site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीले भन्यो– हाम्रो पोसाकको दुरुपयोग बढ्यो, अब पूर्वस्वीकृति नलिए कारबाही हुन्छ
प्रहरी प्रवक्ता कुवेर कडायत ।

काठमाडौं । नेपाल प्रहरीले आफ्नो पोसाकको दुरुपयोग बढेपछि ध्यानाकर्षण गराएको छ । केही समययता नेपाली चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो एवम् फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीको पोसाकमा सांगठनिक मर्यादाविपरीतका अपशब्द एवम् संवादलाई प्रस्तुत गरेको र केही व्यक्ति एवम् समूहबाट प्रहरीले व्यावसायिक रूपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीले आफ्नो पोसाक प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडियोको स्क्रिप्ट समेत खुलाई पूर्वस्वीकृति लिनुपर्ने जनाएको छ । 

पूर्वस्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्टअनुसारबाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दर्ज्यानी चिह्न तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न आग्रह गरिएको छ । 

प्रहरी कर्मचारीले व्यावसायिक रूपमा आफ्नो जिम्मेवारी पूरा गर्दा उनीहरूको व्यावसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य तथा अभिव्यक्ति नदिन पनि प्रहरीले आग्रह गरेको छ  ।

अन्यथा कानुनबमोजिम कारबाही हुने हुने प्रहरी नायव महानिरीक्षक प्रवक्ता कुवेर कडायतले बताएका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  २०:००
प्रतिक्रिया दिनुहोस्