site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
म्युचुअल फन्डले आईपीओमा पाउँदै आएको कोटा हटाउने तयारी

काठमाडौं । म्युचुअल फन्डहरूले उद्देश्यअनुसार काम नगरेको भन्दै व्यापक आलोचना भएपछि नेपाल धितोपत्र बोर्डले म्युचुअल फन्डको कोटा हटाउने विषयमा छलफल थालेको छ । म्युचुअल फन्डलाई दिँदै आएको पाँच प्रतिशत आरक्षण कोटा नदिने विषयमा बोर्डमा छलफलमा जुटेको हो ।

आईपीओ निष्कासन गर्ने कम्पनीले म्युचुअल फन्डलाई आरक्षण दिएर लकिङ पिरियट नराखेको भनेर अहिले चौतर्फी आलोचना हुँदै आएको छ । जताततै आलोचान भएको र म्युचुअल फन्डले पनि उद्देश्यअनुसार काम नगरेको भन्दै बोर्डले आरक्षणसम्बन्धी व्यवस्थालाई हटाउने छलफल गरिरहेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बाह्रखरीलाई जानकारी दिए ।

उनका अनुसार औपचारिक रूपमाभन्दा पनि अनौपचारिक रूपमा बोर्डमा यो विषयले प्रवेश पाएको छ । “म्युचुअल फन्डलाई पाँच प्रतिशत आरक्षण दिने गरिएको छ । यसरी आरक्षण पाएर पनि उद्देश्यअनुसार काम नगरेको भन्ने आरोप लाग्दै आएको छ  । यो अध्ययन गर्ने विषय हो,” उनले भने, “तर, पाँच प्रतिशत आरक्षण दिन हुँदैन कि भन्ने चाँही कुरा भइरहेको छ ।”

Dabur Nepal
NIC Asia

लगानीकर्ताहरूले पनि म्युचुअल फन्डलाई आरक्षण दिन नहुने आवाज उठाउँदै आएका छन् । म्युचुअल फन्डले उल्टोपाल्टो काम गरेको भन्दै म्युचुअल फन्डलाई आरक्षण दिन नहुने लगानीकर्ता रोहन कार्की बताउँछन् ।

“म्युचुअल फन्डले गर्नपर्ने काम गरेका छैनन् । यिनीहरूले बजारमा नगर्ने काम गरेका छन्,” उनले भने, “म्युचुअल फन्ड आफ्नो दायित्व र जिम्मेवारीबाट पछाडि हटेको देखिन्छ । आईपीओ भर्ने, लिस्टिङ गरेको केही दिनमा नै सेयर बेच्ने वा माग गर्ने गरेको पाइन्छ ।”

म्युचुअल फन्डले बजार घटेको समयमा सेयर होल्ड गर्नुपर्ने भए पनि त्यस्तो नगरेको कार्कीले बताए । महँगो बनाएर कर्मचारी तथा व्यवस्थापकहरूले आफ्ना आफन्तको सेयर बेच्ने गरेको पनि उनले बताए । यस्ता फन्डले पब्लिकलाई फसाएको उनको आरोप छ । 

“बजारमा सेयर बढी सप्लाई भएकोमा म्युचुअल फन्डलाई वास्ता छैन । कोटामा पाएको सेयर उचाल्ने काम म्युचुअल फन्डहरूले गरेका छन् । यो छानबिन हुनुपर्छ,” उनले भने, “म्युचुअल फन्डलाई दिँदै आएको कोटा हटाउनुपर्छ । अथवा लकिङ पिरियड राख्नुपर्छ ।”

स्थानीयको तीन वर्ष लकिङ पिरियड राख्दा म्युचुअल फन्डालाई सूचीकृत भएको भोलिपल्ट नै बेच्न पाउनेगरी व्यवस्था गर्न नहुने कार्की बताउँछन् । अर्का एक लगानीकर्ताले पनि म्युचुअल फन्डले आफ्नो कर्तव्य भुलेको बताए ।

“म्युचुअल फन्डलाई आरक्षण दिन हुँदैन । अथवा लकिङ पिरियड राख्नुपर्छ,” ती लगानीकर्ताले भने, “हामीले यो विषय पहिलेदेखि नै उठाउँदै आएका हौँ । यो नीति संशोधन गर्ने समय आएको छ ।”

म्युचुअल फन्डलाई पहिलेदेखि लकिङ पिरियड राख्ने चलन नभएकाले यसको विषयमा कुरा नभएको प्रवक्ता श्रेष्ठ बताउँछन् । तर, अहिलेको आरक्षण सम्बन्धी व्यवस्था हटाउने विषयमा भने बोर्डमा छलफल भएको उनी बताउँछन् ।

केही दिनअघि मात्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको नेपाल रिपब्लिका मिडियाको सेयरमा म्युचुअल फन्डले खेलेको भन्दै आरक्षणको विषयमा व्यापक चर्चा चल्दै आएको छ । म्युचुअल फन्डहरूले उक्त कम्पनीको सेयर उचालेको विज्ञहरूको भनाइ छ ।

लगातार तीन दिनसम्म यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतका दरले वृद्धि भएको थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro