site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फिलिङ्गोको राप
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

निर्मल र निश्छल भएर सलल बग्ने पानी जम्न थालेपछि नै हो ठोस बन्ने । सत्य हो, तरल पदार्थ अत्यधिक चिसो भयो भने चट्टान बनेर त्यो ज्यादै कठोर हुने रहेछ । अनि, त्यो कठोर चट्टानलाई हतपत फोड्न मुस्किल पर्छ ।

नारी हृदय पनि त पानीजस्तै तरल हुन्छ । निर्मल हुन्छ । निश्छल हुन्छ । तर, अन्याय, अत्याचार र अविश्वासको चिस्यानले जब सीमा नाघ्छ, तबतब नारी हृदय पनि कठोर बन्छ ।

कठोर हृदयलाई अझ चलाउन गए आगो बन्छ । बरफ पनि कोइला बनेर भतभती पोल्न थाल्छ । पञ्चतत्त्वले निर्मित मानव शरीरमा अग्नि तत्त्व साँच्चै मलाई अलि खास नै लाग्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

प्रभा बरालको ‘फिलिङ्गो’ उपन्यासमा महिलाहरूको अस्तित्वमाथि बारम्बार प्रहार र उपेक्षा गर्दा स्थिर भएर बसेको प्रज्वलनशील कोइलामा स्वपहिचान, स्वनिर्णय र स्वअस्तित्वको झिल्को उठेको छ ।

अनि, स्वाभिमानले फिलिङ्गोको रूप लिएको छ । विश्वास घात गर्ने श्रीमान्लाई पनि क्षमा दिने सीमान्तीलाई पटकपटकको धोकाले यहाँ निर्भीक, निडर र निर्णय गर्न सक्ने सशक्त नारी पात्र बनाइएको छ । परिस्थितिभन्दा ठूलो गुरु कोही रहेनछ ।

Royal Enfield Island Ad

पोखरा, जापान र कीर्तिपुरको परिवेशमा उपन्यास घुमेको छ । श्रीमान्को साथमा सुन्दर भविष्यको कल्पना बुन्दै जापान पुगेकी सीमान्ती कति निर्दोष छे, निर्भयको समीपमा पुग्दा उसलाई संसार नै प्राप्त गरेको आभास हुन्छ । ऊ निकै हर्षित भएकी हुन्छे ।

जब निर्भयलाई नजिकबाट चिन्न थाल्छे, ऊ झसंग हुन थाल्छे । पहिलोचोटि जहाज चढेर भुतुक्क भएर थाकेकी सीमान्तीको मन पढ्न नसक्ने निर्भय सीमान्तीको शरीर प्राप्त गर्न ब्वाँसो भएर प्रस्तुत हुन्छ ।

शारीरिक माया त खुब गर्छ निर्भयले, तर सीमान्तीको मनमा प्रश्न उठ्न थाल्छ । हो, नारीले आफैँले आफैँलाई पनि प्रश्न गर्न सक्नुपर्छ । यहाँ एउटा गम्भीर प्रश्न उठेको छ– माया, प्रेम भनेको शरीरको भोग मेट्ने कार्य मात्र हो ?

आखिर नारीले पुरुषबाट कस्तो मायाको अपेक्षा गरेकी हुन्छे भन्ने कुरा सीमान्तीको मनोभावनाबाट स्पष्ट पार्न खोजेकी छन् उपन्यासकारले ।

यस उपन्यासमा विविधता छ । जापानको दैनिकी, व्यस्तता र जिम्मेवारीको सजीव चित्र उपन्यासमा आएको छ । उपन्यास पढ्दा अद्योपान्त सलल बग्न सकिन्छ । यो उपन्यासको सबल पक्ष हो ।

जापानको विकास, प्रविधि, रहनसहन, अनुशासन, नीतिनियम, कानुन, काम, कला, संस्कृतिको बडो मिठो तबरले वर्णन गरिएको छ, उपन्यासभित्र । वैदेशिक रोजगारीको कथा, व्यथा, संघर्ष र चुनौतीहरूलाई उपन्यासले समेटेको छ ।

श्रीमान्को आश्रयमा जापान पुगेका श्रीमतीहरूको निश्छल व्यवहार छ । श्रीमान्प्रतिको पूर्ण भरोसामा आएका नारीहरू आफूलाई काम गर्ने मेसिन बनाउन पछि पर्दैनन् । पैसा नै सबैथोक हो भन्ने पुँजीवादी संस्कृति हाबी छ ।

यहाँ निर्भय यस्तो पात्र भएर देखिएको छ कि उसलाई पैसा र यौन मात्र भए पुग्छ । चरित्रहीन पुरुषको रूपमा निर्भय देखिन्छ । जापानी केटीसँगको लसपसका कारण सीमान्ती जस्ती होनाहार केटीलाई धोका दिन्छ ।

सीमान्ती निष्पाप, निष्कलंक र निर्मल हुन्छे । लोग्नेप्रति उठेको शंकालाई पनि बेवास्ता गर्दै लोग्नेले जेजे भन्छ मान्दै जान्छे । तर, समय सधैँ एकसमान हुँदैन । जीवनमा जस्तो पनि परिस्थिति आउँछ भन्ने भावनासम्म नउठेका सरल महिला दिदीबहिनीहरूको मस्तिष्कमा अजिला म्यामले चेतनाको दियो सल्काइदिन्छिन् । यान्त्रिक भएर आर्जन गरेको आफ्नै कमाइमा पनि नारीहरूको पूर्ण अधिकार छैन । आफैँले कमाएको पैसा आफ्नो हातमा छैन । अजिला म्यामले थोरै पैसा भए पनि आफैँले राख्नुपर्छ भन्ने चेतना जगाएपछि सीमान्ती पनि आर्थिक रूपमा सचेत हुन्छे ।

महिला स्वतन्त्रता, मुक्ति र सशक्तीकरणको पहिलो खुड्किलो आर्थिक समृद्धि हो । जबसम्म महिलाहरू आर्थिक रूपमा परनिर्भर हुन्छन्, तबसम्म उनीहरूलाई स्वअस्तित्वको पाठ जति घोकाए पनि अनर्थक हुन्छ भन्ने सन्देश उपन्यासकारले व्यक्त गरेकी छन् ।

पतिलाई ईश्वर ठान्ने सीमान्ती जब पतिले आफ्नी प्रेमीकाका लागि विभिन्न खाना पकाउन लगाउँछ, सीमान्ती सबै कुरा बुझेर पनि चुप लाग्छे । लोग्नेकी प्रेमिकालाई कहिले गाजरको हलुवा, कहिले सेलरोटी बनाएर दिन्छे ।

उपन्यासकारले दिन खोजेको सन्देश यहाँ अझ स्पष्ट हुन्छ । नारीले जति सहन्छे, पुरुषले उति यातना दिन्छ – चाहे शारीरिक होस् या मानसिक ।

चेतनाको झिल्को उठेपछि परिस्थिति एकै रहँदैन । कुन समयसम्म नारी सहन्छे, बडो गम्भीर छ विषय । यहाँ उपन्यासकारले अर्को प्रश्न तेर्स्याएकी छन्– नारी किन सहन्छे पुरुषको अत्याचार, किन माफ गर्छे पुरुषका अक्षम्य गल्तीहरू ?

उपन्यासकारले सीमान्तीको अन्तरआत्मामा पुगेर यो प्रश्नलाई मन्थन गर्ने जमर्को गरेकी छन् ।

अस्तित्व चेतना कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा उपन्यासमा आएको छ । अजिमा म्यामले जब आर्थिक पाटोको शक्तिलाई देखाइन्, तब सीमान्तीले पनि स्वकमाइको हिस्सा राख्न थाली ।

नेपाल गएर बैंक खाता खोल्ने, इमेल हेर्ने, नेपाल पैसा पठाउने जम्मै कुरा सिकेर स्वावलम्बी हुने मार्गमा अग्रसर हुँदै गई ।

‘नारीले असम्भव कार्य गर्दा अचम्म मान्नु पर्दैन, किनकि ऊ नारी हो,’ मैले कतै पढेकी थिएँ । सीमान्तीलाई बुझ्दै गएपछि म पनि विश्वस्त भएँ ।

जापान बसेकै बेला जापानका विभिन्न स्थानको यात्रा पनि बडो रोचक छ । अझ हिरोसिमाका कारुणिक दृश्यहरू पाठकलाई पनि पुस्तकैबाट देखाउन सफल भएकी छन्, उपन्यासकार । जापानको समृद्धि, सम्पन्नता र सुशासनको स्वाद अक्षरबाट नै महसुस गराउन सफल भएकी छन् ।

हिरोसिमाको त्यो कहालीलाग्दो इतिहास पढेर मेरा आँखाहरू पनि पुनः सजल भए । अझ नागासाकी र हिरोसिमाको कथाले हृदय दुख्यो । नारीका पीडा जापानमा पनि उस्तै रहेछ ।

जापानी नारीहरू नेपाली पुरुषसँग बिहे गर्न हुरुक्क हुन्छन् भन्ने सुन्दा मेरो मस्तिष्कमा फनफनी कुरा खेल्यो– आखिर नेपानी नारीहरूको त्याग र सहनशीलताले नै सम्बन्धलाई जोगाएको कुरा बिचरा जापानी आइमाईहरूलाई के थाहा !

यति धैर्यवान् र सहनशील नारी सीमान्तीलाई निर्भयले मानसिक पीडा दिँदै थियो । जता पनि नारी नै किन पीडा भोग्न विवश छन् ? शारीरिक पीडा नभए पनि मानसिक पीडा जापानमा पनि उस्तै रहेछ ।

कैयौँ वर्ष प्रेम गरेकी प्रेमिकालाई युद्धग्रस्त क्षेत्रमा घर भएकै कारण प्रेमीले छोडेको कथा पढ्दा झलक्क सम्झिन पुगेँ– परमाणु बम फ्याँकिएको ठाउँभन्दा बाहिरका जापानी महिलाहरूले पनि त हिबाकुसा (हिरोसिमाको बम आक्रमणबाट बचेका मानिसलाई हिबाकुसा भनिँदो रहेछ)बाट आएका पुरुषलाई यसै गर्लान् कि त !

केही बेर घोरिन पुगेँ– कति घातक रहेछ विश्वयुद्ध । विश्वयुद्धको परिणामलाई समयसीमामा बाँधेर कहाँ राख्न सकिँदो रहेछ र ! अझ कति वर्ष यसको असर पर्छ । आखिर किन मच्चियो युद्ध ? किन फालियो लिटिल ब्वाई र फ्याटम्यान भनेर सोचमग्न हुँदै पढेँ ।

नागासाकी र हिरोसिमामा प्रहार भएको परमाणु बमको आतंकले ७५ वर्षपछि पनि छोडेको रहेनछ ती युवालाई । भावी सन्तानमा विकिरणको असर पर्न सक्छ भन्ने आशंकामा आज पनि जापानीहरू त्रसित हुँदा रहेछन् भनेर दिक्क हुँदै थिएँ ।

तर, एकैछिनमा म खुसी पनि भएँ – परमाणु बम प्रहार गरेको अमेरिकासँग जापानीहरूले कुनै रिसराग र वैमनस्य नराखेको सुखद प्रसंगले अचम्मित हुँदै जापानीहरूलाई नमन गरेँ ।

क्षमाभन्दा ठूलो धर्म केही होइन भन्ने आत्मज्ञानको पाठ साँच्चै जापानीहरूबाट सिक्नुपर्ने रहेछ भन्ने बोध भयो । धर्ममा कट्टरता जापानीहरूको अर्को विशेषता रहेछ ।

नारीले नाइँ भन्न पनि सक्नुपर्छ भन्ने सन्देश उपन्यासकारले दिन खोजेकी छन् । पहिलोचोटि सीमान्तीलाई जापानका विभिन्न ठाउँ घुम्न जाने अवसर आउँदा निर्भयले काम गर्ने ठाउँबाट पैसा काट्ने र घुम्न जाँदा अरू पैसा खर्च हुने डरले सीमान्तीलाई रोक्न खोजेको हुन्छ । तर, सीमान्तीले पहिलोपटक निर्भयलाई ‘नाइँ, म जान्छु, मेरो घुम्ने इच्छा छ’ भनेर स्वनिर्णयको बिगुल फुक्छे ।

नारीले आफ्नो खुसी, रहर, इच्छा र आनन्दका खातिर गलत कुरामा नाइँ भन्न पनि सक्नुपर्छ भन्ने सन्देश दिन खोजेकी छन् उपन्यासकारले ।

जब निर्भयलाई एकपटक माफी दिँदा पनि ऊ परिवर्तन हुन सक्दैन, तब सीमान्तीभित्रको आइमाई मान्छे जुरुक्क उठ्छे र स्वपहिचानका लागि स्वनिर्णय लिएर नेपाल फर्किन्छे ।

आफूलाई सक्षम बनाउँदै निर्भीक भएर आफ्नो लक्ष्य र उद्देश्यमा निरन्तर लागिपर्छे । सीमान्तीका योजना आफूमा मात्र सीमित हुँदैन, अध्यात्मिक चेतनाको दियो जापान हुँदै हृदयमा जलाएकी सीमान्तीले विराट क्षेत्रलाई आफ्नो ठान्न पुग्छे ।

सकारात्मक सोच भएको मान्छे सफल हुन्छ भन्ने सन्देश प्रवाह गर्न उपन्यासकार अग्रसर छिन् । सीमान्तीले निर्भयलाई अत्यन्तै माया गरेकी छ, निर्भयको चरित्रलाई उदांगो नपार्नु सीमान्तीको उदारता र प्रेम हो ।

क्षमतावान् भएकी क्षमाशील सीमान्ती आखिर काठमाडौं छोडेर पोखरा नै जान्छे । अभरमा परेका महिलाहरूलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने सोच पक्कै प्रेरणादायी छ ।

नारीले चाहे असम्भव केही छैन । नारीले कमजोर भएर मात्रै कुनै पनि कुरा  सहेकी हुन्न । नारीको हृदय त विशाल छ । नारी त आमा हो नि त, तर खोइ बुझ्न सकेको, खोइ छाम्न सकेको नारी हृदयलाई !

साँच्चै नारी हृदयलाई चिन्न त नारी हृदय नै लिएर आउनुपर्छ । तर, जति क्षमाशील नारी भए पनि अस्तित्वमाथिको प्रहार नारी कदापि सहन्न ।

अन्तिममा निर्भय र मिसावा (निर्भयकी प्रेमिका) पनि पोखरा आएर सीमान्तीसँग भेट्छन् । निर्भय फेरि पनि सीमान्तीसँग क्षमा माग्छ । मिसावा पनि सीमान्तीलाई जापान आउने निम्तो दिन्छे ।

माया र प्रेमभन्दा ठूलो कुरा आत्मसम्मान हो भन्ने कुरा सीमान्तीले राम्रोसँग बुझिसकेकी हुन्छे । आँखाभरि निर्भयप्रति प्रेम उर्लिए पनि सीमान्तीले हृदयको कुरा सुन्छे ।

यसरी उपन्यासको बिट मारिएको छ । यहाँ साँच्चै सीमान्तीलाई प्रबुद्ध पात्र बनाइएको छ । गालीगलौज, झैझगडा कतै छैन । कसैले कसैलाई उधारेका छैनन् । नांगेझार पार्ने काम गरेका छैनन् । सभ्य तरिकाले पनि झगडा गर्न सकिन्छ । थप्पडको आवाजभन्दा मौनताको आवाज ठूलो सुनिएको छ ।

सीमान्तीले निकै सभ्य, भव्य र शान्त तरिकाले निर्भयलाई नारीको शक्ति देखाउन सफल भएकी छ । यदि, स्वाभिमान, स्वपहिचान र स्वअस्तित्वको चेतना छ भने कुनै पनि नारी कुनै पनि हालतमा कमजोर हुन्न भन्ने सन्देश उपन्यासले मज्जाले दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro