
काठमाडौं । सदनलाई प्रभावकारी बनाउने र संयमित बनाएर संसदीय कृयाकलापलाई अघि बढाउने अभिभारा सभाध्यक्षको हो । प्रतिनिधिसभामा त्यो वैधानिक भूमिका निर्वाह गर्ने सभामुखको जिम्मेवारी हो । तर सभामुख देवराज घिमिरेले पदीय मर्यादा कायम गर्न चुकेको भन्दै संसद्भित्रै प्रश्न उठेको छ ।
साउन १० गतेदेखि प्रतिनिधिसभा चल्न सकेको छैन । ‘क्विन्टल सुन’ तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सदन चल्न दिएको छैन । निरन्तर एमाले संसद्मा हावी हुँदै बन्धक बनाइरहेको आरोप सत्ता र विपक्षमा रहेका राजनीतिक दलका नेताको छ ।
विपक्षमा रहेको संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार भन्यो– सदन हाइज्याक भयो ।
पटक पटक बोल्न खोज्दा पनि सभामुखले समय नदिएको र अकस्मात् कार्यसूचीमा प्रवेश गराउँदा बोल्न पाउने आफूहरुको अधिकार कुण्ठित भएको रास्वपाको प्रतिक्रिया छ । साउन १० मात्र होइन, साउन १५, १६ र २२ गतेको संसद् बैठक सूचना टासेरै स्थगन भयो ।
साउन २३, २४, २६ गते बसेको बैठक आकस्मिक समयमात्रै चल्यो । त्यो पनि एमाले बाहेक अन्य दलले बोल्नै पाएनन् । २९ गते अर्थात् सोमबारको बैठकमा भने सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई सभामुख घिमिरले बोल्न दिए ।
त्यसपश्चात् एमाले सांसद मानवीर राईले आफ्ना धारणा राखे ।
राई बोली नसक्दै सभामुख घिमिरिले सदनलाई अघि बढाउन खोजे । उनले शून्य समय चलाउने घोषणा गरेपछि उनको भूमिकामाथि प्रश्न उठाउँदै रास्वपाका सभापति रवि लामिछानेले भने– सदन हाइज्याक भयो ।
सभामुख घिमिरेले एमालेको इशारामा सदनलाई ‘हाइज्याक’ गरेको निष्कर्ष रास्वपाको छ । पार्टी प्रमुख सचेतक सन्तोष परियारका अनुसार आकस्मिक समयमा बोल्नका लागि नाम टिपाइएको थियो । तर, सभामुखले बोल्न दिएनन् । त्यसपछि आफूहरुले माइक समातेर ‘सदन हाइज्याक गर्न पाइँदैन’ भनेको उनले बताए ।
पटक पटक सदन बैठक बोलाइए पनि सञ्चालन हुन नसक्ने र आकस्मिक समयमा आफूहरुलाई बोल्न नदिएपछि रास्वपा सभापति लामिछानेले संसद् हाइज्याक भएको टिप्पणी गरेका थिए ।
“सदनलाई यसरी कब्जा गर्न खोजेको सेटिङ्मा चलाउन खोजिएको हो भने अर्कै कुरा । तर, संसदीय मूल्य मान्यतामा र लोकतान्त्रिक सिद्धान्तमा अडिग भएर आएको हामीजस्तो दलका लागि यो अत्यन्त दुःखद् विषय हो,” लामिछानेले भने ।
रास्वपाले सदन चल्नुपर्ने र जनजीवीकाको सवालमा बहस हुनुपर्ने धारणा राखेको छ ।
“बोल्ने क्रम अघि बढेको थियो बोल्ने कुरा सुनाइएको थियो । एकजना माननीयले बोल्नुभयो त्यसपछि अर्को माननीयले बोल्नुभयो । त्यसपछि यस्तो वातावरण सिर्जना गरियो कि प्रि प्लान गरेर बैठक सुरु गरेजस्तै भयो । हामीले हाम्रो कुरा राख्नुपर्ने थियो । हामी प्रकृयामा गएर सदन चल्नुपर्छ भन्ने कुरालाई उठायौं,” लामिछानेले बाहिर आएर भने ।
२१ सिटसहित रास्वपा संसद्को चौथो ठूलो दल हो । सभापति लामिछाने सभामुखले योजना बनाएरै मिलिजुली सदनमा बोल्न चाहेकाहरुले बोलेको र आफूलगायत अन्य प्रतिपक्षीलाई सभामुखले बोल्न नदिएको बताउँछन् ।
“कुनै कोठाभित्र बसेर प्लान गरेर त यो गर्नु त्यो गर्नु मैले यसो गर्दिन्छु त्यो गर्दिन भनेर भनेजस्तो कुराको गन्ध आयो । यसको घोर विरोध गर्न चाहन्छौं,” लामिछानेले थपे ।
सदन चलाउने जसले हो उसैले सदनलाई ‘हाइज्याक’ गरेको उनले दोहोर्याए ।
“प्रमुख प्रतिपक्षी दलको सांसदले बोल्दाबोल्दै अर्को प्रकृयामा सभामुख पस्नुभयो,” लामिछानेले भने, “दल छोडेर सदन छिरिसकेपछि त्यो सम्मानित कुर्सीमा बसेपछि दलको बन्न पाइँदैन । व्यवहारले पनि पाइँदैन भित्रिरुपमा पनि पाइँदैन बाहिरी रूपमा पनि पाइँदैन ।”
सत्तारूढ दल नेपाली कांग्रेसले पनि सभामुखको भूमिका सन्तुलित नभएको स्वीकार गरेको छ ।
सांसद सञ्जय गौतमले सदनमा नाटक मञ्चन भइरहेको बताए । यसले संसदीय व्यवस्था र मुलुकनै कता जाँदैछ भन्ने यक्ष प्रश्न खडा भएको टिप्पणी गरे ।
“आज जुन रुपले गतिविधि अघि बढ्यो हामीले यो संसदलाई कसरी अघि लादैछौं ? मुलुक कता पुग्दैछ र सरकार अनि प्रतिपक्षी के गर्दैछ भन्ने कुरा धेरै यक्ष प्रश्न खडा भएको छ,” गौतमले बाह्रखरीसँग भने, “आज जसरी कुरा आयो देख्न पाइयो नाटक मञ्चन भयो । प्रधानमन्त्रीसहित तीन दलका नेता गम्भीर बन्नुपर्छ ।”
यता, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) भने अरूले भन्दैमा एमाले चुप लागेर नबस्ने बताएको छ । सभामुखसँग मिलेर एमालेले सदन ‘हाइज्याक’ गरेको हो ? भन्ने प्रश्नमा प्रमुख सचेतक पदम गिरि ठाडै अस्वीकार गर्छन् ।
आकस्मिक समयमा सबैले बोल्न पाउनुपर्ने तथ्यलाई भने उनी स्वीकार गर्छन् ।
“हामी भन्दा पहिला सुनील शर्माले म माथि अन्याय भयो अधिकार हनन् भयो सदनमा कुरा राख्छु भनेपछि सभामुखले त्यो विषयमा कुरा राख्न दिनु सामान्य विषय हो,” गिरिले भने, “अन्य पार्टीका माननीयहरुले पनि विषय राख्नुपर्दथ्यो भन्ने कुरामा हाम्रो आपत्ति हैन, कुनै विवाद छैन सबैले कुरा राख्न पाउनुपर्छ । कुनै सेटिङ् भएको छैन ।”
उनले कसैले चित्त दुखाउँदैमा वा कसैले प्रतिकृया दिँदैमा एमाले आफ्नो अडानबाट पछि नहट्ने बताए । गिरिले उच्चस्तरीय न्यायिक समिति नबनेसम्म सदन चल्न नसक्ने जानकारी दिए ।
“तस्करहरुलाई कारवाही हुने अवस्था नआएसम्म, उच्चस्तरीय छानबिन समिति नबनेसम्म हामी सदन अघि बढ्न दिँदैनौँ,” उनले भने, “जो कसैको चित्त दुखोस् मन फाटोस् । कसैसँग सम्झौता हुँदैन ।”