site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad

सरकारले जफत गरेको वा बेवारिसे छाडिएका कारण सरकारको मातहतमा रहेका गाडीहरू खिया लागेर काम नलाग्ने हुँदै गएका छन् । यसरी थन्किएका सवारी साधनको हेरचाहसमेत प्रहरीका लागि समस्या बन्न थालेको बताइन्छ । 

धेरै प्रहरी सरिसरको छेउकुनामा यसरी राखिएका थोत्रा सवारी साधनले वरपरको सौन्दर्य नै बिगारेका हुन्छन् । तर, प्रचलित कानुनमा भने तिनलाई हटाउने स्पष्ट कानुनी व्यवस्थाको अभाव छ ।यसैले त्यस्ता सवारी साधन बर्सेनि थपिने र थोत्रिने क्रम जारी छ । 

प्रहरी परिसरमा थुप्रिएका थोत्रा गाडीमात्र होइन कतिपय वन कार्यालयको परिसरमा वा मातहतमा काठ पनि अलपत्र पारेर राखिएको देखिन्छ । सरकारका आफ्नै सवारी साधनसमेत लिलामी गर्न मिल्ने कानुन भए पनि अलपत्र छाडेर थोत्र्याउने गरेको पाइन्छ ।

यथार्थमा यसरी अलपत्र भएर दिनहुँ अर्बौं रुपियाँ बराबरको राज्यको सम्पत्ति क्षति भइरहेको छ । सरकारी कर्मचारीले भने त्यसलाई जोगाउने व्यवस्था मिलाउनुभन्दा बेवास्ता गरेर आफू जोगिन उचित ठान्छन् । यसलाई नेपालका सन्दर्भमा अस्वाभाविक भन्न पनि मिल्दैन ।

वनमा सडेर जाने काठ वा थोत्रिने सवारी साधन लिलाम वा अरू प्रक्रियाबाट विक्री गर्न सके राज्यलाई अर्बौं रुपियाँ आमदानी हुनेछ । तर, त्यसका लागि कर्मचारीहरू सायद अगाडि सर्न तयार हुँदैनन् । सानो प्रक्रियागत चुक भयो भने पनि सजाय त कर्मचारीले भोग्नुपर्छ । 

त्यसो त राज्यको सम्पत्तिको संरक्षण नगरेर क्षति भए पनि अख्तियार दुरुपयोग गरेकै ठहरिन्छ । तर, काम गर्दा प्रक्रियागत गल्ती भए पनि सजाय भोग्नु परेका अनेकौं उदाहरण छन् भने गर्नुपर्ने काम नगरेर राज्यलाई हानि पुर्‍याउनेले सजाय पाएको दृष्टान्त भेटिँदैन । 

यसो हुनुमा सरकारी कर्मचारीमा शासनका सम्बन्धमा व्याप्त परम्परागत सोच प्रमुख कारण हो भने राजनीतिक नेतृत्वमा सकारात्मक अग्रसरताको अभाव अर्को कारण रहेको देखिन्छ । यस्ता समस्या किन भए र कसरी समाधान गर्ने भनेर कुनै मन्त्रीले गम्भीर अग्रसरता देखाएको उदाहरण छैन । 

त्यसो त, विपक्षी वा सत्ता पक्षकै पनि सांसदले यस्ता समस्यामा चासो देखाएर गैरसरकारी विधेयक वा सरकारको ध्यानाकर्षणका लागि संकल्प प्रस्ताव पेस गर्नेजस्ता उपाय अपनाउन सक्थे । परन्तु, सांसदहरू त सस्तो लोकप्रियताका लाग चर्को प्रतिक्रिया व्यक्त गर्नुभन्दा अगाडि बढेका छैनन् । 

कर्मचारी, सांसद् र मन्त्रीहरूको यस प्रकारको गैरजिम्मेवार अकर्मण्यतालाई उचित भन्न त उनीहरू स्वयंले पनि नसक्लान् । यस्तै, अर्बौंको सरकारी सम्पत्ति कुहाएर वा थोत्र्याएर खेर फाल्नु पनि अपराध हो भन्नेमा पनि तिनको विमति त पक्कै नहोला ।  

यसैले कुहिएर वा थोत्रिएर नष्ट हुनलागेको राज्यको सम्पत्तिको व्यवस्थापनका लागि सरकारले तत्काल अग्रसरता देखाउनुपर्छ । प्रहरी परिसरमा थुपारिएका बेवारिसे सवारी साधनलगायतका वस्तुको पनि तत्काल उचित व्यवस्थापन गरिनुपर्छ । यसलाई सरकारले प्राथमिकता दिनु आवश्यक छ ।

यसका लागि नयाँ कानुन बनाउनु परे पनि सरकारले अग्रसरता देखाउनुपर्छ भने काठको लिलामीलगायतका कामका लागि त सम्भवतः भएकै कानुन कार्यान्वयन गरे पुगेछ । काम गर्दा भएका त्रुटिका लागि होइन कामै नगरेर राज्यको अर्बौं नोक्सानी गराउनेमाथि कारबाही हुने व्यवस्था नयाँ कानुनमा गरियोस् । शाखा अधिकृत हुँदा उठाएको टिप्पणीका लागि सचिव भएपछि जेल जानु नपरोस् !   

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro