site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘महानगर’मा ३७ रात

काठमाडौं । हरेक सिनेमा बनाउने प्रक्रिया एउटै होला, तर एउटै प्रोसेसबाटै बनाइएका सिनेमाका पनि आ–आफ्नै विशेषता हुन्छन् । कसैको कथामा भिन्नता होला, कसैको भिजुअल त कसैको सेटिङमा । ‘महानगर’मा पनि यस्ता केही विशेषता छन्, त्यो अरू नेपाली सिनेमामा सायदै होला ।

मोफसलबाट काठमाडौं आएर बस्ने प्रायः हरेक व्यक्तिको आ–आफ्नै संघर्षको कथा हुन्छ । त्यस्तै अनुभव मोहन (राई)सँग पनि छ । गाउँमा परिवार छोडेर एक्लै सहर पसेका हरेक व्यक्तिले काठमाडौंमा एक्लोपनसँग पौँठेजोरी खेल्छ । फरक यति हो, कसैको पौँठेजोरी अलि छोटो होला, कसैको लामो । त्यस्तै भोगाइको एकछेउबाट कथा उठान गरे मोहनले । र, लेखे सिनेमाको कथा । टाइटल जुर्‍यो– महानगर ।

सन् २०१६ मा सिनेमा फ्लोरमा जाने भयो । निर्देशन आफैँ गर्ने भए । कलाकारको छनोट गर्नुपर्ने थियो । गोविन्द पराजुली (महानगरका कार्यकारी निर्माता)ले मेनुका प्रधानलाई सिनेमाका लागि अफर गरे । कथा सुनेर उनले भनिन्– म यो सिनेमा खेल्छु ।

मेनुकाका लागि को–एक्टर चाहियो । स्क्रिप्टमा को–एक्टर दार्जिलिङको पात्र थियो । उतैका कलाकार भए राम्रो, लबज पनि उतैको आउँछ । मोहन पुगे दार्जिलिङ । खोजेजस्तो कलाकार दार्जिलिङले दिएन । काठमाडौं फर्किए । प्रस्ताव गरे कर्मालाई । कर्माले भने– अलिअलि दर्शन पनि पनि रै’छ । आईएम एक्साइटेड !

० ० ०

रातको सुनसान प्रहर मोहनको मनपर्ने समय हो । रातको समय सिर्जनाका लागि उनी उत्तम मान्छन् । आफ्ना सिर्जनाका धेरै काम उनले मन पर्ने रातहरूमै गरेका छन् ।

सिनेमामा उनका पात्रले संघर्ष गर्छन् । उज्यालो भविष्यका लागि गरेको संघर्ष देखाउन मोहनले कालो रातलाई रोजेका छन् । आखिर संघर्ष पनि त जिन्दगीको अँध्यारोको एउटा पाटो हो । उनले अधिकांश सिनेमा रातमा खिचेका छन् । अर्थात्, कथा भन्न उनले रातको अँध्यारो रोजे ।

“लेख्न बस्दै गर्दा मैले यो सिनेमा रातमा मात्रै खिच्छु भनेर सोचेको थिइनँ । तर, मलाई सिनेमा काठमाडौंमा खिच्नु थियो । काठमाडौंको ट्राफिकमा सिनेमा खिच्न त्यति सहज छैन, जति हामी सोच्छौँ,” मोहन भन्छन्, “यहाँको ट्राफिक कन्ट्रोल गर्न त्यति सजिलो छैन, तर हाम्रा पात्रहरू काठमाडौंको सडकमा डुल्छन्, त्यो पनि मध्यरातमा । काठमाडौंमा एकान्त छैन, तर मेरा पात्रहरूलाई यही खचाखच महानगरमा एकान्त चाहिएको छ । त्यसैले हामीले सडकमै कथा भन्नु थियो । सडकमै खिच्नु थियो । अनि, मैले रातको समयमा कथा भन्ने निर्णय गरेँ । सायद यो निर्णयले स्टोरीलाई थप अब्बल बनाएको छ कि !”

सिनेमालाई रात सुहाएको छ अथवा फिका बनाएको छ, त्यो त दर्शकले अनुभूत गर्ने हो, निर्देशक/निर्माताले दाबी मात्र गर्ने हो । आफ्नो सन्तान मन नपराउने बाबुआमा यो संसारमा होलान् र ? छन् भने ती अपवाद हुन् । मोहन स्वयं भन्छन्– नराम्रो सिनेमा बनाउन पनि त्यति नै मिहिनेत गर्नुपर्छ, जति राम्रो सिनेमा बनाउनलाई गरिन्छ ।

मेनुकाको पात्र सुरुमा दुःखी छ । अरूसँग खासै नबोल्ने, एकान्तमा एक्लै बस्न रुचाउँछ । रात जति धेरै छिप्पिँदै जान्छ, त्यति नै मेनुकाभित्रको द्वन्द्व पनि बढ्दै जान्छ । जब रातको १, २, ३, ४ बज्दै जान्छ, त्यति नै विस्तारै विस्तारै उसको सोचाइ, भावना र मानसिकता नकारात्मकबाट सकारात्मक हुँदै जान्छ । आशावादी हुँदै जान्छ । जब सूर्योदय हुन्छ, त्यति बेला उसको सोचाइ नयाँ विन्दुमा पुग्छ । बिहानको उज्यालोसँगै उसलाई यो सहरै जित्छु भन्ने लाग्छ । यसले मोहनको रोजाइमा परेको रात उनको सिनेमामा बिम्बका रूपमा प्रयोग भएको छ ।

स्क्रिप्ट लेख्दा वान नाइट फर्म्याटमा नै सिनेमा बनाउँछु भन्ने उनको कंक्रिट आइडिया थिएन । जति बेला स्क्रिप्ट लेख्दै थिए, त्यति बेला उनले निर्देशकको आँखाले कथालाई हेरेका थिएनन् । त्यसैले कथा भन्न दिन वा रात कुन ठिक हुन्छ, उनको दिमागमा थिएन । रातको निर्णय त उनले पछि लिएका हुन् । 

० ० ०

रातको समयमा काम गर्दा केही दुःख पनि भोगे उनले । पहिलो कुरा त बजेट बढ्यो । रातमा काम दिउँसोजसरी गर्न सकिँदैन । “होल सुटिङ रातको समयमा काम गर्नु नै च्यालेन्जिङ थियो । मान्छेले आठ/दश दिन मात्र सेड्युल बिगारेर काम गर्न सक्छ । त्यो पनि दरो विल पावर हुने व्यक्तिले, तर सधैँ सकिँदैन,” मोहन भन्छन्, “रातमा काम गर्ने सबैको बानी हुँदैन । त्यसले पनि असर गरेको थियो । पहिलो सिनेमा थियो । जोस–जाँगरको पारो नै निकै माथि थियो । अहिले त्यही निर्णय लिनुपर्‍यो भने म सायद दुईपटक सोच्छु होला ।”

कथामा गाडी नगुडेको अथवा शान्त रोड चाहिन्थ्यो । तर, रात नै किन नहोस्, काठमाडौं सोचेजस्तो शान्त कहाँ रहेछ र ! “काठमाडौंका केही ठाउँ जतिसुकै राति होस्, सानो संख्यामा मात्रै किन नहोस्, गाडी चल्ने र मान्छेको ओहोरदोहोर भइरहँदो रहेछ,” मोहन सात वर्षअगाडि फर्किन्छन् र चिसा रातहरू सम्झिन्छन्, “त्यसले पनि हामीलाई निकै डिस्टर्र्ब गरिरहन्थ्यो । तर, हामी भीडलाई पातलिन दिन्थ्यौँ, कोलाहललाई शान्त हुन दिन्थ्यौँ । र, के छ स्क्रिप्टमा त्यतैतिर डोरिन्थ्यौँ ।”

एउटा लोकेसनको छायांकन सकेर अर्को स्पटमा जाँदै गर्दा वसुन्धरामा मोहनले देखे– दुई युवती ।

अनि ? 

उनीहरूका अनुहारमा स्वतन्त्रताको कान्ति प्रस्ट देखिन्थ्यो । मुहारमा खुसी झलल थियो । मोहनको सिनेमाको पात्रले यस्तै खुुसी खोजिरहेको थियो ।  त्यस्तै खुसी हुन चाहने पात्रको कथा त भनिरहेका थिए, उनले । को थिए उनीहरू ? के गरिरहेका थिए ? त्यो त ‘रामजाने’ !

उनीहरूका अनुहारमा खुसी टल्किएको थियो । त्यसले मोहनमा उत्साह जगायो । त्यसैले त अहिले पनि ती दुई युवती उनको मथिंगलबाट ओझेल परेका छैनन् ।

शान्त वातावरण खोज्दा राति ११/१२ बज्थ्यो । ३ बजेदेखि फेरि भीड सुरु हुन्थ्यो । भीड सुटिङको अवरोध थियो । त्यसैले १९ दिनको सेड्युल बढेर ३७ दिन पुग्यो ।

जब घाम मधुरो हुन्थ्यो, ‘महानगर’को कास्ट एन्ड क्रियु लोकेसनमा पुग्थ्यो । जब रात ढलेर बिहानीले फणा फिजाउन सुरु गर्थ्यो, उनीहरू वास खोज्दै घरतिर लाग्थे ।

रातको समय पसल बन्द हुँदा खानपानमा समस्या हुन्थ्यो । तर, म्यानेज गर्नु नै पर्थ्यो । गर्थे ।

अक्सर काठमाडौं महानगर सधैँ हतारमा हुन्छ । तँछाडमछाडमा हुन्छ । त्यही महानगरमा मोहन ढुक्कले सुस्तरी सिनेमा खिच्छन् । भीड बढे पछि हट्छन् । सट मन नपरे दोहोर्‍याउँछन् । मन परे पनि दोहोर्‍याउँछन् । 

मन परे पनि ? 

‘हो ।”

किन ?

“एडिटिङको टेबलमा सिनेमा पुगेपछि कहिलेकाहीँ आफूलाई सेटमा झुर लागेको सटले चाहिँ होल सिनेमालाई बचाउँछ । त्यसैले म राम्रो सट लागे पनि दोहोर्‍याउँछु,” उनी भन्छन् ।

त्यसैले त उनको सिनेमाको रफकट तीन घण्टाभन्दा लामो थियो । अहिले ‘महानगर’ ७० मिनेटको छ । निर्देशकले माया गरेको सबै सट काट्न लोभ गरे दर्शकले त्यसैलाई माया नगर्न सक्छन् । सिनेमा जति टाइट हुँदैन, दर्शकलाई त्यति नै फितलो अनुभूत हुनसक्छ ।

मोहनको सिनेमाले इन्टरनेसनल फिल्म फेस्टिभलको यात्रा पनि गर्‍यो । तर, सिनेमा लेख्दा र खिच्दा उनकै शब्दमा– यस्तो सोचेकै थिएनन् । मात्र कथा भन्ने जुनुन थियो ।

“यदि, म इन्टरनेसनल फिल्म फेस्टिभलका लागि सिनेमा बनाउँथे भने नेपालको गरिबी, वार, इमिग्रेसन, कल्चरलाई केन्द्रमा राखेर सिनेमा बनाउँथे होला, पश्चिमा समाजमा बिक्ने विषय यिनै हुन्,” उनी भन्छन्, “मैले सिनेमा लेख्दा कथा लेखकको हिसाबले लेखेको थिएँ । सिनेमा खिच्दा पनि मेरो दिमागमा त्यो थिएन । तर, उनीहरूले यो सिनेमा मन पराए । तुलना गर्दा नेपालीभन्दा वेस्टर्न अडियन्सले यो सिनेमा मन पराए ।”

ओपन इन्डेड सिनेमा हो, ‘महानगर’ । जति धेरै ओपन इन्डेड सिनेमा हुन्छ, त्यति धेरै मेकरप्रति प्रश्न गरिन्छ । मेनुकाको पात्र बिहान गाडी चढ्छ, सिनेमा सकिन्छ । त्यो गाडीबाट पात्र काठमाडौं प्रवेश गर्छ वा गाउँ फर्किन्छ, यो दर्शकले आफ्नै हिसाबले बुझ्ने हो । त्यसैले त मोहन भन्छन्– सिनेमा हेरेर अनुभूत गर्ने हो ।

‘महानगर’लाई लिएर उठाइने प्रश्नको जवाफ दिन उनी तयार छन् । भदौ ८ गतेदेखि दर्शकसामु पस्कँदै छन् ।

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  ०६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro