site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

संविधान दिवस मनाउन जनस्तरमा उत्साह नदेखिए पनि केही ‘ठालु’हरूले फैलाउन खोजेको भ्रमजस्तै जनतामा व्यापक निराशा र क्षोभ पनि देखिएको छैन । सम्भवतः जनतामा देखिएको उदासीनताको मूल कारण संविधान कार्यान्वयनमा भए गरिएका त्रुटि तथा बेइमानी नै हुन् ।

नेपालको संविधान , २०७२ नेपाली जनताका निर्वाचित प्रतिनिधिले पारित गरेर जनताकै प्रतिनिधिबाट जारी भएको हो । यत्तिमात्रले पनि नेपाली जनता संविधानको पक्षमा उभिनुपर्थ्यो भने यसमा त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशिताजस्ता लोकतन्त्रका आधारभूत विशेषता पनि संस्थागत गरिएका छन् ।

यिनै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता तथा समावेशितजस्ता लोकतन्त्रका आधारभूत गुणका कारण सामन्ती अधिनायकवादका कृपाकांक्षीहरूले संविधानविरुद्ध भ्रमको खेती गरिरहेका छन् । हुन पनि दासताका अम्मलीहरूलाई लोकतन्त्र नपच्नु अस्वाभाविक पनि होइन । परन्तु, त्यस्तो भ्रमले जनमानस दिग्भ्रमित हुने जोखिम भने हुन्छ ।

संविधानले नै संविधानका आधारभूत विशेषताको समेत विरोध गर्न पाइने हक सुनिश्चित गरेको छ । यसैले जनताले संविधान बनाएकै स्वीकार गर्न नसक्नेसम्मका केहीले अहिलेको स्थितिप्रति निराशा प्रकट गरेको हुनुपर्छ । यसैका आडमा अस्थिरताको विरोध गरेको देखाएर स्थिरता कायम हुन नदिने तत्त्व सक्रिय हुँदैगएको हो ।

यसका लागि दोषी भने मूलतः संविधान निर्माणपछि शासनमा पुगेकाहरू सबै नै छन् । संविधानको अक्षर र भावनाको समेत पूर्ण सम्मान गर्नुको साटो शासनमा पुग्नेहरू पटकपटक तिनको उल्लङ्घन गरिरहे । यही कारणले अस्थिरताका खेलाडी यसरी हौसिएका हुन् ।

राष्ट्रपतिले राजसी तामझामको रहर नगरेको भए गणतन्त्रको विरोध गर्ने निहुँ हुने थिएन । शासनमा जनताको पहुँच सहज बनाउनुको साटो आफैँलाई सुविधा थप्न नलागेको भए संघीयतामा खोट निकाल्न सकिने थिएन । समस्या संघीयतामा होइन दोहन गर्ने प्रवृत्तिमा छ ।

यस्तै पहिचान र धार्मिक स्वतन्त्रताका नाममा सामाजिक सद्भाव खलबल्याउने उत्ताउल्याइँ नदेखाएको भए समावेशिता र धर्मनिरपेक्षताविरुद्ध बोल्ने हिम्मत जुटाउन मुस्किल हुन्थ्यो । अर्थात्, संविधान कार्यान्वयनका कमजोरीलाई नेपाली जनताले गरेको सार्वभौम अभ्यासमै भ्रम फैलाउने मौका शासकहरूले नै दिएका हुन् । 

नेपालको संविधान, २०७२ ले संस्थागत गरेको लोकतन्त्रका आधारभूत विशेषताप्रति जनमानसमा सद्भाव र समर्थन बढाउने मूल जिम्मेवारी सत्ता र विपक्षमा रहेका जनप्रतिनिधिकै हो । संविधानमाथिको प्रहार उनीहरूप्रति नै लक्षित हो भन्ने तिनले बुझ्नु उचित हुन्छ ।

मूलतः राजनीतिकर्मीले आचरण र जीवनशैलीमा सुधार गर्ने र विधिको शासन चरितार्थ गर्न ध्यान दिने हो भने नेपाली जनताले भ्रमको खेतीमा पक्कै पनि ध्यान दिनेछैनन् । केही समयपछि  भ्रमको बाली रोप्नेहरू आफैँ निराश हुनेछन् । सार्वभौम नेपाली जनताले आफ्नो संविधान आफैँ बनाएको दिनको सम्झनामा सबै नेपालीमा शुभकामना !      
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  ११:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro