काठमाडौं । एसिया कप–२०२३ का लागि नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने आज वा भोलिसम्ममा पाकिस्तान जाने भएका छन् । सन्दीपतर्फका वकिल अधिवक्ता मुरारी सापकोटाले आज वा भोलिसम्म एसिया कपका लागि पाकिस्तान जाने बाह्रखरीलाई बताए ।
“सन्दीप आज वा भोलिसम्ममा एसिया कपका लागि जानेछन् । सन्दीप मुद्दाका कारण तनावमा छन् । तर, देशका लागि खेल्न जानैपर्यो,” सापकोटाले भने ।
सन्दीपको मुद्दामा आइतबार पेसी तोकिए पनि हेर्न नभ्याइनेमा परेपछि सन्दीपको पाकिस्तान जाने बाटो खुलेको हो । सन्दीपको आगामी पेसी भदौ २१ गतेका लागि परेको छ ।
एसिया कपका लागि गत मंगलबार नेपाली टिम पाकिस्तान गए पनि सन्दीप भने टिममा थिएनन् ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्ने छ । नेपालले पाकिस्तानसँग भदौ १३ गते र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।