site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
लेखा समितिमा टेरामक्स बहस : राजस्व चुहावट र गोपनीयताको चिन्ता

काठमाडौं । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)बारे सांसदहरूले बहस हुनुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले टेरामक्स कार्यान्वयन गर्ने/नगर्ने विषयमा गम्भीर बहस हुन जरुरी रहेको बताएका हुन् ।

बैठकमा नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले टेरामक्स जटिल विषय बनेको बताए । “यो आँखाले नदेखिने विषय हो । यसमा के ठिक हो, बेठिक हो भन्ने विषय थर्ड पार्टी अडिट गराउनुपर्ने हुन्छ,” बास्कोटले भने ।

यसमा सर्वोच्च आदलतको फैसला र व्यक्तिगत गोपनीयताको विषय समेत जोडिएको उनको भनाइ छ ।

उनले अहिले टेरामक्स जस्तै तर सस्तो प्रविधि आएको पनि बताए । “खरिद गर्नै परे पनि अहिले अरू नै सस्तो प्रविधि आइसकेको छ । करिब आठ गुणा सस्तो पर्ने प्रविधि आएको छ भन्ने सुनेको छु । यसको बारेमा अख्तियारले पनि छानबिन गर्न थालेको सुनेको छु,” बास्कोटाले भने ।

तर, पहिले नै खरिद भइसकेर कार्यान्वयन हुन मात्रै बाँकी रहेको प्रविधि हुँदाहुँदै नयाँतिर जान खोज्नु फेरि नयाँ मुद्दा बन्ने देखिन्छ ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद राजेन्द्र लिङ्देनले टेरामक्सबारे खुलारूपमा जानकारी गराउनुपर्ने बताए ।

उनले दूरसञ्चार कम्पनीहरूको राजस्व घटिरहेकोतर्फ पनि सचेत गराए ।

“गएको पाँच वर्ष देखि लगातार दूरसञ्चारबापत् प्राप्त गर्ने राजस्वमा कमी आएको छ । तर, उपभोत्ता बढेको छ र छिमेकका अन्य देशमा पनि राजस्व बढेको छ । तर, हाम्रो घटेको छ । यो घट्ने चान्चुने अंकमा छैन र एमसीसीले दिएको अनुदान भन्दा ठूलो रकम राजस्व घटेको छ,” लिङ्देनले भने ।

उनले राजस्व चुहावट रोकिनुपर्ने बताए । “नियमन हुनुपर्छ, चुहावट रोकिनुपर्छ । यो विषयमा समिति नै प्रस्ट हुनुपर्छ । यसबारे प्रविधि ठिक नभएको हो कि ?”

यस्तै, उनले सेवा प्रदायकले कलबापत् कति पैसा काटिरहेको छ ? कल बाइपास भए नभएको हेर्ने निकाय को हो भनेर प्रश्न समेत गरे ।

“सेवा प्रदायक निकायले पैसा कति काटिरहेकोबारे थाहा पाउने निकाय को छ ? मेरो कलबापत ठिक ढंगले पैसा काटियो कि काटिएन भन्ने थाहा पाउने अर्को कुन निकाय छ ? कल बाइपास भइरहेको छ, कसरी भइरहेको छ भन्ने थाहा पाउने निकाय कुन छ ? कति राजस्व छलि भयो थाहा पाउने के छ ? यस विषयमा गम्भीर हुुनपर्छ । निष्कर्ष निकाल्न जरुरी छ,” टेरामक्स अत्यावश्कय रहेको संकेत गर्दै उनले भने ।

नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले दूरसञ्चार कम्पनीहरूको ग्राहक र सेवाको प्रयोग बढ्दा समेत राजस्व घट्नुको कारण गम्भीर रहेको टिप्पणी गरे ।

उनले भने, “टेलिकमको २२ अर्ब घाटा छ । अहिले नेपाल टेलिकमका र एनसेलनको ग्राहक बढेका छन् । ग्राहकहरूको महसुल कम भएको महसुस भएको छैन । ग्राहक बढ्ने, महसुल नघट्ने अनि राष्ट्रिय राजस्वमा २२ अर्बको घाटा भएको छ, त्यसको कारण के हो ?”

उनले टेरामक्सले व्यक्तिगत गोपनीयता हनन गर्न नखोजेको टिप्पणी गरे । “टेरामक्सको सम्बन्धमा पनि मानिसकको संवैधानिक गोपनीयताको अधिकार हनन गर्ने भनिएको छ । समग्ररूपबाट व्यक्तिको हक र अधिकारलाई सोच्ने हो । हक अपरहण गर्ने पक्षमा छैन । राजस्व घाटा भएको छ, त्यसको विषयमा एनटीसी र एनसेलसँग छलफल गर्नुपर्छ । त्यसतर्फ गम्भीर भएर सोच्नुपर्छ ,” उनले भने ।

तीन अर्ब नेपाली रुपैयाँ भन्दा बढीको टेरामक्स जडान प्रक्रिया अन्तिम समयमा आएर रोकिएको छ । टेरामक्सले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोन कल एवं म्यासेजको निगरानी र त्यसको गुणस्तर मापन गर्ने प्राधिकरणले जनाएको छ ।

यसले अनधिकृत ‘कल बाइपास’को पनि निगरानी एवं निरीक्षण गर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको टेरामक्सले टेलिकमको नेटवर्कमा भएको फोन कल विवरण जस्ताको त्यस्तै देखाउने छ । प्राधिकरणले टेरामक्स जडान गर्दा मानिसहरूको गोपनियता हनन नहुने बताउँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro