site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
गठबन्धन बचाउछौँ, दलको नेता फेर्ने प्रयास जारी राख्छौँ 
Sarbottam CementSarbottam Cement

करिब एकसाता लामो छलफलपछि नेपाली कांग्रेसको केन्द्रीय समितिले केही महत्त्वपूर्ण निर्णय गरेर बैठक समापन गरेको छ । पार्टीको केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रशारण गरेर कांग्रेसले नयाँ कामको सुरुवात गरेको छ । तर निरन्तरता पाउँछ कि पाउँदैन भन्ने प्रश्न पनि केन्द्रीय समितिको बैठकले कायमै राखेको छ ।

बैठकमा दुई तिहाई बढी केन्द्रीय सदस्यले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको खुलेरै आलोचना गरे भने बहुसंख्यक केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको ‘गुणगान’ गाएको प्रत्यक्ष प्रशारणमार्फत् देखियो ।

महाधिवेशनका बेला लोकप्रिय मतका साथ विजयी भएका महामन्त्रीको यतिधेरै आलोचना हुनाका पछाडिको कारण के हो त ? कांग्रेस बैठकले गरेका निर्णयले देश र जनतालाई के फाइदा होलालगायतका प्रश्न हामीले महामन्त्री गगन थापासमक्ष राखेका छौँ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रस्तुत छ, थापासँग बाह्रखरीले गरेको कुराकानीको सम्पादित अंश–

नेपाली कांग्रेसको महाधिवेशनमा लोकप्रिय मतका साथ निर्वाचित महामन्त्रीद्वय भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकमा ‘निरीह’ अवस्थामा देखियो । तपाईँको आफ्नै समीक्षा चाहिँ के हो ?

Global Ime bank

बाहिरबाट झट्ट हेर्दा त्यस्तो देखिए पनि खासमा त्यस्तो होइन । 

केन्द्रीय समितिको बैठक बसाउनेदेखि पार्टीलाई विधानसम्मत तरिकाले चलाउनका लागि कार्यक्रमसहित क्यालेन्डर बनाउने कुरामा हामी दुवै महामन्त्री लागिपरेका थियौँ । यी सबै कुरा बैठकबाट पारित भयो । 

तर पनि मेरो व्यक्तिगत मत रह्यो त्यो आफ्नो ठाउँमा छ । नभए नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बसाल्नका लागि हामीले जे जस्तो काम ग¥यौँ, पारित भएका जुन विषयवस्तु छन् त्यसलाई हेर्दा हामी निरीह भयौँ भन्ने लाग्दैन । तर अपेक्षा त्योभन्दा बढी हुन सक्छ ।

केन्द्रीय सदस्यहरूको धारणा सुन्दा त त्यो महसुस हुन्छ नि !

कांग्रेसमा अहिले पनि आठ लाख ६६ हजार पार्टीका क्रियाशील सदस्य छन् । चार हजार बढी महाधिवेशन प्रतिनिधि छन् । जति फराकिलो तरिकाले र अग्रगामी प्रगतिशील सुधारका कुराहरु हुन्छन् त्यसले नेतृत्त्वलाई रुपान्तरण गर्ने कुरामा ठिक बाटोमा लिएर जान्छ ।

जति साँघुरो ठाउँमा जान्छौँ त्यति कमजोर हुँदै जान्छ । पार्टीको केन्द्रीय समितिभित्र यो भन्दा फरक त धेरै अपेक्षा गरेकै थिइन । 

महाधिवेशन सम्पन्न भयो हामी फरक फरक समूहबाट प्रतिष्पर्धामा भाग लियौँ । पछिल्ला महिनामा हेर्ने हो भने पनि केन्द्रीय सदस्यहरुले आफूलाई आफ्नो स्थानमा राखिसक्नुभएको थियो । त्यसैले केन्द्रीय समितिको बैठकमा यो भन्दा फरक अपेक्षा हामीले गरेनौँ, त्यसैले होला मलाई अनौठो चाहिँ लागेको छैन ।


सिंगो देशले केन्द्रीय समितिको बैठक लाइभ प्रशारण हेर्‍यो, सबै कुरा छर्लङ्ग देखियो पनि तर यो बैठकले देश र जनतालाई दिएको सन्देश चाहिँ के हो ?

पछिल्लो समय पार्टी विधानसम्मत नचलेको, शतप्रतिशत अवरुद्ध भएको, दैनिक गर्नुपर्ने काम पनि नगरेको अवस्थामा थियो । एक हिसाबले भन्दा पाटपूर्जाहरु खिया लागेको अवस्थामा जस्तै थियो ।

कार्यक्रम विहीन अवस्था थियो । बैठकले अब सबै चलायमान अवस्थामा पुर्‍याएको छ । पार्टीका प्रत्येक पाटपूर्जालाई यसले चलायमान बनाउने संकल्प गरेको छ । पार्टी जीवनभित्र उमंग हराएको थियो अर्थात् अस्तव्यस्त भएको थियो त्यो सम्हाल्ने काम भयो ।

तर पनि अहिले सबैभन्दा ठूलो दल र सरकारमा पनि सहभागी भएको दलले सरकारले दिने डेलिभरीका विषयमा पनि हेरिरहेको अवस्था छ । त्यसैले हामीले सरकारलाई नि भन्यौँ– थालेका राम्रा काममा हामी साथ दिन्छौँ । गठबन्धनलाई बलियो बनाउने कुरा गरेका छौँ ।

सरकारले भ्रष्टाचारविरुद्धमा वा सुशासनका सम्बन्धमा गरिरहेका जति पनि कामहरु छन् त्यसमा कांग्रेसले साथ दिने निर्णय भएको छ । सरकारभित्र पनि एउटा पार्टी अलि कम र अर्को पार्टी अलि बढी लागेको छ कि भन्ने आशंकाहरुले पार्टीको निर्णयले यसलाई दुर गर्ने एउटा प्रयास गरेको छ ।

सरकारले गर्न खोजेका काम सराहनीय छन् तर धेरै कुरा गर्न बाँकी छ अपर्याप्त र असन्तुष्टि पनि छ भन्ने कुरा पनि भयो । हाम्रो केन्द्रीय समिति बैठक सकिएपछि गठबन्धनले पनि अब निर्धक्क भएर काम गर्न सक्छ भन्ने सन्देश दिएको छ ।

gaganthapa11690523274.jpg
यहाँहरु त अपेक्षा गरे बमोजिमकै अवस्थामा हुनुहुँदो रहेछ तर कांग्रेसमा महामन्त्रीले चाहेर पनि गलत काम गरेका एकजना नेता अथवा कार्यकर्ता कसैलाइ पनि निलम्वनसमेत गर्न सक्दैन रहेछन्, यो पनि सन्देश त गयो नि हैन र ? 

नेपाली कांग्रेससँग आवद्ध भएको कुनै पनि व्यक्ति जघन्य खालको भ्रष्टाचारमा नाम मुछिएर आउँछ अभियोजन हुन्छ भने के गर्ने भन्ने प्रश्न हामीले उठाएकै हौँ तर निर्णय के भयो भने अहिलेसम्म जस्तो थियो त्यस्तै रहने भयो अर्थात् त्यसैले निरन्तरता पायो ।

म त्यसलाई बदल्न चाहन्थेँ । बदलिनुपर्छ भन्ने ठान्थेँ र अहिले पनि त्यो ठान्छु । तर मैले पार्टीको बहुसंख्यक साथीहरुलाई त्यो कुरामा ‘कन्भिन्स’ गर्न सकिन । त्यसैले पार्टीले गरेको निर्णयमा मेरो फरक मत रह्यो ।

अर्का महामन्त्रीसहित कैयाँै साथीहरुको मत मेरो मत समान हो ।

कसैले बोलेर राख्यौँ कसैले लेखेर फरक त्यतिमात्रै हो । मेरो मत एउटा विषयमा पार्टीको मूल मत बनाउन सकिनँ तर मलाई के विश्वास छ भने केही समयपछि त्यो मत मूल मत बन्छ । 

संसद् विघटनको बेला सम्झनुहोस् न सुरु गर्ने बेलामा सधैँ एक दुई जनाले सुरु गरेका छौं । सुशासन वा राजनीतिक विषय होलान् विस्तारै विस्तारै पार्टीका साथीहरुले त्यसलाई स्वीकार गर्दै आउनुभएको छ ।  के अर्थ नलागोस् भने भ्रष्टाचारी जोगाउने विषयमा पार्टी छैन । 

पार्टीले आफूलाई सुशासनको सन्दर्भमा कुनै कम्प्रमाइज गर्दैन । पार्टी सदस्यहरु निलम्वन गर्ने नगर्ने विषयमा फरक धारणाहरु रहे । अहिले मैले राखेको धारणा केही समयमा पार्टीको मूल धारणा बन्छ भन्ने मलाई विश्वास छ । 


८० प्रतिशत बढी मत महामन्त्रीविरुद्धमा देखियो । केही समय अघि सकिएको संसदीय दलको चुनावमा पनि त्यस्तै परिणाम आयो । तपाईं भने सभापतिको अघि उभिएर दलको नेता परिवर्तन गर्छु गर्छु भन्ने खालको अठोट व्यक्त गर्नुभयो । के आधारमा टेकेर तपाईंले त्यो भन्नुभएको ? 

मैले पहिले पनि भनिसकेको छु । नेपाली कांग्रेस पार्टीको संसदीय दलभित्र सांसदहरु हुनुहुन्छ । दलभित्र सांसदले मात्र मत हाल्नुहुन्छ ।  तर, उहाँलाई जसले सांसद बनायो त्यो मतदाताले मत हाल्न पाउने हो भने संसदीय दलको परिणाम के आउँथ्यो होला, पक्कै पनि फरक आउँथ्यो । 

कांग्रेसभित्र पनि हामी बैठकको माथिल्लो तहमा केन्द्रीय समितिभित्र र केन्द्रीय सदस्य हुन्छौं । त्यो केन्द्रीय सदस्य तलको महाधिवेशन प्रतिनिधिले बनाएको हुन्छ, महाधिवेशन प्रतिनिधि त्यो भन्दा मुनिको प्रतिनिधिले बनाएको हुन्छ । 

जति पर पर तल तल गयो त्यो त्यो ठाउँले मलाई तागत दिइरहेको छ आधार त्यही हो । मलाई अहिले पनि के विश्वास छ भने त्यो सांसद बनाउने जनताको बीचमा जाने हो भने उनीहरुले पनि पार्टीभित्र नेतृत्व बदलिनुपर्छ भन्ने ठान्छ । 

अनि पार्टीभित्र जसले केन्द्रीय समिति वा सभापति वा मलाई महामन्त्री बनायो त्यो पनि बहुसंखयक पार्टी यी मुद्धामा अग्रगामी र बदलिनु पर्छ भन्ने ठान्छ ।  खाली समस्या प्रतिनिधिमूलक संरचना वा संस्था छ त्यहाँ यो मूल आवाज हुन नसकको हो । सधैँभरी कहाँ यस्तो हुन्छ र यस्तो रहँदै रहँदैन ।


तपाईंलाई लाग्छ यो कार्यकालभित्र संसदीय दलको नेता बदल्न सक्छु ? सरकारको नेतृत्व कांग्रेसमा देउवाबाहेक अर्को व्यक्तिले गर्न सक्छ ? 

यसमा हाम्रो एउटा ‘अन्डरस्टान्डिङ’ भइसकेको छ । यसमा धेरै कुरा बोल्न उपयुक्त नहोला, बैठकमै संसदीय दलको नेतृत्व परिवर्तन गर्न मैले प्रयास गर्ने कुरा रोकिदैन । स्वभाविक हो यो कुरा गाह्रो छ तर, असम्भव छैन । 

गाह्रो कर्म भए पनि निरन्तर प्रयास गरिरहनु पर्छ र त्यो प्रयास गरिरहेको कुरा बढी किन भन्ने अहिले यतिनै भनौं प्रयास जारी छ । 

gaganthapa21690523274.jpg
आफैँ बनेर परिवर्तन गर्ने हो कि अरुलाई बनाएर ?

यो विषयमा भर्खर केन्द्रीय समिति बैठकमा यति लामो छलफल गरेर आएर यो स्वाभाविक र कुनै गलत कुरा होइन भन्ने कुरा मैले आफूले राखेर आइसकेपछि त्यही बाटोमा त्यो चलिरहन्छ । त्यसले कतिबेला कुन र कस्तो गति लिन्छ मत र रणनीति के बन्छन् समयसँगै सँगसँगै त्यो कुराहरु बन्ला । 

भ्रष्टाचारमा आरोप लागेका बालकृष्ण खाँण अहिलेसम्म अभियुक्त । तर, प्रमाणित भएका व्यक्तिहरु केन्द्रीय समितिमै छन् । उनीहरुको प्रश्न त जनताबाट उठेको छ नि ? 

मैले कुनै एउटा व्यक्तिको सन्दर्भमा राखेको प्रस्ताव थिएन । मैले राखेको प्रस्ताव नै भोलि वडाको नेतृत्वमा पनि आउन सक्छ माथि पनि । पार्टीले के गर्ने त ? अदालतले अन्तिम फैसला गरेर पार्टीको सदस्य हुन अयोग्य हुने भन्ने ठहर गर्छ त्यो बेला पार्टीको सदस्य नरहने भयो । 

तर जुन दिनसम्म अदालतको अन्तिम फैसला आउँदैन त्यसबेलासम्म पार्टीको सदस्य निलम्वन रहनै पर्छ ।

यो केन्द्रीय समिति बैठक पश्चात् एमाले–कांग्रेस गठबन्धन हुन्छ भन्ने छलफल अन्त्य भएको हो वा त्यो सम्भावना बाँकी छ ? 

पार्टीको औपचारिक आधिकारिक निर्णय भनेको निर्वाचनअघि जुन गठबन्धन थियो र निर्वाचनपछि जुन बन्यो अहिले त्यसलाई सम्हालेर सरकार बनाएका छौँ । यसको विकल्प खोज्नुपर्ने कारण छैन । त्यसैले अहिले गठबन्धन बदल्नुपर्छ भन्ने अवस्था छैन ।

नेपाली कांग्रेसको आधारभूत मूल्य मान्यतासँग सम्झौता गर्ने अवस्था आयो कुनै पनि बेलामा गठबन्धन बिग्रिन्छ कि भनेर सम्झौता गर्नुहुँदैन । अहिलेका लागि यो गठनबन्धन अघि बढ्छ यसलाई सफल बनाउँछौं यसैमा अहिले अडिनुपर्छ । 

तपाईंहरुले पठाएका मन्त्रीहरूको कामकारवाहीबारे पार्टी सन्तुष्ट छ कि छैन ?

हामीले आफ्नो निर्णयमा पनि भनेका छौं उहाँहरुले गरिरहनुभएको प्रयासहरु केही प्रयासहरुलाई सकारात्मक रुपमा लिएका छौं । तर, एकदमै अपर्याप्त छ । यो भन्दा धेरै बढी गर्नुपर्ने छ र गर्न पनि सकिन्छ । 

सरकार पनि भर्खर बनेको छ भर्खर पहिलो बैठक सम्पन्न भएको छ हामीले यसमा यतिनै भन्न चाह्यौँ र म पनि यतिनै भन्छु । तर जति हामीलाई सन्तोष लाग्नुपर्ने हो पर्याप्त लाग्नुपर्ने हो त्यो भएको छैन । गति पनि बढाउनुपर्नेछ मेहनत गर्नुपर्ने छ ।

बैठकमा महामन्त्रीको नै विकल्प खोज्छौँ भन्ने कुरा भयो, त्यसको पछाडिको कारण के होला ?

जो बलियो छ त्यहीँ हान्ने त हो । कमजोरलाई त कसले हान्छ र ? 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC