site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

कुन कुन राजमार्ग पहिरोले थुनेको छ कसैले भन्नसक्ने अवस्था छैन । कता जमिन भासिएको छ कहाँ पानी जमेको छ भन्ने जानकारी सरकारसँग पनि नहोला ।

यो वर्ष पनि बाढीपहिरोबाट ठूलै क्षति भइसकेको छ । विशेषगरी सडकहरूमा गएको पहिरोबाट भयावह क्षति भएको छ । धेरै ठाउँमा मानव बस्ती बाढीका कारण जोखिममा छन् । 

मनसुनी वर्षाका कारण नदीनाला बढ्नु स्वाभाविकै हो । जलाधार क्षेत्रमा धेरै पानी पर्नेबित्तिकै  पहाडी भेगका खहरेहरूमा त बाढी नै आउँछ । नेपालको भौगोलिक अवस्थितिमा यो प्रक्रिया बर्सेनि दोहोरिई नै रहन्छ ।

यस्तै, जलाधार क्षेत्र लामो भएका तराईका नदी र खोलाहरूमा त झन् बर्खायाममा बाढी आउनु सामान्य र अपेक्षित नै हो । पहाडी भेगका तुलनामा तराईमा बाढीको आयतन ठूलो भए पनि वेग भने कम हुन्छ । 

परन्तु, अहिले शताब्दीयौंदेखि निरन्तर यो प्राकृतिक चक्र खलबलिन थालेको छ । अनपेक्षित ठाउँमा बाढीपहिरो जान थालेको छ । बेमौसमी वर्षा वा खडेरी सामान्य बन्दैगएको देखिन्छ ।

Global Ime bank

मानवीय क्रियाकलापका कारण भएको जलवायु परिवर्तनले प्राकृतिक चक्र यसरी खलबलिएको निष्कर्ष वैज्ञानिकले निकालेका छन् । प्राकृतिक प्रकोपको अवस्था पनि बर्सेनि भयावह हुँदैजाने प्रक्षेपण गरिएको छ । 

जलवायु परिवर्तनको गति थप तीव्र हुन नदिन विश्वस्तरमा भएका प्रयत्नहरूप्रति विश्वकान सबैभन्दा ठूला प्रदूषकहरू नै गम्भीर देखिँदैनन् । त्यसको असर भने नेपाली जनतासमेतले भोग्नुपरेको छ । 

चीन, भारत र अमेरिका विश्वकै प्रमुख मुख्य प्रदूषक मानिन्छन् । मूलतः यिनैले गरेको प्रदूषणसमेतका कारण वायुमण्डलमा तापक्रम बढ्दा मौसमी चक्र खलबलिएकाले प्राकृतिक प्रकोपमा वृद्धि भएको मानिन्छ ।  

नेपाललगायत संसारका धेरै देशका जनतालाई यो ‘नखाएको विष’ लागेको छ । विडम्बना, हामी न प्रदूषकलाई दण्ड दिन सक्छौँ न त तिनका कारण उत्पन्न प्राकृतिक प्रकोपको मारबाट जोगिने सामर्थ्य नै देखिन्छ ।

यस्तो अवस्थामा नेपालजस्ता देशले बढी सावधानी अपनाएर जलवायु परिवर्तनको असर सहने क्षमता विकास गर्नुपर्ने हो । नेपालका शासकले भने यसको गम्भीरता नै आत्मसात् गरेको देखिएन ।

यसैले प्राकृतिक प्रकोप नेपालका लागि अब ‘नियमित आकस्मिकता’ बनेको छ । निकट भविष्यमा यसबाट जोगिन सकिने पनि देखिँदैन । यसैले हाम्रो ध्यान यसको क्षतिबाट जोगिने उपायतर्फ जानुपर्ने हो ।

विडम्बना, हामीले भने भौतिक विकासका क्रममा प्राकृतिक विनाशलाई थप सजिलो हुने बाटो रोज्न पुगेका छौँ । खहरेमा तटबन्ध, सिञ्चाइका नाममा  सिमेन्टको बाँध वा सडक बनाउन पहाड खोतल्ने काम भइरहेको छ। 

हामीले भौतिक विकासको मौलिक ढाँचा नखोज्दा नियमित विपत्ति अवश्यम्भावी हुँदैगएको हो । कागबेनीको बाढीदेखि कोसीको जलस्तर वृद्धिसम्मले सिकाएको पाठप्रति गम्भीर नभए निकट भविष्यमै भयावह अवस्था सहनुपर्नेछ । 

यसैले आसन्न विपत्तिबाट जोगिने उपाय अपनाउन शासकका साथै जनता पनि सजग एवं गम्भीर हुनुपर्छ । अन्यथा, यही ढाँचाको विकासबाट हुने उपलब्धि त विपत्ति नै हो ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu