site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी हुन्थ्यो ‘हङकङ टू काठमाडौं’ सुन तस्करी, मुख्य पाँच लगानीकर्ता हङकङमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । हङकङबाट पाँचजना मुख्य लगानीकर्ताले नेपालमा ठूलो मात्रामा अवैध सुन पठाउने गरेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ३५ दिन लगाएर गरेको अनुसन्धानबाट मुख्य लगानीकर्ता हङकङमा रहेको खुलेको हो ।

२ साउनमा राजस्व अनुसन्धान विभागले विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो । सो प्रकरणमा १९ दिन अनुसन्धान गरेको विभागले संगठितरूपमा सुन तस्करी गरेको देखिएपछि अनुसन्धानको जिम्मा सीआईबीलाई सुम्पिएको थियो ।

सीआईबीले गरेको अनुसन्धानको प्रतिवेदन बुधबार सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । ६१ किलो सुन तस्करीबाट अनुसन्धान थालेको प्रहरीले रेडी ट्रेडर्समार्फत मात्रै गिरोहले थप ३०२ किलो सुन तस्करी गरेको तथ्य भेटाएको छ ।

सीआईबीले सुन तस्करीका प्रमुखमध्ये याहो पेचिङसहित ५० जनालाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन बुझाएको छ । जसमध्ये ३२ जना पक्राउ परेका आरोपित हुन् । १८ जना अझै फरार छन् । फरारमध्ये १४ जना चिनियाँ नागरिक हुन् । चारजना नेपाली हुन् ।

उनीहरूबाट तीन अर्ब ५० करोड दुई लाख १६ हजार ५५२ रुपियाँ बिगो दाबी गरिएको छ ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले पक्राउ परेका ३२ मध्ये २३ जना नेपाली, ९ जना विदेशी नागरिक रहेको जानकारी दिइन् । सीआईबीले पक्राउ परेका ट्याक्सी चालक अशोक लामा, भन्सारकी कर्मचारी रुक्मिना सुब्बासहित ६ जनाविरुद्ध भने मुद्दा नचलाउन सुझाव दिएको छ । 

सुन तस्कर समूहविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकतासम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐनसम्बन्धी कसुरको मुद्दा चलाउन सकिने राय सीआईबीले दिएको छ ।

यस्तो छ सुन तस्करीको रुट

सीआईबीले गरेको अनुसन्धानमा सुन तस्करीको मुख्य केन्द्रविन्दु हङकङ देखिएको छ । हङकङमा रहेका पाँचजनाको समूहले सुन नेपाल पठाउने गर्थ्यो । उनीहरू पेङ योङछिङ, दावजिङ वाङ, होङ जिक्वाइन, लिन र लीसहित पाँचजना छन् । उनीहरू सबै चिनियाँ नागरिक हुन् ।

उनीहरूले सुनलाई 'ब्रेक सू'को भित्री भागमा फिट गराएर कार्गोमार्फत काठमाडौं पठाउँथे ।

सीआईबी प्रमुख एआईजी बज्राचार्यका अनुसार उनीहरूले सुरुमा परीक्षणका लागि केही मात्रामा मात्रै सुन पठाउने गर्थे । भन्सार कार्यालयको सिस्टमबाट पास हुने देखिएपछि उनीहरूले ठूलो मात्रामा सुन तस्करीको धन्दा चलाएको देखिएको सीआईबीको अनुसन्धानाट खुलेको छ ।

हङकङबाट कार्गोमार्फत काठमाडौं पठाएको सुनबारे काठमाडौंमा रहेका चिनियाँ नागरिक याहो पेचिङसहितको समूहलाई जानकारी हुन्थो । सुन भन्सारबाट पास गराउन पेचिङको समूहले तिब्बती मूलका भारतीय नागरिक थोप्तेन छिरिङलाई जिम्मा दिएको थियो ।

उनै छिरिङमार्फत नेपालमा तस्करीको अर्को नेपाली लेयर खडा भएको देखिएको छ । छिरिङले भोजपुरका हर्क राईलाई त्यसको जिम्मा दिएको अनुसन्धानबाट देखिएको छ ।

उनै राईमार्फत जोडिएका दोलखाका दिलीप भुजेलले विभिन्न कम्पनी खडा गरेका हुन् । सीआईबीको अनुसन्धानले यो समूहले सुन तस्करीका मात्र लागि सातवटा कम्पनी खडा गरेको खुलाएको छ । जसमध्ये दिलीपले आफ्नै भान्जा राजकुमार भुजेलको नाममा मात्रै पाँचवटा कम्पनी खडा गरेको पाइएको छ ।

राजकुमारको नाममा रेडी ट्रेडर्स, हवाडा इलेक्ट्रिक, भुजेल इन्टरप्राइजेज, दोलखा इलेक्ट्रिक, पोवाटी इलेक्ट्रिक खडा गरिएको छ । सरिता तामाङ र लेखनाथ कार्कीको नाममा समेत एक–एक कम्पनी खोलिएको छ । हाल बरामद भएको सुन रेडी ट्रेडर्समार्फत आएको सुन हो ।

बरामद भएको ६१ किलोबाहेक रेडी ट्रेडर्समार्फत थप ३०२ किलो अवैध सुन भित्र्याएर उनीहरूले बाजारमा पठाएको खुलेको छ । रेडी ट्रेडर्समार्फत ३४ पटक ब्रेक सू नेपाल भित्रिएको थियो । रेडी ट्रेडर्सबाहेक अन्य कम्पनीमार्फत समेत सुन भित्रिएको खुलेको छ ।

सीआईबीले हाललाई पहिलो चरणको अनुसन्धानको प्रतिवेदनमात्रै बुझाइएको र पछि फेरि पूरक अनुसन्धान गर्न मिल्ने गरी अनुसन्धान बाँकी रहेको जनाएको छ ।

सुन गाल्न विभिन्न ठाउँमा गोदाम खडा

हङकङ हुँदै तस्करी भएर काठमाडौं पुगेको सुन गाल्न चिनियाँ समूहले काठमाडौंको विभिन्न ठाउँमा गोदाम सञ्चालन गरेको थियो । ती गोदाममा सुन गाल्न उनीहरूले साना–ठूला गरेर सातवटा मेसिन राखेका थिए । सीआईबीको टोलीले मेसिनसमेत बरामद गरेको छ ।

त्यसरी गालेको सुन ग्राहकसम्म पुर्‍याउन हङकङ तथा याहो पेचिङको निर्देशन अनुसार सिन्धुलीका सुमन खरेलले गर्ने गरेको खुलेको छ । त्यसका लागि हुन्डीको शैलीमा विभिन्न कोड नम्बरसहितका मान्छे खरेललाई भेट्न आउने र उनीहरूलाई हङकङमा रहेको तस्कर समूहले पुष्टि गरेपछि मात्रै सुन बुझाउने काम गर्ने गरेको खुलेको छ ।

तस्करीबाट आएको सुन हुन्डी तथा क्रिप्टोमार्फत हङकङ पुग्ने गरेको खुलेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १७:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro