site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुमन खरेलमार्फत् खुल्दै छ सुन तस्करी प्रकरणमा नेपाली र भारतीय व्यवसायीको संलग्नता
सुमन खरेल र चिनियाँ नागरिक ।
SkywellSkywell

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा थप केही नेपाली र भारतीय सुन व्यवसायीको संलग्नता खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका बाराका सुनचाँदी व्यवसायी शिवकुमार सराफ र सिन्धुलीका सुमन खरेलले केही नेपाली र भारतीय सुन व्यवसायीको नाम पोलेको सीआईबी स्रोतले बतायो ।

"चिनियाँ तस्करबाट खरेलले सुन लिएर विभिन्न नेपाली र भारतीय सुन व्यवसायीलाई दिने गरेको खुलेको छ । हामी थप अनुसन्धान गर्दैछौँ," स्रोतले भन्यो ।

२१ भदौमा पक्राउ परेका खरेलकै बयानका आधारमा बाराका सुनचाँदी व्यवसायी सराफ पक्राउ परेका हुन् । सराफबाहेक खरेलले अन्य व्यवसायीलाई समेत तस्करीको सुन बिक्री गर्ने गरेको खुलेको छ ।

Dabur Nepal
NIC Asia

सुन तस्करी समूहका चिनियाँ नागरिक याहो पेचिङसँग खरेलको सुन लिएर विभिन्न ठाउँमा पुर्‍याउने काम गरेका थिए । पेचिङसँग खरेलको हुन्डी कारोबारमार्फत सम्पर्क भएको देखिएको छ । सीआईबी स्रोतका अनुसार पक्राउ परेका चिनियाँ समूहले एक वर्षदेखि सुन तस्करीको धन्दा सुरु गरेको खुलेको छ ।

सीआईबीले उनीहरूले विभिन्न ठाउँमा खोलेको १० वटा गोदाममा छापा मारेको छ । त्यसमध्ये सातवटा गोदामबाट सातवटै सुन गाल्ने मेसिन बरामद गरिएको छ । उनीहरूले भन्सारका कर्मचारीलाई प्रभावमा पारेर सुन तस्करीको धन्दा थालेको देखिएको छ ।

सीआईबी स्रोतले भन्यो, "उनीहरूले भन्सारका कर्मचारीहरूलाई मुख्य प्रभावमा पारेर तस्करीको काम गरेको देखिन्छ । उनीहरूले पानी तान्ने मेसिन, ब्रेक सू, दाह्री काट्ने मेसिन, स्मार्ट वाचमा समेत लुकाएर सुन तस्करी गरेको देखिएको छ ।’

सुन तस्करलाई सघाएको आरोपमा सीआईबीले हालसम्म सातजना विमानस्थल भन्सारका कर्मचारीलाई पक्राउ गरेको छ । जसमा पुष्पा जोशी र सन्तोष चन्द भन्सार अधिकृत हुन् । पेचिङसहित चिनियाँ नागरिक ली विन, ली नेङकी, देन सेङ गरी ६ जना पक्राउ परेका छन् ।

२ साउनमा सिनामंगलबाट राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुन प्रकरणको अनुसन्धान अब अन्तिम चरणमा पुगेको छ । सीआईबीले मंगलबारभित्र पूरक अनुसन्धान गर्न मिल्ने गरी प्रतिवेदन बुझाउने तयारी गरेको छ । हालसम्म पक्राउ परेका ३० जनाबाहेक थप केहीलाई प्रतिवादी बनाएर अनुसन्धान फाइल बुझाउने तयारी सीआईबीको छ ।

सुन तस्करी प्रकरणमा हालसम्म तिब्बती मूलका बेल्जियमका नागरिक दावा छिरिङ, याहो पेचिङसहित ६ जना चिनियाँ नागरिक मुख्य तस्कर रहेको पाइएको सीआईबीको निष्कर्ष छ ।

दावासँग सम्पर्क देखिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग सीआईबीले आइतबार कागजी बयान गरेको छ । यसअघि दावासँग सम्बन्ध देखिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं अखिल क्रान्तिकारी महासचिव दिपेश पुनसँगसमेत कागजी बयान लिएको थियो ।

त्यस्तै, तत्कालीन अध्यागमन विभागका प्रमुख झलकराम अधिकारीसँग सीआईबीले केहीदिन अगाडि नै बयान लिइसकेको छ । उच्च तहका कर्मचारी तथा राज्यका उपल्लो तहमा पुगेका मानिसको संलग्नताबिनै ठूलो मात्रामा सुन तस्करी भएको देखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताए ।

सुन तस्करीको अनुसन्धान सीआईबीले संगठित अपराध मुद्दा चलाएर गरेको थियो । संगठित अपराधको अनुसन्धान प्रहरीलाई ६० दिन थुनामा राखेर गर्न मिल्ले कानुनी व्यवस्था छ । आइतबार तस्करी प्रकरणमा अनसन्धान सुरु भएको ५४ दिन पुगेको छ  । समय अभावका कारण सुमन खरेलले पोलेका केही व्यक्तिमाथि अर्कोपटक अनुसन्धान गर्ने तयारी सीआईबीको छ ।

हङकङमा थियो चारवटा गोदाम

प्रहरी प्रधान कार्यालयले सुन तस्करीको अनुसन्धान गर्न सीआईबीका एसएसपी दिनेश आचार्यलाई हङकङ पठाएको थियो ।

१३ भदौमा हङकङ गएका आचार्य शुक्रबारमात्रै नेपाल फर्किका छन् । हङकङ प्रहरीको सहयोगमा उनले सुन तस्करीबारे अनुसन्धान गरेका थिए । जसमा नेपालमा सुन सप्लाई गर्न चिनियाँ गिरोहका नाइके याहो पेचिङसहितका समूहले चारवटा गोदाम खडा गरेको देखिएको छ ।

केही चिनियाँ हङकङमै बसेर सुन तस्करीको लागि लगानी गर्ने गरेको पनि देखिएको छ । हङकङमा देखिएको सुनबारे छुट्टै रिपोर्ट बनाउने सीआईबीको तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu