site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

आकस्मिक उपचारका लागि ल्याइएकी सिकिस्त बिरामी बालिकालाई उपचार गर्नुभन्दा प्रशासनिक औपचारिकता पूरा गर्न प्राथमिकता दिँदा कान्ति बाल अस्पतालमा सोमवार एक अबोध बालिकाको अकाल मृत्यु भयो । बालिकाको मृत्युपछि भने अस्पताल प्रशासनले आन्तरिक छानबिन समिति गठन गरेको छ ।

सही उपचार पाउन नसकेर वा गलत उपचारका कारण अस्पतालमा बिरामी मर्ने घटना नेपालका लागि खासै नौला होइनन् । उपचारका क्रममा चिकित्सकबाट हेलचेक्याइँ हुँदा बिरामीको मृत्यु  भएको आरोप लगाएर बेलाबखत अस्पतालमा तोडफोड वा चिकित्सकमाथि हातपातका घटनासमेत सामान्य बनिसकेका छन् ।

परन्तु, कान्तिको घटना भने सामान्य प्रकृतिको मात्र देखिँदैन । अभिभावकले अस्पताल पुर््याए पनि सिकिस्त बालिकाको उपचार सुरु नै भएन । सिकिस्त बिरामीको उपचार सुरु गर्नुभन्दा पहिले औपचारिकतामा दिइएको जोडले कान्ति बाल अस्पतालको कार्यशैलीमा गम्भीर प्रशासनिक र मानवीय त्रुटि देखियो ।   

यसबाट अस्पतालहरू विशेषगरी सरकारी अस्पतालको कामकाज बढी यान्त्रिक र औपचारिक भएको देखियो । सिकिस्त बिरामी बालिका मर्न लाग्दासम्म पनि उपचार सुरु गर्न पालो पर्खिन लगाउने अमानवीय पद्धति बसाउनेहरू नै यथार्थमा हस्पतालभित्र पनि उपचारबिना मृत्यु वरण गर्ने बालिकाका हत्यारा हुन् ।

पक्कै पनि आवश्यकताका तुलनामा कान्ति बाल अस्पतालमा भौतिक सुविधा र जनशक्तिको अभाव छ । राज्यले समग्र स्वास्थ्यमा र त्यसमा पनि बाल स्वास्थ्यका क्षेत्रमा अपेक्षाकृत कम लगानी गरेको छ । कारिन्दे कार्य संस्कृतिका कारणले पनि योग्य चिकित्सकहरू सरकारी अस्पतालहरूमा काम गर्न रचाउँदैनन् ।

यस्ता कमजोरी हुँदाहुँदै पनि मानवीय दृष्टि भएका चिकित्सक र प्रशासकहरूले सरकारी अस्पतालमा सराहनीय सेवा गरेका उदाहरण पनि नेपालमै पर्याप्त भेटिन्छ । यसैले कान्ति बाल अस्पतालको घटनालाई समग्र र अस्पताल विशेषको कमजोरीका रूपमा हेरेर उपयुक्त समाधान निकालिनु जरुरी देखिन्छ ।

कान्ति अस्पतालको जस्तो घटना त्यहाँ र अन्यत्र पनि दोहोरिन नदिन स्वास्थ्य मन्त्रालय स्तरबाटै विशेष प्रबन्ध मिलाउनुपर्छ । सेवामा चर्को चाप कायम रहे कान्तिकै जस्तो संवेदनहीन अमानवीय व्यवहार नभए पनि बालबालिकाले उपचार नपाएर अकाल मृत्युवरण गर्नुपर्ने अवस्था कायमै रहनेछ । 

यसैले  बालबालिकाका लागि विशिष्टीकृत स्वास्थ्य सेवामा जनसाधारणको पहुँच पुर्‍याउन राज्यले निजी र सामुदायिक स्वास्थ्य सेवा प्रदायकसँग सहकार्य गर्नुका साथै तिनलाई प्रोत्साहित गर्नु उचित हुनेछ । राज्यले मात्र सबै काम गर्न सायद सम्भव र सहज पनि हुँदैन ।  

 कान्ति अस्पतालमा त्यति बेला अस्पतालमा चिकित्सकै नभएको वा अरू कुनै कारणले भन्दा पनि बिरामीको गम्भीर अवस्थाप्रति बेवास्ता गरिएको कारण मृत्यु भएको देखिन्छ । सिकिस्त बिरामीको उपचारमा प्राथमिकता नदिने कान्ति अप्पताल प्रशासन पनि सजायको भागी हुनुपर्छ ।        
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro