site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सीआईबीले तयार पारेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सार 

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

आइतबार साँझ र सोमबार बिहान पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधवकुमार नेपालको बयान लिएसँगै ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन तयार भएको सीआईबी स्रोतले बतायो ।

अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय बुझाउने तयारीसमेत सीआईबीले गरेको छ । 

स्रोतले भन्यो, “आइतबार नै बुझाउने भन्ने थियो । तर, ललिता निवास प्रकरणमा जोडिएका दुईजना पूर्वप्रधानमन्त्रीको बयान नलिई बुझाउँदा अनुसन्धान अपुरो हुने देखिएपछि उनीहरुको बयान लिएर प्रतिवेदन बुझाउने तयारी गरेका हौँ ।”

सीआईबीले लिखत किर्ते गरेर बालुवाटारस्थित ललिता निवासको करिब २ सय ८४ रोपनी जग्गा हिनामिना गरेको कसुरमा संगठित अपराध मुद्दामा अनुसन्धान गरेको हो । १२ असारबाट आरोपितहरुलाई पक्राउ गरेर अनुसन्धान थालेको सीआईबीले ५६ दिनमा अनुसन्धान सकेको छ ।

संगठित अपराध मुद्दाको ६० दिनभित्र अदालत टेकाउनुपर्ने प्रावधान छ । सोहीअनुसार प्रहरीको अनुसन्धान प्रतिवेदनलाई जिल्ला सरकारी वकिल कार्यालयले अभियोजन गरेर ६० दिनमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने छ ।

सीआईबीले २३ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । जसमध्ये पाँचजनालाई स्वास्थ्य अवस्थाका कारण हिरासत बाहिरै राखेर अनुसन्धान गरेको थियो । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले चार सय ८ जनालाई पक्राउ गर्ने अनुमति लिएको थियो ।

तर सीआईबीले पक्राउ भने २३ जनामात्रै लिएर अनुसन्धान गरेको हो ।  यसअघिसमेत सीआईबीले किर्ते सम्बन्धी अनुसन्धान गरेको थियो । तर, जिल्ला सरकारी वकिल कार्यालयले भने अनुसन्धान प्रतिवेदन अपुरो रहेको भन्दै फेरि अनुसन्धान गर्न फाइल फिर्ता पठाएको थियो । 

सीआईबीले पहिलोपटक किर्तेसम्बन्धी अनुसन्धान गर्दै २२ पुस २०७८ मा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको थियो । तर, अनुसन्धान पूर्ण नभएको भन्दै सरकारी वकिलको कार्यालयले २६ पुस २०७८ मै अनुसन्धान प्रतिवेदन फिर्ता गरेको थियो । 

सो किर्ते प्रकरणलाई सीआईबीले किर्ते तथा संगठित अपराधमा बदलेर पुन अनुसन्धान गरेको हो ।

यस्तो छ सीआईबीले गरेको अनुसन्धान प्रतिवेदन सार

सीआईबीले दोस्रो चरणको संगठित किर्तेको अनुसन्धान तीन भागमा विभाजन गरेर अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।  जसमध्ये ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउने भूमिकामा रामकृष्ण सुदेवी, शोभाकान्त ढकाल र गुरुङलाई राखेर अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

त्यस्तै दोस्रो भूमिकामा विचौलियाहरुलाई फाइदा पुग्ने गरेर किर्ते गरेर जग्गा नामसारी प्रकरणमा जोडिएका मालपोत कार्यालयका कर्मचारी र टिकिन्छा गुठीका कर्मचारी तथा विभागीय मन्त्रीहरुलाईसमेत दोस्रो भूमिकामा राखेर अनुसन्धान प्रतिवदेन तयार पारिएको सीआईबी स्रोतले बतायो ।

सीआईबीले टिकिन्छा गुठीमार्फत् ललिता निवासको चार रोपनी जग्गा रामकृष्ण सुवेदी र शोभाकान्तकै परिवारको नाममा रहकोसमेत उल्लेख गरेको स्रोत बताउँछ । उनीहरुले श्रीमतीको नाममा दुई÷दुई रोपनी जग्गा राखेको खुलाएको छ ।

तेस्रो भूमिकामा भने बिचौलीयामार्फत् सरकारी जग्गा खरिद गर्ने समूहलाई राखिएको सीआईबीले जनाएको छ ।  सीआईबी स्रोतका अनुसार पक्राउ पुर्जी जारी गरिएका ४ सय ८ जनामध्ये करिब २ सय जनालाई फरार प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार गरिएको छ ।

जसमध्ये चारजना पूर्वमन्त्रीहरुलाईसमेत फरार प्रतिवदी बनाइएको सीआईबी स्रोतले बतायो । पूर्वमन्त्रीहरु विजय गच्छदार, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र संजय साहलाई फरार प्रतिवादी बनाइएको छ । उनीहरुबाहेक अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, भूमि सुधार मन्त्रालयका पूर्वसचिवद्वय छविराज पन्त र दिनेशहरि अधिकारीलाईसमेत फरार प्रतिवादी बनाइएको छ ।

उसो त अख्तियारले २२ माघ २०७६ मा उनीहरुमाथि विशेष अदालतमा मुद्दा दायर नै गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १४:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro