site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कसरी खुल्यो सिम्रनको गायकीको ढोका ?

काठमाडौं । नौ महिनाअघि एक दिन भोजराज थापाले युट्युबमा देखे, सुरेश हमालले लिएको अन्तर्वार्ता । अन्तर्वार्तामा सुरिलो स्वरमा एक बालिका हिन्दी गीत गाइरहेकी थिइन् । बालिकाको स्वरले उनको दिमाग खिच्यो । पूरै अन्तर्वार्ता खोजेर हेरे । नेपाली गीत पनि गाएकी रहिछन् । त्यो पनि मन पर्‍यो ।

तर, त्यसको भ्युज हजार पनि कटेको थिएन । भोजराजलाई अन्तर्वार्तामा पनि केही अपुग लागिरहेको थियो । त्यसैले उनले फोन सम्पर्क गर्ने प्रयास गरे ती बालिकालाई । सम्पर्क हुन सकेन । उनले सुरेशलाई फोन गरे । सुरेशले भने– उनी कक्षा–११ को परीक्षा दिइरहेकी छिन्, सायद भ्याउँदिनन् कि ! 

अनि ?

“मलाई उनको स्वर मन परेको थियो । उनको स्वर हजार हैन, लाखौँमा पुग्नुपर्छ भन्ने लागेको थियो । त्यसैले परीक्षा सकिएपछि उनको अन्तर्वार्ता लिन्छु भन्ने योजना बनाएँ,” भोजराज भन्छन्, “म आफ्नो काममा लागेँ । त्यसपछि मैले बिर्सिएछु । यही साउनको पहिलो हप्ता मोबाइलको ग्यालरी खाली गर्दा त्यो भिडियोको स्क्रिनसट देखेपछि बल्ल याद आयो । मैले पुनः सुरेशलाई फोन गरेँ ।”

सुरेशले दुई दिनपछि रिप्लाई गरे– बहिनी फ्री नै छिन् रे ! अन्तर्वार्ता लिन आउँदा हुन्छ होला । 

साउन १८ गते भोजराज युट्युबमा गाउने बालिका खोज्दै बागलुङको तीनतले पुगे । स्कुल गएकी उनलाई दिनभर कुरे । स्कुल छुट्टी भएपछि बाटोमै भेटे । र, सुरु गरे अन्तर्वार्ता ।

त्यही दिन उनी पोखरा फर्किए । त्यहीँबाट साउन १९ गते युट्युबमा भिडियो वार्ता अपलोड गरे । मेचीकाली युट्युब च्यानलमा अपलोड गरिएको उक्त भिडियोमा बागलुङकी सिम्रन परियारले केही चल्तीका गीत गाएकी छन् ।

भोजराज उनलाई गीत गाउन आग्रह गर्छन्, सिम्रन बिनाहिचकिचाहट गीत गाउँछिन् । उनी क्रमैसँग ‘फूलथुङे रानी...’, ‘नाता टुट्यो पराइ भइगयो...’, ‘तिम्रो नै माया लाग्दछ साइँला...’, ‘फोटो फिरेममा...’, ‘फूलमया...’, ‘तीनपाते...’, ‘आफ्नो आफ्नो दुःख...’, ‘तिमीबिना कसले बुझ्छ र...’ बोलका गीत गाउँछिन् ।

लय र सुरभित्र बसेर मिठो गीत गाउने सिम्रन अहिलेसम्म संगीतको सुर र झंकारबारे कतैबाट औपचारिक शिक्षा नलिएको बताउँछिन् । तर, उनको गला हाई रेन्जमा होस् वा लो पिचमा मजाले खेल्छ । भोजराजलाई अन्तर्वार्ता लिँदा नै लागेको थियो– नानीको स्वर राम्रो छ, यो अन्तर्वार्ता चल्छ ।

अन्तर्वार्ता आयो । उनलाई लाग्यो– दर्शकले खोजिरहेको आवाज हो, सिम्रनको । 

उनी पोखराबाट काठमाडौं आइपुग्दा अन्तर्वार्ता निकै रुचाइसकेको अवस्था थियो । स्वर धेरैले रुचाइसके, उनकै आवाजमा गीत रेकर्ड गराइदिन पाए त गजब हुन्थ्यो भन्ने लागिरहेको थियो, तर कसरी ? भोजराजसँग केही आइडिया थिएन । मात्र रहर थियो । सिम्रनका लागि नेपाली सांगीतिक क्षेत्रको ढोका उघारिदिन पाए हुुन्थ्यो भन्ने चाह थियो । 

० ० ०

विद्यालयको पोसाकमा बाटोमा हिँड्दै गाएको गीत छ, स्वर गजब । लोभलाग्दो टोन र टेक्स्चर । सुनील बिसीलाई लाग्यो– यो आवाजलाई अवसर दिनुपर्छ । उनले म्यासेज गरे भोजराजलाई ।

‘यो बहिनीलाई काठमाडौं बोलाऔँ, म राम्रो गीत दिन्छु । यो आवाजलाई बाहिर ल्याउनुपर्छ,’ म्यासेजमा सुनीलले लेखे ।

भोजराजलाई भयो, के खोज्छस् आँखो ! उनले खोजेकै त्यही थियो । किन भन्नु थियो र हुन्न, ‘हुन्छ’ भने ।

साउन २४ गते उनी सिम्रनलाई लिन बागलुङ पुगे । स्कुलमा एक हप्ताका लागि बिदा मागेर सिम्रनलाई काठमाडौं ल्याए । पोखरामा आएर भोजराजले गीत रेकर्ड गराउन सिम्रनलाई काठमाडौं ल्याउँदै गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरे । भिडियो हाल्नुको कारण थियो, अरू गीतको अफर पनि आउँछ कि !

“भिडियो अपलोड गरेको दुई घण्टापछि यति धेरै फोन आउन थाल्यो, सबैको एउटै कुरा हुन्थ्यो– म पनि एउटा गीत रेकर्ड गराउँछु,” उनी भन्छन् ।

त्यसपछि सुरु भयो, काठमाडौंका स्टुडियोमा नयाँ प्रतिभा सिम्रनको व्यस्तता ।

“मैले सुरुमै भोजराज सरलाई सिम्रन बहिनीको टेक्स्चर र ट्युन मन पर्‍यो, यो बहिनीको सांगीतिक भविष्य राम्रो छ, म सहयोग गर्छु, बोलाउनुस् भनेको थिएँ,” सुनील भन्छन्, “उहाँले काठमाडौं ल्याएपछि मेरो शब्द तथा संगीतमा प्रमोद खरेलले गाउनुभएको ‘उसलाई पाउन–२’ गाउन लगाएँ ।”

संयोग भनौँ वा भाग्य, सिम्रन आफैँ पनि प्रमोद खरेलको फ्यान हुन् । सानैदेखि प्रमोदका गीत मन पराउँथिन् । गाउँथिन् । “मैले सुुरुमा अन्तर्वार्ता लिन जाँदा पनि भनेको थिएँ, मलाई प्रमोद खरेलका गीत मन पर्छन् । म उहाँको फ्यान हुँ,” सिम्रन भन्छिन्, “संयोगले मैले पहिलो गीत नै उहाँले गाउनुभएको गीत रेकर्ड गर्न पाएँ ।”

प्रमोदसँग उनको भेट पनि भयो । प्रमोदले पढाइ र गायनलाई सँगसँगै अगाडि बढाउन भने । सिम्रनको सोच पनि त्यही छ ।

गएको बिहीबार सिम्रन पहिलोपटक स्टुडियो छिरिन् । स्टुडियो थियो मारुनी । आफूलाई मन परेको गीत आफ्नै हिसाबले त जसले पनि गाउँछ, त्यसमा सुर, ताल र लय कति लागेको छ भन्ने मुख्य कुरा हो । तर, सिम्रनले प्रमोदको गीत सहजै राम्ररी गाएको सुनील सुनाउँछन् ।

“मलाई सिम्रनले स्टुडियोमा गाउँदा पनि चित्त बुझ्यो । चित्त नबुझेको भए म बजारमा गीत ल्याउने नै थिइनँ,” उनी भन्छन्, “उनको लो स्केल पनि राम्रो छ । स्वरमा फिल पनि छ । थ्रोइङ पनि राम्रो छ । यही नै मलाई मन परेको हो, सिम्रनको स्वरमा ।”

० ० ०

सिम्रनले ‘उसलाई पाउन–२’, ‘मुटुमै घाउ छ...’, ‘ए साइँला परेलीभित्र...’, ‘पानी परेको...’ सहित पाँच दिनमा ११ गीत गाइसकिन् । थप दुई गीत गाउँदै छिन् । “१३ वटा गीत गाएर उनी भोलि (बुधबार) घर फर्किंदै छिन्,” भोजराज भन्छन् ।

साइन्स पढे पनि गाउने रहर थियो सिम्रनको । गायिका बन्ने धोको थियो । भोजराज र सुनीलले उनको धोकोको ढोका खोलिदिए । गायनमा सिम्रनले पाइला टेकिन् । बाँकी भविष्य कस्तो हुने उनकै लगावमा भर पर्छ ।

“गीत गाउन त पाएँ, तर म गायिका भइसकेको छैन । मैले सिकेकै छैन । सिक्न बाँकी छ । जानेकै छैन । अब जान्न र बुझ्नपर्नेछ,” उनी भन्छिन् ।

सामाजिक सञ्जाल र युट्युबबाट गायकी पहिचान बनाएर स्टुडियो छिर्ने थुप्रै छन् । दुई/चार गीत गाएर ‘भाइरल’ भएर केही समयमै हराएका नजिर पनि धेरै छन् । 

सिम्रन यसप्रति सचेत छिन् । संगीतका सुरसँग खेल्न उनलाई सारेगमको कक्षा लिने मन छ । योजना पनि बनाउँदै छिन् । “मैले परिवारसँग सल्लाह गर्न पाएको छैन । अब घर गएर बुबाआमासँग सल्लाह गर्छु । मिल्यो भने काठमाडौं आएर एकेडेमिकसँगै संगीतको शिक्षा पनि लिन्छु भन्ने योजना छ,” उनी भन्छिन् ।

नयाँनयाँ प्रतिभा बेलाबेलामा आउने र हराउने क्रम चलिरहन्छ । तर, उनी भन्छिन्, “प्रतिभा भएको व्यक्ति हराउँदैन । प्रतिभा जोगाएर राख्ने हो । यसलाई अझै निखार्न संगीतको साधना गर्ने हो । यसको औपचारिक शिक्षा लिने हो ।”

उनलाई यसबीचमा लोकदोहारी र टेलिसिरियलबाट पनि अफर आयो । तर, अहिले आफूले त्यतातिर नसोचेको उनी बताउँछिन् ।

० ० ०

“सिम्रनलाई स्वरमा भगवान्ले साथ दियो । उनको स्वरमा सरस्वतीको वास छ । आफूले काम गरेको विषयमा त जानकारी हुनैपर्छ । सिक्दै जाने हो । पढाइ र संगीतलाई सँगै अगाडि बढाउनुपर्छ,” सुनील भन्छन्, “रेकर्डिङ पनि गर्दै जानुपर्छ । अवसर र आवश्यकतालाई ब्यालेन्स गरेर अगाडि बढ्न सक्ने हो भने सिम्रनको भविष्य धेरै राम्रो छ । धेरै कुरा त आफूमा भर पर्छ । लगनशीलता र धैर्यता चाहिन्छ । यसमा उनी सचेत हुनुपर्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro