site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कुलेन्द्रलाई नेपाल नै कतार
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कहिलेकाहीँ देखेको सपना पूरा नभएकै सही, पूरा गर्न चाहेको भन्दा जिन्दगी फराकिलो हुन्छ भने त्यस्तो सपना निमोठिएकै सही ! मान्छेले देखेभन्दा पनि ठूलो उपलब्धि हासिल हुन्छ ? 

हुँदो रहेछ । 

जस्तै ? 

KFC Island Ad
Dabur Nepal
NIC Asia

कुलेन्द्र विश्वकर्मा ।

महाशिला गाउँपालिका (पर्वत)बाट ०६० को एक दिन काठमाडौं प्रवेश गर्दा कुलेन्द्रको योजना कतार जाने थियो । चाँजोपाँजो मिलाए । म्यानपावर गए । भिसाका लागि अप्लाई गरे । उस्तै सपनाको खोजीको लाइनमा सँगै हुर्के/बढेका गाउँकै साथीहरू पनि थिए । एकै ठाउँ जाने, कमाउने सल्लाह थियो ।

Royal Enfield Island Ad

देखेका सपना कहाँ हुन्छन् र सधैँ पूरा, भिसा आएन । रहरको मुना टुसाउनेबित्तिकै भाँचियो । उमेर थियो कारण । उमेर नपुगेकाले उनलाई कतारी कम्पनीले रिजेक्ट गरिदियो । कतार पुगेर छोटो समयमा मनग्य कमाउने सपना तुहियो ।

kulendra-bk-prastuti1-1693542835.jpg

उनको मनमा राम्रै घर गरेको अर्को सपना थियो, गायक बन्ने । घरमा रेडियो अक्सर घन्किरहन्थ्यो । बज्थे, लोक र आधुनिक गीत । आधुनिक गीत अलि धेरै बज्थे । दोहोरीले त कार्यक्रमविशेषमा मात्र स्थान पाउँथे । पाण्डव सुनुवारको ‘चौतारी’ आजसम्म बिर्सिएका छैनन् कुलेन्द्रले । लोक र दोहोरीमा दिलचस्पी थियो । विडम्बना, तिनै गीत कम बज्थे ।

रहर दोहोरीमा औधी थियो । महाशिलापारिका गुरुङ र मगर गाउँमा रोधी बस्थे । उनको गाउँमा रोधी बस्ने स्थानीयमा जाँगर थिएन । गाउँमा गुरुङ र मगर नभएर पनि होला, तर संगीतपारखीको संख्या कम थिएन । भजन र चुड्का घन्किन्थ्यो, त्यसमै मोहित हुन्थे कुलेन्द्र । सँगै गाउँथे ।

खोइ कसरी रहर पलायो, आजसम्म कुलेन्द्रलाई थाहा छैन । तर, गायक बन्ने सानैदेखि चाह थियो । भजन र चुड्काले मन लोभ्याएको थियो, रेडियोमा बज्ने गीतले उनको रहर चुलिँदै गयो । सायद उनलाई माटोका गीत मन पर्थे । त्यसैले झलकमान, तीर्थ, कृष्ण गन्धर्व, बमबहादुर कार्की, नारायण रायमाझी र प्रेमराजा महतका गीतले उनको ध्यान बढी खिच्थ्यो । 

० ० ०

स्कुलमा रेडक्रसको कार्यक्रम थियो वा वार्षिकोत्सव, त्यो त सम्झनाको तरेलीमा छाया परिसकेछ । यतिचाहिँ कुलेन्द्रलाई थाहा छ, उनी कक्षा–६ मा पढ्थे । उनलाई गाउन मन लाग्छ भन्ने साथीहरूले थाहा पाएका थिए । स्वर कस्तो छ ? त्यो पनि साथीहरूले ठम्याइसकेका थिए । उनीहरूले नै कर गरे– तिमीले यो कार्यक्रममा जसरी पनि गीत गाउनुपर्छ । जबरजस्ती गरे । लजालु स्वभावका उनलाई त्यो बेला लाजभन्दा रहरले जित्यो । कुलेन्द्र पहिलोपटक स्टेज चढे ।

‘बाटो छ भिरालो सानु कसको आँगन कुरेर बसिछौ, त्यही लाउँछ पिरलो...’ गीतको लयमा कुपोषणसम्बन्धी केही शब्द राखेर उनले गीत गाएका थिए । ‘आमा मलाई कुपोषण हुने भो, आमा मेरो हृदय रुने भो, खान देऊ बोलाइ...’ लगायत यस्तैयस्तै शब्द थिए ।

“मेरो स्वभाव अहिले पनि लाज मान्ने छ । त्यो समय त यसै पनि लाज लाग्ने नै भयो,” कुलेन्द्र नोस्टाल्जिक हुन्छन्, “मैले गीत गाएको सुन्ने र देख्ने मान्छेको अनुहार हेर्न समेत लाज लाग्थ्यो । कति दिनसम्म म लाजले अर्कै बाटो हिँड्थेँ ।” 

k1-1693539472.jpg

गाउने चाहको बाँध फुटाउन उनलाई समय लाग्यो । तर, त्यसअघि संकल्प गरिसकेका थिए, गाउने नै हो । भविष्यमा गायक नै बन्ने हो ।

राजु परियार, भगवान भण्डारीका दोहोरीले उनको मन कटक्कै खान्थ्यो । 

० ० ०

नेपाली पढाउने शिक्षक थिए, नाम कुलेन्द्रले बिर्सिसके । उनले भनेका कुरा सम्झनामा ताजै छ । कुलेन्द्रकै घरछेउबाट स्कुल–घर आउजाउ गर्थे ती शिक्षक । उनी हात हेरेर भविष्य बताउँथे । त्यो क्षमताबारे गाउँले परिचित थिए । कुलेन्द्रकी आमाले एक दिन उनलाई भनिन्– मास्टर साब, मेरो छोराको हात हेरिदिनुस् न ।

शिक्षकले कुलेन्द्रको हातका रेखाहरू पढे । शंख र चक्र अध्ययन गरे । र, भने– यो बाबु कलाकार बन्छ । धेरैले चिन्ने र मान्ने मान्छे हुन्छ । 

शिक्षकको त्यो भविष्यवाणीले कुलेन्द्रमा हौसला थप्यो । उत्साही बनायो । उनले फेरि संकल्प गरे– भाग्यमा लेखिएको पनि यही रहेछ, कलाकारै बन्ने हो ! 

० ० ०

०६० मा पर्वतबाट काठमाडौंको गाडी चढ्दा कुलेन्द्रको मनमा थियो– केही वर्ष कतार बस्छु, घरको व्यवहार सल्टाउँछु । त्यसपछि मनले रोजेको कर्म सुरु गर्छु । अर्थात्, गायनमा पाइला टेक्छु ।

तर, उमेरको बार लाग्यो । कतार जान मिलेन । काठमाडौंमै बस्नुपर्ने भयो । एउटा सपना चुँडियो । सपनामा संकट आइपर्दा पनि कुलेन्द्रलाई उति सारो दुःख लागेन । 

किन ? 

किनकि, कतार जाने सपना बाध्यताको उपज न थियो । मनले खाएको सपना त जीवितै थियो । अब त्यो सपनाले फणा फिजाउने सम्भावनाको ढोका घुरुक्क उघ्रियो । त्यसले खुसीको सञ्चार गरायो ।

सबैभन्दा पहिला काठमाडौंमा बस्ने प्रबन्ध मिलाउनु थियो । त्यसका लागि काम गर्नुपर्थ्यो । काम थाले, सुन पसलमा । जावलाखेलको सुन पसलमा कालिगडको काम गरे । त्यसमा उनको रुचि थिएन । जीवन धान्ने मेलो मात्र थियो । त्यसैले भेट्न थाले गायक । सुरु भयो संगत । अनि, प्रवेश गरे ललितपुरबाट काठमाडौं ।

पर्वतकै विमलराज क्षेत्री, कस्तुप पन्त, संकल्प सुवेदी, बुद्धिराम शर्मा, गुणराज विश्वकर्मालगायत कलाकारसँग हिँड्न थाले । वास बस्न जाउलाखेल पुग्ने उनी दिनभर अनामनगर र पुतलीसडकतिर हुन्थे । त्यहाँ कलाकारसँग भेट हुन्थ्यो । गीतसंगीतका कुरा हुन्थे । अनि, सुरु गरे दोहोरी साँझको यात्रा ।

अरू साँझ परेपछि गुणतिर फर्कन्थे । कुलेन्द्रको दिन रातपरेपछि सुरु हुन्थ्यो । तिनै दोहोरीसाँझमा हो, उनले सुर र तालमा गाउन सिकेको । गायकीलाई माझेको । मान्छेसँग बोल्न र व्यवहार गर्न सिकेको । उनी तनमन दिएर काम गर्थे । केही दोहोरीसाँझ त्यस्ता पनि थिए, जसले काम त दिन्थे, पैसा दिँदैन थिए ।

“मैनाभरि काम गर्‍यो, अन्तिममा हात खाली हुन्थ्यो । रातभर अनिदो बसेर गायो, तर पैसा दिँदैन थिए,” उनी भन्छन्, “पैसा दिनेले पनि धेरै दिँदैन थिए । दुईदेखि तीन हजारसम्म दिन्थे । तर, त्यहाँबाट मैले धेरै कुरा सिकेँ । कसरी पर्फम गर्ने, कसरी स्टेजमा गाउने भन्ने सिकेँ । कसरी बाजा बजाउँदा रहेछन् भन्ने पनि त्यहीँ थाहा भयो ।”

कहिलेकाहीँ कसैकसैले टिप्स दिन्थे । त्यसले दैनिक जीवन चलाउन केही सहज हुन्थ्यो । पुतलीसडकमा बस्दा मासिक आठ सय रुपैयाँ भाडा थियो । साहुले तलब दिएका बेला समस्या हुँदैन थियो, नदिएका बेला त्यस्तै पैसाबाट भाडा तिर्थे । गर्जो टर्थ्यो ।

दोहोरीसाँझमा काम गर्दागर्दै ०६१ मा गीत रेकर्ड गराए । ‘के छ हालचाल...’ बोलको गीत थियो । जिबी गहतराजको शब्द र लय, लगानी पनि कुलेन्द्र र जिबीकै ।

क्यासेटको जमाना थियो । अहिलेजस्तो जसले पायो उसले गीत रेकर्ड गराएर ल्याउन सक्ने अवस्था थिएन । सीमित कम्पनीबाट मात्र गीत सार्वजनिक गरिन्थ्यो । ती कम्पनीले चलेका गायकगायिकको स्वर खोज्थे । त्यो समय पहिलो रोजाइमा थिए, राजु परियार । राजुको स्वरमा जसले गीत रेकर्ड गराउन सक्यो, उसको गीत निस्कियो ।

तर, कुलेन्द्रलाई रोधीघरमा गाउँदाको फाइला भयो । रोधीमा प्रोडुसर आउँथे । स्टुडियोका मालिक आउँथे । कम्पनीका सञ्चालक पनि आउँथे । एरेन्जरहरू भेटिन्थे । चिनजान हुने नै भयो । उनीहरूसँगको चिनापर्चीले कुलेन्द्रको गीत ल्याउन कम्पनी सहजै तयार भयो ।

k2-1693539472.jpg

भाग्य वा गायकीको कला, सायद दुवै बलियो थियो । पहिलो गीत नै राम्रोसँग चल्यो । सांगीतिक उद्योगको फलामे ढोका उघ्रियो । कुलेन्द्रले पैसा लिएरै व्यावसायिक रूपमा अरूका एल्बममा गीत गाउन थाले । दुई हजारदेखि २५ सय रुपैयाँ लिएर गाउँथे । महिनाभरि रोधीमा गाएर कमाउने पैसा एउटै गीतबाट पाउन थाले ।

‘पश्चिम पूर्वको...’ कुलेन्द्रलाई थप माइलेज दिने अर्को गीत हो । हुन त पहिलो र योबीचमा थुप्रै गीत गाइसकेका थिए, तर ‘पश्चिम पूर्वको...’ ले उनको करिअर बुस्ट गर्‍यो ।

० ० ०

०६७ मा एकनारायण भण्डारीले एक दिन कुलेन्द्रलाई भने– एउटा गीत गाइदिनुपर्‍यो हजुरले ।

अफर गर्दा भण्डारी आफैँले भनेका थिए– अरूअरू गीत रोजेर अरूले गाइसक्नुभयो, अरूले मन नपराएर छोडेको गीत छ, गाइदिनुपर्‍यो ।

रामजी खाँण, राजु परियार, शिरीष देवकोटालगायत गायकले रोजेर गाएका थिए । बाँकी रहेको गीत थियो– जिम्वालबाको आँगनीमा...।

देवी घर्ती र कुलेन्द्रले स्वर भरे । ‘न्याउली’ एल्बममा समावेशमध्ये यो गीत नै सबैभन्दा धेरै चल्यो । कुलेन्द्र र एकनारायणको पनि पहिलो सहकार्य थियो ।

योभन्दा पहिला नै ‘नजाऊ है सानु पँधेरीमा...’ सार्वजनिक भइसकेको थियो । यी दुई गीतले कुलेन्द्रलाई मासमा पुर्‍यायो । यसै पनि त्यो समय दोहोरी उर्लिएको बेला थियो, त्यसमाथि एकपछि अर्को लोकप्रिय गीतसँगै कुलेन्द्रको बाल्यकालीन सपनाले आकार ग्रहण गर्‍यो । ‘बी’बाट ‘ए’ साइडमा स्थान पाए । (त्यो समय धेरै रुचाइएका गायकगायिकाको स्वर रहेको गीत मात्र क्यासेटको ‘ए’ साइडमा राखिन्थ्यो । ‘बी’ साइडमा नयाँ र कम लोकप्रिय आवाजका गीत राख्ने चलन थियो ।)

एकातिर कलाकार हुने रहर पूरा भयो, अर्कोतिर आर्थिक अवस्था सुधार्न कतार जानु परेन । उनका लागि नेपाल नै ‘कतार’ बन्यो ।

गीति कम्पनीका सञ्चालकले कुनै समय जसरी ‘राजु परियारको स्वर लिएर आऊ’ भन्थे, त्यसैगरी ‘कुलेन्द्रको आवाज लिएर आऊ’ भन्ने समय आयो । कलेक्सन एल्बममा कुलेन्द्रको स्वर अनिवार्यजस्तै भयो । नयाँ कलाकारले उनको खोजी गरे । कम्पनीहरूका रोजाइमा निरन्तर परे । क्यासेटका ‘ए’ साइडमा कुलेन्द्रका आवाज भरिन थाले । आमजनले पनि आवाज मन पराए । उनको वास नै स्टुडियोमा हुन थाल्यो । दिनहुँ बिहान उठेदेखि नसुतेसम्म गीत रेकर्ड गराउनमा व्यस्त बने ।

“मैले दिनको १२ वटासम्म गीत रेकर्ड गरेँ । पाँच/सातवटा त हरेक दिनजसो रेकर्ड गर्न थालेँ । १५/२० मिनेट लामा दोहोरी हुन्थे,” उनी स्वर्णिम दिन सम्झिन्छन्, “लगाव, मिहिनेत र बोली–व्यवहार राम्रो भयो भने काम गर्न सकिँदो रहेछ ।”

कुलेन्द्रले पुरानो पुस्ताका बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङदेखि अहिलेको समीक्षा अधिकारीलगायत गायिकासँग गीत गाएका छन् । 

० ० ०

माग बढ्यो, स्टुडियो र स्टेज दुवैमा । कार्यक्रममा हिँड्न थाले । देशदेखि विदेश पानी पँधेरोजस्तै भयो । काम गर्ने उमेर नपुगेर नेपालमै रोकिएका कुलेन्द्र कतार पनि पुगे, गीत गाउन ।

०७० मा जब कतार पुगे, उनले पटकपटक सम्झिए– त्यो बेला उमेर पुगेर म कतार आएको भए दर्शक बस्ने ठाउँमा बसेर कुनै कलाकारको गीत सुनिरहेको हुन्थेँ होला !

“सायद सबै कुरा भाग्य र कर्मले जुराउँदै लगेको थियो होला, त्यसैले उमेर कम भएर मेरो भिसा लागेन । त्यसपछि म रोधी पुगेँ । गाउन थालेँ । गीत चले । अनि, म आज कतार आएको छु, गाउन । मसँगै अप्लाई गरेका साथीहरू आज यही कतारमा छन् भन्ने लागिरह्यो, पहिलोपटक कतार जाँदा,” कुलेन्द्र सम्झिन्छन्, “साथीहरूसँगै त्यो बेला मेरो भिसा लागेको भए सायद आज म गायक हुन्थेँ वा हुन्न थेँ, थाहा थिएन । साथीहरूसँगै कतारमै हुन्थेँ कि जस्तो लागिरह्यो । दर्शक बनेर जसरी कलाकारलाई हेर्न र सुन्न आइरहनुभएको छ, त्यस्तै मैले पनि गरिरहेको हुन्थेँ कि भन्ने मनमा सोच आइरह्यो ।”

कुलेन्द्रका सँगैका कति साथी अहिले पनि कतारमै छन् । उनी पटकपटक त्यहाँ पुगे, तर ती साथीसँग उनको भेट भएको छैन ।

० ० ० 

कुलेन्द्रले २५ सयभन्दा बढी गीतमा स्वर भरिसके । त्यही सूचीको एउटा गीत गीत हो, ‘सालको पात टपरी हुने...।’ नेपाली लोकदोहोरीमा औधी मन पराइएका मध्येमा पर्छ, यो गीत । वसन्त थापा र कुलेन्द्रबीच थुप्रैपटक सांगीतिक सहकार्य भइसकेको थियो । फेरि एउटा गीतमा सँगै काम गरौँ भन्ने सल्लाह भइरहेको थियो ।

एक दिन वसन्तले भने– नवराज पन्तको शब्द मसँग आइपुगेको छ, सुन्ने हो ?

पहिलोपटक सुन्दै कुलेन्द्रलाई मन पर्‍यो । गाउने निधो गरे । दोहोरी कोसँग खेल्ने ? सल्लाह भयो, विष्णु माझीसँग । गीत रेकर्ड भयो । चित्त बुझ्यो ।

अडियो मात्र होइन, भिडियोको पनि जमाना छ । भिडियो त बनाउनैपर्‍यो ! त्यो समय लोकदोहोरीको भिडियो निर्देशनमा शिव विक चलेको नाम थियो ।

लगानी कुलेन्द्र आफैँले गर्ने भए । चल्तीको निर्देशक हायर गरे । उनले शिवलाई भने– भिडियो राम्रो बनाउनुपर्छ, कोको कलाकार लिने हो, कम्प्रमाइज नगर्नुस् ।

शिवले थुप्रै हिरोइनको नाम लिए । त्यसमध्येको एउटा नाम थियो, प्रियंका कार्की । शिवले प्रियंकासामु प्रस्ताव पनि राखे । गीत पठाए ।

“एक महिना उहाँको जवाफ आएन, हामी पर्खिरहेका थियौँ । जब जवाफ आयो, नकारात्मक अर्थात् गीत मन परेन भन्ने,” कुलेन्द्र भन्छन्, “त्यसपछि शिव विकले थुप्रै हिरोइनलाई अफर गर्नुभयो, धेरैको जवाफ प्रियंकाको सँग मिल्दोजुल्दो थियो ।”

तर, मरिष्का पोखरेलले गीत मन पराइन् । भिडियो बन्यो । कुलेन्द्र आफैँले पनि मोडलिङ गरे । काठमाडौंमै खिचिएको गीतको भिडियो बजारमा आयो । जब यो गीत बजारमा आयो, छायो । “सायद मरिष्काजी हाम्रा लागि लक्की बनेर आउनुभएको थियो होला,” कुलेन्द्र भन्छन् ।

त्यसपछि हो, लोकगीतका भिडियोको अफर सिनेमाका नायिकाले सहजै स्वीकार गर्न थालेको । एकाध नायिकाले त्यसअघि नै लोक तथा दोहोरीका भिडियोमा काम गरिसकेका थिए । त्यसपछि धेरैले गर्न थाले ।

० ० ०

कुलेन्द्र मोडलिङ गर्छन्, अक्सर आफ्नै गीतमा । आफ्ना गीतमा नाच्दा के होला र भनेर सुरु गरेको मोडलिङ पनि फैलियो । अरूका गीतमा समेत नाच्न थाले । लोकदोहोरीमा मिलन लामा मोडलिङ गर्थे । आफ्नो गीतमा आफैँ नाच्ने कुलेन्द्र दोस्रो दोहोरी गायक हुन् । ‘जोगीको भेषै’बाट थालेको मोडलिङको यात्रा पनि फलिफाप भयो । 

० ० ०

‘अरू चिनो केही छैन मायाको...’, ‘खै कुन्नि किन हो...’, ‘सुन बामरी...’, ‘उकाली र ओराली...’, ‘माया हाँसेको...’ लगायत गीत नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय रचना हुन् । यी गीतमा कुलेन्द्रको स्वर छैन । केही गीतमा स्वर भरेर पनि अन्तिममा उनको आवाज निकालियो । केही उनैलाई चित्त बुझेन र गाएनन् ।

“यीमध्ये केही गीतको शब्द ठिकै मात्रै लागेर गाइनँ । केही गीत गाइसकेपछि पनि बजारमा अरूकै स्वर आयो, अर्थात् राजनीति भयो,” कुलेन्द्र व्यंग्य गर्छन्, “राजनीति कहाँ सिंहदरबार र बालुवाटारमा मात्रै हुन्छ र ! हाम्रो लोकदोहोरीमा पनि हुन्छ । कलाकारिताको राजनीतिले स्वर पनि काटिन्छ ।”

k3-1693539473.jpg

दुई/चार गीतमा स्वर काटिँदैमा उनको करिअरमा पूर्णविराम लाग्ने अवस्था थिएन । गीत मन पराउनेको संख्या बढ्दै गयो । प्रशंसक थपिँदै गए । उनले आफ्नै आँखाले देखेका छन्, आफ्ना ठूलठूला तस्बिर कोठामा टाँसेर बस्ने फ्यान । भर्खरभर्खर एनड्रोइड फोनको प्रयोग हुँदा फ्रेमिङ गरेर राखेका आफ्ना तस्बिर पठाउने फ्यान उनले थुप्रै पाएका छन् ।   

० ० ० 

आमसंगीतप्रेमीले मन पराए । स्रोताको मनमा बसे । स्रोताले रुचाएपछि अवार्ड त पाउने नै भए ! पहिलोपटक उनले ०६५ मा अन्नपूर्ण म्युजिक अवार्ड हात पारे । अवार्ड दिलाउने गीत थियो, ‘नजाऊ है सानु पँधेरीमा...।’ यसले एउटा मात्र होइन, तीन अवार्ड पाएको थियो ।

ह्याट्रिक गरेपछि अब म सफल भएँ भन्ने भयो ? 
“सफल/असफलभन्दा पनि मसँग अब गायनको विकल्प छैन, मैले गाउनुपर्छ, अझै राम्रो गाउनुपर्छ भन्ने भयो । म सफल भएँ भन्ने कुराले मेरो मनलाई जितेन,” जवाफमा उनी भन्छन्, “जब मान्छे अभिमानले गजक्क पर्छ, जसले कलाकार बनायो, उसकै माझ जाँदा सेक्युरिटी खोज्छ, अनि त्यो कलाकार सकिन्छ भन्ने लाग्छ ।”

त्यहाँबाट सुरु भएको अवार्डको यात्रा अनवरत छ । कान्तिपुर म्युजिक अवार्ड, हिट्स एफएम अवार्ड, विन्ध्यवासिनी म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, इमेज म्युजिक अवार्ड, निम अवार्ड, एपिक नेपाल म्युजिक अवार्ड, ज्योति फिल्मस् अवार्ड, राप्ती नेसनल म्युजिक अवार्डलगायत दुई दर्जन पुरस्कार उनले पाइसके ।

२० वर्ष नाघ्यो कुलेन्द्रले गीत गाउन थालेको । स्वरलाई संगीतका सुरताल र लयमा मिसाउन थालेको । अहिले उनलाई लाग्न थालेको छ– गाउनेहरूको यो भीडमा म पनि गायक हुँ । अब मसँग गाउनुको विकल्प छैन ।

बाचुन्जेल गाउने नै हो भन्ने उनलाई लाग्छ । तर, सफल गायक हुँ भन्ने अझै लाग्दैन ।

अभिमानले उनलाई थिचेको छैन, त्यसैले त गीत गाइरहेका छन् । बजारमा स्थान पाइरहेका छन् । स्टेजमा उक्लिएर स्रोतादर्शक उफारिरहेकै छन् । कुलेन्द्र पूर्वी नेपालका एकाधबाहेक देशका अधिकांश जिल्ला पुगेका छन् । संगीतले नै उनलाई युरोप, अमेरिका, अष्ट्रेलिया र एसियाका धेरै देशको सफर गरायो । त्यसैले उनी भन्छन्– मैले जानेको काम गाउने हो, अब बाँचुन्जेल गाउने नै हो ।

यो पनि पढ्नोस्–

लोकगीतका ‘राजा’

किन सधैँ विवाद ?  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro