अवसर मानिसका लागि अत्यन्त उपयोगी कुरा हो । मानिस यस्तै अवसर पाएर संसार नापिसकेर ब्रह्माण्डका अन्य ग्रहविशेष, चन्द्रमा र मंगलमा भ्रमण गर्न पुगिसकेका छन् ।
ती भाग्यमानी मानिस हुन्, जसले संसारको यात्रा गर्न पाउँछन् र आफ्ना मनमुटुले छाम्न पाउँछन् । आँखाले देख्न पाउँछन्, ज्ञानले सुशोभित हुन्छन् र विवेकले सार्थक उपयोग गर्दछन् । यो अवसर मानव मात्रका निमित्त विशेष उपयोगी छ । र, रहँदै आएको छ ।
सबै अवसरको स्तर एकै हुन्न । फरक स्तरले फरक खालको अनुभूति दिलाउँछ । तथापि, सबै अवसरहरूको आ–आफ्ना स्तरको महत्त्व भने अवश्य हुने गर्छ । यसै सन्दर्भमा भरखर भ्रमण गरेर आएको एउटा टोलीले भन्यो– जुम्ला जिल्लाका विभिन्न ठाउँ हुँदै सदरमुकाम चन्दननाथ, खलंगासम्म अचेल बस सेवा रहेछ ।
जुम्ला मात्र होइन, कर्णालीका सबै जिल्लामा यातायात सेवा पुग्दै छ । हुम्लामा पनि नेपालतर्फबाट सदरमुकाम सिमकोटसम्म बस सेवा पुग्नै लागेको भन्छन् त्यहाँका मानिस ।
तिब्बतको हिल्सासित यातायात जोडिएको निकै वर्ष बितिसक्यो । भरखरै जुम्ला, मुगु हुँदै रारा तालको अवलोकन गरेर फर्केका अर्का एकजना भद्र मानिसले पनि फर्माए । मैले सम्झिएँ, अब नेपालले काँचुली फेर्न लागेछ भन्ने ।
यही सन्दर्भमा विगतको एउटा पाटोमा अल्झिन पुगेँ ।
हामी राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत कर्मचारी । आन्तरिक लेखापरीक्षण कार्यले हामीलाई देशभित्रका अनगिन्ती ठाउँ घुम्ने, हेर्ने, पर्गेल्ने अवसर जुरायो । उसो त ट्रेड युनियन कार्यले पनि निकै ठाउँ परिचय गराएकै थियो । यसपटकको भ्रमण आन्तरिक लेखापरीक्षण कार्यमार्फत कर्णाली अञ्चलको ‘जुम्ला हुँदै रारा’सम्मको हुन गयो ।
चैत्रको महिना थियो । मित्र अच्युत थापा र म नेपालगन्ज क्षेत्रीय कार्यालय, शाखा कार्यालय प्युठान र शाखा कार्यालय जुम्लाको आलेप कार्यका निमित खटियौँ । हामीले पहिले क्षेत्रीय कार्यालयको लेखापरीक्षण सक्यौँ । अनि, मौसमको अवस्था बुझेर पहिले जुम्ला जाने र फर्किएर प्युठान जाने निधो कस्यौँ ।
जुम्लामा त्यसताका मेदनीविलास घिमिरे प्रबन्धक थिए । उनले २०५७ सालमा बैंक प्रवेश गरेको हुनाले यिनलाई हामी नयाँ कर्मचारी भन्थ्यौँ । त्यहीँ सहायक प्रबन्धक तेजबहादुर डाँगी थिए । उनले हामीसँगै बैंक प्रवेश गरेका हुन् ।
पश्चिम नेपालको नेपालगन्ज र धनगढीको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको क्षेत्रीय नेतृत्वमा रहेर सांगठनिक काम गरिसकेका सचेत युवा थिए तेजबहादुर ।
जुम्ला सुनेको मात्र ठाउँ । भौगोलिक हिसाबले सानो उपत्यका । रेडियोबाट सुनिने गर्थ्यो ‘आज जुम्लाको तापक्रम यति डिग्री छ’ भन्ने । कहिल्यै ‘प्लस’ सुनेको जस्तो लाग्दैन ।
त्यहाँ जानलाई त्यही माफिकको लुगा बोक्नुपर्यो । हामीले मौसमानुसारको यात्रा तयारी गर्यौं ।
एउटा कुरा, २०५९ कार्तिक २९ गते माओवादीले जुम्माको सदरमुकाम खलंगामा सशस्त्र आक्रमण गरेको हुनाले ठूलो जनधनको क्षति र सरकारी कार्यालयहरू ध्वस्त भएका थिए । बैंकको शाखा कार्यालय पनि आक्रमणमा परेर ढुकुटीमा भएको नगद, सुनचाँदी सबै लुटिएको अवस्था थियो ।
कर्जाका तमसुक जलेर नष्ट भएका थिए । जनतासित उठाउने ऋणको फेहरिस्त, जनतालाई तिर्नुपर्ने निक्षेपको दायित्वसम्बन्धी कागजातको अभावले बैंक समस्यामा परेको थियो । सोको व्यवस्थापनका निमित्त विभिन्न सरोकारवाला व्यक्ति, स्थानीय सरकारी पदाधिकारी रहेको अध्ययन र समस्या समाधानार्थ सुझाव समिति गठन गरेर तिनका सुझावानुसार काम हुँदै थियो ।
अच्युत थापाले शाखा कार्यालय जुम्लामा सम्पर्क गरेर सोधे, “डाँगीजी, महेश सर र म त्यहाँ आउन लागेका छौँ, साथमा के लिएर आऊँ ?”
डाँगीले भनेछन्, “के पर्यो र ! ल्याउनु खासै पर्दैन । ल्याउने नै भए अलिकति मुसुरो दाल र चिनी, चियापत्ती ल्याउनुहोला ।”
भोलिपल्ट बिहान हामी चढेको तारा विमान जुम्लातिर उड्यो ।
जुम्ला उडेको केही मिनेटमा सुर्खेत लमतन्न सुतेको देखियो । दैलेख बायाँ परेको हुनाले आँखाले छाम्न भ्याइएन । पहाडका उजाड लाग्ने रुखा डाँडा छिचोलेर हामी हिउँ फुलेका पहाडको शिरबाट उडिरहेका थियौँ ।
अच्युत थापा भन्दै थिए, “महेश सर, यो जुम्ला हेर्ने ठूलो रहर, व्यक्तिगत सामर्थ्य नहुने । बैंकको आलेप टिममा पालो आउने हो होइन भन्नेमा थिएँ म । सरले पनि इच्छा देखाउनाले सम्भव भयो ।”
थापाजीका कुरा सुनेर मुस्कुराइदिएँ । थप प्रतिक्रिया जरुरत थिएन । जहाज उडेको करिब २० मिनेटपछि हिउँ चुलिएर पाथीझैँ बनेका डाँडाको टुप्पोबाट जहाज विस्तारै ओरालो लाग्यो ।
तल उपत्यकाजस्तो सम्म परेको भूतल देखियो । सानो बजारको पूर्वपट्टि नीलो डोरोजस्तो देखिएको तिला नदी रहेछ । त्यति नै खेर विमानका चक्का जुम्ला हवाई मैदानमा घस्रिए ।
हामी बाहिरियौँ । निकै चिसो मौसम, चैत अन्तिममा पनि । धेरै उचाइ पनि होइन, नाकै खाउँलाझैँ चिसो महसुस भयो मलाई ।
जुम्ला उपत्यकाको उचाइ र रारातालको उचाइ नाप्दा पनि फरक छ । राराको उचाइ समुद्री सतहबाट २,९७२ मिटर छ भने जुम्ला, खलंगाको उचाइ २,३५० मिटर छ । ६२२ मिटर होचो भूभागको राराभन्दा तिखो चिसो हुनुको कारण सायद भूबनोट, उपत्यका प्रकृत भएरै होला भन्ठान्यो मेरो मनले ।
जुम्ला नेपाल एकीकरण हुनुपूर्व बाइसे राज्यको केन्द्र थियो रे ! भनिन्छ, जुम्ला सदरमुकाम रहेको चन्दननाथ नगरपालिकाको नामकरण भारतबाट आएका चन्दननाथ बाबाको नामबाट राखिएको हो रे ! जुम्लाको नामचैँ उत्तर र पूर्वबाट आएका जुम्ल्याहा डाँडाहरू अनि तिला र जावा नामका जुम्ल्याहा नदीको नामबाट जुम्ल्याहाको अपभ्रंश हुँदै जुम्ला हुन गएको किंवदन्ती छ ।
सहायक प्रबन्धक तेजबहादुर डाँगीलगायत साथीहरू हवाईअड्डा नै आइपुगेका थिए । झोलाहरू छत्रबहादुरजीले बोक्दै अगाडि लागे । हामी डाँगी र रमेश डिसीका साथ बैंकको शाखा भवनमा कार्यालय जुम्ला प्रवेश गर्यौं ।
बैंक भवन जलेका अवशेष अझै ताजै थिए । जलेका खातापातालगायतको व्यवस्थापन गर्न गठित समितिको सिफारिस कार्यान्वयनका निम्ति नेपालगन्ज क्षेत्रीय कार्यालयबाट रमेश डिसी काजमा खटिएका रहेछन् । उनी हामी एकै लटमा बैंक प्रवेश गरेका कर्मचारी हाैँ ।
चिया पिएर एक सरो जुम्ला घुमाउन डाँगीले लिएर गए । पाँच–छ वर्षअगाडि माओवादी आक्रमणमा परेका सुरक्षा निकायका भवनको अवशेषले त्यो द्वन्द्वको घाउ बोकेर उभिएको बोध हुन्थ्यो ।
चन्दननाथ मन्दिरले सबै श्रद्धालु भक्तजनहरूलाई स्वागत गरिरहेको देखिथ्यो ।
फर्किएर कामको विवरण तयार गर्यौं । अनि, खाना खाएर काम गर्न थाल्यौँ । जुम्लाको चिसोले नाकलाई निकै सकस दिएको थियो । नाक पनि अलि थ्याप्चेथ्याप्चे भयो भन्छन् । अझ मंगोलियन नाक भनेर नाकको वर्गीकरण हुन्छ । लामो भएमा चुच्चे नाम पाउँछ नाकले । हामी सबैको नाक ठिक्कको (बीचको) वर्गीकरणमा थियो ।
जे जस्तो भए पनि चिसो मौसममा नाकले सास्ती पाउँछ नै । त्यो सास्ती हाम्रो नांगो नाकले पायो बेसरी । शरीरका प्रायः सबै अंगले न्याना वस्त्रधारण गर्न पाउँछन् मौसमानुसारका । यो नाक जहिल्यै नांगै रहन्छ ! फेरि पनि यही नाकले इज्जत बोकिदिनुपर्छ मानिसको ।
कामको राम्रो परिणाम आए मानिस भन्छन्, ‘नाक जोगायो त्यसले, नाक ठड्याउने भयो ।’ नराम्रो परिणाम आयो भने भन्छन्, ‘फेरि नाक काट्यो त्यसले, नाक राखेन’ इत्यादि ।
खैर, हामी जुम्लाको चिसो खाँदै कामको मेहेरो बढाइरहेका थियौँ । बिहानको पैदलयात्रामा डाँगीजी हामीलाई तिला नदीछेउ लैजान्थे । भरखर समातेका ज्युँदा माछा किनेर ल्याउँथे र भन्थे, “हाकिम साबहरू बल्लबल्ल आउनुभएको, बेलुका अलिलि जिउ त तताउनैपर्यो नि ! सितन चाहियो नै । यहाँको ताजा माछाको स्वादै बेग्लै ।”
साँझपख यसो बजारतिर लिएर निस्कन्थे डाँगीजी । प्रबन्धक अलि नयाँ भएर होला, बजारसित कम पहिचान थियो क्यार उनको । उनी भन्थे, “म यहाँको सबै व्यवस्था मिलाउँछु, डाँगीजी तपाईं बाहिरको मिलाउनुस् ।”
मेदनीविलास घिमिरे र तेजबहादुर पदीय मर्यादाको ठिकविपरीत व्यक्तित्व बोध हुन्थ्यो हामीलाई । तेजबहादुर प्रबन्धकजस्ता र मेदिनी सहायक प्रबन्धकजस्ता !
जुम्लामा हामीले चार दिन बितायौँ । यी चार दिनमा हामीले जुम्ला आक्रमणमा जलेका सुरक्षा निकायका भवन नियाल्यौँ । जिल्ला प्रशासन कार्यालय, कारागार, अस्पताल, स्कुल, कलेज र अन्य विभिन्न सरकारी कार्यालयहरू हेर्याैं । त्यहाँ कार्यरत कतिपय कर्मचारीसित भलाकुसारी गर्यौं ।
प्रायः सबै कर्मचारीको एउटै भनाइ थियो– जागिरे जीवन कहिले के हुने हो, टुंगो नहुने । बाँचियो विगतमा यहाँ । कहिले माओवादीले आक्रमण गर्ने हो भनेर पर्खेर बस्नुपर्ने अवस्था बन्यो चन्दननाथ नगरवासीहरूको । हामी कर्मचारी त झन् निसानामा परेजस्ता भयौँ । धन्न, २०६२ सालमा शान्तिवार्ता भयो र तै बिसेक भएको छ । हेर्नु न, यी द्वन्द्वका अवशेष भनेर जलेका घर र कार्यालय...।
भग्नावशेष देखाउँथे उनीहरू । यो जलेको भौतिक वस्तु मात्र थिएन, यसले मानव मन र मूल्य पनि जलाएर नष्ट बनाएको बोध गरेँ मैले ।
हामीले आलेपको तोकिएको काम सक्यौँ । जुम्ला पुगेको पाँचौँ दिन बिहान साढे ६ बजे नै चिया पिएर हामी मुगुतर्फ हानियौँ । दुई दिनको पैदलबाटो रे जुम्ला र मुगुको ।
‘दरो हिँड्ने मानिसलाई नै त्यति समय लाग्छ, सरहरू त काठमाडौंको मानिस तीन दिनै लाग्छ होला’ भने स्थानीयहरूले । मैले भनेँ, “अच्युतजीको अवस्था के हो, उनलाई नै थाहा होला । मचैँ कञ्चनजंघा र कुम्भकर्ण हिमालको फेदमा जन्मिएको मानिस हुँ । मलाई पहाड हिँड्न खासै समस्या छैन ।”
हुन पनि पहिला ताप्लेजुङका विभिन्न स्थान र अन्य पहाडी ठाउँमा हिँड्दाका अनुभव जीवितै थिए ममा ।
यात्रु हामी चार थियौँ — अच्युतजी, डाँगीजी, गार्ड छत्रबहादुर चन्दजी र म । जुम्ला उपत्यका छिचोलेर डाँफेलेकको उकालो पहाड हिँड्न थालेपछि डाँगीजी एउटा चौतारोजस्तोमा थकाइ मार्ने भनेर पल्टिए । सुते, उठ्ने जाँगर गरेनन् ।
मैले सानामा सुनेको, ‘वस्तु धपाउन पछि बस्नुपर्छ, मान्छे धपाउन अघि लाग्नुपर्छ ।’ म अगाडि बढेपछि छत्रजी र अच्युतजी पनि साथ लागे । डाँगी उठेनन् । डाँफेलेकको मध्यपहाडबाट हेर्दा पनि उनी सुति नै रहेका थिए ।
हामीले माथिबाट करायाैँ। सुसेल्याैँ, जिस्कायाैँ, उनको सामर्थ्यलाई गिज्यायौँ, लल्कार्यौं । हामीमध्येका सबभन्दा खाइलाग्दा डाँगीजीको आँट ओइलाएको सुहाउने कुरा भएन ।
लाज लागेर होला, उनी लज्जावती झारझैँ ओइलाए । हामी त बरु चिनीरोगका बिरामी, यस हिसाबले उनी तन्दुरुस्त थिए । हाम्रो खिँजाइले काम गर्यो सायद । विस्तारै उकालो हिँडे ।
डाँफेलेक पहरोको उकालोमा चिनीरोगका बिरामी अच्युतजी र म, थकाइ र भोकले हैरान भइयो । चिनी घट्ला भन्ने चिन्ता एकातिर, अर्काेतिर खाने केही छैन ।
ज्याकेटको गोजीमा केही चकलेट रहेछन्, दुवैसित । त्यो पनि अस्ति आउँदा प्लेनमा बाँडिएको । त्यही चकलेट चपाउँदै उकालो काट्यौँ । स्थानीय व्यवसायी घोडा, खच्चड, चौँरीमा सामान ढुवानी गरिरहेका थिए । हामीलाई डाँफेलेकको शिरमा लेक लाग्यो । लेक लाग्दा कस्तो हुने रहेछ थाहा भयो ।
उतापट्टिको ओरालो फराकिलो फाँटिलो नागी, पाटन, फाँट वा चौर जे भने पनि भयो, त्यहाँ पुगेपछि लेकको अल्टिच्युट घटेछ र हामीले राम्ररी सास फेर्न सक्यौँ ।
सधैँ भरि हिउँले डोब बनाउने भएर यस ठाउँको नाम ‘डाबचौर’ राखिएको रे ! चौरको मध्यभागमा रहेको भण्डारीको छाप्रोमा चाउचाउ उमाल्न लगाएर भोक मार्यौं ।
हामीले खाइसकेर केही बेर थरक मार्दा पनि डाँगी आइपुगेनन् । ‘गाँस छोड्नु साथ नछोड्नु’ भन्ने उक्ति सबै ठाउँ लागु भइआएको छ । हामी डाँगीजीलाई पर्खेर बस्याैँ ।
करिब आधा घण्टापछि उनी पर हिउँ बोकेका रुखको फेदमा देखिए । त्यतिखेर हिउँ परेर रुखहरूमा हिउँ टन्नै अड्किएर सेताम्य थिए ।
डाँगीजीलाई देखेपछि मन खुसी भयो । अब हाम्रो यात्रा सहज हुने भयो । अघि ओइलाएको लालुपाते बनेको हाम्रो मन अहिले जागेर राताम्य भएर बौरियो । डाँगीजीका निमित्त चाउचाउ उमाल्न भन्यौँ भण्डारी भाइलाई । हामी भने तातोपानीले पेट तताइरहेका थियौँ ।
डाँगीले खाजा खाएपछि हामी जंगलको बाटो ओरालो झर्यौं । जंगलभित्रको मटैले बाटो धुलोले ढाकेको । जहाँ टेक्यो त्यहाँ डेढ फिटजति खुट्टा धुलामा धसिने । केही क्षण त रमाइलै भयो रुवामा हिँडेजस्तो !
केही समयपछि त खुट्टाले बाटो नाप्न गारो हुन थाल्यो । सारो ठाउँ मन र तनले खोज्न थाल्यो । भारी बोकेका खच्चड, घोडा, गधा र चौँरीगाई गन्ड्याङ गन्ड्याङ घण्टी बजाउँदै केही ओरालो केही उकालो हिँडिरहेका थिए । ती भारी बोक्ने पशुलाई धपाइरहेका, बाटो लगाइरहेका मानिस कहिले आवाज निकालेर हे...हे हो...हो भन्थे । कहिले स्वीत्त सुसेलेर सिटी बजाउँथे ।
तिनीहरूको यस्तो कार्यले भारी बोकेका जनावरलाई के बल पुग्थ्यो कुन्नि, झन् मच्चिएर हिँड्थे । फेरि सुस्ताउँदै उकालो काट्थे ।
“यस्ता लेकहरूमा पानी कम पर्ने, सदाबहारजसो सामान ढुवानी गर्ने जनावरको खुरले खोतलेर बाटो धुलाम्य बनेको हो,” छत्रबहादुरजीले थप अर्थ्याए, “यहाँको जमिनमा खासै ढुंगा छैन । सल्लाघारीभित्रको माटैमाटोमा वस्तुभाउको खुरले माटो खोतलिएर, पेलिएर बाटो यस्तो भएको हो सर ।” उनको ज्ञानले हामी जानकार भयौँ ।
ओरालोको धुलो बाटोमा डाँगीजीलाई खासै सकस भएन । ठूलो ज्यानका मानिस अडिन सक्दैनथे । कुदेझैँ ओरालो झरे डाँगीजी । तर, सकस पर्यो अच्युतजीलाई । उनी डराएर पाइला चाल्ने हुँदा शरीरले गति समाउन सकेन ।
छत्रबहादुर मानिसै बहादुर । शारीरिक श्रम गरेको मानिसलाई खासै सकस पर्दैन अप्ठ्यारा ठाउँहरूमा । हिमचितुवाझैँ हिमालमा हिँड्छन्, जाडो यसै पन्छाउँछन् । पहाडका अक्करे भीरमा पसिना बगाउँछन्, थकाइ बिसाउँदै अगाडि बड्छन् ।
मजदुरहरू मानव जीवनका अगुवा हुन् । उनकै परिश्रमले सबै धनी सामन्त अघाउने हुन् । फेरि पनि राज्य व्यवस्थाले यी गरिब मजदुरहरूलाई मानिसको श्रेणीबाट खसालेर जनावरको स्तरमा अपहेलना गरेको छ । त्यो परिस्थिति बदल्नुपर्छ ।
बाटो हिँड्दा मेरो अवस्था भनेको मध्यम खालको हो, पहाडी बाटाहरूमा । एउटा मेहेरो समातेपछि गति र यति मिलाएर हिँड्न सक्छु म ।
हामी तल न्याउरी घाट, हिमा नदी किनारामा पुग्यौँ । यही नदी सिन्जा उपत्यकाको सिँचनको मूल आधार हो रे ! नदी किनारको तेर्साे बाटो केही बेर हिँडेपछि वसन्त होटेलमा पुगियो ।
अच्युतजी विस्तारी आउँदै थिए, लौरो टेकेर । हामी होटेलमा केही बेर सुस्तायौँ । उनी आइपुगेपछि चियाखाजा खायौँ । समय दिउँसोको तीन बजेको हुँदो हो, हामी आफ्नो बाटो लाग्यौँ ।
चैत महिनाको समय पहाडका बेँसी तथा खोँचहरूमा निकै गर्मी हुने गर्छ । तर, यो बाटोमा खोलाखोल्सा र किनारमा शीतल हावाले गर्मी हुन दिएको थिएन । समय पनि पश्चिमतिर ढल्किएको थियो ।
हामी हिमा नदी तरेर अलिकति उकालो हिँड्याैँ। काभ्रा नामको ठूलो ओढारमुनि तीनचार घरहरू थिए । अभर परेका बेला मानिसहरू बास बस्छन् रे काभ्रामा ।
यो उकालोमा अच्युतजी र डाँगीजीले निकै सास्ती व्यहोरे । सास्ती भएर हिँड्न छोड्नु भएन । हिँड्नैपर्यो । जसरी सकिन्छ त्यसरी नै हिँड्नुपर्यो । नत्र ता गन्तव्य धेरै टाढा रहन्छ सधैँ ।
बाटोमा यता आउने र उता जानेको निकै चहलपहल थियो । हामीले चौथा कति टाढा छ भनेर सोध्यौँ । हाम्रो आजको गन्तव्य स्थान चौथा थियो । उनीहरूले हामीलाई वसन्त होटेलबारे सोधे । हामीले चियाखाजा खाएको होटेल उनीहरूको आजको बिसौनी रहेछ ।
हामी उकालो सकेर केही छड्के करिमकरिम उकालो अनि तेर्सो र अलिअलि भिरालो बाटो हिँड्यौँ । बाटोछेउमै राम्रो पर्खाल लगाइएको थियो । बाटोको छेउमा पर्खालको आडमा हात्तीबार वा पाठक (काँडा नभएको एकप्रकारको हात्तीबार) पाटले बाटोको शोभा बढाएको थियो ।
हामी यो रमाइलो बाटो हिँडेर बेलुकी करिब सात बजेतिर चौथा पुग्यौँ । यही चौथाबाट दायाँ जाँदा मुगु र बायाँ जाँदा जुम्लाको सिन्जा उपत्यका पुगिने रहेछ ।
सिन्जा उपत्यका खस भाषाको उत्पति भएको क्षेत्र । निकै उचाइमा रहेर पनि विभिन्न प्रकारका अन्नबाली, फलफूल उत्पादन गर्ने उर्वर जमिन । मार्सी धानजस्तो प्रख्यात अन्न सिन्जाकै उपज हो ।
चौथामा बास बस्यौँ हामी । बास व्यवस्था जस्तो थियो त्यस्तै धानियो ।
“दिनभरिको थकान, सुत्ने व्यवस्था यस्तै छ । बेलुका अलिकति पिएन भने त महेश सर, निदाउन गाह्रो होला,” थापाजी फर्माए ।
“के कुरा गर्या होला, खानपिउन, रमाइलो गर्न त हिँड्या हो नि !,” डाँगीजीले थपे ।
छत्र भाइले मिठो मुस्कानसाथ भने, “भोलिको बाटो पनि लामै छ सर ।”
सबैको आशय पिउने बुझेपछि मैले रोक्ने कुरा भएन । गहुँ कि जौको, उवा भन्दा रहेछन् । आधा पाकेको आलु सितनसित निल्न खोज्यो, निलिन्न । अधकल्चो आलु मात्रले के हुन्थ्यो, मासु खोज्यो जिब्रोले !
डाँगीजीले ‘होइन ए भाइ, मासु छैन ?’ भनेर सोधे । पसलेले फुल पारेर बुढी भएको पोथी कुखुरा देखायो । दुई हजार दाम भयो । म ब्वाइलर कुखुरा पनि छाला हटाएर खाने मानिस, दिगमिग लाग्यो मलाई ।
मैले सोधेँ, “खसीको मासु पाउँदैन भाइ ?”
उसले जवाफ दियो, “पाउँथ्यो हजुर, सकियो । खसीको मासु त अलि सस्तो, किफायत पनि पर्थ्यो, छैन । के गर्ने होला ?”
पहाडको जंगलमा चरेका खसीको मासु प्रतिकिलो तीन सय रुपैयाँ थियो रे ! बोसो फिटिक्कै नहुने खसीको मासु खान पाइएन । मैले नमान्दा नमान्दै बुढी कुखुरीले ज्यान गुमायो ।
मैले ‘छाला फाल’ भनेँ । आफ्नै भागको फाल्ने भन्ने भयो । पछि भाग लागेपछि तुर्लुंग झुन्डिएको छाला देखेपछि मैले त्यो मासु खान सकिनँ । छत्रजीलाई सहयोग गर्न भनेँ, उनी रमाए ।
डाँगीजीले भने, “सोखिन भएर हुन्छ र सर बाटामा ?” मैले उनको प्रश्नको उत्तर दिइनँ ।
एनजीओ र आईएनजीओका पदाधिकारीले कुखुरा महँगो बनाएका भन्थे त्यताका मानिस । अधकल्चो पाकेको आलु र गहुँको भात अलिअलि चेपेर अगाडि पिएको ठुस्स गनाउने उवाको रससित घालघुल पारेर सुतियो । निदाइएछ, गजब भयो !
भोलिपल्ट बिहानै निद्राले छोड्यो । चौथा खोलो सङ्लो पानी आफूमा सञ्जीवनी रस बोकेर अविश्रान्त बहिरहेको थियो । सिन्जा जाने मानिसहरू हिँडिरहेका थिए । हाम्रा पुर्खाहरू जुम्लाको सिन्जाबाट पूर्वतिर गएका रे भन्ने सुनेको हो । सिन्जा उहीँ सिमकोट जाँदा जहाजबाट देखेको, त्यति नै हो । हेर्ने रहर भएर पनि हेर्न भ्याउने अवस्था थिएन ।
हामी तयार भएर चौथाबाट मुगुतिर लाग्यौँ । केही क्षण करिमकरिम उकालो, दुवैतिर डाँडोबीचको खोल्सोजस्तो बाटो हिँड्दै हामी बुलबुले पुग्यौँ । चौथा खोलाको उद्गम रे यो बुलबुले । बुलबुल गरेर उम्रिएको मूलको सुन्दर दृश्य नियाल्यौँ ।
हेरिरहूँजस्तो सिर्जना थियो त्यो । प्रकृतिको गर्भबाट उद्गम भएर धरतीको बाहिरी सतहमा सिर्जना ओकलेको बोध भयो हामीलाई । यिनै उद्भवहरूका कारण प्राणी वनस्पतिको जीवन धरतीमा सजीव छ ।
हामी विस्तारै माथि उक्ल्यौँ । विभिन्न प्रजातिका वनस्पतिले आफ्नो पहिचान बोलिरहेका थिए । पर्तिर केही खस्याकखुस्रुक्क गर्यो । हामी यसो हेर्दै के थियाैँ, जोडी भालेपोथी कालिज उडेर गए । सायद बिहानै प्रणयको तयारीमा थिए ती । हामीले अवरोध गरेको बोध भयो क्यारे ती पन्छीलाई ।
हामीले लाठी टेकेर खुइय्य काढ्दै उकालोलाई घाम झुल्किनुअगाडि नै पार लगायाैँ । एउटा ठूलो मैदान, नागी, पाटन जे भने पनि सम्म थोरै करालो वा भिरालो फाँटिलो ठाउँमा पुग्यौँ । हाम्रा खुट्टाहरूले बाटो नाप्न सकेनन् । फोक्सोले राम्ररी श्वास लिन सकेन । शरीर थाकेर आयो ।
“यति सहज तेर्साे बाटोमा हिँड्न नसक्नु यो लेक लागेको हो सर,” छत्रजीले भने । उनी र म अगाडि थियाैँ । अच्युतजी र डाँगीजी तल खोल्सामा सुस्ताइरहेका रहेछन् ।
मैले सुसेल्न खोजेँ, श्वासप्रश्वासले साथ दिएन । विस्तारै, निकै विस्तारै पाइला चाल्दै छत्रजी र म त्यो नागी, मैदान, पाटन पार गरेर उतापट्टिको जंगलको ओरालो अलिकति ओर्लिएपछि मेरो श्वासप्रश्वास सामान्य भयो ।
यस ठाउँलाई जुम्लीजुन भन्दा रहेछन् । यहाँ थकाइ मारेका बेला बैंैककै स्टाफ जंगवीर विक भेट भए । उनी मुगुबाट जुम्ला हिँडेको भन्दै थिए । केही बेर भलाकुसारी गरेर उनी अगाडि बढे ।
मैले महसुस गरेँ, अब लेक लाग्ने सीमाबाट तल ओर्लिएछौँ हामी । एउटा रुखको फेदमा साथीहरूलाई पर्खेर बस्याैँ । करिब आधा घण्टाजतिमा दुवै आइपुगे ।
“बुझ्नु भो महेश सर, यो उकालो भनेको घुच्चीको लेकको उकालो, निकै लेक लाग्यो हामीलाई । तपाईंहरूलाई लाग्यो लागेन ?,” सुस्ताउन बस्तै डाँगीजीले सोधे ।
“ए, घुच्चीको लेक हो यो ? अनि, हिजोको डाँफेलेक । हामीले दुइटा लेक नाघ्यौँ ! अब उकालो छैन मुगु जानलाई ?,” मैले सोधेँ ।
डाँगीजीले तत्कालै भने, “छत्र भाइलाई थाहा होला, मैले त सुनेको मात्रै हो । उनले त दुईतीनचोटि यो बाटो नापिसकेका छन् ।”
छत्रले भने, “हजुर, मुगु सदरमुकाम गमगढी जाने भए उकालो छैन । ओरालो सकिएपछि तेर्सैतेर्साे गए पुगिगयो । माथि राराताल जानचैँ अलि करिमकरिम उकालो गएर ताल्चा विमानस्थल उक्लिने अनि त्यहाँबाट अलिकति माथि उकालो हिँडे रारातालको डिलमा पुगिन्छ ।”
छत्र भाइका कुरा सुनिसकेर अच्युतजीले सोधे, “हामी गमगढी भएर शाखाका साथीहरूसित भेटेर जाने होइन, महेश सर ?”
मैले ‘हो’मा टाउको हल्लाएँ ।
समय बिहानको नौ बजिसकेको थियो । बाटो उस्तै छड्के ओरालो । हिजोकै जस्तो जंगलको बाटो धुलाम्य थियो । ठूलाठूला अजंगका सल्लाका रुखहरूले ढाकिएको जंगलमा हावाको झोक्काले माथि आकाशझैँ लाग्ने सल्लाका टुप्पाका पातहरूको स्याइँय्य सुसाइले कतै नदी बहेको भान भयो ।
“यही सल्लाको हावा र पानीको अभावमा सेता मानिसका छाला पनि काला बन्छन् रे यता !,” डाँगीजीले सुनाए ।
बाटोमा डाँगीजी बहादुर निस्किए । उनी अरूभन्दा अगाडि हिँड्न थाले । अच्युतजीलाई ओरालोले सकस पार्यो फेरि । बडो गाह्रोे बनायो उनलाई । ओरालोमा ‘घुँडाले भार थेगेन’ भने थापाजीले ।
साथीलाई साथ दिनैपर्यो । म पर्खिएर अच्युतजीलाई साथमा लिएर विस्तारै हिँडाउन थालेँ । यो शारीरिक सकस पनि उकालोमा डाँगीजीलाई अनि ओरालोमा अच्युतजीलाई, आपसको विपरीत सकस थियो ।
म यी दुईको शरीरको भिन्नै प्रकृतिगत क्षमता महसुस गरिरहेको थिएँ । निकै बेरको ओरालो हिँडेपछि हामीले टिना गाविस टेक्यौँ । त्यसपछिको तेर्साे बाटो निकै पर डाँडाजस्तोमा घर देखियो ।
त्यही घरलाई औँलाले देखाउँदै छत्रजीले भने, “त्यो तइसेँडी चौकी हो सर । त्यहाँ खाना पाउँछ ।”
हामी भोकले निकै आतेस भएका थियौँ । हिजो बेलुकाको उवा, काँचो आलु र गहुँको अधकल्चो भातले ठाउँ छोडिसकेको थियो । उनीहरू ‘यो लेकमा योभन्दा पाकेको खाना नै हुँदैन, बाँकी पेटमै पाक्छ’ भन्थे ।
होला पनि सायद, हाम्रो पनि पेटमा पाकेर पचेर सकिएको थियो पोषण । हामीले चौकीलाई नाकको सामु राखेर हिँड्यौँ ।
चौकी पुग्दा बिहानको साढे एघार बजेको थियो । एउटा पसलमा सिल बनाएर खसीको रातो मासु झुन्ड्याइएको थियो । हिजो खान नपाएको मासु आज खान पाइने भयो भनेर मन प्रफुल्लित भयो ।
मैले ‘खाना छिट्टै बन्छ भाइ ?’ भनेर पसलेलाई सोधेँ ।
तत्कालै जवाफ आयो, “खाना पाकेकै छ हजुर ।”
“अनि मासु नि !”
मेरो जिज्ञासा मेटाउँदै होटेलवाला बोल्यो, “मासु’नि पाकेको छ ।”
मैले सिलको मासु देखाउँदै भनेँ, “हामी त यो मासुसित खाना खाने हो !”
“यही त पकाएको हजुर !,” उसले फेरि बतायो ।
हाम्रो भोको पेटले खाना छिट्टै पायो । लेकको भात ठिकै थियो । मासुको रस र हड्डी मात्र छ, कहीँ कतै एकदुई पिस ससाना टुक्रा मासु छन् ।
थापाजी जंगिए, “मासुसित भात दिने भनेर यस्तो हड्डी मात्रै उमालेर मासुको दाम लिने ?”
साहु भनाउँदो बसिलाले खसीका डुँडीखुट्टा काट्दै थियो, मुस्कुरायो ।
बाटो ढुकेर पैसा कमाउने उसको मेलो रहेछ । नझुक्याए सम्भव छैन व्यवसाय भनेझैँ गर्यो उसले । हाम्रो भोको पेट भर्नु थियो । भरियो । उप्रान्त हामी अगाडि बढ्यौँ ।
मुगुमा स्थानीय उत्पादनले तीन महिना मात्र धानिन्छ । बाह्य खाद्यान्न आयात गर्न यातायात व्यवस्था भइनसकेका कारण महँगो पर्नाले किनेर खान नसक्ने अवस्था बनेको पाइन्छ । गरिबीले थिचेर मानव जीवन चेपिएको पेरुंगोझैँ बनेको भेटिन्छ ।
सोचेँ– दुर्गम पहाडका मानव जीवनको यो सकस कहिले मेटिएला खै !
अलि अगाडि गएपछि थापाजीको खुट्टामा खसीको हड्डीको सुपले तागत देखायो । उनी हामीभन्दा तोडले हिँड्न थाले । यिनकै कारण गमगढी बेलुका मात्र पुगिएला भनेको तीन नबज्दै हामी गन्तव्य भ्याउने सुरमा हिँड्न थाल्यौँ ।
तल बालैँबगर पुग्यौँ । त्यहाँबाट बाटो तेर्साे लाग्यो । मुगु जिल्ला गमगढी बजार आउनु पहिले चैँनागाउँनजिक पुग्यौँ । धेरै घर तलमाथि, घरमाथि घर खप्टिएर झुरुप्प बसेका भेटिए । हाम्रोतिर पहाडमा यस्ता झुरुप्प घर मैले नदेखेको, अन्यत्र नेपालका पूर्व–पश्चिमका विभिन्न पहाडी स्थानमा पनि यस्ता घर देखेको थिइनँ ।
उही अघिल्लो वर्ष सिमकोट जाँदा हुम्ला जिल्लाका कतिपय ग्रामीण क्षेत्रमा यस्ता घर जहाजबाट देखिएको थियो । बाटामाथि बाटा तल । खोलापारि, नदीपारि, खेती हुने ठाउँ र बस्ती बसेको ठाउँ भिन्नै देखिन्थे ।
एउटा घरको छतबाट अर्काे घरको बाटो थियो । बडो अचम्म लाग्यो, यी घरहरूको बनावट । घर जसरी गाँसिएका छन्, सायद घरमा बस्ने मानिसका मन पनि गाँसिएकै होलान् । नत्रता कसरी सम्भव होला र !
यतिविधि घरहरू गाँसिएर, अझ भनौँ, एउटाको घरको छानो अर्काे घरको बाटो भएर जान मन नगाँसिए सम्भव ठानेन मेरो मनले ।
म यस्तै सोच्दै थिएँ, छत्रजी कराए, “सर, अब गाउँ पस्न लागियो है ! यहाँ त हिँड्दा होस पुर्याउनुपर्छ है, बाटाभरि ठूलासाना मानिसले बिस्ट्याएका हुन्छन् । हिँड्नलाई नै गाह्रो हुन्छ ।”
छत्रका कुराले चकित बनायो । “होइन, यति बाक्लो घरबस्तीमा ट्वाइलेट हुन्न र भाइ ?,” मैले सोधेँ ।
“खोइ सर, सबै कुरा त म पनि बुझ्दिनँ । बैंकमा जागिर खानुभन्दा अगाडि म एनजीओका मानिसको भारी बोक्ने भरिया थिएँ । त्यतिखेरै सुनेको हो, यी मुगुका गाउँबस्तीका मानिसको घरमा कसैका पनि ट्वाइलेट हुँदैनन् । यिनीहरू खुला दिसापिसाब गर्छन् । अनि, विभिन्न रोगले ग्रस्त हुन्छन् । रोगबाट बचाउन विभिन्न दातृनिकाय र संस्थाले उनीहरूका प्रत्येक घरलाई निःशुल्क ट्वाइलेट बनाइदिने भनेर एनजीओ, आईएनजीओ लागेका थिए, अहिले के छ कुन्नि !”
डाँगीजी कराए, “हैट सर, कहाँ टेक्ने ! खाली ठाउँ कहीँ छैन । बाटाभरि गुहुका थुप्रा छन् । कोही आला कोही सुकेका ।”
होस पुर्याएर कहिले खुट्टाका औँलाले त कहिले कुर्कुच्चाले टेकेर हिँड्यौँ हामी । कहीँचाहिँ सुकेको बिस्टा टेकेरै मात्र अगाडि बढ्न सकिने अवस्था आयो । टेकेरै हिँड्यौँ ।
बडो सिकसिक लाग्यो मलाई । कस्तो छ मानिसको सोच ! खुला दिसापिसाबमुक्त संसार बनाउने अभियान एकातिर चलेको छ, अर्कातिर घरवरिपरि, बाटाभरि दिसापिसाबबाहेक केही छैन ।
हाम्रा तीन पुस्ताअगाडिका मानिसमा कस्तो चोखोनितोको कुरा सुनिने गर्थ्यो । तीन पुस्तापछि यहाँको हालत यस्तो छ । यो समाज कहिले सप्रिन्छ ? यो त मध्य युगीनभन्दा पछाडिको अवस्थाझैँ लाग्यो मलाई । यो ठाउँविशेषको चेतना अभावका कारण नै होला ।
जेनतेन जोगिएरै चैँनागाउँ पार गर्यौं । अलि अगाडि एउटा सानो खहरे खोल्सो थियो । चैँना खोल्सो रहेछ । यसैको नामबाट गाउँको नाम राखिएको हो रे !
चैँना खोल्सो तरेर गमगढी बजारस्थित वाणिज्य बैंकको शाखामा पुग्यौँ हामी । प्रबन्धक लक्ष्मीप्रसाद गौतम र सहायक प्रबन्धक महेन्द्र तिमल्सिनासहितका कर्मचारी साथीहरू पर्खिरहेका रहेछन् ।
मैले खुइय्य काढ्दै विस्मित भावमा भनेँ, “सदरमुकामछेउका बस्तीहरू त यति फोहोर रहेछ, अझै टाढाका झन् कस्ता होलान् !”
महेन्द्रजी बोले, “यस्तै छ सर मुगु जिल्ला । यो चेतना अभावभन्दा पनि स्वदेशी–विदेशी दातृसंस्थालाई दंग्याएर खान पल्केका हुन् । नत्र ता मानव सभ्यता यस्तो कहाँ हुन्छ र ?”
महेन्द्रको कुरालाई थप पुष्टि गर्दै प्रबन्धक लक्ष्मी गौतमले भने, “एनजीओ, आईएनजीओले हरेकका घरमा निःशुल्क ट्याइलेट, बाथरुम बनाइदिएका छन्, ती ट्वाइलेट र बाथरुममा पराल, खोसेला वा अन्य सामग्री राखिएका छन् । उनीहरूको बुझाइ के छ भने, यी एनजीओ र आईएनजीओहरूले हामीले ट्वाइलेटमा दिसापिसाब गरेको, बाथरुममा नुहाएको रेकर्ड लगेर विदेशीसित डलर खान्छन् । हामीलाई डलर नदिएसम्म हामी यिनीहरूले बनाइदिएको ठाउँमा दिसापिसाब नै गर्दैनौँ र नुहाउँदैनौ भनेर बाटो बिगार्छन् । यो नबुझेर होइन । यो एकप्रकारको दलाली हो ।”
म, प्रबन्धक र सहायक प्रबन्धकका कुरा सुनेर जिल्ल परेँ । अच्युतजी र डाँगीजी अन्यमनस्कझैँ भए । छत्र भाइ बुझेझैँ मुस्कानसाथ टाउको हल्लाइरहे ।
मैले सोचेँ– मानिस आफ्नो अन्तरक्षमताले माथि चढेको हो । मानवस्तर विकास हुनुमा अरू कुनै प्राणीको योगदान छैन । यो मानवीयतासहितको अन्तरचेतले विकासको बाटोमा हिँड्दा कोही अघि कोही पछि अवश्य हुन्छ ।
तर, बाटोको दिशा एकैतर्फ हुन्छ । यो मुगुका उल्लेखित प्रवृत्तिका मानिसको हिँड्ने दिशा विपरीत छ । यस्तो विपरीत बाटोबाट अगाडि होइन, पछाडि पुगिन्छ ।
“मैले सुनेको महेश सर, यहाँका पछिल्लो पुस्ताका कतिपय लोग्नेमानिस प्रायः सबै एनजीओ, आईएनजीओका पछि लागेर विदेशी चुरोटका ठुटामा अलमलिएका, बेलुका कुखुराको सितनको पित्को र विदेशी रक्सीको तिर्काे पाउने लोभमा घरको काम छोडेर दिनरात धाउँछन् रे ! उनीहरू हाँस्दा हाँसिदिने, उनीहरू गम्भीर हुँदा निसास्सिँदै तिनकै पछि दौडिन थालेका छन् रे ! कतिपयले त थोत्रा जडौरी पाएर रमाउने गरेका पनि हुन्छन् रे ! घरमा स्वास्नी बर्सेनि बच्चा पाएर कुपोषणले अठार वर्ष नपुग्दै कुना पसेका भेटिन्छन् रे ! स्वास्नी किन कुना पसी, त्यसको कारण नखोजी सौता हाल्छन् रे !,” थापाजीले सुनाए ।
उनी मलिन बनेका थिए । मैले भनेँ, “होला कि ! हामी पूर्वका मानिस । पूर्व पहाडमा लोग्नेमानिस परिश्रम गर्न घरबाहिर निस्कन्छ । अजंगको भारी बोक्छ । पसिना बहाउँछ । कमाउँछ । स्वास्नी, छोराछोरीलाई खुवाउँछ । गालामा सिँगानका लत्का भए पनि पूर्वी पहाडका केटाकेटीका गाला खाइलाग्दा राता र पोटिला हुन्छन् । आइमाई वा तरुनीका गालाबाट रगत चुहिएलाजस्तो हुन्छ । कति सुन्दर देखिन्छन् आइमाई, केटाकेटी पूर्वी पहाडमा ! लोग्ने वा घरको लाठे बाहिर काममा जाँदा घरका स्वास्नी, छोराछोरीले सकेको काम गर्छन् । घर सम्हाल्दछन् । जोईपोइको साझा सहमतिले घर रसिलो बनेको हुन्छ । यहाँ यति लामो बाटो हिँडियो, कहीँ पशुलाई भारी बोकाएको भए पनि मानिस खासै परिश्रमी देखिएनन्, भेटिएनन् ।
मेरो तात्पर्य दुःख मात्रै परिश्रमको परिभाषा पटक्कै होइन । परिश्रमका क्षेत्रमा विकसित विकल्प अपनाउनुपर्छ । तर पनि परिवेशले श्रमको अवस्था बोलेको हुन्छ । यताका कतिपय मानिसका स्वास्नी, छोराछोरीका गाला दाप्सिएका छन् । कुपोषणले ग्रसित, खान नपाएको झल्को अनुहारले बताउँछ । मिहिनेत गरेर पसिना नबगाए कसैले उब्रेपाब्रेको कुनै बेला दिएको भरमा जीवन चल्दैन । जीवन चलाउन आफ्नै सोच र श्रमको निकास जरुरत छ ।
चियासँगैको कुराकानीपछि हामी बजार घुम्न निस्कियौँ । प्रबन्धक लक्ष्मीजी र सहायक प्रबन्धक महेन्द्रजीले हामीलाई बजारतिर लगे । पहाडको सदरमुकाम बजार ठिकै थियो । सबै सरकारी अड्डा, अदालत नजिकनजिकै थिए । जिल्ला प्रशासन कार्यालय, जिविस, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल, शैक्षिक संस्था, स्कुल, कलेज सबै नजिकै आपसमा हेलमेल गरेर बसेको जस्तो लाग्थ्यो ।
नेपाली सेनाको कार्यालय अलिक मास्तिर डाँडामा रहेछ । हुन त प्रायः सुरक्षा निकायको अवस्थिति अलि माथिल्लो डाँडामा नै भएको भेटिन्छ । सुरक्षाका दृष्टिकोणले यो उपयुक्त नै होला । माओवादी आन्दोलन २०६२ मंसिर ७ गते दिल्लीमा भएको १२ बुँदे सम्झौताले टुंगिएको थियो ।
तल कर्णाली नदी नीलो डोरोझैँ उत्तर–दक्षिण तानिएको थियो । कर्णाली नदी नेपालको सबैभन्दा लामो नदी हो । नेपालका नदीहरूमा ठूलो कोसी नदी, गहिरो नारायणी नदी र लामो कर्णाली नदी भनेर चिनिन्छन् ।
संसारको नाइल नदीझैँ नेपालमा कर्णाली नदीले लम्बाइमा अरूलाई उछिनेको छ । यस नदीको उद्गमस्थल तिब्बत हो भनिन्छ । यही नदी कर्णाली प्रदेश छिचोल्दै नेपालकै एउटा सभ्यता बोकेर बहिरहन्छ अहोरात्र । यसमा अन्तरनिहित सिञ्चन र ऊर्जा क्षमताको उपयोग हुन नसकेर यो क्षेत्र रोइरहेको आभास पनि हुन्छ ।
हामीले घुमेको गमगढी बजार क्षेत्रमा पनि कतैकतै फोहोर देखिन्थ्यो । ‘योचाहिँ बेवारिसे मानिसहरूको रातिको काम हो,” भने महेन्द्रजीले ।
बेलुका साथीहरूले मेजमानीका निमित्त होटेलमा लिएर गए । हामी आनन्दले खाने, पिउने र गफमा मस्त थियौँ । त्यसै होटेलको अर्काे कोठामा अरू केही मानिस खानपिनका लागि बसेका रहेछन् । समय बित्दै गएपछि त्यहाँ ठूलठूलो आवाजमा मानिसहरू कराउन थाले । हुँदाहुँदै झगडा गर्न थाले ।
स्थानीय निकायको निर्वाचन नभएका कारण प्रायः सबै ठाउँमा कर्मचारीले नै विकास निर्माणको बजेट परिचालन गरेका हुँदा रहेछन् । जनप्रतिनिधिको अभावमा उपभोक्ता समिति, उपसमितिमार्फत बजेट निकासा हुनेरहेछ । बजेट जनताको जीवनसित सरोकारित विषयमा खर्च नगरिएर भागबन्डा गरेर भागशान्ति हजम गरिँदो रहेछ ।
भागमा तलमाथि भएकै कारण यहाँ झगडा हुन लागेको थाहा लाग्यो । एकैछिनपछि कुटाकुट हुन थाल्यो । होटेल मालिकले हामीलाई सुत्ने कोठातिर लगे । मेरो मनमा लाग्यो– जनताले कति दुःखकष्ट गरेर यो व्यवस्था ल्याएका छन्, जनताका आधारभूत आवश्यकता परिपूर्तिमा पहल गर्नु कता हो कता, आएको बजेट गोजीमा हाल्न यस्तो झगडा चुलिँदो छ ।
देश विकासको मेरुदण्ड स्थानीय निकाय, अझ तल क्षेत्र, टोल, उपभोक्ता समूह र तिनको कार्य विकासको जग बनेर रहने हो । हाम्रामा जग खोतलेर खाने चलन बनेछ, कसरी यो वृक्ष बढ्ला र खै !
भोलिपल्ट बिहान करिब ६ बजे सबै उठ्यौँ । हिजोको झगडा शान्त भएको सुनियो । केही भने घाइते भएछन् । अन्त्यमा हिसाब मिलेछ, भागबन्डाको अनि शान्ति छाएको रे !
यस्तै शान्तिका नाममा २०६२ साल मंसिर ७ गते दिल्लीमा सम्झौता भएर देशमा शान्ति छाएको थियो । अब यहाँ पनि शान्ति छाउने भयो–मेरो मनले निष्कर्ष सुनायो । देश र जनताका नाममा राज्यको स्रोत कब्जा गरेर शान्ति छाउने मेरो देश । कहिले देश र जनताको पक्षमा सोच्ने चेत पलाउला खै ! यही चिन्तनले रुमल्यायो ।
चिया पिएर हामी भने रारातिर उकालो लाग्यौँ । यो उकालो निकै सकसको थियो । केहीमाथितिर आर्मी क्याम्प थियो । त्यो कटेर अलि माथि पुगेपछि फेरि डाँगीजीलाई सकस पर्यो । उनी लक्ष्मी गौतमसित हिँड्न थाले ।
ती दुई मामाभान्जाको नाताले सम्बोधन गर्थे । म र अच्युतजी महेन्द्र तिम्सिनाका साथ रह्यौँ । उकालोले श्रम र शक्ति खर्च गराउँछ । बिसाउँदै शक्ति आर्जन गर्दै हिँड्ने हो उकालोमा ।
उहिले दार्जिलिङको रेलको कुरा सुनिएको हो । उकालोमा रेल कुद्न गाह्रो हुन्छ रे, अनि त रेलले केही बेर थरक मारेर डाँडो छिचोल्छ रे ! भन्थे त्यहाँका मानिस । कति सत्य हो थाहा छैन, सुनेको कुरा न हो । जे भए पनि उकालोले शक्ति खर्च गराउँछ नै ।
हामी उकालोमा महेन्द्रजीका पञ्चायतकालीन शासकीय दमन र उत्पीडनका गफहरूको खुराक खाँदै बाटो काटिरहेका थियौँ । तितेपाती, ठाडे, उन्यु र कालेझार अनि सोतरका बुच्काहरूले हामीलाई स्पर्श गरिरहेका हुन्थे ।
तल एउटा ढुंगामाथि चढेर लक्ष्मीजी र डाँगीजीले हामीतिर नजर फिँजाए । सायद हामी भएको ठाउँ पुग्न उनीहरूलाई निकै समय लाग्ने अनुमान गरे होलान् ।
मैले सुसेलेँ सुइँय्य पारेर । उनीहरूले हात हल्लाए । मैले आउन इसारा गरेँ । उनीहरू उकालो चढ्न थाले । हामीले लामाचौरमै बिहानको थकाइ मार्दै चियानास्ता खाएर भोक मेटायौँ ।
जीवन भोगाइका हरेक चरण कहिले ओरालो झरेर खोचमा, कहिले तेर्सो हिँडेर सम्म परेको चौतारोमा त कहिले उकालो हिँडेर हिमाल छिचोल्छ मानिस । यिनै विभिन्न स्थानको अनुभवले नयाँ मार्ग पहिल्याउँछ मानिस ।
चिनिया यात्री ह्वेन त्साङ सिल्क रोड नामको बाटोमा हिँडे । कोलम्बस हिँड्दै जाँदा पत्ता लागेको हो, अमेरिका । यात्राकै क्रममा अफ्रिकामा उत्पति भएर संसार ढाकेको छ मानिसले ।
हामी धुपीसल्लाका मसिना पोथ्रा भएका स्थानमा पुग्याैँ । महेन्द्रजीले ‘अब एक घण्टामा हामी राराको डिलमा उक्लिन्छाैँ’ भने । चैत महिनामा पनि फेदरका ज्याकेटभित्र उकालोको सकस छिचोल्दै चिसो छिर्यो शरीरमा । ताप घटेर गयो ।
त्यति नै खेर हिउँको फुसफुसे बर्सात भयो । हामीले हिन्दी चलचित्रमा देखेको हिउँको झरी परेको दृश्य, आज आफ्नै शरीरले हिउँ बोकेर हिँड्दाको आनन्द छुट्टै थियो ।
“सर, हिउँ परेका बेलामा मौसम न्यानो हुन्छ, पछि फेरि चिसो हुन्छ । हेर्नु त, अघिको चिसो हरायो कि हराएन !,” महेन्द्रजीले अनुभव सुनाए ।
‘हो रहेछ’ भन्दै अच्युतजी रमाए । आनन्दको अद्भुत क्षण थियो यो । हामी गन्तव्यको नजिकै थियौँ ।
“रारातालको डिलमा पुगियो । लु, हेर्नु सर पर !,” महेन्द्रजीले पर तालको नीलो पानी देखाउँदै भने ।
हामीले केही बेर साथी पर्खने निधोसहित ज्यान बिसायौँ । यो प्रकृतिको अनुपम सुन्दर परिवेशलाई एकैचोटि सँगै नियाल्ने अभिप्राय थियो हाम्रो ।
यो कर्णाली अञ्चलको तेस्रो जिल्ला मुगु । मुगुगाउँको नामबाट यस जिल्लाको नाम राखिएको रे ! मुगुको रारातालले विश्व पहिचान बनाएको छ । यति सुन्दर प्रकृतिप्रदत्त उचाइमा रहेको मनोरम कुण्डले सिंगो कर्णाली बोकेको छ ।
अझ यो कर्णालीको बाहिरी सतहमा मानव जीवनलाई ऊर्जामय बनाउने औषधिजन्य जडीबुटीको खानी मानिन्छ । पाँचऔँले, यार्सागुम्बा, जटामसी, चिरैतोलगायत दर्जनोँ जडीबुटीले सुसज्जित क्षेत्र हो, कर्णाली ।
बाहिरी सतहमा नदेखिएका, आफ्नो गर्भमा बोकेका युरेनियमलगायत विभिन्न खनिज पदार्थको भण्डार हो, कर्णाली । हामी आफैँ बत्तीमुनिको अँधेरो बनेर गरिबीको गीत गाएर मगन्ते भएका हाैँ । देशले ठगेको छैन हामीलाई । बस्, चेतनाको दैलो नउघारेर हो ।
यस्तो सम्पन्न देशका मानिस हामी शिक्षा र प्रविधिको विकास नभएका कारण कस्तुरीले बिना अन्यत्र खोज्न भौँतारिएजस्तो भएको छ, हाम्रो परिवेश ।
म यस्तैयस्तै केके सोच्दै थिएँ । डाँगीजी र लक्ष्मीजी आइपुगे । हामी केही बेर साथीहरूसितै सुस्तायाैँ। धुपीसल्लाका मसिना पोथ्राहरूमा मसिना किराफट्यांग्रा आफ्नो दैनिकीमा रमाइरहेका थिए ।
बीचको मट्यैलो (माटैमाटो मात्र भएको) बाटो सुस्तरी हिँड्दै हिमवर्षाको आनन्द लिँदै हामीले रातातालको डिलमा उभिएर चारैतिर नजर डुलायौँ । करिब पाँच किलोमिटर लम्बाइ, तीन किलोमिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको, समुद्र सतहबाट २,९७२ मिटर उचाइमा रहेको प्रकृतिको शिरमा सिर्जनाको स्रोत बनेर अनन्तकालदेखि अवस्थित यो सुन्दर भूस्थल हेर्दा मलाई लाग्यो, स्वर्ग यही नै हो ।
राजा महेन्द्रले २०२० सालमै ‘राराकी अप्सरा’ कविता शीर्षकमा भनेका छन्–
ए, रारा ! बताऊ !
रारा भनेको तिमी को हौ
स्वर्गकी अप्सरा ?
राजा महेन्द्रले स्वर्गकी अप्सरा यसै भनेका होइन रहेछन् । साँच्चै मेरो मन महेन्द्रलाई उछिनेर भन्छ– यो स्वर्गकी अप्सरा मात्र होइन, सुन्दरताका सबै अंश समाहित सम्मोहनयुक्त आनन्दको एक अनुपम नमुना हो ।
रारा राष्ट्रिय निकुन्जको करिब १० वर्गकिलोमिटर ओगटेको यो सुन्दर स्थानमा पुगेपछि शरीरका सबै थकानहरू हराउँछन् । मानसिक पीडा र तनाव भाग्दछन् । मनको सङ्लो निर्मलपनामा डुबुल्की मार्न पुग्छ हरकोही ।
रारा राष्ट्रिय निकुञ्जमा घोरल, हरिणलगायत वन्यजन्तुले बास गर्छन् । डाँफे–मयूरले सयर गर्छन् । रारातालको पानीमा हावाको प्रवाहले बनाएको छाल र त्यो छालसित तालमा प्रतिछाया बनेर बसेका रुखबिरुवा, पहरा, पर्वत र आकाशसँगै पौडिएर तैरिँदाको दृश्य बिर्सिनसक्नु मनमोहक थियो ।
मनलाई नै तरंगित, आनन्दित, अझ यसो भनौँ, आल्हादित बनाउने/गराउने यो परिदृश्य हृदयको क्यामेरामा कैद भयो । त्यसताका क्यामेरा नबोकेको र क्यामरायुक्त स्मार्ट मोबाइलको अभाव आज बोध हुन्छ मलाई ।
हामी संसारकै रमणीय रारातालको छाल, यसको उद्गम र निकास हेरेर, छामेर, घुमेर, नाउँमा सयर गरेर साँझमा होटेल पुग्दा पानी झमझम परेको थियो । लेकको ठाउँ, पानी परेर बढेको जाडो र भिजेका लुगाको त्रिकोणात्मक प्रहार झेल्न आगो बलेको स्थानमा आफूलाई पुर्यायौँ ।
त्यस स्थानमा संविधानसभाका सदस्य नेपाली कांग्रेसका मीनेन्द्र रिजाल, सीता गुरुङ, नेकपा (एमाले)का धु्रव लामा र शान्ति जिरेल, माओवादीका नवराज धामी र कुचिलालगायत संविधानसभाका सभासद र केही कर्मचारी आगोको न्यानो लिइरहेका थिए ।
फलामको पाइपभित्र आगो बालेर न्यानो बनाउने यो तरिका मैले यहीँ नै देखेको हुँ । रक्सीको न्यानोले भित्र तताएपछि मानिसले विचित्र स्वभाव देखाउँछ भन्थे, हामीले यहाँ त्यही देख्यौँ ।
संविधानसभामार्फत जनताका सबै जाति, क्षेत्र, समुदाय, भाषाभाषीलगायतको क्लस्टर मिलाउन समानुपातिक प्रतिनिधित्व गराएको छ । संविधानसभा होस् कि संसद्सभा होस्, त्यो देशको गरिमा र इज्जत बोक्ने थलो हो ।
त्यहाँ पुग्ने हरकोही प्रतिनिधिको स्तरले देश बोलेको हुन्छ । तर, आज लाग्छ, पूर्वाधार विकासविना अज्ञानताभित्रबाट प्रतिनिधित्व हुँदा देशको गरिमा र ओज निहुरिएको छ । हामीले रारामा पनि त्यही महसुस गर्यौँ ।
होटेलमा भीडभाड भएका कारण हामी रारा राष्ट्रिय निकुञ्जको गेस्टहाउसमा आनन्दले निदायौँ । त्यस क्षेत्रमा विकल्परहित रहेको रावा बैंक र बैंकका स्टाफप्रतिको सम्मानले हामी केन्द्रमा काम गर्ने मानिसलाई निकै गिज्यायो ।
रारातालको अनुपम स्वर्गीय अनुभूति तन र मनले बोके पनि फेरि दिमागले एउटा प्रश्न गरेरै छाड्यो– प्रकृतिको यो उच्चासनमा अवस्थित रारातालप्रति देशको चासो कहिले जाग्ने हो ? संसारका पर्यटकलाई आकर्षित गर्ने भौतिक विकास कहिले हुँदो हो ?
यी प्रश्नको उत्तर दिन राज्यको त्यो आँखो खुल्यो भने रारा मात्र होइन, पूरै कर्णालीमा सुन फल्ने थियो । मेरो मन कल्पियो । यत्रो पहिचान हुन सक्ने देशको सम्पदामा पुग्ने न बाटो छ न भौतिक आधार निर्माण छ । भरखर एउटा कच्ची विमानस्थल बनेको छ । यो उत्साहपूर्ण कुरा हो ।
ताल्चा विमानस्थलले थोरबहुत राराको सानमान बढाउन सहयोग पुर्याएको छ । पर्यटक आकर्षणका निमित्त यो एक विकल्प भए पनि जमिनयात्राको सामर्थ्य नभई समग्र विकास सम्भव हुन्न । यत्रो प्राकृतिक सम्पदा पाएर पनि आँखा चिम्लिएका मानिस भयौँ हामी । हाम्रै अयोग्यताले पछाडि फर्किएका मानिस भन्ने ठान्यो मेरो मनले ।
भोलिपल्ट करिब दुई घण्टा र आधा हिँडेर हामी ताल्चा विमानस्थल पुग्यौँ । कच्ची नै सही, यो हवाईमैदान निर्माणले मुगु र रारालाई चिनाउन थोरै भए पनि सहयोग पुगेको भान भयो ।
हामी जहाजबाट नेपालगन्जतिर उड्यौँ हुरर्र चिलझेँ ।
करिब १५ वर्ष पहिलेको जुम्ला, मुगु र राराको त्यो भौगोलिक विकटता र विकासको अभाव आज आएर थोरै भए पनि पुरिएको छ । यातायात सुविधा पुगेको छ । नेपालकै प्राकृतिक स्रोतको भण्डार कर्णालीको मूल अप्ठ्याराहरू छिचोलेर भित्र गर्भसम्म पुग्न अझै समय पर्खनुपर्नेछ ।
राराको सुन्दरताको आनन्दित बयान संसारले गर्न अझै समय निकै बाँकी रहेको आभास हुन्छ मलाई ।