
काठमाडौं । नेपाली कथानक चलचित्र ‘रंगेली’को अष्ट्रेलियामा ‘ग्रान्ड प्रिमियर’ हुने भएको छ । शिवरात्रिको दिन फागुन २५ गते रिलिज हुने यो चलचित्र माघको अन्तिम हप्ता अष्ट्रेलियामा प्रिमियर गरिने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले जानकारी दिएका छन् ।
अष्ट्रेलियाको वितरक कम्पनी ‘हट बिट्स इभेन्टस्’ले प्रिमियर तथा रिलिज गर्नेछ । प्रिमियरमा नेपालबाट कलाकारसहित चलचित्र टिम त्यहाँ पुग्नेछ । प्रिमियर नेपाली, कूटनीतिक व्यक्तिहरू, पत्रकार तथा चलचित्रकर्मीहरूमाझ गरिनेछ ।
अमेरिकामा पनि सार्वजनिक प्रदर्शन अगाडि नै यसको प्रिमियर हुने बताइएको छ ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको ‘रंगेली’मा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको प्रमुख भूमिका रहेको छ । हाल चलचित्रको मोरङको रंगेली, कर्सिया, कटहरी, विराटनगर र बिर्तामोड क्षेत्रमा छायांकन भइरहेको छ ।