तिमीसँग के–के जादु छ कुन्नि,
भित्रैदेखि तिम्रो माया छ
मायामा माग र पूर्तिका सूत्रहरू जोडेको देखेपछि
तिमीसँग असाध्यै डर पनि लाग्छ
म त एकोहोरो मायामा अल्झिएको छु
मायाकै कारण
तिम्रो अघिल्तिरका कुनै बादल र भेलको वास्ता गरेको छैन
तिमी
बममा बस्छौ
बन्दुकमा अडेस लाग्छौ
ब्यालिस्टिक बनेर हुत्तिन्छौ सागरदेखि सगरसम्म
दिनलाई रात
र, रातलाई दिन बनाउने क्षमता छ तिमीसँग
यो किन सबै कुरा ?
प्रश्न गर्छु म बेलाबेलामा
तैपनि, भित्रभित्र किन हो किन माया छ तिमीसँग
तिमीलाई तिम्रो चासो छ
मलाई मेरो चासो छ
मलाई मात्र माया गर अरू सबैको चासो किन तिमीलाई
सधैँ भनिरहेको हुन्छु तिमीलाई
तर, तिमी जस्तो छौ त्यस्तै छौ, कहिल्यै फेरिएनौ
सत्य पनि मौसमअनुसारको ट्युनिक बनिरहेको बेला
तिम्रो स्थिरतामा पनि शंका लागिरहेछ मलाई
तिमीले र मैले बनाएको
चर्चमा आँधी चलिरहेछ
मन्दिरमा च्याउ उम्रिरहेछ
गुरुद्वारा पुरिँदै छ बालुवाले
पुलहरूमा उभिएका छन् खियादार काँडेतार
मैले सम्झेको छु
मायाको पूरै पोल्टो खोल्न बाँकी नै छ तिमीबाट
त्यसैले पनि होला,
तिमी नै तिमी देखिरहेछु सपना या विपनामा
तिमीलाई भेटेको बेला
तिमीले दिएका थियौ मलाई–
अलिकति बेबिलोन
अलिकति ओशाका
अलिकति बेइजिङ
अलिकति जेनेभा
र, अलिकति अलास्का
मैले सबै कुरा बिर्सेर दिँदै छु सग्लो र सिंगो जिन्दगी
मेरो सिंगो शरीरमा
यो सारा पृथ्वी र सम्पूर्ण आकाश अटाएको छ
नांगो पृथ्वी र नांगो तिमी
उस्तैउस्तै लागेको छ मलाई
म चमत्कार चाहन्छु,
तिम्रा चमत्कारका शृंखलाहरूलाई
पाइलापाइलामा ओछ्याउन चाहन्छु
म कवितालाई हतियार भन्छु
तिमी हतियार नै कविता हो भनिरहेछौ
तिम्रा हतियारले क्षतविक्षत पारेको घाउमा
मैले कविता रोपेँ
त्यही कविताले संसार हल्लाउँदै छ अहिले
केही मान्छेहरू
स–साना नानीहरूलाई गोलीको निसाना बनाउँदै थिए
मैले मेरो छाती थापिदिएँ
अहिले मेरो छातीको एक पाटामा नानीहरू मुस्कुराउँछन्
र, अर्को पाटामा फक्रँदै छन् बारुदका गर्जनहरू
अहिलेको यो हावा फेरि बहदैन
फेरि चम्कँदैनन् यी ताराहरू
समुद्रहरू जम्न थाल्नेछन् केही बेरमा
खरिद–बिक्रीमा माया रहेसम्म
खटाइखटाइ जन्मनेछन् हिउँ र वर्षाहरू
तैरिनुपर्छ, तैरिने उद्योग चलाउनुपर्छ
फलामका बाल्कोनीहरूमा म तैरिरहेको बेला
तिमीले पौडिरहेको तस्बिरले केही तताइरहेछ मलाई
बादलमा तैरिरहेको,
ढुंगामा पौडिरहेको,
पहाडमा झुन्डिरहेको
दृश्यहरू प्रसार गर्न हानथाप छ
उदयचलदेखि अस्ताचलसम्म
पृथ्वीमाथि प्रकाशस्तम्भ ओछ्याएर
रातलाई बिदाइ गर्ने सूत्र उभ्याउँदै छु म अनन्तसम्म
प्रत्येक मान्छे
आत्तिरहेछ जीवनसँग
र, नआत्तिएको अभिनयले ग्रस्त छ जीवनभरि
मुट्ठीमा नअटाउने प्लानेट उचाल्न खोजिरहेछ मान्छे
मृत्युमा बोक्नै नसक्ने संग्रह गर्न खोज्दै छ जीवनभर
मृत्युलाई अब बसमा ल्याउने हो
जीवनलाई अब खोल्ने हो रहस्यको गुफाबाट
रमितेहरू सधैँ रमिता हेर्छन् र क्रन्दन फ्याँक्छन्
हानेको गोलीको खोका
अहिलेसम्म
एकपटक पनि फिर्ता भएको छैन, ढुक्क भए हुन्छ
काम गर्नेहरू कामकै कोकोहोलो हाल्छन्
अमेरिका, ओ अमेरिका !
(टेक्सस, अमेरिका)