काठमाडौं । पछिल्लो समय सिनेमा रिलिजको एउटा उत्तम विकल्प बनेको छ, डिजिटल प्लेटफर्म । हलमा प्रदर्शन नभएका कतिपय सिनेमा डिजिटल प्लेटफर्ममा रिलिज हुन थालेका छन् ।
कोभिड संक्रमण त्राससँगैको लकडाउनले विश्वभर डिजिटल प्लेटफर्मले फष्टाउने मौका पाए ।
अब कतिपय सिनेमा डिजिटल प्लेटफर्मकै लागि लक्षित गरेर बनाउन थालिएको छ (विशेषगरी सानो बजेटका फिल्म तथा सिरिज ।) सिनेमासँगै वेभ सिरिजहरू विशेषतः डिजिटल प्लेटफर्मकै लागि नै निर्माण हुने गरेका छन् ।
कोरोनाले संसारभरका अधिकांश सिनेमा हल बन्द हुँदा डिजिटल प्लेटफर्मको मार्केट बढ्यो । ‘नेटफ्लिक्स’, ‘अमेजन प्राइम भिडियो’, ‘डिज्ने प्लस’, ‘हटस्टार’, ‘एलटी’ ‘बालाजी’, ‘जीफाइभ’लगायत डिजिटल प्लेटफर्मको माग उच्च भयो ।
यी डिजिटल प्लेटफर्मलाई दर्शकको माग अनुसार कन्टेन्ट (फिल्म, सिरिज) उपलब्ध गराउन कठिन भएको थियो । कोरोनाकालमै हलिउड फिल्म ‘ट्रोल्स व्लर्ड टुर’ले डिजिटल बिक्रीबाटै हप्तामै १०० मिलियन डलर राजस्व उठाएको थियो भने ५ मिलियनभन्दा धेरैप्रति बिक्री भएको थियो ।
भारतमै सलमान खान, अमिताव बच्चन, आयुषमान खुरानाका चलचित्र डिजिटल प्लेटफर्ममै रिलिज भए । ठूला स्टारमा सिनेमाले पनि हलको विकल्प खोजेपछि दर्शक घरमै बसेर डिजिटल प्लेटफर्मममा सिनेमा हेर्न बानी परे ।
नेपालमा भने डिजिटल प्लेटफर्मको उपस्थिति र प्रभाव निकै कमजोर छ । नेपालमा डिजिटल प्लेटफर्म हुँदै नभएको त होइन तर भएका पनि त्यति धेरै प्रभावकारी छैनन् । एकातिर पाइरेसीको डर छ, त्योभन्दा पनि मुख्य पक्ष चलचित्र किन्न सक्ने डिजिटल प्लेटफर्म छैनन् ।
हल रिलिज भइसकेका चलचित्रमा पनि लगानी गर्ने क्षमता नेपालका डिजिटल प्लेटफर्ममा नरहेको तीतो यथार्थ रहेको स्वयं चलचित्रकर्मीहरू बताउँछन् । नेपाली डिजिटल प्लेटफर्मममा लगानीको टड्कारो अभाव छ ।
‘सिनेमा घर गोल्ड’, ‘फोरपी’, ‘भिडियो एप’, ‘डिशहोम गो’, ‘भिडियो पसल’ आदि छन् । केही एप खुलेर पनि बन्द भइसकेका छन् । केही बन्द नभए निस्क्रिय छन् ।
“हामीसँग हल रिलिज भइसकेका सिनेमा किनेर डिजिटल प्लेटफर्मममा राख्न लगानी छैन । यसको अर्थ हामीसँग लगानी छैन,” कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँ भन्छन्, “लगानी गर्न सक्ने हो भने हामीसँग ठूलो बजार छ । तर, बजारले खोज्ने कन्टेन्ट भने चाहिन्छ ।”
ठूलो बिजनेस घराना नआएसम्म नेपालमा डिजिटल प्लेटफर्म राम्रोसँग स्थापित हुन कठिन हुने उनको भनाइ छ । सिनेमा घर एपका सञ्चालकसमेत रहेका कलाकार खगेन्द्र लामिछाने ठूला विजनेस घरानाहरू तत्काल डिजिटल एपमा लगानी गर्ने मनस्थितिमा नरहेको बताउँछन् ।
आफूले बिजनेस घरानालाई लगानीका लागि प्रस्ताव गरे पनि सम्भव नरहेको उनको भनाइ छ । तत्काल रिटर्न्स हुने नभएकाले बिजनेस घरानाबाट अहिले लगानी सम्भव नरहेको खगेन्द्र बताउँछन् ।
“कन्टेन भए डिजिटल प्लेटफर्मको बजार हलभन्दा ठूलो छ । यसका लागि ५०–६० करोड रुपैयाँ लगानी चाहिन्छ । २० करोड खर्च भइसक्दा पनि नाफा नआउँदा पनि यो लगानीको चरण हो भन्ने लगानीकर्ता चाहिन्छ,” उनी भन्छन्, “कन्टेन्ट नै नभएपछि दर्शक कसरी ‘इङ्गेज’ गराउन सकिन्छ र ?’’
नेपालमा ओटीटीको कुरा गर्दा पसल छ सामान छैन भनेजस्तो छ । यसमा रिस्क कसले लिने भन्ने हो । रवीन्द्रसिंह र निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठसहितको टिमले नै केही समय अगाडि ‘मुभी मण्डला’ नामको डिजिटल प्लेटफर्म बजारमा ल्याउने तयारी गरिरहेको थियो ।
उनीहरूले इन्डियन कन्टेन्टको एक्सेस पनि दिनेगरी तयारी गरिरहेका थिए । “नेपालको भू–भागमा हाम्रो प्लेटफर्मबाट इन्डियन कन्टेन्टको एक्सेस दिनेगरी हामीले तयारी गरेका थियौँ,” उनी भन्छन्, “तर, हाम्रो तयारीअनुसार काम नहुने भएपछि हामी पछि हट्यौँ ।”
रवीन्द्रसिंह नेपालभन्दा बाहिर ठूलो संख्यामा सिनेमाका दर्शक रहेको र ती दर्शकलाई समेट्ने उपयुक्त प्लेटफर्म आवश्यक भइसकेको बताउँछन् ।
“दार्जीलिङ, कालिम्पोङ, खर्साङ, डुवर्सलगायत क्षेत्रमा ठूलो संख्यामा नेपाली भाषी छन् । उनीहरू नेपाली सिनेमाका दर्शक हुन्,” रवीन्द्र भन्छन्, “नेपाली भाषीबाहेक ठूलो संख्यामा नेपाली रोजगारीका लागि भारतमा बस्छन् । उनीहरूका लागि पनि ठूलो मात्रामा कन्टेन्ट भएको डिजिटल प्लेटफर्म आवश्यक छ । यसबाहेक विश्वभर रहेका नेपाली सिनेमाका दर्शकका लागि पनि राम्रो डिजिटल प्लेटफर्म आवश्यक छ ।”
डिजिटल प्लेटफर्मको आश्यकताको चर्चा भइहरहँदा नेपालमा बिजनेस हाउसको लगानी रहेको डिजिटल प्लेटफर्म आइफ्लिक्स भने बन्द भइसकेको छ । खगेन्द्र केही समययता नेपालमा पनि विस्तारै एपमा सिनेमा हेर्ने बानी बढ्दै गएको बताउँछन् ।
सिनेमा घर गोल्डको एप साढे सात लाखभन्दा धेरै डाउनलोड भइसकेको भन्दै अब कन्टेन्टको लाइब्रेरी बढाउन मात्रै आवश्यक रहेको उनको भनाइ छ । “अब हामीले फन्ड क्रिएट गर्नुपर्नेछ । नयाँ कन्टेन्ट क्रिएट गर्न ठूलो फन्ड चाहिएको छ । लाइब्रेरीमा कन्टेन्ट धेरै भएपछि शब्सक्रिब्सन मोडलमा जान मिल्छ,” उनी भन्छन्, “ठूलो इन्भेस्टमेन्टका लागि हामी प्रयास गरिरहेका छौँ, यसका लागि विदेशमा बस्ने नेपालीसँग कुरा भइरहेको छ । ठूलो स्केलमा गएपछि नयाँ कन्टेन्ट आफैँ बनाएर राख्न थालेपछि हाम्रोमा पनि एपमा सिनेमा हेर्ने संस्कृति थप बढ्नेछ ।”
सिनेमा घर गोल्डमा प्रतिसिनेमा तोकिएको मूल्यमा किनेर हेर्न सकिने व्यवस्था छ । खगेन्द्र भारतमा एप डाउनलोड गर्नेमध्ये चार प्रतिशतले त्यहाँबाट सिनेमा हेर्ने गरेको बताउँछन् । नेपालमा भने यसको अनुपात बढी छ ।
खगेन्द्र भन्छन्, “नेपालमा एप डाउनलोड गरेकामध्ये ८ देखि १० प्रतिशतले सिनेमा हेर्ने गरेको पाइएको छ ।” यो राम्रो संकेत भएको उनी बताउँछन् । नेपाली सिनेमाको कुनै एप पाँच मिलियन डाउनलोड भयो भने एपबाटै ठूलो परिमाणमा कलेक्सन हुने उनको विश्वास छ ।
“१० लाख एप डाउनलोड हुँदा ७० हजारले सिनेमा हेर्नेछन् । एक सयमै सिनेमा बेच्ने हो भने ७० लाख रेभिन्यु हुन्छ,” उनी भन्छन्, “त्यसैले यसको भविश्य राम्रो छ, त्यसैले हामी यसमा लगानी गरिरहेका छौँ ।”
निर्देशक दीपेन्द्र के खनाल हलमा जान समय नहुने व्यक्तिका लागि एप उपयुक्त विकल्प भएको बताउँछन् । “जो मान्छे धेरै व्यस्त छन्, सिनेमा हेर्न चाहने तर हलमा जान नभ्याउनेहरूका लागि एप सहज माध्यम हो,” उनी भन्छन्, “विदेशमा काम गरेर घर फर्किँला ट्रेनमै सिनेमा हेर्न सकियो । पज गरेर पनि सिनेमा हेर्न सकिने वातावरण बन्दै जानु भनेको दर्शकको संख्या बढाउनु नै हो ।”
विशेषगरी विदेशमा बस्ने नेपाली र नेपाली भाषीका लागि सिनेमाका एप राम्रो वैकल्पिक प्लेटफर्म भएको दीपेन्द्रको भनाइ छ । “पहिलो कुरा त हल जान नपाउने र नसक्नेका लागि यो राम्रो प्लेटफर्म हो । अर्को हलमा सिनेमा हेर्न जाँदा महँगो पर्छ भन्नेहरूका लागि सस्तो पनि भयो,” उनी भन्छन् ।
सिनेमाको टिकट, पपकर्न, कफी, पार्किङ शुल्क र घरदेखि हलसम्म आउँदा–जाँदाको खर्चले सिनेमा निकै महँगो हुने गरेको भन्नेहरूका लागि डिजिटल प्लेटफर्म राम्रो विकल्प भएको उनको भनाइ छ ।
“दुई सय रुपैयाँमा किनेर १० जनाको परिवारले पनि हेर्न सकिने भयो । त्यसैले यो सस्तो पनि भयो । एउटा सिनेमा हेर्न हलमा जाँदा एक जनाकै हजारभन्दा धेरै खर्च हुन्छ,” खगेन्द्र भन्छन्, “एप भन्नबित्तिकै मोबाइलमा मात्रै चल्छ भन्ने हुँदैन । स्मार्ट, एन्ड्रोइड टेलिभिजनमै सिनेम्याटिक फिलसहित हेर्न सकिन्छ ।”