काठमाडौं । भारतले क्यानडामा रहेका र क्यानडा जान चाहने आफ्ना नागरिकलाई ‘अत्यन्त सावधानी अपनाउन’ आग्रह गरेको छ । भारतको विदेश मन्त्रालयले बुधबार एक ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकलाई सावधानीका लागि आग्रह गरेको हो ।
क्यानडामा बढ्दो भारतविरोधी गतिविधि र घृणा अपराधलाई ध्यानमा राख्दै त्यहाँ रहेका भारतीय नागरिकहरू र यात्रा गर्ने विचार गर्नेहरूलाई अत्यन्त सावधानी अपनाउन अनुरोध गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
हालैका धम्कीहरूले विशेष गरी भारतीय कूटनीतिज्ञहरू र भारतविरोधी एजेन्डाको विरोध गर्ने भारतीय समुदायका वर्गहरूलाई लक्षित गरेको ट्राभल एडभाइजरीमा उल्लेख छ ।
“यसकारण भारतीय नागरिकहरूलाई क्यानडामा यस्ता घटनाहरू देखिएका क्षेत्रहरू र सम्भावित स्थानहरूमा यात्रा नगर्न सल्लाह दिइन्छ,” ट्राभल एडभाइजरीमा भनिएको छ ।
क्यानडामा रहेको भारतीय वाणिज्य दूतावासले त्यहाँ रहेका भारतीय समुदायको सुरक्षा सुनिश्चित गर्ने पनि जनाइएको छ ।
क्यानडामा बिग्रिएको सुरक्षा वातावरणलाई ध्यानमा राख्दै भारतको विदेश मन्त्रालयले विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यधिक सावधानी अपनाउन र सतर्क रहन अनुरोध गरेको छ ।