पोखरा । पोखरास्थित फिर्केखोलाको क्षेत्र तीन मिटरसम्ममा खुम्चिएको पाइएको छ । सर्भेका क्रममा फिर्केखोलालाई अतिक्रमण गरेर तीन मिटर ३० सेन्टिमिटरसम्म खुम्च्याइएको भेटिएको हो ।
प्रदूषण र अतिक्रमणको चपेटामा परेको फिर्केखोला संरक्षण गर्न भन्दै महानगरले खोला सीमांकन गर्न टोेली गठन गरेको थियो । बासुदेव पौडेल नेतृत्वको सर्भे टोलीले साउन ३ गतेदेखि ३२ दिनसम्म फिर्केको मुहानदेखि फेवातालमा मिसिने अन्तिम बिन्दुसम्म खोलाको सर्भे गरेको थियो । जसमा खोला खुम्चिएको भेटिएको हो ।
सर्भे सकिए पनि यसको अन्तिम प्रतिवेदन भने हालसम्म सार्वजनिक गरिएको छैन । खोला अतिक्रमण गरेर व्यक्तिगत र संस्थागत गरी १६० वटा संरचना निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये खोलाका दायाँबायाँ व्यक्तिगत ३५ वटा स्थायी संरचना निर्माण गरिएका छन् ।
व्यक्तिगत नै अस्थायी ९७ वटा संरचना निर्माण भएको फिर्केखोला सीमांकन टोलीले भेटाएको छ । संस्थागत रुपमा भने १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएका छन् । सीमांकन टोलीले फिर्केखोला किनारमा ३८८ वटा कंक्रिटका पिल्लरहरु गाडेको छ । स्तम्भ गाड्न नसकिएको ठाउँमा चिह्नमात्रै लगाएर छोडिएको छ ।
इन्जिनियर, प्राविधिक २१ जना र नगरप्रहरी ६ सहित २७ जनाको टोलीले फिर्केखोलाको सीमांकन गर्दा सबैभन्दा बढी वडा नं. ४ र ५ को सिमानामा खोला अतिक्रमण भएको पाइएको छ । यही वडामा नै व्यक्तिदेखि संस्थाले मनमौजी रुपमा खोला अतिक्रमण गरेर संरचना खडा गरेका छन् ।
अधिकतम ४० मिटरसम्म फैलिएको फिर्केखोला तीन मिटर ३० सेन्टिमिटरमा खुम्चिँदा यही क्षेत्रमा मात्रै स्थायी ६ वटा संरचना बनेका छन् । खोला मिच्ने ती ६ वटै संरचना आरसीसी भवनहरु हुन् । व्यक्तिले खोला मिचेर घर बनाउँदा यो क्षेत्रमा फिर्के सबैभन्दा बढी खुम्चिएको छ ।
समितिले प्रतिवेदनमा शतप्रतिशत नै खोला घर (खोला हिँड्ने ठाउँ) मिचेर ३५ वटा स्थायी संरचना बनेको खुलाएको छ ।
“फिर्केखोलाको नाप जाँच गर्ने क्रममा खोलाघर नै मिचेर ३५ वटा स्थायी संरचनाहरु निर्माण भएको पाइएको छ । कतिपय संरचनाहरु शतप्रतिशत खोलाघरमा बनेको पाइएका छन् भने कतिपय संरचनाहरुको आंशिक भाग खोलाघरमा बनेको पाइएको छ,” प्रतिवेदन उद्धृत गर्दै स्रोतले जानकारी दियो ।
खोलाघरमा संरचना बनाउनेमा सरकारी संस्थाहरु पनि रहेका छन् । सशस्त्र प्रहरी बल (एपीएफ)ले पोखरा १७ गाईघाटमा बनाएको तालिम केन्द्र पनि खोलाघरभित्रै बनेको पाइएको छ । यसबाहेक पोखरा ८ बराल समाज घरदेखि पुन मगर समाज घर, कुँवर समाज घर, सोपाल समाज घर र पोखरा ४ मा भयरथान महिला समूहको भवन पनि खोलाघरभित्रै बनेका संरचना हुन् ।
पोखरा ५ राधाकृष्ण मार्गमा रहेको राधाकृष्ण मन्दिरको भवन र पोखरा १८ अँधेरीकुनामा रहेको सामूहिक भवन पनि खोलाघरभित्रै बनेको प्रतिवेदनमा उल्लेख छ । यी १० वटा संघसंस्थाका अस्थायी भवन रहे पनि १८ वटा स्थायी संरचना पनि खोलाघरभित्रै बनेका छन् ।
पोखरा ८ मा रहेको लिटिल स्टेप स्कुल, पोखरा इन्जिनियरिङ कलेज, बराल समाज घर, मन्दिर, गिरी समाज घर, क्रियापुत्री भवन, पोखरा ४ मा रहेको पोखरा फोटोग्राफर एसोसियसनको भवन, पोखरा २ मा निर्मित अर्चलबोट क्रियापुत्री भवन र पुन मगर समाज घर पनि फिर्केको खोलाघरभित्रै बनेका संरचना हुन् ।
फिर्केखोलाको बायाँतर्फ पनि विभिन्न संघसंस्थाहरुले सातवटा संरचना खोलाघरभित्रै बनाएका छन् । फिर्के मिचेर मिलनपार्क अगाडि रहेको क्रियापुत्री भवन, बराल कुलायन मन्दिर, शिव मन्दिर, पोखरा ५ मा राधाकृष्ण आश्रम, लायन्स क्लबको भवन, इलेक्ट्रिक एसोसिएसनको भवन र फिर्के तमु समाज घर रहेका छन् ।
फिर्केको मुहानदेखि फेवातालसम्म खोलाघरभित्र ३५ जना व्यक्तिले घर बनाएका छन् । समितिको प्रतिवेदनअनुसार पोखरा ८ मा १२ जना व्यक्तिले खोला मिचेर घर बनाएको पाइएको हो । यस्तै, फिर्के सबैभन्दा अतिक्रमित पोखरा ४ मा ६ वटा, पोखरा ७ मा व्यक्तिले नै खोला मिचेर १७ वटा स्थायी संरचना बनाएका छन् ।
पोखरा–१८, सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएको फिर्केखोला प्रस्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुँदै फेवातालमा मिसिन्छ । खोलाले महानगरका वडा नम्बर–१८, २, ४, ५, ६, ७ र ८ लाई छुन्छ । आठ किलोमिटर लामो खोला चारदेखि ३४ मिटरसम्म चौडाइमा फैलिएको छ ।
मुहानदेखि सात किलोमिटर अघि बढेपछि मालपोत कार्यालयभन्दा केहीमाथि गैरीखेतमा बुलौँदी खोला मिसिन्छ । त्यसपछि एक किलोमिटरको दूरीमा यो फेवातालमा मिसिन्छ । फिर्के बहने यति दूरीमा मात्र हो । तर, फिर्केमाथि सयौँ संरचना ठडिएका छन् ।
फिर्केखोला बहने क्षेत्रलाई मात्रै आधार मानेर गरिएको सर्भेमा नै ठूलो संख्यामा स्थायी तथा अस्थायी संरचनाहरु निर्माण गरिएको भेटिएको सीमांकन समितिका प्रमुख सर्भेक्षक वासुदेव पौडेलले जानकारी दिए ।
उनले भने, “हामीले खोला बहने क्षेत्रलाई मात्रै आधार मानेर सर्भेक्षण गरेका हौँ ।”
मापदण्ड घटाउँदै महानगर
फिर्केमाथिको राजनीतिले अतिक्रमणकारीलाई छुन नसकेको यसअगाडिका प्रतिवेदनले देखाउँछन् । यही खोलाको सीमांकन र प्रतिवेदन यसअगाडि पनि थुप्रैपटक भएका छन् । तर, फिर्केखोलामाथिको राजनीतिका कारण महानगर आफैँले कहिले मापदण्ड १० मिटर तोक्छ, कहिले एक मिटरमा झारिदिन्छ ।
महानगरका पूर्वमेयर मानबहादुर जिसीको कार्यकालमा महानगरपालिकाले ०७५ पुस ६ गते स्थानीय राजपत्रमा फिर्केखोलाको मापदण्ड प्रकाशन गरेको थियो । उक्त राजपत्रानुसार फिर्केखोलाको मापदण्ड खोला किनारबाट १० मिटर तोकिएको थियो ।
उनै जिसी मेयर हुँदा ०७६ मा कास्की क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा फिर्केखोलामाथि राजनीति गरियो । त्यतिबेला महानगरपालिकाले १० मिटरको मापदण्डलाई एक मिटरमा झार्ने लिखित सम्झौता उपनिर्वाचनका स्वतन्त्र उमेदवारसँग गरेको थियो ।
स्वतन्त्र उमेदवारी दिएका सुनील कोइरालाको माग सम्बोधन गर्ने भन्दै फिर्केखोलाको मापदण्ड घटाउने सहमति गरिएको थियो । त्योसँगै कोइरालालाई उमेदवारी फिर्ता लिन लगाइएको थियो । तर, १० मिटरको मापदण्ड कार्यान्वयन गर्नुको सट्टा वर्तमान मेयर धनराज आचार्यले भने मापदण्ड आधा घटाउने संकेत गरेका छन् ।
“सबैभन्दा पहिले फिर्केको ‘राइट अफ वे’ क्लियर गर्ने कार्यपालिकाबाट निर्णय गरेका छौँ । कार्यान्वयन गर्न केही समस्या देखियो । थुप्रै ठाउँबाट पनि फिर्के अतिक्रमण भयो भन्ने धेरै गुनासो आयो,” मेयर आचार्यले भनेका थिए, “स्थानीय सरकारको डिउटीअनुसार हामीले फिर्केको वास्तविक ‘खोलाघर’ खोज्न सुरु गरेका हौँ ।”
फिर्केको मापदण्ड घटाउने तयारी भइरहेको उनले नै बताए । “फिर्केको साविकको मापदण्ड १० मिटर छ । त्यसमा केही पुनर्विचार गर्नुपर्छ भन्ने खालका कुरा पनि आएका छन् । त्यसमा अहिले विज्ञहरूको टोलीले अध्ययन गरेर प्रतिवेदन बुझाइसकेको अवस्था छ । केही दिनमा मापदण्ड पनि क्लियर हुनेछ,” उनले भने ।
अतिक्रमण गरेर बनाइएका संरचना हटाइसकेपछि फिर्केखोलाको सौन्दर्यीकरण गर्ने महानगरको योजना छ । चालु आर्थिक वर्षमै महानगरले फिर्के करिडोरका लागि ६५ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।
खोला भोट बैंक बन्यो, प्रदूषित हुँदा वातावरणमा असर
समितिले फिर्केखोला भोटबैंक बनेको निष्कर्ष निकालेको छ । “खोला किनारमा बस्ने नागरिकहरूलाई विभिन्न पक्षहरूबाट जमिन उपलब्ध गराइदिने प्रलोभन देखाइ भोटबैंकको रूपमा प्रयोग गर्ने गरेको समेत पाइयो,” प्रतिवेदनमा भनिएको छ ।
प्राकृतिक बहावमा बगिरहेको फिर्केखोलाको किनारमा बस्ती विस्तार हुँदै जाने क्रममा अतिक्रमण भई खोला घर मिचिएको, प्रदूषण बढेको र यसको स्वरूप नै परिवर्तन भएको उल्लेख गरिएको छ ।
खोलालाई संरक्षण गर्न र सफा राख्नमा स्थानीयकै भूमिका सकारात्मक नरहेको, खोला अतिक्रमणमा परि प्रदूषित हुँदा मानव समुदायलाई मात्र नभई जलचर, थलचर प्राणीहरूलाई समेत प्रत्यक्ष असर परेको र यसले पर्यावरणमा समेत नकारात्मक प्रभाव परेको निष्कर्ष समितिले निकालेको छ ।
समितिले फिर्केखोलालाई पुरानै अवस्थामा फर्काउनुपर्ने सुझाव समेत दिएको छ ।
“पोखराको सौन्दर्यीकरणलाई बढाउन, जलाधार क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न, स्वच्छ सफा पानीको उपभोग गर्न, यस क्षेत्रबाट बग्ने पानीको उपयोगले उत्पादकत्व बढाउन समेत फिर्के खोलालाई पुरानै अवस्थामा फर्काउन जरुरी छ,” प्रतिवेदनमा भनिएको छ ।