुरा उठाएँ । नेपाली साहित्य मैथिलीमा अनुवाद नगरिँदा स्थानीय पाठकसित नेपाली साहित्यकारको साक्षात्कार नभएको उनको ठहर थियो ।

आफूहरूले मैथिलीमा काम गरे पनि अनुवाद कृति प्रकाशित गरिदिने संस्था नभएकाले अप्ठ्यारो भएको उनले सुनाए । भ्रमरको कुराले अनुवाद साहित्यमा एक किसिमको खालीपना बोध गर्न सकिन्थ्यो । यो खालीपना भर्ने आधार भनेकै अनुवाद हो ।

यही त्यान्द्रो समातेर समाजसेवी किरण थापा दाइसँग ब्राजाकीको कथाकृति अनुवाद गर्न सकिन्छ कि भन्ने जिज्ञासा राखेँ । सँगै थिए साहित्यकार मित्र श्रीओम ।

कुरो झर्नेबित्तिकै किरण दाइले भने, ‘हुन्छ राजेश, मैथिलीमा अनुवाद गर्ने लेखक खोज, गुठी (कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठी)ले छाप्छ ।’

त्यसपछि नै हो, अनुवादका निम्ति विजेता चौधरीलाई प्रस्ताव गरेको । उनी खुसीखुसी राजी भइन् ।

अन्ततः ‘तिम्री स्वास्नी र म’ले ‘तोहर कनियाँ आ हम’को आकार लियो । त्यसको परिचर्चा उनकै क्षेत्रमा गरिएको थियो । ब्राजाकीको स्मरण गर्दा सबैभन्दा भावुक थिए, डा. विमल ।

रंगकर्मी एवं साहित्यकार रमेशरञ्जन झा हामी जनकपुर पुगेको साँझै भेटिए । उनी कामका सिलसिलामा त्यहीँ थिए । उनले पनि ब्राजाकीको सम्झना गरे । अनि सुनाए, उनका मैथिली गजल आफूले पढेको प्रसंग ।

मैथिली भाषासाहित्य र रंगकर्ममा निरन्तर सक्रिय रमेशरञ्जनसँगको तीनदिने संगतले उनको क्रियाशीलतालाई अझ नजिकबाट नियाल्ने मौका पाएँ । रमेशरञ्जनसँग मेरो परिचय भएको केही वर्ष मात्र भएको छ । जनकपुर बसाइका क्रममा देखेको उनको कर्म मेरा लागि सम्झनायोग्य बन्यो ।

परिचर्चामा केही खरो टिप्पणी गरे लेखक रोशन जनकपुरीले । उनी चर्काे टिप्पणीका लागि माहिर छन् । उनका लेखरचनाबाटै त्यो प्रस्ट हुन्छ ।

ब्राजाकीलाई उनले मन पर्ने र नपर्ने दुवै कित्तामा राखे । कृति अनुवाद गरिएकामा भने प्रशंसा गरे । त्यसै साँझ ब्राजाकीका विषयमा श्रीओम, विजेता र श्यामसुन्दर शशीले बोले ।

मन जित्ने अर्का व्यक्ति थिए, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी । उनको काम मननयोग्य लाग्यो । उत्प्रेरक । कोषको चारतले ठूलो भवन निर्माण भइरहेको थियो । उनी कहिले निर्माणस्थलमा पुग्थे त कहिले आफ्नो व्यापार–व्यवसायको काममा व्यस्त रहन्थे ।

व्यस्तताका बाबजुद कृति परिचर्चाका लागि उनले संयोजनकारी जिम्मेवारी स्वीकारे । जनकपुरका मूर्धन्य साहित्यकारहरूलाई कार्यक्रममा बोलाए । गुणस्तरीय जमघटबीच ब्राजाकी र अनूदित कृतिमाथि विमर्शको वातावरण मिलाए ।

उनको कर्म स्तुत्य रहेको मैले अनुभूत गरेँ । कारण, कृति परिचर्चा मात्र होइन, शनिबार बिहान कोषले कथा लेखनसम्बन्धी गोष्ठी पनि आयोजना गरेको थियो । कार्यक्रममा स्कुलका विद्यार्थीले कथा सुनाए । करिब २० सहभागीमध्ये कसैले लोककथा त कसैले दन्त्यकथा वाचन गरेका थिए ।

कथा लेखनप्रति विद्यार्थीमा रुचि र जागरण ल्याउन कार्यक्रम निरन्तर गर्दै आएको उनले सुनाए । जीवनाथ र उनको समूहलाई साधुवाद नदिने कोही थिएनन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय