एक दिन फिडेल देवकोटाको आँखा गएर अडियो एउटा फोटोमा । फोटो थियो मिनि टाटाको । मिनि टाटाको पछाडि लेखिएको थियो– हाँसीखुसी जिन्दगी चल्छ, मिहिनेत गरे नेपालमै सुन फल्छ ।
केही वर्षयता ट्रक साहित्य अक्सर धेरै गाडीमा देखिन्छ । त्यस्तै त्यो मिनि टाटामा पनि लेखिएको थियो । तर, त्यतिले अथवा त्यो ट्रक साहित्यले मात्र उनको आँखा अड्याएको थिएन । त्यो मिनि ट्रकभित्र थियो कफिन । र, कफिनको छेउमा थियो, रेड सुटकेस । त्यसैले थियो फिडेलका आँखा अड्याएको । अनि, उनलाई लागेछ– यो सपनाको अवसान पनि हो । यो कथा मैले भन्नैपर्छ । आफ्नो देशको कथा आफैँले भन्ने हो, कति कुर्ने अरूले भनिदिएला कि भनेर !
उनले सोचे– फलाम तातेको बेला पो घनले हान्यो भने आफूले चाहेको आकार लिन्छ । सेलाएको बेला हानेर त के काम !
कारण, कतारमा केही समयपछि विश्वकप फुटबल हुँदै थियो । त्यसका लागि बनाइँदै गरेका फुटबल स्टेडियमलगायत संरचनामा श्रम गर्न नेपाली खाडी पुगेका थिए । र, श्रम गर्दागर्दै सयौँ नेपालीले ज्यान गुमाएका थिए । त्यहाँ फगत एक जिन्दगी मात्र गुम्दैन, त्योसँगै पूरै परिवारको सपना पनि गुम्छ ।
त्यसरी नै ज्यान गुमाउने नेपालीमध्ये एकको शव बोकेको कफिन थियो, उनले नेपाललाइभ न्युज पोर्टलमा देखेको फोटोमा । त्यसले सिनेमाको कथा लेख्न उनलाई जाँगर चलाउन बाध्य बनाएको थियो । विभिन्न सर्ट फिल्मका स्टोरी लेखिरहेका उनले यसलाई पनि कथामा ढाले ।
० ० ०
भिजुअल एन्थ्रोपोलोजीमा पीएचडी गरेका फिडेल निर्देशकका रूपमा बलियो पोर्टफोलियो निर्माण गर्न चाहन्थे । सहपाठी (चलचित्र निर्माता) रामकृष्ण पोखरेल (आरके) उनलाई सकेको सहयोग गर्न तत्पर थिए । फिडेल सर्ट फिल्महरूमा काम गरिरहेका थिए । लेखिरहेका थिए । केही सर्ट फिल्म निर्देशन पनि गरिसकेका थिए ।
आरके एसियाका विभिन्न फिल्ममेकरहरूसँग काम गरिरहेका व्यक्ति हुन् । सोहीक्रममा नेपालबाट आरकेसहित भारत, भुटान, श्रीलंकालगायत देशका केही फिल्ममेकरहरूले एउटा सानो नेटवर्क बनाएका छन्, जो एकार्कामा आफ्नो प्रोजेक्टबारे खुलेर कुरा गर्छन् । एकार्कालाई सकेको सहयोग गर्छन् ।
फिडेलले अहिलेसम्म बनाएका सर्ट फिल्म, डकुमेन्ट्री, भिजुअल ल्याङ्ग्वेजको स्टाइल र उनले गरेको रिसर्च नजिकबाट नियालिरहेका आरकेलाई उनको ट्युनिङ सौरभ राईसँग मिल्छ भन्ने लागेको थियो । त्यसैले आरकेले भारतीय फिल्ममेकर सौरभसँग फिडेलको चिनजान गराइदिए ।
चिनजानपछि फिडेलले सौरभसँग आफ्नो सर्ट फिल्मको स्टोरी सेयर गरे । सौरभले फिडेललाई सुझाए– तपाईं फिल्मलाई जसरी बनाउनु र सोच्नुहुन्छ, त्यो तरिकाले बनाउँदा त यो फिचर लेन्थको सिनेमा बन्छ ।
फिडेलले सोचेको सर्ट फिल्म थियो । सौरभले कन्भिन्स गरे फिचर फिल्म । फिचर फिल्म बनाउनेबित्तिकै त्यसको स्केल नै ठूलो हुन्थ्यो । कलाकार थपिन्थे । सुटिङ डेज बढ्थ्यो । क्रु मेम्बरको टिम जम्बो हुन्थ्यो । स्क्रिप्ट नै परिवर्तन गर्नुपर्थ्यो । सबैभन्दा महत्त्वको कुरा त बजेट थपिन्थ्यो, त्यो फिडेलसँग थिएन । फिचर फिल्म उनका लागि डेब्यु हुन्थ्यो । उनीसँग निर्देशनको स्ट्रङ पोर्टफोलियो थिएन, प्रोडुसर भेट्न सजिलो थिएन ।
फिडेलले भने– मैले सोचेको त सर्ट फिल्म हो, फिचर फिल्म बनाउन त मसँग पैसा छैन । कसरी जुट्छ फिचर लेन्थका लागि बजेट ?
आरकेले भने– तिमी ढुक्क भएर स्क्रिप्ट लेख, कुनै स्रोतबाट पैसा निकाल्न सकिएछ भने राम्रैसँग काम गरौँला । हैन, कतैबाट स्रोत जुटाउन सकिएन भने जसरी पनि सिनेमा निकालौँला । यसको जिम्मेवारी मेरो भयो ।
० ० ०
त्यसपछि सर्ट फिल्मको च्याप्टर क्लोज भयो । फिचर फिल्मका लागि स्क्रिप्ट लेखनको प्रोसेस सुरु भयो । संसार कोरोना महामारीले लकडाउनमा थियो । फिडेलले त्यही समयमा स्क्रिप्टको काम सकाए ।
कोरोना महामारीले विश्व आक्रान्त थियो । पहिलो कुरा त यो समयमा ग्रान्ट (सिनेमा निर्माणका लागि विदेशी लगानी) ल्याउन सहज थिएन । दोस्रो, त्यो प्रक्रियामा गए पनि समय लाग्थ्यो । कोरोनाका कारण उत्पन्न आर्थिक मन्दीको नकारात्मक प्रभाव आरकेको आइसफल प्रोडक्सन कम्पनीलाई पनि थियो । तर, उनले आँट गरे ।
आफ्नो कथा हो, सन्दर्भ मिलेको समय छ, कथा भन्ने निर्देशकसँग ट्युनिङ पनि मिल्छ भने यही त हो, नेपाली कथा विश्वलाई देखाउने उचित मौका ।
उनले योजना बनाए– इमानदार भएर देशको कथा भन्दै छौँ, विश्वसामु आफ्नो कथा लैजाँदै छौँ भने कलाकारलाई पनि एकपटक आग्रह गरौँ, रिजनेवल पारिश्रमिकमा यो सिनेमामा काम गरौँ ।
त्यसपछि उनीहरूले आग्रह गरे सौगात मल्ललाई । विपीन कार्कीलाई । प्रवीण खतिवडा र सृष्टि श्रेष्ठलाई । उनीहरू राजी भए ।
विपीनले त एक कदम अगाडि बढेर भने– म यो सिनेमाका लागि पैसा नै लिन्नँ ।
“हामी आफैँले अप्ठ्यारो लागेर टोकन मनी मात्रै दिएका हौँ । त्यो पनि उहाँले मानिरहनुभएको थिएन । पकेट खर्च मात्रै भए पनि राख्नुस् भनेर रिक्वेस्ट गरेका हौँ,” आरके अगाडि थप्छन्, “वास्तवमा उहाँको बजार मूल्य र उहाँले अरू सिनेमाबाट लिइरहेको पारिश्रमिक हेर्ने हो भने सित्तैमा खेलिदिनुभएको हो । उहाँले मात्रै होइन, सबै एक्टरले ।”
० ० ०
यसै पनि निर्माण पक्षले आग्रह गरेर रिजनेवल प्राइसमा कलाकार लिइएको छ, त्यति पैसा समेत समयमा दिन नसके त कसरी काम गर्ने ? यो प्रश्नले आरकेलाई लखेटिरहेको थियो । त्यसपछि आरकेले हरेक हप्ताको एक दिन पेमेन्ट गर्दै जाने सेड्युल मिलाए । हरेक हप्ताको बुधबार सबैको खातामा पैसा पठाउने योजना बनाए ।
योजना बनाएर मात्र हुँदैन थियो । कार्यान्वयनका लागि पैसा पनि चाहिन्थ्यो । कोरोनाले काम ठप्प प्रायः थियो । अफिसमा ओभरहेड खर्च मात्र थियो । अफिसको कामका लागि भनेर लिइएका तीनवटा गाडी थिए । त्यसमध्ये एउटा हायस र एउटा कार बेचिदिए उनले । ५० लाख रुपैयाँ खातामा जम्मा भयो । त्यही पैसा उनले हरेक हप्ताको बुधबार कलाकार र क्रु मेम्बरको खातामा पठाए ।
“हामीलाई त्यति धेरै विश्वास गरेर मिनिमम् रकममा काम गरिरहनुभएको छ, त्यही पेमेन्ट पनि हामीले पूर्वनिर्धारित सेड्युलमा पठाउन सकेनौँ भने विश्वास गुम्छ भनेर मैले गाडी बेचेर फन्ड क्रिएट गरेको थिएँ,” आरके सुनाउँछन् ।
० ० ०
सिनेमा निर्माणको काम सकियो । नेपालको कथा विदेशीलाई देखाउनु थियो । त्यसका लागि अप्लाई गरे । प्रतिष्ठित फिल्म फेस्टिभलमा सिनेमा पुगे त्यसले विदेशमा मात्र होइन, नेपालमै पनि राम्रो एक्सपोजर पाउँथ्यो । राम्रो विदेशी फिल्म फेस्टिभलमा सिनेमा छनोट हुनु भनेको नेपाली बजारका लागि स्वतः ग्रान्ड पब्लिसिटी हुनु पनि हो । यो कुरा उनी आफैँले यसअघि अनुभूत गरिसकेका थिए ।
अन्ततः ‘दि रेड सुटकेस’ भेनिस फिल्म फेस्टिभलमा छनोट भयो । भेनिसको दोस्रो मुख्य प्रतिस्पर्धा होराइजन विधामा छनोट भएको यो पहिलो टिपिकल नेपाली फिल्म हो । विदेशी निर्माता र छायाकारबिना विश्वको प्रतिष्ठित फेस्टिभलमा छनोट हुने ‘दि रेड सुटकेस’ पहिलो नेपाली चलचित्र बन्यो । यसअघि भेनिस पुगेका ‘कालो पोथी’ र ‘सेतो सूर्य’ दुवैमा निर्माता र छायाकार विदेशी थिए । ‘दि रेड सुटकेस’का लगानीकर्ता र सिनेमेटोग्राफर दुवै नेपाली हुन् ।
“हामीले यो फिल्म बनाउँदैताका नेपाली मात्रै होइन, ग्लोबल अडियन्सकै लागि भन्ने सोचेर बनाएका थियौँ । तर, भेनिस नै होला र भेनिसको पनि होराइजन सेक्सनमै पुग्ला भन्नेचाहिँ सोचेकै थिएनौँ,” उनी भन्छन्, “यो हाम्रो लागि राम्रो इन्भिटेसन हो । सोचेभन्दा पनि राम्रो प्ल्याटफर्म हो । हाम्रो लागि ठूलो अचिभमेन्ट हो ।”
० ० ०
आरके विदेशी फिल्ममा पनि काम गरिरहेका हुन्छन् । त्यहाँका स्क्रिप्ट हेरेर लोकेसन प्रपोज गरिरहेका हुन्छन् । लोकेसनको रोडम्याप र हन्टमा आरेकेको विज्ञता पनि छ । कहाँ खिच्ने भनेर उनी आफैँले रेकी गरेका हुन् ।
बीपी हाइवे भएर हेटौँडा निस्कने सडक हुँदै आरकेसहितको टोली लोकेसन रेकी गर्दै जाँदै थियो । स्क्रिप्ट पढिसकेको र डिस्कसनदेखि नै सँगै बसेकाले कुन सिन कहाँ कसरी खिच्ने भन्ने दिमागमा भिजुअल थियो । जतिजति उनी बीपी हाइवे हुँदै अगाडि बढिरहेका थिए, सिनानुसारका लोकेसन बिनाझन्झट भेटिँदै थियो ।
“जुन मौसममा जस्तो इफेक्ट चाहिने हो, त्यस्तै ठ्याकठ्याक मिल्दै जाँदै थियो । जस्तो इमेज दिमागले सोचेको थियो, त्यस्तै मिल्दैमिल्दै गइरहेको थियो,” आरके ‘दि रेड सुट्केस’को कहानी सुनाउँछन् ।
सबैभन्दा महत्त्वपूर्ण उनीहरूका लागि कफिन बिसाउने घर चाहिएको थियो । उनीहरूले सोचेजस्तै घर पनि देखियो । तर, कसरी सुटिङका लागि प्रस्ताव गर्ने हिम्मतै आएन ।
किन ?
“हामी जुन गाउँमा पुग्यौँ, त्यहाँ कुनै त्यस्तो घर थिएन, जुन घरको मान्छे वैदेशिक रोजगारीका लागि नगएको होस् ।”
त्यसपछि ?
“हामीले आँटै गर्न सकेनौँ । जसको घरको छोरा वा बाउ रोजगारीका लागि विदेशमा छन्, उसको घरमा गएर विदेशबाट लास आएको सिन सुट गर्न दिनुस् भनेर कसरी भन्नु ? आँट नै आएन । त्यो गाउँमा पटकपटक कफिनमा शव आइसकेको हुनाले पनि हामीलाई भन्न कठिन भयो ।”
घर चित्त बुझ्थ्यो, तर भन्न सक्तैन थिए । एउटा घर त्यो उनीहरूले कल्पना गरेजस्तै भेटियो । तर, त्यो घरमा त साँच्चै कफिनमा शव आइसकेको रहेछ । “त्यस्तोमा जिस्काउन गएजस्तो हुँदैन थियो र ?,” आरके प्रतिप्रश्न गर्छन् । आफ्नो प्रस्तावले उनीहरूको पीडामा पीडा नथपियोस् भन्नेमा उनी सचेत थिए ।
“जुन खालको कथा हामीले सिनेमामा भन्न खोजिरहेका थियौँ, त्यो गाउँकै स्टोरी थियो । कथाले नै हामीलाई डोर्याउँदै त्यो घरमा त पुर्याएको होइन भन्ने लागिरहेको थियो,” आरके भन्छन्, “सायद संयोग थियो, काम गर्नेक्रममा अनपेक्षित रूपमा भेटिएको । तर पनि हामीसँग केही विकल्प भएन । कि हामीले त्यो गाउँ छोडेर अन्तै जानुपर्यो कि जबरजस्त कन्भिन्स गर्नुपर्यो । त्यसपछि हामीले मुखै फोरेर हामीलाई सुट हुने घरमा प्रस्ताव गर्यौँ, जुन घरका दुईजना छोरा वैदेशिक रोजगारीका लागि विदेशमा थिए ।”
त्यही घरमा उनीहरूले बिसाए कफिन । र, कैद गरे क्यामेरामा । त्यो दृश्य अब विश्वभरले हेर्नेछ, भेनिस फिल्म फेस्टिभलको प्ल्याटफर्मबाट ।