site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
लोकगीतका ‘राजा’ 
Sarbottam CementSarbottam Cement

जिम्वालको घर न पर्‍यो, सूर्यको लाली नपोतिँदै गाउँलेको भीड जम्मा भइसक्थ्यो । घाम ओरालो नलाग्दासम्म घरले भीडबाट मुक्ति पाउँदैन थियो । त्यही भीडमा दुई गन्धर्व हुन्थे । आक्कलझुक्कल एक छुटे पनि अर्को आइपुग्थे । सारंगीको र्‍याईंर्‍याईंसँगै कर्खा गाउँथे । त्यसमै लट्ठ हुन्थे, प्रेमराजा महत ।

न्यायनिसाफ र ऋणधनका लागि बिहानदेखि बेलुकासम्मै घरमा मान्छे टुट्दैन थिए । गन्धर्व सायद त्यसैले पनि पुग्थे । गाएपछि कसैकसैले पैसा समेत दिन्थे । त्यहीँ खाना खान्थे । बस्थे । सारंगीको सुरबाट निस्किएको धुनमा गन्धर्वका गीतले चार/पाँचवर्षे प्रेमराजा मोहित हुन्थे । जानून्/नजानून्, गाउँथे प्रेमराजा पनि गीत । 

० ० ०

Prabhu Bank
Agni Group
NIC Asia

जनकवि केसरी धर्मराज थापा प्रेमराजाका बुवाका साथी थिए । उनी पोखराबाट तनहुँसम्म बेलाबेलामा आइरहन्थे । आउँदा कम्तीमा तीनदेखि सात दिनसम्म बस्थे । त्यसपछि गायनको माहोल तात्थ्यो । जनकवि आएका छन् रे भनेपछि प्रेमराजाको घरमा गाउँलेको संख्या दोब्बर हुन्थ्यो । गाउँले उनलाई खुब आदर गर्थे । आफूलाई माया गर्ने गाउँलेलाई उनी पनि उसैगरी गाएर सुनाउँथे ।

जनकवि तनहुँको ढोरफिर्दी (प्रेमराजाको घर) पुगेर थुप्रै गीत गाउँथे । ती सबै त बालमस्तिष्कले आजसम्म सम्झने कुरा भएन, केही भने उनलाई अवश्य याद छ । 

Global Ime bank

जस्तै ? 

साइँली रिमई चौँरी गाई 
झर्‍यो रिमई मधु वनैमा...

एक दिन जनकविले गाए– हान्यो वनकरैले काफल खाँदा मुड्कीले...। 
यो गीत सुनेर आँगनमा बसेका सारा गाउँलेको अनुहार खुसीले धप्प बल्यो । ताली बजाए । प्रेमराजा भने टोलाइरहे ।

कौतूहल जाग्यो । बिर्सिएनन् पनि । साँझ सुत्ने बेलामा उनले जनकविलाई सोधे– बुवा, यो वनकरै भनेको के हो ? 

जनकवि : तिमीलाई लाखु भन्ने थाहा छ ? 

प्रेमराजा : छैन । 

जनकवि : बाँदर त थाहा छ नि ?

प्रेमराजा : थाहा छ, हामी कति लखेट्छौँ ।

जनकवि : हो, त्यही बाँदरलाई वनकर भन्छन् । 

“यो गीतको भाव – जंगलमा काफल पाक्छ, मान्छे काफल खान जाँदा बाँदरले झम्टिन्छ भन्ने हो भनेर उहाँले भन्नुभयो । यो सुनेर मलाई कस्तो रमाइलो लागेको थियो,” प्रेमराज नोस्टाल्जिक हुन्छन् ।

जनकवि भन्थे– यो कान्छाले गीत गाउँछ, स्वर पनि राम्रै छ । यसलाई म रेडियो नेपाल लगेर बालकलाकार बनाउँछु ।

रेडियो नेपाल त्यो समयको सूचना र मनोरञ्जनको ‘जाइन्ट’ । अर्थात्, एक मात्र साधन । ‘त्यसमा गएर मैले पनि गाउन पाउँछु ?’ जनकविले भनेको सुनेर मात्र पनि प्रेमराजा मक्ख पर्थे । खुसीले पहाड नाघ्थ्यो । मनमनै गदगद हुन्थे ।

० ० ० 

जनकवि मात्र हो र ? झलकमान गन्धर्व पनि बेलाबेलामा प्रेमराजाका बुवालाई भेट्न पुगिरहन्थे । उनी पनि उसैगरी गीत गाउँथे । झलकमानको उपल्लोस्तरको गायकीले प्रेमराजालाई छुन्थ्यो । त्यसैगरी गाउन र बजाउन मनै लोभिन्थ्यो उनको । बालसुलभ ईर्ष्याले प्रेमराजा घुटुक्क थुक निल्थे ।

एकातिर घरमा देशकै बडेबडे गायकको जमघट, अर्कोतिर दिनहुँ आउने गन्धर्वको गायन । अनि, आफैँभित्रको उत्कट इच्छा । भलै, उनका बुवाआमा छोरो गायक बनोस् भन्ने चाहना राख्दैनथे । सके पढेर शिक्षक, नभए लाहुरे मात्र भए पनि बनोस् भन्ने बुवाआमा चाहन्थे । उनलाई भने गीत गाउने रहर । रहरले घर गरेपछि कसको के लाग्थ्यो र ! दुई/तीन कक्षामा पुग्दा राम्रै गीत गाउन थालिसकेका थिए ।

० ० ०

प्रेमराजा एकैछिनअघि बाल्यकाल सम्झिएर नोस्टाल्जिक भएका थिए । एकैछिनपछि त्यही बाल्यकाल सम्झँदा सुख अनुभूत गर्न सक्तैनन् । कारण, सात वर्षको हुँदा आमाले र नौ वर्षको हुँदा बुवाले यो संसारबाट सधैँका लागि हात हल्लाए ।

“यो संसारमा प्रेमभन्दा ठूलो कुरा के छ र ? त्यसमा पनि आमाबुवाको माया छोराछोरीका लागि कति महत्त्वपूर्ण हुन्छ, त्यो खुद बाल्यकालमा आमाबुवा गुमाउने छोराछोरीलाई मात्रै थाहा हुन्छ,” प्रेमराजा क्रमैसँग आमाबुवा गुमाएको पल सम्झिन्छन्, “हाम्रो घर एक हिसाबले उजाड भयो । म टुहुरो भएँ । त्यो बेलाको व्यथा बेग्लै छ ।” 

आमाबुवाको मृत्युपछि प्रेमराजाले निःसन्देह दुःख पाए । पाँच दिदीहरू विवाह गरेर गइसकेका थिए । दाइहरूले लय समाइसकेका थिएनन् ।

अनि, सधैँ भरिने आँगन एक्कासि शून्य भयो । गोठ रित्तिन थाल्यो । गाईभैँसी बाँध्ने किला खाली भए । टाट्ना उराठलाग्दो देखियो । घरै उजाड हुन थाल्यो । “सिनेमामा जस्तै मैले पनि दुःख पाएँ,” छोटो वाक्यमा प्रेमराजा भन्छन् ।

दुःख र सुखले लुकामारी खेलिरहे । कहिले सुख माथि कहिले दुःख, चक्र घुमिरह्यो । त्यही चक्रमा प्रेमराजाको जिन्दगी चलिरह्यो ।

सुख भोगे । सानै उमेरमा दुःख के हो, अनुभूत गरे । सुख होस् वा दुःख दुवैमा उनले संगीत भेटे । त्यसैले त संगीतका सुर पक्रिए । ०३३ सालदेखि गाउँको स्टेजमा गीत गाउन थालेका उनी ०३४ मा गण्डकी अञ्चलस्तरीय लोकदोहोरी प्रतियोगितामा प्रथम भए ।

० ० ०

फलामे खुड्किलो मानिने एसएलसी ०३६ सालमा उत्तीर्ण गरे । उच्च शिक्षाका लागि हुनेखानेहरू काठमाडौं जान्थे । अरू पनि जसोतसो पोखरातिर लाग्थे । परिवारको चाहना प्रेमराजा पोखरा जाऊन् भन्ने थियो, तर उनको रुचि अर्कै ।     

कस्तो ? 

“कति हुन्छ, पढ्दै पनि गरौँला, तर रेडियो नेपाल गएर गीत गाउनुपर्छ, गायक बन्नैपर्छ भन्ने थियो,” उनी भन्छन्, “पोखरा गएर गायक बनिँदैन थियो । त्यसैले मलाई काठमाडौं नै आउनु थियो, आएँ ।”

काठमाडौं आए । रेडियो नेपाल त जानैपर्‍यो । सपना त्यहीँ गएर पूरा हुन सक्थ्यो । तर, सिंहदरबारको पर्खालले छेकिएको रेडियो नेपाल पुग्न कहाँ सहज थियो र ! पृथ्वीनारायण शाहको सालिक पछाडिको सिंहदरबारको पश्चिम गेटमा पुगेर अडिए । त्यहाँबाट भित्र छिर्न पास चाहिन्थ्यो । लिए । रेडियो नेपालभित्र छिर्न अर्को पास चाहिन्थ्यो । रेडियो नेपाल पुगेपछि संगीत शाखामा जान अर्को महाभारत ! 

“तीन/चार महिना त रेडियो नेपालको ढोकामा पुगेर यसो भित्र चियाइन्थ्यो, कुन व्यक्ति को हो भनेर चिन्न खोजिन्थ्यो । जतिजनासँग चिनजान हुन्थ्यो, राम्रो व्यवहार देखाउने प्रयास गरिन्थ्यो,” उनी पुराना कुरा सम्झिन्छन्, “जनकविले मलाई रेडियो नेपालमा लगेर बालकलाकार बनाइदिन्छु त भन्नुहुन्थ्यो, तर ठ्याक्कै जाने अवसर भने जुरेन । उहाँ धेरै समय देश दौडाहामा हिँड्नुहुन्थ्यो । पछि बुवा बितेपछि त भेटघाट पनि हुन छोड्यो ।” 

० ० ०

त्यो बेला रेडियो नेपालको लोकप्रियता नै बेग्लै । रेडियोका हरेक कार्यक्रम कहिले कति बेला आउँछ भनेर अधिकांशलाई थाहा हुन्थ्यो । त्यस्तै कार्यक्रममध्येको एक थियो, पाण्डव सुनुवारले चलाउने ‘चौतारी’ । त्यसमा लोकगीत गाउन पाइन्थ्यो । दोहोरी गाउन पाइन्थ्यो । देशभरका लोकप्रतिभा त्यो कार्यक्रममा पुगेर गीत गाउँथे । 

०३७ सालको एक दिन प्रेमराजाले पनि यस्तो मौका पाए । “जब म चौतारी गएँ, मलाई पाण्डव दाइले हिट बनाउनुभयो,” पाण्डव सुनुवारप्रति प्रेमराजा आज पनि अनुग्रहित छन् ।

‘चौतारी’मा जान थालेपछि गाउँमा उनको इज्जत नै उचालियो । ‘चौतारीमा गीत गाउने मान्छे !’ भन्थे । “म घर जाँदा चौतारीमा गाउने प्रेमराजा महत आउँदै छ रे भनेर थाहा पाउने बाटो कुरेर भेट्न बस्थे,” उनी भन्छन्, “‘गाउँको इज्जत बढाउनुपर्छ, चौतारीमा गाउनुपर्छ है’ भन्नुहुन्थ्यो । चौतारीमा आज प्रेमराजाले गाउँछ भनेर मेरो गाउँका मान्छे एउटै घरमा भेला भएर सुन्थे । कुनै हप्ता म नआउँदा खल्लो पनि मान्थे रे ! म घर जाँदा ‘राम्रो गीत गाए, हामीलाई गीत सुनाइराखेस्’ भन्थे ।”

० ० ०

०३८ मा स्वरपरीक्षा दिए । पास भए । ‘चौतारी’मा गाउँदै आएका उनका लागि गीत रेकर्ड गर्ने ढोका खुल्यो । उनको करिअरको पहिलो गीत रेकर्ड भयो– तारा खसेको कसरी बिर्सनु खै सँगै बसेको...।

रेडियो नेपालबाट प्रेमराजाको गीत बज्न थाल्यो । पहिलो गीत नै लोकप्रिय भयो । 

“रेडियो नेपालबाट गीत बज्यो भने दुई देशभर एकैपटक पुग्थ्यो । अहिले हजारवटा एफएम होलान्, एउटा एफएमबाट गीत बज्दा हजारजनाले पनि सुन्दैनन् होला,” उनी भन्छन्, “त्यो बेला रेडियो नेपालको महत्त्व सायद त्यही भएर पनि थियो । त्यसैले हाम्रो नाम तत्कालै धेरैमा पुग्यो । ०४२ सालसम्म पुग्दा लोकगायनमा मेरो एकखालको छवि बनिसकेको थियो ।”

प्रेमराजाले ०४४ बाट रेडियोमै जागिरे जीवन सुरु गरे । ०४८ मा लोकसेवा आयोगबाट लडेर स्थायी जागिरे भए । लोकगीत प्रबन्धक भएर काम गरे । 

० ० ०

प्रेमराजाले धेरै गीतबाट आफ्नो बलियो पहिचान बनाए । तर, आमजनले सम्झिरहने गीत बन्यो, ‘पानको पात...।’ 

‘पानको पात’को पनि छुट्टै कथा छ । दोहोरी गाउन जिल्लाजिल्लामा जान्थे प्रेमराजा र उनका सहकर्मी । एक दिन प्रेमराजा र बमबहादुर कार्कीले वीरगन्जमा रफिक मियाँ र लालु गुरुङले गाएको सुने, पानको पात...।

ढिलो भाका थियो । काठमाडौं आएर प्रेमराजा र बमबहादुरले शब्द बनाए । पहिले यो गीतको शब्द थियो– पानको पात माया तिम्लाई सम्झन्छु दिनको रात, पियारी सलल...।

पियारी राख्दा केटाले मात्र गाउन मिल्थ्यो । त्यसैले उनीहरूले राखे– मर्स्याङ्दी सलल ।

सुरुमा स्लो कम्पोजिसन थियो । प्रेमराजाले यसलाई छिटोछरितो बनाए । र, सुनाए रेडियो नेपालमार्फत देशवासीलाई । पछि सांगीतिक कार्यक्रमका लागि नेपाली गायक/गायिका विदेश जान थाले । ‘पानको पात’ विदेशमा पनि पुग्यो ।

“यो गीत राष्ट्रको भयो । मान्छे यो मेरो, यो तेरो भन्छन्, वास्तवमा लोकले गाउने गीत लोकको हो,” उनी भन्छन्, “पहिलाका गीतमा अहिलेको जस्तो पैसा हुँदैन थियो, नाम मात्रै हो । कसैले त्यो समय पैसा थियो भन्छ भने त्यो गफ मात्रै हो । लोभलाग्दो पहिचान मात्रै हो, त्यो समय पाउने ।” 

० ० ०

विधान आचार्यले गीत लेखे । शम्भुजित बास्कोटाले संगीत गरे । मुम्बई पुगेर एरेन्जमेन्ट गरे । शम्भुजितले उतै निर्णय गरिसकेका रहेछन्, प्रेमराजा र कोमल ओलीलाई गाउन दिने ।

त्यो बेला सिनेमाका गीत अक्सर मुम्बई गएर गाउने चलन थियो । तर, प्रेमराजा नेपालमै गाउन रुचाउँथे । जस्तो प्रविधि छ, त्यसमै नेपालमै रेकर्ड गरौँ भन्थे । ‘बाँझो खेतमा...’ यहीँ रेकर्ड गरियो । ‘माइली’ सिनेमा रिलिजसँगै गीत लोकप्रिय भयो । उनको नाममा अर्को एउटा लोकप्रिय गीत थपियो ।

‘सालैको पातैले’, ‘हिउँचुलीमा हिउँ’, ‘बल्ल पर्‍यो निरमाया’, ‘खोलापारि निरमाया’, ‘सिमसिमे पानीमा’लगायत उनका दर्जनौँ गीत लोकप्रिय छन् । ‘खोलापारि निरमाया’ म्युजिक नेपालको पहिलो लोकगीत हो । त्यो प्रेमराजा र बमबहादुर कार्कीले संकलन गरेका थिए । राम थापाले स्वर दिए ।

सिंगल एल्बम नै उनले ६० वटा निकाले । एउटा एल्बममा कम्तीमा ६/७ गीत हुन्थे । पछिल्लो समय सिंगल गीत पनि निकाले । “६ देखि ७ सय गीत रेकर्ड भएका छन् । कति त मैले बिर्सिसकेछु । केही समयअगाडि मात्रै १२ वटा गीत फेला पारेँ, जुन मैले बिर्सिसकेको रहेछु,” उनी भन्छन्, “लोकप्रिय गीत मात्रै सम्झना हुँदो रहेछ । बाँकी अर्काइभमा रहने त रहेछ ।”

‘सिमसिमे पानीमा’का विषयमा केही समयअघि विवाद भयो । त्यसबारे प्रेमराजा धेरै कुरा गर्न चाहँदैनन् । “उहाँ (रेखा शाह)लाई मैले कहाँ क्रेडिट दिएको छैन ? दोहोरी गाउने भनेर दुईजनाले गाइयो, एकोहोरी गाउने भएको भए उहाँ एक्लैले गाउनुहुन्थ्यो । केटाले पनि गाउने भएकाले मैले गाएको हुँ,” उनी भन्छन्, “यो गीत उहाँ अहिले पनि गाइरहनुभएकै छ, रोयल्टी उहाँले नै लिइरहनुभएको छ । अनि, कसरी हुन्छ विवाद ? उहाँ एक्लैले विवाद झिक्न खोज्नुभएको हो, मैले होइन ।”

० ० ०

राजपरिवारका सदस्य कलासाहित्यप्रति खुब दिलचस्पी राख्थे । ऐश्वर्य (चाँदनी शाह) र ज्ञानेन्द्र (जी शाह) आफैँ गीतकार थिए । महेन्द्र (म.वी.वि शाह)त ‘अब्बल’ कवि भइगए । धीरेन्द्र र दीपेन्द्रको पनि गीतसंगीतप्रति गहिरो लगाव थियो ।

लोकगीतमा प्रेमराजाको उम्दा नाम थियो । दूरदराज जसको घरमा रेडियो थियो, उसलेदेखि दरबारसम्मले उनलाई चिन्थ्यो । दरबारका क्षेत्रीय कार्यक्रममा उनलाई सँगै लगिन्थ्यो । दरबारमा पनि बोलाइन्थ्यो, गाउन लगाइन्थ्यो ।

वर्ष भुलिसकेको एउटा पल अझै उनको सम्झनामा ताजै छ । प्रज्ञा–प्रतिष्ठानको एक कार्यक्रममा स्टेजमै बोलाएर तत्कालीन राजा ज्ञानेन्द्रले उनको तारिफ गरे । अँगालो हाले ।

उनी धीरेन्द्रलाई सम्झिरहन्छन् । कारण, बोलाएर ‘पानको पात’ गाउन लगाउँथे ।

दीपेन्द्रको पनि याद आइरहन्छ । त्यसको समेत कारण छ, दीपेन्द्र ‘पानको पात’ आफैँ गाउँदै नाच्थे । उनीहरूसँग प्रेमराजाको दोहोरो संवाद नै हुन्थ्यो ।

“राजामहाराजले गीत गाउन बोलाउनुहुन्थ्यो । भव्य कार्यक्रम हुन्थ्यो । त्यो बेला बक्सिस पनि राम्रै हुन्थ्यो,” उनी सम्झिन्छन् ।

० ० ०

रेडियो नेपालमा अधिकृतको जागिर थियो । बजारमा नाम र इज्जत थियो । गीत गाउन देश–विदेश पुग्थे । तर पनि उनी ०५३ मा अमेरिका गए र उतै रहे ।

किन ?

नेपालका तत्कालीन ७५ मध्ये आधाभन्दा धेरै जिल्ला कार्यक्रम गर्नै गएका थिए । युरोपका थुप्रै देश पुगिसकेका थिए । अमेरिका आउने/जाने क्रम चलिरहन्थ्यो ।

“मलाई अमेरिका जानैपर्ने बाध्यता थिएन । यहाँ खानै नपाएर हतोत्साही भएर गएको होइन । कार्यक्रमको सिलसिलामा जाँदा एक वर्ष म कार्यक्रममै व्यस्त भएँ । कम्तीमा ४० वटा स्टेटमा मैले कार्यक्रम गरिसकेको थिएँ,” उनी भन्छन्, “हामी अमेरिकामा जाँदा त्यहाँ रहेका नेपालीलाई मनोरञ्जन गराउने नेपाली कलाकार खासै कोही थिएनन् ।”

प्रेमराजा गायक त भइगए, सारंगी, मादल र बाँसुरी पनि बनाउँछन् । अमेरिकामा सारंगी बोकेर लामो समय हिँड्ने उनी नै पहिलो कलाकार हुन् ।

“त्यसैले त्यहाँ रहेका नेपालीले यहाँ बस्नुस्, गाउनुस् भन्नुभयो । हाम्रा छोराछोरीले पनि नेपाली गीतसंगीतबारे जान्ने मौका पाउँछन्, हामीले के गर्नुपर्छ र सक्छौँ, त्यो गर्छौँ, तर यहीँ बस्नुस् भन्नुभयो,” उनी भन्छन्, “नेपालमा त अरू कलाकार पनि छन्, इन्टरटेन गराउने, तर यहाँ कोही छैन, तपाईं लामो समय पनि भयो यहाँ आएको, त्यसैले यहीँ बस्नुस् भन्नुभयो । नेपाली संगीतलाई विश्वभर पुर्‍याउने भनेर हामी भनिरहन्छौँ, तपाईं अमेरिकामा बसेर यही काम गर्नुस् भन्नुभयो । मलाई पनि हो भनेजस्तो लाग्यो । म आफैँ पनि संगीत विश्वभर फैलाउनुपर्छ भन्ने सोचको मान्छे ।”

‘पानको पात...’ लाई वीरगन्जबाट हामीले काठमाडौं ल्याएर रेडियोमा नबजाएको र देश–विदेशमा हुने कार्यक्रममा नगाएको भए यो आज लोकको गीत हुन्थ्यो र ? उनी प्रश्न गर्छन् । त्यसैले उनले अमेरिकामा बस्ने निर्णय गरे । 

अमेरिकामा कलाकारलाई सम्मान नै हुने उनले महसुस गरेका छन् । “अमेरिका ट्यालेन्टलाई सम्मान गर्ने देश हो । यहाँ जसरी आलोचना हुन्छ, वास्तवमा त्यस्तो होइन । हाम्रो संगीत मन परे उनीहरू सँगै स्टेजमा नाच्छन्, राम्रो भनेर गला मिलाउँछन्,” उनी भन्छन्, “हामी संगीतकर्मीलाई अरूले दिने हौसला भनेको त्यही त हो ।”

उनीसँग केही तितो अनुभव पनि छ, नेपालीसँगकै । 

कस्तो ? 

सबै होइन, केही नेपालीले नेपालीकै आलोचना र असहयोग गरेको उनले देखेका छन् । “अधिकांशले त माया नै गर्नुहुन्छ, तर केही नेपालीले भने ए गानाबजाना गर्ने गाइने भनेजस्तो गर्नुहुन्छ,” उनी सुनाउँछन्, “जो सुरुमै गएर धेरै पैसा कमाएका छन्, त्यस्ता एकाध व्यक्तिमा यो समस्या छ ।”

यसलाई उनी स्वयं अपवाद भन्छन् । अपवाद जहाँ पनि हुन्छ, जेमा पनि हुन्छ । प्रेमराजाले यसलाई त्यही रूपमा लिएका छन् । 

० ० ० 

अमेरिकामा प्रेमराजाले ‘नेपाल हाउस’ खोले । उनकै शब्द सापटी लिएर भन्दा ‘नेपाली कल्चरलाई विस्तार र प्रवर्द्धन गर्ने नेपाल हाउसको मुख्य उद्देश्य’ हो ।

“मेरो नेपाल हाउस रेस्टुराँको भित्तामा टाँसेका आर्ट हेरेर मात्र सयौँ अमेरिकन नागरिक नेपाल आएका छन् । त्यही आर्ट र नेपाली खानाका कारण सयौँ नेपाली नागरिकलाई मैले काठमाडौं उतारिसकेको छु” उनी भन्छन्, “नेपाली विदेश गए पनि उनीहरूले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा नेपालकै लागि काम गरिरहेका हुन्छन् । देशप्रति माया नभएको त हजारौँमा एक मात्रै होला ।” 

के छ आर्टमा ?

काठमाडौं र भक्तपुर सहरको सुन्दरता छ । सगरमाथा, फेवाताल र माछापुच्छ्रेको मनमोहकता छ । पहाड र तराईका हरियाली फाँट छ । “यो नेपाल नै हो ? भन्नुहुन्छ । हो भनेपछि त्यहीँ नै उहाँहरू नेपाल आउने प्रतिबद्धता जनाउनुहुन्छ,” प्रेमराजा भन्छन् ।

निःस्वार्थ सेवा गर्ने बानी, हाँसिरहने स्वाभाव र खुसी हुने चलन देखेर नेपालीलाई अमेरिकीले मन पराउने गरेको उनी बताउँछन् । त्यसैले आफूले नेपाल ल्याएका अमेरिकी पटक–पटक दोहोर्‍याएर यहाँ आउने गरेको उनी सुनाउँछन् ।

० ० ०

अमेरिका बस्दा पनि थुप्रै शुभेच्छुक भेटे, जो उनका गीत सुनेर नतमस्तक हुन्थे । प्रेमराजालाई भेट्न जसरी नेपाली डाँडापाखाका कलाप्रेमी कोसौँ हिँडेर आउँथे, त्यस्तै शुभेच्छुक उनले अमेरिकामा समेत भेटे । “प्रेमराजा यहाँ बस्छ भनेर थाहा पाएपछि पाँच/छ घण्टा ड्राइभ गरेर आउने नेपाली पनि भेटेको छु,” प्रेमराजा भन्छन्, “आफू बच्चा हुँदा गीत सुनेको हुनुहुँदो रहेछ, गीत सुन्नभन्दा पनि हेर्न आएको भन्नुहुन्छ ।” 

० ० ० 

गत वर्षदेखि प्रेमराजा ‘ब्याक टु द म्युजिक’ भन्दै पुनः सांगीतिक दुनियाँमा सक्रिय छन् । ‘बन्दीपुरैमा...’ उनले गाए । स्रोताले मन पराए । केही समयअघि ‘हुम्लाजुम्ला...’ बोलको गीत ल्याए । अब ‘पाइपलाइन’मा पूर्वेली गीत छन् ।

उनी अहिले व्यावसायिकभन्दा सांस्कृतिक संगीतको संरक्षण र सम्वर्द्धनमा केन्द्रित छन् । त्यसैले जसरी ‘बन्दीपुरैमा...’ र ‘हुम्लाजुम्ला...’ गाए, अब हरेक वर्ष कम्तीमा एउटा कल्चरल गीत गाउने उनको योजना छ ।

“ठाउँको चिनारी र कल्चरको प्रवर्द्धनको काम गर्ने मेरो उद्देश्य हो,” उनी भन्छन्, “मैले मेरो तर्फबाट आफ्नो कर्तव्य पूरा गर्दै छु ।”

दर्जनभन्दा धेरै गीत ‘स्टक’मा राखेर बसेका छन् । भन्छन्, “शरीर र स्वास्थ्यले साथ दिएसम्म संगीतमा सक्रिय हुन्छु । संगीत मेरो जीवन भइगयो नि !” 

यो पनि पढ्नोस्–

किन सधैँ विवाद ?  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १०:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय