समयको गतिसम्बन्धी हाम्रा दृष्टिकोण बदलिएका छन् । यो शताब्दीको आरम्भसम्म मानिसले निरपेक्ष समयलाई विश्वास गर्दथे । प्रत्येक घटनालाई अद्वितीय ढंगले “समय” भन्ने गर्थे । समय संख्याद्वारा अंकित गर्न सकिन्थ्यो र सबै घडीलाई दुई घटनाका बीचको अन्तरालमा मेल खान सक्ने गरी मापन गर्न सकिन्थ्यो तर प्रकाशको गतिलाई हरेक अवलोकनकर्ताले ऊ जसरी चलिरहेको छ त्यही खोजले सापेक्षतावादको सिद्धान्ततिर उन्मुख गरायो ।
त्यसमा कुनै पनि व्यक्तिले एउटा अद्वितीय निरपेक्ष समय हुन्छ भन्ने विचारलाई परित्याग गर्नुपर्यो त्यसको बदला, प्रत्येक अवलोकनकर्ताले लिएको विचारअनुसार आफ्नै समयको माप हुनेछ । अन्य अवलोकनकर्ताद्वारा लिइएका विचार अनिवार्य रूपले मेल खाने छैनन् । यसरी समय एउटा व्यक्तिगत धारणा बन्यो, जुन अवलोकनकर्तासँग सापेक्षिक हुन्छ जसले त्यसलाई नाप्दछ ।
जब कसैले गुरुत्वलाई क्वान्टम यान्त्रिकीसँग एकीकरण गर्ने प्रयत्न गर्दथ्यो, उसले “काल्पनिक” समयको विचारलाई परिचित गराउनुपर्दथ्यो । काल्पनिक समय स्थानका दिशाबाट अभेद्य छ यदि कोही उत्तर जान सक्दछ भने, ऊ घुमेर दक्षिण फर्किन सक्दछः त्यसैगरी, यदि काल्पनिक समयमा कोही अगाडि जान सक्दछ भने, ऊ घुमेर पछाडि जान समर्थ हुनुपर्दछ ।
यसको अर्थ के हुन्छ भने काल्पनिक समयका अग्र र पश्च दिशाका बीचमा कुनै महत्त्वपूर्ण भिन्नता हुनसक्दैन । अर्कातिर, जब कसैले “वास्तविक” समयमा हेर्दछ, उक्त अग्र र पश्च दिशाका बीचमा ठूलो भिन्नता हुन्छ, जस्तो हामी सबैलाई थाहा छ । भूत र भविष्यका बीचमा यो भिन्नता कहाँबाट आउँछ ? किन हामीले भूतको स्मरण गर्दछौं तर भविष्यको गर्दैनौं ?
समय गतिशील छ, त्यसैले प्रत्येक क्षण परिवर्तन भइरहेको हुन्छ । सन् १९६० को दशकपछि चर्चामा आएका सामाजिक, सांस्कृतिक, राजनीतिक र साहित्यिक क्षेत्रका वैचारिक आन्दोलनका दृष्टिकोणलाई नै यहाँ समय चेतना मान्न खोजिएको छ । यसले विशेषतः सत्य, ज्ञान र अर्थलाई विशिष्ट परिस्थिति र परिवेशका रूपमा बुझ्नुपर्दछ भन्ने विषयलाई अगाडि सारियो ।
पश्चिमी मुलुकमा रहेका अभिजात वर्गले अपनाएका संस्कृतिका विरोधमा विभिन्न समुदायले विद्रोहका रूप लिएका थिए । तिनलाई पछि गएर नारीवादी, जातिवादी र रङ्गवादी आन्दोलनका नामले परिचित गराए । विशेषतः आधुनिक विचारसँग सहमत र असहमत हुँदै पुँजीवादको पुनः संरचना र राजनीतिक उथलपुथलसँगै अघि बढाइएका यस्ता आन्दोलन विभिन्न स्वरूप, दृष्टान्त र विचार लिएर नेपाल प्रवेश गरेको चर्चा पनि चार दशकभन्दा बढी भएको छ ।
समय भनेको गति हो जसले भौतिक चिन्तन र बौद्धिक चेतनालाई समाजको गति विकसित गर्न र चेतनशील बनाउन मद्दत गर्दछ । त्यस समाजमा रहेका बौद्धिक व्यक्तिको शिष्टता र सभ्यताका आधारमा केही भूमिका रहन्छ । विशेषतः हामीले विश्वसाहित्यमा देखेका उत्तरआधुनिक विचारकमध्ये प्रायः वाम विचारधारा र तिनले बोकेको वामपन्थी जडतालाई त्यागेर उदारताको बाटो अवलम्बन गरेका विषयले समाजलाई कति स्वतन्त्रविचारका पक्षमा अग्रदिशा दिएका छन् त्यो बुझ्नु जरुरी छ ।
साथै यसबाट मार्क्सवादी चिन्तन अब कसरी उत्तरमार्क्सवादी धारतिर जाँदैछ र अबका दिनमा मार्क्सवादीको बाटो कसरी तय हुनेछ भन्ने कुराको जानकारी पाउन सकिन्छ । साथै राजनीतिक दल र तिनले अवलम्बन गरेका मार्गले जनतासँगको सम्बन्धमा कस्तो भूमिका निर्वाह गरेको छ भन्ने विषयमा बहस चलेको छ ।
‘हिगेलका अनुसार विकास भनेको बुद्धिको विकास, चेतनाको विकास हो । जसबाट समाजमा रहेका संघ संस्था र राज्य विकासका लागि बल मिल्छ । मार्क्सकाअनुसार विकास भनेको आर्थिक विकास हो जसबाट बौद्धिक चेतनाको प्रवद्र्धन र समाजमा परिवर्तन आउँछ । हिगेलीय चिन्तनमा यथार्थको जग चेतना हो, मार्क्सीय चिन्तनमा चेतनाको जग यथार्थ हो । व्यक्तिगत मनको अथवा विचारको सामूहिक रूप पूर्णविचार हो ।
एब्सोल्युट आइडिया जसलाई हिगेलले विश्वात्मा/वेल्टजिस्ट भने । प्राच्य उपनिषद्का उपदेष्टा वेदान्तविद्ले ब्रह्म भने । जगत्का खण्डलाई बुझ्न विश्वात्मा/ब्रह्मा बुझ्नुपर्छ जो हिगेलीय अभिमतको समग्रता नै टोटालिटी हो । ऐतिहासिक र सामाजिक अर्थमा विश्वात्मा र ब्रह्मा सामाजिक समग्रता हुन्, सामूहिक मन हो ।’
तर ब्रह्मा, बुद्धि, मन र विवेक फरक फरक कुरा हुन् ।
बहुदलीय विश्व व्यवस्थामा जति नै राजनीतिक स्वतन्त्रताका नारा फलाकिए पनि तिनले जनतालाई स्टकहोम सिन्ड्रोममा जस्तै बन्धक बनाएर राखेका हुन्छन् । स्टकहोम सिन्ड्रोम भनेको मानिसलाई वैचारिक सम्मोहनले बाँधेर राख्नु हो । यो सिद्धान्तलाई एक किसिमको सम्मोहन कला नै भने पनि हुन्छ । हरेक पार्टी सदस्यको जीवन बन्धनमा पारिएको हुन्छ, करेली लगाएको घोडाजस्तै अझ कम्युनिस्ट पार्टीको कुरा गर्ने हो भने तिनका कार्यकर्ताले आफूभन्दा माथिल्लो तहका नेताका बारेमा सानो टिप्पणी गर्यो भने उसको जीवन धरापमा पर्न जान्छ ।
त्यसमाथि समग्र पार्टी पोलिटब्युरोद्वारा सञ्चालित हुन्छ साथै समाजमा देखाउने जनवाद भनेको हात्तीको देखाउने दाँतजस्तै हो । यो सामन्ती शासन व्यवस्थाभन्दा पनि खतरनाक खेल हो भनेर प्लेखानोभले टिप्पणी गरेका थिए । यही कारणले उनी पार्टीबाट निश्कासित भएर निर्वासनमा जानु पर्यो । जुन पार्टीमा आन्तरिक लोकतन्त्र हुँदैन त्यो व्यवस्था निरङ्कुश राजतन्त्र भनूँ वा जारशाहीभन्दा पनि खतरा हुन्छ । त्यसैले अबको युग भनेको सामाजिक लोकतन्त्रको युग हुनुपर्छ भन्ने हाम्रो मान्यता हो ।
यहाँ जो कोहीलाई पार्टी बिहीन भएर बस्दा आफूलाई असुरक्षित भएको महसुस हुन्छ । जसमा बन्धकले कसरी बन्धनमा पारेको छु त्यो उसलाई थाहा हुँदैन । त्यसबाट बाहिर निस्कन पनि गाह्रो हुन्छ, उसलाई मनोवैज्ञानिक प्रभावमा पारिएको हुन्छ ऊ सम्मोहित भइसकेको छ । त्यसैले ऊ भावनात्मक बन्धनमा परेर नै आफूजस्तै अरूलाई पनि कैद गर्ने र बन्दी बनाउने खेलमा लागेको हुन्छ तर यी राजनीतिक कार्यकर्ताले भोग्नुपरेका खतरा र जोखिम जेजस्ता भए पनि हाम्रा यी कुरा तर्कहीन मानिन्छन् ।
स्टकहोम सिन्ड्रोम कहिल्यै मानसिक विकार वा डीएसएम (डायग्नोस्टिक र स्ट्याटिस्टिकल म्यानुअल) मा समावेश गरिएको हुँदैन, यी मनोवैज्ञानिक बिरामी र विकार निदानका लागि मानक उपकरणजस्तै हुन्, शैक्षिक अनुसन्धानको अभावका कारण युएस फेडरल इन्वेस्टिगेसन अफ इन्भेस्टिगेसनले नोट गरेझैं यो स्टकहोम सिन्ड्रोमबाट बाहिर निस्कन एकदमै मुस्किल छ, यो होस्टिङ ब्यारिकेड डाटाबेस प्रणाली र कानुन प्रवर्तन बुलेटिनले अनुमान गरेजस्तो अपहरण कर्ता स्वयं पीडित छ, त्यसैले स्टकहोम सिन्ड्रोमलाई राजनीतिक शास्त्रमा मनोवैज्ञानिक बन्दीका रूपमा पनि लिन सकिन्छ, यसमा दुवैपक्ष बन्धक र बन्दी पीडित हुन्छन् ।
पार्टी र त्यसका भातृसंगठनमा जति पनि कार्यकर्ता छन् ती सबै एक किसिमले मानसिक रोगका बन्दी हुन् । किनकि, उनीहरू पार्टीले गरेका गलत कामको भण्डाफोर गर्न सक्तैनन् यदि कसैले गर्न खोज्यो भने तिनमाथि कुट्न जाइलाग्छन् । त्योभन्दा ठुलो रोग अरू के हुनसक्छ ? त्यसैले अहिलेको समाज पनि उत्तरआधुनिक बन्दी भएको छ, त्यसबाट बाहिर निस्कन नसक्ने गरी जीवनका हर क्षेत्रमा भ्रम बोकेर बाँचेका छौं । असत्यका थुप्रालाई सत्य भनिरहेका छौं । एकं सद् विप्रा बहुधा वदन्ति सत्य एउटै छ तर यसलाई ज्ञानीजनले अनेक किसिमले व्याख्या गर्छन् (ऋग्वेद १ः१६४ः४६) यो कुरा भौतिकवादीहरू मान्न तयार छैनन् ।
त्यस्तै राजनीतिक क्षेत्रमा होस् वा सामाजिक क्षेत्रमा आफ्नो प्रभाव कायम राख्न अनेक जालझेल गरेर राजनीतिक दलले आगामी १५/२० वर्षका लागि कुन दलका को–को प्रधानन्यायाधीश, न्यायाधीश बनाउने सेटिङमा लागेका हुन्छन् । कार्यसम्पादनमा न्यायिक टिप्पणीमा, न्यायपरिषद्मा कार्बाहीका लागि सिफारिस भएका तथा दलका न्यायाधीश नियुक्त हुन्छन् । तिनको कार्यदक्षताको प्रतिफल देखिन थालेको छ । यिनै हुन् पार्टीमा हुने बन्दीका नमुना ।
‘न्यायाधीशको चयन, संविधान–कानुनको निर्माणमा (विश्वविद्यालय, सेना र प्रहरीका प्रमुख पदमा) राजनीतिक पार्टीको योजनाअनुसार प्रमुख बन्ने र बनाइने हुँदा तिनीहरू पनि निरपेक्ष रूपले स्वतन्त्र हुँदैनन् ।’ पार्टीका तर्फबाट राज्यले मुलुकको सार्वजनिक र नागरिकको व्यक्तिगत जीवनलाई नियमित नियन्त्रित गरेका हुन्छन् । कानुन पनि दुई किसिमले चलाइन्छ पार्टी कार्यकर्ता र सर्वसाधारणका लागि न्याय प्रणाली फरक छन् ।
अदालतलाई आफ्ना भातृ संगठनसरह बनाएका छन् । यसरी लोकतन्त्रमा पार्टीले आफ्नो छनोटका आधारमा पार्टी–प्रतिनिधिमार्फत् राज्य सञ्चालन गर्छन् भने त्यो कस्तो लोकतन्त्र हो ? त्यहाँ स्वतन्त्र नागरिकको हैसियत कहाँ रह्यो ? मार्क्सले संसद्लाई पुँजीपति वर्गको स्वार्थको व्यवस्थापन गर्ने कमिटी भनेका थिए । आज हामीले पनि पार्टी कमिटीलाई स्वार्थको ‘चोचोमोचो’को व्यवस्थापन गर्ने संगठन बनाएका त छैनौँ ?
बहुमतले गरेको निर्णय विवेकपूर्ण हुन्छ भन्ने कुरा हरेक लोकतान्त्रिक व्यक्तिले स्वीकार गर्छ । किनभने कुनै निर्णय विवेकपूर्ण छ वा छैन भन्ने कुराको जाँच गर्ने निकाय पनि कमिटी नै हो । वास्तविकता के हो भने पार्टी स्थायी कमिटीमा अनेक विचार आएका छन् । कसैलाई मन पर्ने वा नपर्ने जस्तोसुकै विचार आएका भए पनि त्यसमाथि छलफल गरेर निर्णय गर्ने अधिकार कमिटीलाई छ । फेरि, आजको परिस्थितिमा स्थायी कमिटीले कसैको ‘पत्तासाफ’ गर्ने निर्णयमा पुग्नुपर्ने कारण पनि छैन ।
यी कुराले के देखाउँछ भने नागरिक वा मतदाता मात्र पार्टीका बन्दी होइनन् देश नै पार्टीले आफ्नो अनुकूल बनाउने परिपाटीको विकास भएको छ । पार्टीले आफू अनुकूलका कार्यकर्ता बनाएर देशका महत्त्वपूर्ण संघ संस्थामा भरेपछि स्वतन्त्र नागरिकको हैसियत कहाँ रह्यो र ?
स्वतन्त्रता र लोकतन्त्रमा देशको न्याय र कानुन प्रणाली स्वतन्त्र हुन्छ भनिए पनि राजनीतिक स्वतन्त्रता पार्टीको भिडवाद र हैकमवादमा अडेको हुन्छ । यहाँ विधिको शासन होइन हुलको शासनमा चल्ने संस्कारको विकास भएको छ । न्यायको आत्मा भनेको स्वतन्त्र न्यायालय हो तर न्यायालय नै पार्टीका मुठ्ठीमा राखेपछि न्याय कहाँ हुन्छ ? लोकतन्त्र र स्वतन्त्रता भनेका राजनीतिका शिकारीले थाप्ने धरापजस्तै हुन् । यहाँ लोकतन्त्रको हरियो घाँस देखेर कति नागरिक धरापमा पर्न आउँछन् अरु जे भए पनि उनीहरूको गति पनि ढोक्सामा परेका माछाका जस्तै भएन र ?
दुई
यसपछि हाम्रो बहस विचारमा संशोधन र अन्तरराष्ट्रिय घटनाबारे हो । विचारमा बहस भनेको विचार र चिन्तनको परिमार्जन हो, छुटेका कुरालाई थप्नु रहेका भ्रम हटाउनु, तर हाम्रोमा परिमार्जन हुनुलाई घोर आपत्ति मानिन्छ । शुरूमा कुनै पनि विषयवस्तु वा विचार आफैंमा पूर्ण हुँदैन, क्रमशः परिमार्जित हुँदै जान्छ ।
यस विषयमा अनेक सहमति र असहमतिका धूमिल आवाज सुनिन्छन् ती आवाजलाई नेपाली जनमानसमा राजनीतिक आवरणले ढाकेर मात्र बुझ्ने गरिन्छ, जबकि लामो समयसम्म यस विषयमाथि चलेको बहसलाई केन्द्रमा राखेर विभिन्न लेखक, साहित्यकार, राजनीतिक विश्लेषकले विवेचना गर्दै आएका छन् । तीमध्ये साहित्यमा आफ्ना विचार राख्दै आएका इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वर बल्लभले ल्याएको तेस्रोआयाम (२०२० सालमा) का विचारमा नेपाली साहित्यमा उत्तरआधुनिकताको झल्को पाइन्छ ।
यस क्षेत्रमा लाग्ने अरू साहित्यकार, समालोचकमा प्रा. अभि सुवेदी, डा. गोविन्दराज भट्टराई, प्रा. कृष्ण गौतम, प्रा. सञ्जीव उप्रेती, कवि मोहन कोइराला उपन्यासकार डा. ध्रुवचन्द्र गौतम, कृष्ण धरावासी, समाजशास्त्री प्रा. चैतन्य मिश्र र वैज्ञानिक डा. दयानन्द वज्राचार्यले विज्ञान र सामाजिक परिवर्तनका विषयमा आफ्ना विचार राख्दै आएका हुन् ।
समाज बन्ने र भत्कने क्रम अनादिकालदेखि जारी छ । हामीले बुझेको र देखेको समाज मात्र सत्य हो भन्ने भ्रम छ । तर सुनेको संसार पनि सत्य हुनसक्छ भनेर ज्ञान दिनु आजको आवश्यकता हो । यद्यपि एउटै पुस्ताले सधैंभरि समय र समाजको नेतृत्त्वले लिन सक्तैन । यसका लागि नयाँपुस्ता तयार हुनुपर्छ । यदि युवाले पनि बुढा विचारकै पछिलाग्ने हो भने युवाको हैसियत कहाँ रह्यो र ? त्यसले सामाजिक परिवर्तन कसरी सम्भव होला । समाज र साहित्यलाई हेर्ने विचार जसलाई चौथो आयामका आधारमा हेर्न सकियो भने समाज परिवर्तन होला । नत्र हामी जहाँको त्यहीँ रहनु पर्ने अवस्था आउन सक्छ ।
नेपाली राजनीतिमा चौथो आयामको विचार भनिएपछि मात्र उत्तरआधुनिकबारे प्रष्ट बोल्न थालियो । यसबारे वीपी कोइरालाका विचारमा केही दम पाइन्छ । उनले आफूलाई ‘साहित्यमा अराजकतावादी र राजनीतिमा समाजवादी’ हूँ भनेर काङ्ग्रे्रेसले आफ्नो कार्यनीतिमा नै प्रजातन्त्र र समाजवादको कार्यक्रम ल्याउँदा दरबार र राजनीतिक क्षेत्रमा एउटा कम्पन शुरू भयो ।
विश्व कम्युनिस्ट आन्दोलनले देखाएका प्रणालीका आधारमा कम्युनिस्ट निर्दलीय परिपाटीमा विश्वास राख्ने हुनाले उनीहरूसँग कार्यगत एकता हुन नसक्नुको कारण पनि त्यही थियो । सन् १९९० तिर मिखाएल गोर्भाचोभले सोभियत संघमा खुलापन र पुननिर्माण कार्यक्रम लागू गरेपछि युरोपभरि परिवर्तनको आगो सल्कियो । यही नै कम्युनिस्ट पार्टी विघटनको शुरुवात थियो ।
यही बतासले नेपालका वामपन्थी पार्टीलाई पनि आफ्नो तत्कालीन कार्यनीतिमा बहुदलीय शासन प्रणाली स्वीकार्ने बनायो । आफ्नो पार्टीको मार्गदर्शक सिद्धान्त नै बहुदलीय जनवादमा आइपुगेपछि झण्डै उनन्तीस वर्ष छुट्टाछुट्टै धुरी धुवाँएर बसेका कांग्रे्रेस र कम्युनिस्टको कार्यगत एकता भई निरङ्कुुशता विरोधी आन्दोलनमा सहभागी भएर पञ्चायतको अन्त्य गरेका हुन् । यो दर्शन पनि उत्तरआधुनिक विचारको एउटा पाटो हो । मार्क्सवादीले यस शिविरमा आउनु पनि उत्तरमार्क्सवादी धारको नयाँढोका खोल्नुजस्तै हो । किनकि त्यतिबेलासम्म मार्क्सवादी शिविरमा बहुलवादलाई खुला गरिएको थिएन ।
उत्तरआधुनिक विचारमा प्रशस्त आरोप प्रत्यारोप छन् । यो सुन्दा–पढ्दा कतिपयलाई अन्योल पनि लाग्न सक्छ, यी विचार र दर्शन अनिश्चियको जङ्गल जस्तै हुन्, जुन हेरे पनि उस्तै लाग्ने त्यसैले यहाँभित्र धेरै भ्रम छन्, त्यसमा पनि भर्चुएल प्रणाली (मायिक यथार्थ) छ तर यो समयले ल्याएको प्रगति हो । यो परिस्थितिको सृजना मानिसकै मिहिनेत र पसिनाले भएको हो । हामी जङ्गलीयुगबाट अहिलेको यो साइबर युगसम्म आइपुग्दा के कति समस्या भए ती समयसँगै अघि बढ्ने आधार हुन् । यी समस्या भनेका विकासका चरणमा उक्लिने र अघि बढ्ने खुट्किला मात्र हुन् । त्यसैले यो एउटा बाटो देखाउने र समय चिनाउने रेखाचित्र हो ।
यहाँ चर्चा गर्न लागिएका विषयमा विचारका अनेक गाँठामा बहस भएका छन् जुन सूचना र प्रविधिका, उत्तरसंस्कृतिका विषयलाई लिएर हुने र नहुनेका बीच अवरोध हुने गरेका छन्, तर यस्तो हुनुमा विरोध गर्नेको मात्र दोष छैन यो त समयले ल्याएका परिणाम हो । जतिबेला अन्धकारको युगमा बाँच्नुपर्ने बाध्यता थियो । यी नयाँ र पुराना, अघिल्ला र पछिल्ला पुस्ताका बीचमा हुने जुन फरकपन छन् यिनलाई पुस्तान्तर भने पनि हुन्छ । कतिपयका मस्तिष्कलाई रूढता र जडताले अवरुद्ध पारेको छ ।
विरोध त हिजो आधुनिक विचारलाई पनि केही बुद्धिजीविले गरेका हुन् । बिसौं शताब्दीको मध्यतिर बुढो कुँजिएको पुँजीवादी विचार भनेर आधुनिकतालाई भनेका थिए तर त्यो समय आएरै छाड्यो । स्थापित चेतना र चिन्तनसँग नयाँचेतना केही समय टकराउन सक्छ । पुराना विचारले नयाँचेतनामाथि फडा उठाउन सक्छ । फेरि अर्को नयाँसंस्कृति भोलि आउन सक्छ, यो नै अन्तिम र निर्विकल्प समय होइन । यो क्रम निरन्तर चलिरहन्छ, जब मानिसले संसारलाई अनिश्चयका आँखाले हेर्दछ, तब मात्र सत्यको नजिक पुग्दछ । सत्य सधैं बदलिरहने विषय हो । यस्ता विचार यहाँ कति आए र अरू कति आउँछन्, कति जान्छन् यी सबै समयका खेल हुन् ।
तीन
आर्थिक उदारीकरण पुँजीवाद उन्मुख अर्थतन्त्रलाई अँगाल्दै चीनले पनि वर्षौदेखि बन्द भएका झ्याल ढोका सन् १९७० देखि खोल्ने नीति लियो । त्यसपछि चिनियाँ सरकारको अगुवाइमा नयाँ विकास बैंक (एनडीबी) जस्ता वित्तीय संस्थाले पुँजीवादीकरणलाई एकलौटी गर्न ब्राजिल, रुस, इन्डिया, चीन र दक्षिण अफ्रिकाको संयुक्त लगानीमा ब्रिस बैंक खुल्यो । यसको मुख्यालय साङ्घाइमा छ ।
हिजोसम्म चीनले बाहिरबाट फोहर, मैला र मच्छड आउँछ भनेर ढोका थुनेको थियो तर देङस्याओ फिङको आगमनपछि झ्यालढोका खुल्ला राखे स्वच्छ हावा पनि आउँछ, झिँगा र मच्छडलाई जाली लगाउने शर्तमा ढोका खोलेका थिए भनेर बताउँछन् । त्यसले गर्दा जर्मनी, जापान र भारतका साथै अन्य विकसित मुलुकका व्यापारीले पनि ठुलठुला महल र विश्वका नामुद पुँजीपतिले चीनमा गएर वित्तीय संस्थामा लगानी गरी सहकार्यको थालनी गरे ।
जर्मनीले त चीनको बेजिङमा लुफथाङसा डिपार्टमेन्टल स्टोर नै सञ्चालन गरेको छ । त्यसैले विश्वका पुँजीपतिका होडबाजीका कारणले विश्वको शासन व्यवस्था समेत परिवर्तन भयो । समाजवादमा पुँजीवादको प्रवेश भएको पाइन्छ । आज विश्वका हरेक देशले उपभोग्यवस्तु प्रविधि र वित्त बजारमा चीनको प्रभाव रहनेछ । साम्यवादीले आफ्नो एकत्ववादको अन्त्य गर्दै बहुलवादको शुरुवात तथा खुला समाजमा प्रवेश गर्दै वैचारिक धरातलमा उत्तरमार्क्ससवाद, उत्तरआधुनिक जीवनशैलीमा उत्तरसंस्कृति हावी भयो ।
चार
अहिले उत्तरऔपनिवेशिक सांस्कृतिक संस्थाले हातमा हरियो घाँसरूपी डलर लिएर संसारभर घुमिरहेका छन् । हिजो प्रत्यक्ष उपनिवेशमा संलग्न संस्था आज अप्रत्यक्ष किसिमले फेरिएका छन् । तिनीहरू कोही व्यापारी भएर, कोही अनुदानदाता, ऋण दिने, विकास सहयोग दिने, कोही बैंक खोल्ने नाममा तेस्रो मुलुकमा आफ्नो काम गरिरहेका छन् ।
कसैले सहयोगका नाममा शिक्षा, स्वास्थ्य, विद्युत्, बाटो, खानेपानी, दलित, महिला, बालबालिका, निर्माण सामग्री, रेलवे, राजमार्ग, गाडी, घर, जग्गा, सम्पत्ति, पावरग्रिड, फलाम, इस्पातखानी र वित्तीय संस्थामा विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषका माध्यमबाट प्रशस्त लगानी भित्रिएका छन् तर ती रकमको उचित सदुपयोग हुन सकेको पाइँदैन, निम्नवर्ग र सम्बन्धित क्षेत्रमा रहनेले त्यो रकम उपयोग गर्न पाएका छैनन् भन्ने प्रमाण दशकौंदेखि अरबौं रकम गरिबका नाममा आएको आएकै छ तर ती दुःख पाउनेको गरिबको दुःख निवारण हुन सकेको छैन । त्यसका ज्वलन्त उदाहरण गरिबी निवारण आयोग, दलित आयोग, जनजाति आयोगजस्ता संस्थाले वषौं भयो काम गरेका तर नेपालका गरिब, दलित र जनजातिको दुःख बढिरहेको तथ्याङ्कले देखाउँछ । त्यसपछि उपनिवेशका नयाँ रूपमा अरू संस्था जस्तै बी.आर.आइ र एम.सी.सी.को नाम जोडिएर आउँछ ।
अमेरिकी कंग्रेसले जनवरी २००४ मा द्विपक्षीय समर्थनका साथ बनाएको एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन)ले आर्थिक वृद्धि गरी गरिबी घटाउने र स्थानीय संस्थालाई सुदृढीकरण गर्न सीमित अनुदान प्रदान गर्ने उद्देश्य लिएको छ । पूर्वाधार लगानी, शिक्षा, निर्माण सामग्री, रेलवे, राजमार्ग, गाडी, घर जग्गा सम्पत्ति, पावर ग्रिड, फलाम र इस्पातमा लगानीमा साझेदारी गर्ने हो भन्ने भनाइ छ ।
चीनको बेल्टरोड (बेल्ट एण्ड रोड इन्सिएटिभ २०१३ बीआरआइ) ले देशमा स्थायित्व र समृद्धिलाई समर्थन गर्छ । यसको उद्देश्य अन्तरराष्ट्रिय बजार र घरेलु बजारको पूर्ण उपयोग गर्ने रहेको छ । बेल्टरोडको पहलले दुई हजार वर्ष पुरानो ऐतिहासिक भौगोलिक क्षेत्रलाई सम्झाउँछ । यो ऐतिहासिक “रेशम मार्ग”, जुन पुरातात्त्विक हिसाबले लगातार प्रयोग भइरहेको थियो ।
यी र यस्ता अनेक अन्तरराष्ट्रिय सामाजिक संस्था देशमा कार्यरत छन्, सिधा भाषामा खास फरक नपरे पनि दीर्घकालीन असर त पर्छ नै । देश उत्तरसंस्कृतिका प्रभावले कालान्तरमा अर्काको पन्जामा पर्ने त होइन भन्ने शंका गर्ने प्रशस्त आधार छन् ।
(गौतमको हालै सार्वजनिक निबन्धसंग्रह ‘कठैबरा काठमाडौं !’ को अंश)