site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
साहसिक कथाहरूमा एक दृष्टि

आख्यानमा छुट्टै पहिचान बनाएकी मनिषा गौचनको लेखाइ कुनै वादविशेषभन्दा माथि हुन्छ । समाजवरिपरिकै सेरोफेरोमा रहेका तर समाजको दृष्टि नपुगेका विषयवस्तुतिर दृष्टिचेत हुन्छ, उनका सिर्जनामा ।

सामाजिक मूल्य–मान्यता गलत आँखाले बुझ्ने कारण उजागर गर्न हिम्मत चाहिन्छ । यही हिम्मतका साथ यथार्थको सत्यापन भएका हुन्छन् । यस्तै घटनाहरूले भरिएका हुन्छन्, मनिषाका कथा । लुकेका विषयमाथि स्वतन्त्र दृष्टिबोधसहित आएका उनका कथा आमकथाहरूभन्दा पृथक् स्वादका भेटिन्छन् ।

मनिषा कथाहरूमा आफ्नो बौद्धिक अनुभूतिलाई प्रभावोत्पादक बनाएर पोख्न खप्पिस छिन् । उनी समाजका गुमनाम चरित्र र घटनाप्रति संवेदनशील भएर लेख्दै कथाका पात्रहरूलाई न्याय गर्ने सामर्थ्य राख्छिन् ।

Dabur Nepal
NIC Asia

आँखाले ठम्याएका र मनले खाएका सपाट तथ्यहरूमा कथा बुन्छिन्, उनी । दुनियाँलाई दङ्ग्याएर समाजमा लुकेका कुरा नङ्ग्याउन सफल मनिषाको ‘प्रतिवहन’ पनि त्यही लयमा हिँडेको देखिन्छ । 

देख्दा असाध्यै मिहिन तर सुन्दा गम्भीर हुनुपर्ने विषयवस्तु समेटिएका भावमा बहेका छन्, ‘प्रतिवहन’भित्रका १९ कथा । आख्यानलाई जहिल्यै नयाँ ढंगले प्रस्तुत गर्ने क्षमता मनिषामा छ भन्ने ‘प्रतिवहन’का कथाहरूले प्रमाणित गरिदिएको छ ।

कथाहरू बगैँचामा फुलेका विविध रङ र बास्नाका ढकमक्क फूलहरू लाग्छन् । नवीनताको आभास मिल्छ, त्यहाँ । कथामा तय पात्रहरूसँगै डुबेर कथा लेखिएको छ । प्रायजसो कथाहरू प्रेमतत्त्वकै वरिपरि केन्द्रित भएको भान हुन्छ ।

तर, यसमा कामुक प्रणय प्रदर्शन छैन । कतिपय पात्रका चरित्र यौनप्रति आशक्त लाग्छन् । स्वार्थपरक भावनामा बेरिएका देखिन्छन् ।

कतै पात्रहरू पीडा र आर्तनादमा परेका विवश, विक्षिप्त र लाचार देखिन्छन् । दुर्बल मानसिकताको सिकारको भोगाइ पनि यसमा पढ्न सकिन्छ । कुनैकुनै कथा त फिल्मका पटकथाझैँ लाग्छन् ।

जीवनका विविध रूप भोगिएर जन्मेका अनुभूतिलाई रोचक शैलीमा ढालेर कथा प्रस्तुत गर्ने सामर्थ्य र खुबी उनका आख्यानमा प्रस्ट देखिएको छ । जानिँदो पाराका विषयसूत्रको उपस्थितिले कथाहरू भरिएजस्ता लाग्छन् ।

प्रायः महिलालाई केन्द्रीय पात्रका रूपमा उभ्याएर कथा बुनिएको छ । कथाहरू नाटकीय लाग्दैनन् । सत्यताको वरिपरि नै घुम्छन् । कथा रचना गर्दा कथाकार अत्यन्तै सजग भएको देखिन्छ । यथार्थको गहिराइमा डुबुल्की मारेर कुनै पनि कथा बुन्नु उनको अन्तर्दृष्टिको परिणति लाग्छ ।

व्यवस्थित, सुकोमल, बान्की परेका कथाहरू, जहाँ फरकफरक वर्गले व्यहोरेका पीडा, आर्तनाद, व्यथा, विभेदका करुणाजन्य प्रतीतिहरूको परिवेशलाई कथाको रूप दिइएको छ ।

कथाका पात्रहरू अत्यन्तै सजीव चरित्रका लाग्दछन् । अरूले हिम्मत नगरेका बोल्ड विषयहरूमा कथा सिर्जना गर्नु आफैँमा महत्त्वपूर्ण हो । यसमा उनको संवेदनशील हृदयले काम गरेको देखिन्छ । लाग्छ, कथाकार स्वानुभूतिले लछप्पै भिजेर कथा लेख्छिन् ।

संग्रहको पहिलो कथा ‘अतृप्त भोक’ मातृवात्सल्यले भरिपूर्ण आमा उसिनुमाया तथा उनकी अपांगता भएकी छोरी बालाको कथा हो । कथामा बालाको शारीरिक असमर्थताको अनुचित लाभ उठाउँदै गरेका दानव पुरुषको चरित्र उजागर गरिएको छ ।

दोस्रो कथा ‘पाठेघर’मा एउटी महिलाको पाठेघर निकालेपछिको सम्पूर्ण अवस्थाको चित्रण गरिएको छ । जहाँ पाठेघरविनाकी महिलालाई उनको परिवार, श्रीमान्लगायत व्यक्तिले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार देखाइएको छ ।

कसैको सिन्दूर लगाएकै कारणले सुरक्षित महसुस गरेका महिलाको कथा हो, ‘दोबिल्ला’, जहाँ जतिसुकै प्रताडना सहनुपरे पनि त्यही कारण सहन गर्ने महिलाको कथा छ । ती महिलाले विवाह र पतिको महत्त्व दर्शाएकी छन्, यहाँ । ‘तिर्खा’मा पूर्वप्रेमीसँगको सम्बन्धलाई विवाहपछि पनि निरन्तरता दिने महिला केन्द्रीय पात्र रहेकी छन् ।

घर छोडेर विदेशिन बाध्यका पतिपत्नीको कथा ‘शशिरमाको शल’मा शारीरिक इच्छा पूरा गर्न उद्यत पात्रलाई प्रस्तुत गरिएको छ । त्यो वैदेशिक रोजगारमा जाने औसत नेपालीको परिवारमा घट्ने यथार्थ घटनाको फेहरिस्त हो भनिदिँदा फरक परोइन ।

हाम्रो समाजको क्रूर जातीय÷क्षेत्रीय विधानले आफ्नो पहिचान गुमाएकालाई दिएको पीडाको कथा हो, ‘ऊ फेरि खेदिन्छ’ ।

आफ्नो शरीर बिक्रीमा राखेकी अल्पिनाको कथा हो, ‘कुमारीत्व’ । यो कथामा मुख्य पात्र अल्पिनाको आफ्नै बाउ ग्राहकका रूपमा प्रवेश भएको हुन्छ । मनै रन्थन्याउँछ र पाठकलाई सोच्न बाध्य बनाउँछ, यस्तो पनि हुन्छ र भनेर ।

‘क्याप्सुल’ कथाले मस्तिष्क हल्लाउन सक्छ । यसमा श्रीमान्को प्रताडना सहन गर्न नसकेकी अधबैँसे परिपक्व महिला र भर्खरको यौवनले भरिपूर्ण युवकबीचको सम्बन्धको कथा उनिएको छ । ‘बेबी सावर’जस्ता कथाले पाठकको मन झस्काउँछ ।

समाजमा हुने विभिन्न घटनाहरूलाई उनले नजिकबाट नियालेकी छन् । जुन घटनाले उनको मन छोएको छ, त्यो विषयले कथामा स्थान पाएको छ । सिर्जनामा समाजको अँध्यारो पक्षहरूको सांगोपांगो तस्बिर उजागर भएको छ ।

कथाहरू कल्पनाशीलताभन्दा सत्यको नजिक देखिन्छन् । विकृति र विसंगतिका यावत् शृंखलाहरूको खातको प्रस्तुति मार्मिक छन् । कथाको विशेषता हेर्दा लाग्छ, कथानक स्वाभाविक छ ।

सूक्ष्म रूपमा टिपिएका कथानकता समाजका लुकेका सत्य हुन् झैँ लाग्छन् । यसो हेर्दा नारीवादी पनि लाग्छन् कथा, जहाँ नारीसुलभ समर्पणको आखेट बढी देख्न सकिन्छ । मानवतावाद नै कलुषित हुने अविवेकी बनेका मानवका कथा पनि यहीँ छन् ।

भाषाको सरलताले कुनै पनि तहका पाठकले कथाको स्वाद लिन सक्छन् । शुद्ध नेपाली ग्राम्य भाषाको प्रयोगले कथामा मिठास भरिएको छ । कथाहरूमा मानवीय विसंगति झल्किन्छ । हेर्दा लाग्छ, कथाहरूमा यौनको प्रस्तुतिकरण कथा प्रवृद्धि भएर आएजस्तो ।

नारीका मनोदशा, शारीरिक अवस्था फरक हुनेका जटिलतापूर्ण जीवनकथा विषय बनेका छन् । भुक्तभोगीले भोगेजस्तो, आफ्नै आँखाले देखेजस्तो, आफ्नै मनले छामेजस्तो, आफ्नै वरपरका सामाजिक विषयवस्तुमा मन नै घबराउने सफल कथा छन्, यस कृतिमा ।

समाजका लुकेका काला कहानी छन्, त्यहाँ । जब म ती पात्रहरूमा छिर्छु, भीषण लाग्छन्, कथा । संवेदनाले मन छुन्छ र रुझेको झरीजस्तै हुन्छ मन । गला नै अवरुद्ध हुन्छ ।

यदाकदा उनका कथा कताकता चिप्लेजस्तो पनि नलाग्ने होइन । तर, पात्रहरूको उतिसाह्रो भीड नभएको, विश्वसनीय चरित्रको उपस्थिति, सामाजिक परिवेशबाट टपक्क टिपिएका सन्दर्भ प्रयोगका कारण कथाहरूले दर्बिलो स्थान बनाउन सक्ने विषयमा शंका रहन्न ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro