site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
किन सधैँ विवाद ?  
SkywellSkywell

अवस्था फेर्न भन्दै व्यवस्था फेरियो । व्यवस्था फेरेको पनि वर्षौँ बित्यो । तर, अवस्था फेरिएन । विभेदको साङ्लो अवश्य केही खुकुलो भयो होला, तर चुँडिसकेको छैन । सहरमा ‘पानी चल्न’ थाल्यो होेला, दूरदराजमा अझै ‘बिटुलो’ नै हुन्छ । सहरका मन्दिरमा दलितले भगवान्को दर्शन पाउन थाले होला, दूरदराजका गाउँमा अझै आफ्नै हातले बनाएको मूर्ति मन्दिरमा पुगेपछि विश्वकर्माले तिनको दर्शन गर्न पाउँदैनन् ।

त्यसैले (प्रकाश सपूत) आफ्ना सिर्जनामा विभेदका घटना खुसुक्क छिराउँछन् । अनि, प्रश्न गर्छन्– यो विभेदको जन्जिर कहिलेसम्म ? 

त्यसपछि प्रतिज्ञा गर्छन्– यो वर्ष मेरा सबै सिर्जना विभेदविरुद्ध लक्षित हुनेछन् ।

Dabur Nepal
NIC Asia

प्रकाशसँगै फर्कौँ अलि अगाडिका वर्षतिर । र, उनीसँगै कुरा गरौँ उनका गीतको सारांशको । ‘गलबन्दी’ रमाइलो गीत थियो । केटा र केटीबीच भेट हुन्छ । आत्मीयता बढ्छ । अन्ततः विवाह हुन्छ । 

‘बोलमया’मा केटाले श्रीमतीलाई छोडेर परदेश जान्छ । श्रीमती घर सम्हालेर बस्छिन् । श्रीमान्को उतै मृत्यु हुन्छ । काठको बाकसमा फर्किन्छन् । त्यही ‘बोलमया’को अन्तिम भागमा केटो मन्दिरबाट भाग्छ । हो, त्यही बेला प्रकाशलाई लागेको थियो– मेरो अर्को गीत पनि विभेदविरुद्धको हुनेछ । तर, के देखाउने ? उनैलाई थाहा थिएन ।

अब लागौँ ‘दमाईं महाराज’तर्फ । मन्दिरबाट बालकलाई भगाउँदासम्म उनलाई ‘दमाईं महाराज’ नै बनाउँछु भन्ने त थिएन, विभेदको मुद्दा भने जोड्छु भन्ने थियो ।

“तर, मन्दिर पसेको बहानामा लखेटिएको बालकलाई कसरी देखाउने भन्ने थिएन,” प्रकाश भन्छन्, “गलबन्दी र बोलमया गर्दा मसँग कुनै कंक्रिट आइडिया थिएन । पछि हिरो होला अथवा युद्धमा सहभागी होला वा अरू केही होला भन्ने थियो । यो बालकलाई जोडेर केही कथा भन्न सकिन्छ भन्ने मात्रै थियो ।”

‘गलबन्दी’बाट ‘दमाईं महाराज’सम्म आइपुग्दा यसको कन्सेप्टमा काम गर्न झन्डै चार वर्ष लाग्यो । विभेदको घटना भन्नु थियो । समाज र मन्दिरसँग जोड्नु थियो । त्यसैले यो पात्रसँग जोड्न उनलाई समय लाग्यो । 

त्यही समय उनले परलोक भएका हजुरबुवालाई सम्झिए, जो गाउँमा लय हालेर भजन गाउँथे । एउटा गीत हजुरबुवालाई किन ‘डेडिकेट’ नगर्ने भन्ने लाग्यो ।

“तर, गलबन्दीको बालकसँग जोडेर गर्ने भन्ने यो समयसम्म पनि मेरो दिमागमा थिएन,” उनी भन्छन्, “भजनको लयमा गीत गाउँदा आफ्नो क्षेत्रतिरका मान्छेलाई रमाइलो पनि हुने, पञ्चेबाजा र भजन भएपछि दर्शकलाई नचाउन पनि सकिन्छ । पैसा लिन पनि पाइन्छ ।” 

एकातिर मन्दिरबाट हिँडेको बालकलाई लिएर विभेदको कथा भन्ने रहर, अर्कोतिर भजनको लयमा गीत तयार पारेर हजुरबुवालाई ‘डेडिकेट’ गर्ने उद्देश्य । रहर र उद्देश्य त्यति बेला ‘म्याच’ हुन्छ, जति बेला मन्दिरबाट भागेको त्यही बालक महाराज बनेर पुराणको कथावाचन गर्छ भन्ने प्रकाशको दिमागमा ‘आइडिया’को जन्म हुन्छ । त्यसमाथि धर्मका नाममा जोडेर झन् धेरै विभेद गरिन्छ भने किन यही ‘आइडिया’मा काम नगर्ने ? अनि, उनले सुरु गरे ‘दमाईं महाराज’को कथा र गीतका शब्द उन्ने काम ।

कुन कार्यक्रममा जाँदै थिए प्रकाश, त्यो त सम्झनाको तरेलीबाट हटिसकेछ । यति याद छ, तराईको कुनै एक कार्यक्रममा जाँदै थिए । उनले बाटैबाट देखे, भव्य धनधान्याचल । गाडी रोकेर गएरै हेरे । उनलाई लाग्यो– आहा, कति राम्रो !

त्यसपछि उनले टेलिभिजनमा यस्ता कार्यक्रम हेर्न थाले । दिनबन्धु पोखरेलदेखि अरू नयाँनयाँ पुराणवाचकका पनि । त्यसबाट उनमा केही ज्ञान मिल्यो । तर, उनलाई एउटा कुराको डर लाग्यो । 

के कुरा ? 

‘मलाई धर्मका बारेमा केही थाहा छैन । ३३ कोटी देवाता छन्, मलाई त दुईचार सेलिब्रिटी देवताबाहेक केही थाहा छैन ।’ यसले शब्दरचनामा उनलाई अलमल्यायो । भगवान्को गुणगान गाएर मात्र भएन । गरे पनि एउटाको गरे अर्को भगवान् छुट्ला ! अर्कोतिर, शुद्ध भजन मात्र गाउँदा अहिलेको पुस्ताले सुन्ला/नसुन्ला भन्नेमा शंका थियो । दिनानुदिन घट्ने जीवनका घटनासँग गीतलाई जोड्न नसके त्यसमा आत्मा हुँदैन भन्ने उनलाई लाग्यो ।

“जीवन बाँच्नका लागि भगवान्प्रतिको आस्थाले मात्रै त हुँदैन, तर यसलाई नजरअन्दाज गरेर पनि हुँदैन भन्ने मेरो बुझाइ हो,” प्रकाश भन्छन्, “मेरो आफ्नै बुझाइमा पनि सबैभन्दा ठूलो कुरा मन बुझाउने कुरा रहेछ । आफूले जे गरिरहेको त्यसमा उसको चित्त बुझ्यो भने ऊ त्यसमै खुसी हुन्छ । त्यसमै उसको मन रमाइरहेको हुन्छ । त्यसैले मन बुझाउनु नै सबैभन्दा ठूलो कुरा रहेछ ।”

समाजमा धेरै मानिसले आफ्ना साना बच्चालाई भुलाउँदा अक्सर ‘हलहल बाबु’ भन्छन् । “त्यसैले भजनको लयमा योपटक मैले मनको गीत गाएको हुँ । मन भुलाउने गीत गाएको हुँ,” “प्रकाश भन्छन्, “गीतलाई सुनिरहूँ र हेरिरहूँ बनाउन मलाई समय लाग्यो । ठ्याक्कै कीर्तनजस्तै बनाउनु पनि थिएन । आदर्श र दर्शनबाट पनि बचाउनु थियो । त्यसैले समय लाग्यो ।”

यही कारण त हो, उनले जिन्दगीमा कहिले दुःख माथि त कहिले सुख माथि हुन्छ भन्ने गीत लेखे । कृष्ण र राधाका कुरा जोडे । कैलाश पर्वतमा बस्ने शिवलाई शब्दमा उनेर त्यसलाई गीतको स्वरूप दिए ।

प्रकाश गीत बजारमा ल्याउँछन् । त्यसमाथि चर्चा–परिचर्चा हुन्छ । धेरै गीतमा त विवाद पनि हुन्छ ।

एकातिर तारिफ अर्कातिर आलोचना किन हुन्छ, तपाईंका गीतमा ? 
मेरो सिर्जनामा कतै न कतै विचार र मुद्दा समावेश हुन्छन् । हाम्रो समाज जहाँ सामाजिक र राजनीतिक अस्थिरता छ, व्यवस्थाकै विषयमा कुन सही र गलत भनेर छलफल र बहस भइरहेको छ । समाज नै विवादित र आलोचित भएपछि, हाम्रो विधिविधान र व्यवस्था नै आलोचनाबाट गुज्रिरहेको अवस्थामा हामीले आफ्ना सिर्जनामा ती विषय र मुद्दा समावेश गर्दा विरोध वा आलोचना हुनु स्वाभाविक हो ।

सिर्जनात्मक हिसाबले यो लय र शब्द योसँग मिल्यो भन्ने आयो भने सर्जकका हिसाबले त्यो कमजोरी हो । यदि, त्यस्तो आलोचना भएको छ भने आत्मालोचना गर्दै आएको छु । स्वीकार गर्छु । तर, वैचारिक रूपमा आलोचना हुन्छ भने मैले गर्न खोजेको नै त्यही हो । मैले उठान गरेको विषयमा बहस र छलफल होस् भन्ने चाहेरै सिर्जना ल्याएको हुन्छु । एउटा निष्कर्ष निस्कियोस् भन्ने मेरो चाहना हो । 

सिर्जना मुद्दामा केन्द्रित हुनु ठिक होइन भनिन्छ नि !
सिर्जना समाजको दर्पण पनि त हो । कुनचाहिँ सिर्जना समाजबाट अछुतो छ ? मेक्सिम गोर्कीको आमा भन्नुस् अथवा बब मार्लीका गीत, सिर्जना समाज र प्रकृतिबाटै प्रेरित छन् । सिर्जना भन्ने कुरा शून्यबाट हुँदैन । समाजमा म जसरी बाँचे, मेरो दिमागमा त्यही छ । मैले सुन्दर युवती, सुन्दर फूल वा जूनलाई सम्झिए सिर्जनाको ढाँचा अर्कै हुन सक्ला, तर कुनै विषयवस्तुलाई आधार बनाएर सिर्जना गरेँ भने त्यो कुरा आउँछ नै । संसारका जुनसुकै परिवर्तनका आन्दोलन होस्, त्यहाँ गीतको प्रयोग भएको छैन र ? 

एक व्यक्तिविशेषको सिर्जना अर्कोको रचनासँग कसरी मिल्छ ?
गीतसंगीत व्यावसायिक भइसकेको सन्दर्भमा आज मैले गाएको ‘बोलमया’, ‘गलबन्दी’ वा अरू कुनै गीत मेरा हो भनेर रेकर्ड गरिदियो भने त्यसले मेरो पहिचान र अस्तित्वलाई धरापमा पार्छ । त्यसैले व्यावसायिक रूपमा गरिएको सिर्जना कसैको सिर्जनासँग मिल्छ भने त्यसलाई चोरी नै मान्नुपर्छ । त्यसलाई कपिराइट मानेर कपिराइटको मुद्दा लगाउनैपर्छ ।

तर, सुन्दा उस्तैउस्तै सुनियो, तर फरक छ भने त्यसैका आधारमा चोरी भयो भनेर भन्नु हुँदैन । लोकगीत हामीले गाउँघरबाट संकलन गरेर नै ल्याउने हो । त्यसैले यो छलफलको विषय हो । सालैज्यू, कौडा वा पूर्वको मारुनी होला, यसका लयको सीमितता छ । गाउँमा गाइने लोकगीतको पनि सीमितता छ । यी कल्चरल गीत हुन् । देउडा गाउँदा घुमाउनैपर्छ, खिड्का हान्नैपर्छ भने कतै न कतै मिल्छ नै । पहिला समाजबाट उत्पन्न भइसकेका र फेरि त्यसको प्रयोग गरिन्छ भने त्यस्ता सिर्जना व्युत्पन्न हुन् । यस्ता सिर्जनामा कतै न कतै भाका मिल्न सक्छ । तर, व्यावसायिक उद्देश्य राखेर फेरि त्यसलाई जस्ताको तस्तै प्रयोग गरिन्छ भने त्यो सरासर गलत हो । त्यो अपराध नै हो । 

यसको आशय लय मिल्न सक्छ तर शब्द मिल्नु भएन भन्ने हो ? 
लय पनि हुबहु मिल्नु भएन । अहिलेका लय त केही टेक्निकल पनि छन् । पहिलाको जस्तो गाउँमा पुगेर संकलन गर्ने चलन अहिले छैन । रेडियो नेपालमा रहेका कतिपय भाका, नेपथ्यले नै गाएका कतिपय भाका गाउँमा गएर कसैले गाएका भाका ल्याएर अहिले गाइएको त हो । मेरा आफ्नै गीतका भाका पनि गाउँमै गाउँदै आएका भाका हुन् । दमाईं महाराज मेरो हजुरबुवाले गाउँमा गाउनुभएको भजनको लय हो । त्यसलाई मैले अलिकति टेक्निकल्ली रिच बनाएको मात्रै हुँ । अहिले बनाइएका भाका प्रयोग गरिएको हो भने त्यसमा कपिराइट लाग्छ, तर लोकभाकाका लय प्रयोग गर्न सबैले पाउँछ । यसमा साझा धारणा बनाउन जरुरी छ । 

क्रेडिट दिनचाहिँ हामी लोभ गर्छौँ ? 
हो, हामी यसमा लोभ गरिरहेका छौँ । पहिलापहिला रेडियो नेपालले संकलन भन्थ्यो, तर, आज भन्न छोडियो । मैले पूर्वी नेपालमा गएर कसैले गाउँदै गरेको सुनेर त्यसलाई यहाँ ल्याएर प्रयोग गरेँ भने त्यसलाई संकलन भनेर क्रेडिट दिनैपर्छ । त्यो व्युत्पन्न भाका हो । त्यसलाई प्रयोग गर्न पाइन्छ । तर, क्रेडिट दिनुपर्छ । टेक्निकल रूपमा बनाइएका भाका भने अर्को व्यक्तिले प्रयोग गर्न पाइँदैन । त्यसमा कपिराइटको मुद्दा लगाउनैपर्छ ।  

कपिराइटबाट जोगिन कसैले प्रयोग गरिसकेको भाका वा लयमा थोरै नोट खुस्काइदिएर प्रयोग गर्ने प्रवृत्ति बढेको हो ? 
यसमा मलाई त्यति धेरै थाहा छैन । भाका, लय, विषयको कुरा गर्दा टेक्निकल रूपमा म अलि कमजोर पनि छु । मलाई त्यति धेरै संगीतको ज्ञान छैन । म फिलिङ्समा धेरै काम गर्ने मान्छे हुँ । मैले बच्चैदेखि सुन्दै आएका लय र भाकाको जगमा रहेका, त्यसभित्र टेक्निकल रूपमा काम गर्ने व्यक्ति हुँ म ।  संगीत सिर्जना पनि त्यहीभित्र रहेर नै गर्ने हो । मेलोडी पनि केही सूत्र र फर्म्याटभित्र बसेर निर्माण गर्ने हो । संसारभरका शास्त्रीय संगीतका मेलोडी कलेक्सन गरेर सुन्ने हो भने त्यसमा त्यही एकदुईवटा नोट नै तलमाथि हुने हो ।

बहसको विषय बनाउन स्केल बढाएको वा घटाएर गीत गाएछ भनेर भन्न सकिएला, तर सिर्जनाको फर्म्याट नै त्यही हो । लय यति मिटरको, दोहोरी र भट्टयाउने भाका यो हो, र्‍यापको यो हो भन्ने छ, त्यसभित्रै बसेर काम गर्ने हो । र्‍याप गीत सुन्ने हो भने सबै उस्तैउस्तै लाग्छ । सबै सूत्रमा बाँधिएको हुन्छ, भाषा र गायकीले फरक पार्ने हो । संगीतकारको ट्युनिङले फरक पार्ने हो । त्यसको आधार त एउटै हुन्छ । एउटै प्रकृति र समाजबाट आउने कुरा उस्तैउस्तै हुनु स्वाभाविक हो ।

कन्ट्रोभर्सी हुने शब्द अथवा भिडियोमा विवादित हुने दृश्य राखे गीतले हाइप पाउँछ भन्ने लोभ प्रकाशमा देखियो भन्ने आरोप छ नि ? 
नियत राखेर गरिएको कुरा सिर्जना हुँदैन । सच्चा सिर्जना सधैँ रचनात्मक हुन्छ । सिर्जनामा सधैँ सर्जकको स्वतःस्फूर्त भावना जोडिएको हुनुपर्छ । सर्जकमा स्वतःस्फूर्त सिर्जना गर्न सक्ने क्षमता हुनुपर्छ । कलात्मक क्षमता हुनुपर्छ । एउटा सामान्य मान्छेले म कन्ट्रोभर्सीमा पर्नुपर्‍यो, हिट हुन केही विषय उठान गर्छु भन्दैमा उसले गर्न सक्छ र ? सक्दैन ।

मेरा सिर्जनामा केही मुद्दा र विचार मिसिएका हुन्छन् । त्यसमा आलोचना र वादविवाद हुन्छ । तर, यसमै मान्छेले मेरो कलात्मक र रचनात्मक क्षमतामा, मेरो सिर्जनशीलतालाई नजरअन्दाज गरिदिन्छन् । यसमा मेरो चित्त दुखाइ छ । रचनात्मक क्षमता, सिर्जनशीलता र कलात्मक चेत नभइ सिर्जना कहाँ बन्छ र ? मान्छेले मन पराइरहनुभएको छ, राम्रो लाग्छ भन्नुहुन्छ, एकपटक होइन, दशपटक हेर्दा पनि मन भरिन्न भनिरहनुभएको छ । कलाप्रतिको आकर्षण नियतले बन्दैन । कलाचेतले मात्रै यो सम्भव छ । कला सिर्जनामा हुनुपर्ने शब्द, भाका, सिलसिला नै छैन तेरा गीतमा भन्न सक्नुपर्‍यो, होइन भने तपाईं हामीले फूलमया र सकम्बरी यो समाजमा छैनन् भनेर भन्दिदैमा नहुने हो र ? समग्रमा कुरा नगरौँ, प्रत्येक गीतमा उठेका प्रश्नको जवाफ दिन म तयार छु । मैले ‘पिर’मा उठाएका पात्र यो समाजमा छैनन् र ? युद्ध लडेर अलपत्र परेर आज जस्तोसुकै काम गर्न बाध्य भएका व्यक्ति छैनन् र ? यही कुरालाई मैले गीतमार्फत भनेको होइन र ? छन् भने किन प्रश्न मात्रै उठाइन्छ ।

० ० ०

कुनै पनि सर्जकले त्यहीँभित्रबाट सिर्जना गर्छ, जुन समाजमा ऊ बाँचेको छ । उसले त्यस्तै सिर्जना गर्छ, जे आफ्नो जीवनकालमा भोगे/देखेको छ । ऊ बाँचेको परिवेश नै उसको सिर्जनाको स्रोत हो । आधारविन्दू हो ।

सर्जकको दिमागमा आफूले देखे/भोगेका कुरा अटाइरहेका हुन्छन् । त्यसैलाई सिर्जनामा रूपान्तरण गर्ने हो । प्रकाशको दिमागमा पनि समाजका हर घटना पत्रपत्र बनेर बसेका छन् ।  त्यही पत्र पल्टाउँछन् । र, त्यसैमध्येको एउटा घटनालाई सिर्जनामा रूपान्तरण गर्छन् ।

त्यसमाथि प्रकाशको पुस्ता त्यही हो, जसले छोटो समयमा परिवर्तनका थुप्रै घण्टी बजेको देख्यो । राजनीतिक अस्थिरता देख्यो । त्यसले पारेको प्रभाव भोग्यो । परिवर्तनका ठूलठूला आन्दोलन देख्यो । सँगै देख्यो, समाजका विकृति र विसंगति । त्यसले पारेका प्रभाव र दिएको दर्द अनुभूत गरियो । यही समयमा राजनीतिक चेतना भरियो । महिला, दलित र जनजातिले आफ्नो आवाज मुखरित गर्न थाले । केही हदसम्म अवस्था फेरियो ।

प्रकाश यी घटनाका धेरथोर साक्षी नै छन् । अहिले उनले गर्ने सिर्जना यसैभित्रबाट न आउने हुन् । प्रकाशको ‘पिर’ होस् वा ‘फूलमया’ अथवा भर्खरैको ‘दमाईं महाराज’ उनले आफैँले समाजमा देखेका घटना होइनन् र ?

“मैले काम गर्ने क्रममा युद्ध गर्ने साथीहरू देखेको थिएँ । युद्धप्रति उनीहरूको आशा र निराशा पनि देखेको थिएँ । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको देखेको थिएँ, त्यसैले ‘पिर’ बन्यो,” प्रकाश भन्छन्, “यो बाटो जाऊँ कि त्यो बाटो जाऊँ भनेर दोधारमा रहेका महिला देखेको थिएँ । समाजको दृष्टिकोणमा गलत बाटो हिँडिरहेको महिला पात्र पनि मेरो आँखाले देखेका थिए, त्यसैले ‘फूलमया’ बन्यो । आफ्नैअगाडि विदेशबाट काठका बाकसमा आएका दाजुभाइ देखेको थिएँ, ‘बोलमाया’ आयो । ‘दमाईं महाराज’ त मैले आफैँले कति साक्षात्कार गरेको घटना थियो, यसै पनि आउने नै भयो ।”

गीत बनाउँदा प्रकाश अक्सर सुरुमा कथाको मार्गचित्र कोर्छन् । त्यसपछि शब्दहरू बुन्छन् । सुरुआत र अन्त्यका घटना र अवस्था के हुन्छ, बनाउँछन् । अनि, तयार हुन्छ गीत । “त्यसैले हिजोआज म मेरा गीतहरूलाई कथालय भन्न थालेको छु । कथालय भन्नाले कथा पनि भएको लय पनि भएको, त्यसैले कथालय,” प्रकाश स्पष्ट पार्छन् ।

पहिला भिडियो कन्सेप्ट बनाएर कथा लेख्नुहुन्छ ? 
हो, त्यो भन्न मिल्छ । पहिला भिडयोको लागि कथाको कन्सेप्ट बनाउँछु । त्यो कथाका लागि गीत लेख्छु । 

गीतभन्दा पनि तपाईंमा कथाचेत बढी छ भन्न मिल्छ ? 
मिल्छ । मजाले मिल्छ । कथा भन्न रुचि रहेछ भन्न मिल्छ । यो कुरा म मजाले स्वीकार्न सक्छु ।

त्यसो भए तपाईं संगीतकर्मी कि भिजुअलमा रुचि भएको व्यक्ति ? 
संगीत हुँदैन थियो भने मेरो सुरुआत हुँदैन थियो । गायन हुँदैन थियो भने अहिले जे कर्म गरिरहेको छु, त्यसमा हुन्नथेँ । जसरी कथालय भन्न पाइरहेको छु, एउटा पहिचान बनाइरहेको छु, यसको पहिचान गायनबाटै भएको हो । मेरो मूल पहिचान गायन नै हो । गायन सर्जक भन्न मिल्ला । 

तपाईंका गीतबाट भिडियो झिकिदिए के हुन्छ ? 
शब्द आफैँले पनि कथा बोकेको हुन्छ । नहेरी नबुझिने शब्द गीतमा हुँदैनन् । गीत मात्रै सुन्दा पनि त्यहाँ शब्दसँगै कथा पनि पाउनुहुन्छ । राम्रो स्रोताले शब्द सुनेर कथाको कल्पना गर्न सक्छ ।

इमानदार भएर भन्दा मैले केही गीत पहिला कथा बनाएर त्यसको पात्रलाई जुन शब्द र अवस्था चाहिन्छ, त्यहीअनुसार लेखेको छु । ती गीतमा भने भिडियो नभए सायद अधुरो लाग्न सक्छ । तर, दोहोरी ब्याटलदेखि आजसम्मका मेरा सबै गीत सुन्दा भिडियोबिना पनि पूर्ण रहेको अनुभूत हुन्छ ।

भिडियोले प्रभाव पारेको भएर, युट्युबमा भ्युज गएको भएर, कथालाई प्राथमिकता दिएको भएर, कथामा पनि मुद्दा भएकाले प्रकाशका गीत, गीत होइनन् भनेर आरोप लगाउनुहुन्छ । तर, मेरा गीतको अडियो मात्रै सुन्दा पनि ती पूर्ण लाग्छन् । किनभने, त्यहाँ लय छ, शब्द छ । शब्दमा सिलसिला र निरन्तरता छ । कहिलेकाहीँ अर्थचाहिँ फरक लाग्न सक्छ । जस्तै, ‘सकम्बरी’को ‘घाँटीनिरै डाम केको होला नि, रातितिरै काम केको होला नि...’ भनेर सुन्दा मात्रै कस्तो खालको प्रश्न गरेको महिलालाई, महिलाले रातिमा काम नै गर्न नहुने हो र ? भन्ने बुझाइ हुनसक्छ । तर, भिडियो हेर्नुभयो भने कस्तो परिस्थितिबाट आएको शब्द रहेछ भनेर बुझिन्छ । यो प्रश्न यसकारण आएको रहेछ भन्ने हुन्छ ।

त्यसो भए तपाईंका गीत हेर्ने हुन् भन्दा न्याय हुन्छ ? 
अन्यायचाहिँ हुँदैन । तर, हेर्ने मात्रै गीत हुन् भन्नुभयो भनेचाहिँ अन्याय हुन्छ ।

कतिपय मानिस उनका गीतमा खोट लगाउँछन्, कतिले आलोचना पनि गर्छन् । कतिका आलोचनाले उनको चित्त दुख्छ । कति आलोचनाले उनलाई थप बलियो बनाउँछ, अझै दह्रो खुट्टा टेकेर हिँड्न प्रेरित गर्छ ।

त्यसैले त उनले आफ्नै बलबुताले संगीत उद्योगमा राजमार्ग खडा गरेका छन् । अनवरत यात्रारत छन् । कहिले मनोरञ्जन त कहिले विभेदविरुद्धका सन्देशमूलक गीत लिएर आइरहेका छन् । यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाइरहेकै छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ११:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu