site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बालेनको नाम नलिई जिप्रका काठमाडौंले भन्यो– कानुनको दृष्टिमा सबै समान छन् 
Tiktok banner adTiktok banner ad

काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौंले कानुनको दृष्टिमा सबै समान रहेको जनाएको छ ।

काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले ट्राफिक प्रहरीबाट आफ्नो परिवारमाथि दुर्व्यवहार भएको आइतबार आरोप लगाएका थिए । त्यसको भोलिपल्ट सोमबार विज्ञप्ति जारी गरी जिप्रका काठमाडौंले यस्तो जनाएको छ ।

जिप्रकाले जारी गरेको विज्ञप्तिमा कुनै ठाउँमा पनि मेयर बालेनको नाम उल्लेख छैन । “पछिल्लो समयमा असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरूलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरूमा व्यक्त भएका अभिव्यक्तिहरूप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,” जिप्रकाले विज्ञप्तिमा भनेको छ ।

राष्ट्रसेवक कर्मचारीलाई कर्तव्यपालनामा बाधा नपुर्‍याउन र विभिन्न सामाजिक सञ्जालमा जथाभावी वक्तव्यबाजी नगर्न समेत अनुरोध गरिएको छ ।

“हामीले अवलम्बन गरेको लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन् भन्ने कुरा स्थापित गरेको व्यहोरा जगजाहेर छ । प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरू नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध रहेको छ,” जिप्रका काठमाडौंले भनेको छ ।

सार्वजनिक बिदाका दिनमा सरकारी सवारीसाधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयमार्फत विगतदेखि नै गरिँदै आएको स्मरण समेत गराइएको छ ।

“सरकारी कामका लागि बिदाका दिनमा सरकारी सवारीसाधन प्रयोग गर्नुपर्दा तोकिएका अधिकारीबाट जारी भएको सवारी पास प्रयोग गर्न पाउने स्पष्ट व्यवस्था रहेको छ । यसबाट निजी काममा सरकारी सवारीसाधनको प्रयोगमा कमी आई मितव्ययिता अभिवृद्धि गर्न मद्दत पुगेको कुरा निर्विवाद छ,” जिप्रकाले भनेको छ ।

गृह मन्त्रालयको निर्देशनानुसार सरकारी स्रोतसाधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको विज्ञप्तिमा जनाइएको छ ।

“सुरक्षाकर्मी एवम् कर्मचारीहरू विद्यमान कानुन एवम् नीति निर्देशनको पालना गर्न/गराउन अहोरात्र फिल्डमा खटिएर काम गर्दै आएका छन्,” विज्ञप्तिमा उल्लेख छ, “आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्न यसरी खटिने सुरक्षाकर्मी र कर्मचारीहरूलाई जिम्मेवार सरकारी निकाय, पदाधिकारी, नागरिक समाज र आमनागरिकका तर्फबाट उचित सहयोग, समर्थन र हौसला सदैव अपेक्षित हुन्छ ।”

शनिबार मेयर बालेनकी श्रीमती चढेको सरकारी नम्बरप्लेटको गाडीलाई ट्राफिक प्रहरीले जाँचका क्रममा कोटेश्वरमा रोकेको थियो । सरकारी गाडी सार्वजनिक बिदाका दिनमा चलाउन पाइँदैन । चलाउनै परे विशेष पास आवश्यक पर्छ । तर, विशेष पासबिना नै गाडी चलाइएका कारण ट्राफिक प्रहरीले केही बेर सोधपुछ गरी छोडेको थियो ।

श्रीमती चढेको आफ्नो सरकारी गाडीलाई ट्राफिकले रोकेको थाहा पाएपछि आक्रोशित बनेका मेयर बालेनले सामाजिक सञ्जालमार्फत ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्की दिएका थिए । धम्कीको चौतर्फी आलोचना भएपछि उनले उक्त अभिव्यक्तिलाई सामाजिक सञ्जालबाट हटाएका छन् ।

उनको सचिवालयले आइतबार विज्ञप्ति जारी गरी जाँच गर्ने ट्राफिक प्रहरीले मदिरा सेवन गरेको आरोप लगाइएको थियो । त्यसपछि सोमबार जिप्रका काठमाडौंले विज्ञप्ति जारी गर्दै बालेनको नाम नलिई कानुनको दृष्टिमा सबै समान हुने र गल्ती गर्नेलाई कारबाही गर्ने कार्य नरोकिने स्पष्ट पारेको हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro