लोकतन्त्रलाई शासन प्रणालीमात्र ठान्नेहरूका कारण प्रायः विधिको शासनको मान्यता नै सङ्कटमा पर्दैगएको हो । यद्यपि, लोकतान्त्रिक संस्थाहरू सुदृढ रहेका समाजमा भने विधिको शासन दुवैजस्तै सुकेपछि पनि बौरेके देखिएको छ ।
अमेरिकामा २०१६ को निर्वाचनमा रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भए । ट्रम्प उनका पूर्ववर्ती राष्ट्रपति बाराक ओबामाका प्रतिलोम थिए । यसैले ती दुईको शासनकालमा अमेरिकाको छवि पनि फरक भयो ।
शासन कालको अन्त्यतिर भने ट्रम्प रिपब्लिकन पूर्ववर्तीभन्दा पनि फरक देखिए । विशेषगरी ट्रम्पले अमेरिकाको पहिचान बनेको उदार लोकतान्त्रिक मूल्यमान्यता र अन्तर्राष्ट्रिय संलग्नतामा प्रहार गरेपछि मध्यमार्गी पाका रिपब्लिकनहरू पनि उनीसँग टाढिएका थिए ।
तैपनि कट्टर दक्षिणपन्थीहरूको समर्थनबाट ट्रम्प २०२० को राष्ट्रपति निर्वाचनमा सजिलै रिपब्लिकन उमेदवार बने । विधिवत् निर्वाचन हार्दा पनि ट्रम्पले परिणाम स्वीकार गरेनन् । उल्टै मत परिणाम उल्ट्याउन विभिन्न षड्यन्त्र गरे ।
लोकतान्त्रिक परम्पराविपरीत संसद्ले निर्वाचन परिणामको पुष्टि गर्ने दिन २०२१ जनवरी ६ का दिन ट्रम्प समर्थकहरू संसद् भवन घेरे । तिनले तत्कालीन उपराष्ट्रपति माइक पेन्स र सभामुख नान्सी पेलोसीमाथि आक्रमणसमेत गरे ।
ट्रम्पले घटनामा आफ्नो संलग्नता इन्कार गरे पनि ‘निर्वाचन परिणाम’ कहिल्यै स्वीकार गरेनन् । अहिले लामो छानबिनपछि ट्रम्पमाथि निर्वाचन परिणाम उल्ट्याउन विभिन्न गैरकानुनी आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा मुद्दा चलाइएको छ ।
ट्रम्पमाथि जर्जिया राज्यमा पनि मुद्दा चल्नेभएको छ । अमेरिकी न्याय प्रणालीअनुरूप त्यहाँका जिल्ला सरकारी वकिलले ट्रम्प र उनका १८ जना सहयोगीमाथि लगाएको जनादेश उल्ट्याउन ‘आपराधिक उद्यम’ गरेको अभियोगमा मुद्दा चल्नेछ ।
ट्रम्प सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा उठ्ने तयारीमा छन् । रिपब्लिकन पार्टीमा ट्रम्पका प्रतिस्पर्धी निकै पछाडि छन् । तर, उनीमाथि लागेका गम्भीर आरोप पुष्ट्रि भए ट्रम्प र रिपब्लिकन पार्टी सङ्कटमा पर्ने देखिन्छ ।
नेपालका राजनीतिक ‘करतबवाज’हरू सबैमा धेरथोर ट्रम्पको चरित्रबाट सिको गरेको देखिन्छ । लोकतान्त्रिक मूल्यमान्यताको अवज्ञा तथा लोकप्रिय हुने लोभमा राष्ट्रिय हित वा उत्तरदायित्वको उपेक्षा गर्ने ट्रम्प प्रवृत्ति नेपालका पनि धेरै नेतामा छ ।
अमेरिकामा राष्ट्रपति भइसकेको व्यक्तिमाथि जिल्ला महान्यायाधिक्ताले समेत मुद्दा चलाउँछन् भने यता एकपटक उच्चपदमा पुगेका व्यक्तिले आफूलाई कानुनभन्दा माथि ठान्न् । अर्कातिर, उनीहरूमाथि मुद्दा चलाइहाल्ने आँट न्यायाधिवक्ताले सितिमिति गर्दैनन् ।
यसपटक नेपालमा केही फरक स्थित देखिन थालेको छ । एकजना पूर्वप्रधानमन्त्रीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएको समाचार आएको छ । नक्कली भुटानी शरणार्थी मुद्दामा त पूर्वउपप्रधानमन्त्रीलगायत पक्राउ नै परेका छन् ।
जेहोस्, लोकतान्त्रिक समाजमा मूल्यमान्यता तथा विधिको अवज्ञा अन्ततः प्रत्युत्पादक हुने यथार्थ संसारभर नै बारम्बार पुष्टि हुनेगरेको छ । आशा गरौँ, नेपालका राजनीतिक नेताहरूले ट्रम्प प्रवृत्तिको सिको गर्ने आँट गर्नेछैनन् ।