काठमाडौं । फिफा महिला विश्वकपमा समूह ‘जी’ को खेलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
शुक्रबार न्युजिल्यान्डको डुनेडिन रंगशालामा सम्पन्न खेलमा २–० ले पछि परेको अवस्था उल्टाउँदै अर्जेन्टिनाले उत्कृष्ट बराबरी गरेको हो ।
अर्जेन्टिनाले हालसम्म महिला विश्वकपको इतिहासमा जित निकाल्न सकेको छैन । सन् २००२ को संस्करणदेखि विश्वकपमा ‘डेब्यु’ गरेको अर्जेन्टिनाले ११ खेल खेलिसके पनि जितविहीन छ । अर्जेन्टिनाले ११ खेलमध्ये तीन खेलमा बराबरी र आठ खेलमा हारको नतिजा आत्मसात गरेको छ ।
३०औँ मिनेटमा लिन्डा मोट्हालोले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रता दिलाएकी थिइन् । ६६औँ मिनेटमा थेम्बी गाट्लानाले गोल गर्दै दक्षिण अफ्रिकाको अग्रता दोब्बर पारिन् ।
तर, ७४औँ मिनेटमा अर्जेन्टिनाकी सोफिया ब्राउनले गोल गर्दै दक्षिण अफ्रिकाको अग्रतालाई २–१ मा झारेकी थिइन् । त्यसको पाँच मिनेटपछि नै रोमिना नुनेजले गोल गरेपछि अर्जेन्टिना खेलमा फर्किएको थियो ।
बराबरीसँगै अर्जेन्टिनाले नकआउट चरणमा प्रवेश गर्ने सम्भावना कायम राखेको छ । दुई खेलबाट एक अंक जोडेको अर्जेन्टिना समूहको पुछारमा छ । समान खेलबाट एक अंक जोडेको दक्षिण अफ्रिका तालिकाको तेस्रो स्थानमा छ । तालिकाको शीर्ष स्थानमा तीन अंक जोडेको स्वीडेन र समान अंक रहेको इटाली दोस्रो स्थानमा छ ।