ब्लग
अनिलचन्द्र श्रेष्ठ
दोलखा । गाईजात्राको भोलिपल्ट सुरु हुने कुमारी जात्राले दोलखामा रौनक थपेको छ । द्वितीयादेखि षष्ठी तिथिसम्म ५ रात रातभरि निकालिने यो जात्राले यसपालि पनि निरन्तरता पाएको छ । भूकम्पले दुइटै कुमारी घरलाई क्षति पु¥याए पनि जेनतेन आफ्नो संस्कृति र परम्परालाई जीवन्त राख्न लागिपरेका छन्
दोलखाली ।
भैरव र कुमारी बन्ने देवगणले भैरव र कुमारीको मैन, सिन्दूर र रत्नजडित गह्रुँगो मुखुण्डो रातभरि टाउकोमाथि राखेर नाच्नुपर्ने तर ती देवगणहरुलाई दैवी शक्तिको कारणले कुनै पनि अप्ठ्यारोको महसुस नहुनुलाई नै यो जात्राको मुख्य विशेषताको रूपमा लिइन्छ । यदि बालबच्चा बिरामी भए कुमारीको पूजाआजा गरेमा छिटै निको हुने विश्वास गरिन्छ ।
जात्रामा भैरव, कुमारी, इन्द्र, नायिका, घोडचढी, माझी, धागो मिलाउने, ध्वजापताका बोक्ने, साहनवाहन गरी १३ जना देवगण सहभागी हुन्छन् । ती देवगण स्थानीय शिवभक्ति थरका हुन्छन् र तिनीहरु बाहेक अरु थरका मानिस देवगणमा सहभागी हुन नहुने मान्यता छ । कुमारीको पुजारीका रूपमा पिंगल टोलका श्रेष्ठ थरका मानिसहरु मात्र हुने गर्छन् ।
प्रत्येक रात करिब ९ बजे सुरु भएर पूरै दोलखा बजार परिक्रमा गरिसकेपछि जात्रा समापन हुँदा बिहानीको प्रथम प्रहर सुरु भइसकेको हुन्छ । यो समयमा दिनमा भन्दा रातमा दोलखा बजारमा रमाइलो र चहलपहल हुने गर्छ । जात्रामा भैरव, कुमारीलगायत अन्य देवगणहरूलाई रत्नजडित विभिन्न आभूषण पहिराई व्रतालुले ल्याएका सगुन दिइसकेपछि जात्रा सुरु हुन्छ ।
यो जात्रा पहिले–पहिले पिंगल टोलको कुमारी घर र हालकै टसिचा टोलमा रहेको कुमारी घरबाट पालो–पालो गरी निकाल्ने गरिन्थ्यो भने केही वर्षअघिदेखि भने टसिचा टोलको कुमारी घरबाट मात्र निकाल्ने गरिँदै आएको छ । जात्राको पहिलो दिन कुमारीको नृत्यलाई भूतले हेर्छ भन्ने मान्यता रहेकाले सो दिन व्रत बस्ने तथा भक्तजनको सहभागिता कम भए पनि दोस्रो दिनदेखि व्रत बस्नेहरूको घुइँचो नै लाग्ने गर्छ । जात्रा हेर्न र कुमारीको दर्शन गर्न रातको परवाह नगरी छिमेकी जिल्लाका भक्तजनको समेत ओइरो लाग्ने गरेको छ । कतिपय दर्शनार्थी तथा भक्तजन जात्राकै पछि–पछि लागेर पूरै रात बिताउने गर्छन् ।
पौराणिक किंवदन्तीअनुसार आचार्य थरका दुई तान्त्रिक दाजुभाईले तामाकोशीको तीरमा दुई युवतीलाई देखेपछि तिनीहरू एउटी त्रिपुरासुन्दरी र अर्की कुमारी हुन् भन्ने कुरा आफ्नो तान्त्रिक ज्ञानबाट थाहा पाए । तसर्थ तिनीहरुलाई दोलखा बजारमा नै बस्ने आग्रहमुताबिक ती दुई युवतीले आफूहरु तामाकोशी नदी देखिने ठाउँमा बस्न मञ्जुर गरे । कुमारी भने अति चञ्चल स्वभावकी भएकीले सधैं रातो पहिरनमा दोलखा बजार घुम्ने गर्थी । यसो गर्दा त्यहाँका केटाकेटी धमाधम मर्न थाले । अचानक आएको यस्तो समस्याबाट मुक्त हुनका लागि दोलखावासीले तन्त्रमन्त्रमा निपुण कान्तिपुरका गुभाजुलाई गुहार मागी दोलखा लगे । तान्त्रिक विद्याको प्रयोगले ती गुभाजुले दोलखा बजारको दक्षिणपूर्वमा अवस्थित सानो जंगलजस्तो ठाउँमा खाल्डो खनी कुमारीलाई फलामे साङ्लाले बाँधे र आफूलाई भने चामलको पिठोको साङ्लाले बाँधे ।
तान्त्रिक मन्त्रोच्चारणले आफू भने साङ्लाबाट छुट्न सफल भए, तर कुमारीलाई भने भुटेको भटमास नउम्रेसम्म, तामाकोशीको ढुंगा आँप नबनेसम्म र भँगेराले एक–एक खुट्टाले पाइला नचालेसम्म त्यही खाल्डोमै बस्ने बाचा गराई समस्याको समाधान गरे । हाल उक्त ठाउँलाई स्थानीयले कोबिदेउ (तल्लो ठाउँको देवता) को नामले पुकार्छन् । सो ठाउँमा स्थानीय शिवभक्ति थरका र तन्त्रमन्त्र भएका व्यक्तिमात्र जाने गर्छन् ।
यो जात्राको सुरुवात कहिलेदेखि भएको हो भन्ने तथ्य प्रमाण नभए पनि कसरी भयो भन्ने सन्दर्भमा एउटा कथन छ । यसअनुसार जब दोलखाका एक घर्ती जातकी बूढी सधैं देवी चढ्थिन्, तब दोलखा बजारका केटाकेटीहरू कुनै न कुनै रोगको निहुँले मर्थे । यो कुरा सहन नसकी बोक्सीको आरोपमा ती बूढीलाई एक स्थानीय बूढाले पिट्न थाले ।
त्यसै समयमा ती बूढीले आफू बोक्सी नभएर कुमारी भएको साथै केटाकेटी मर्नुमा आफ्नो कुनै भूमिका नभएको र गुभाजुले आफूलाई बाचा गराई जमिनमुनि बाँधेर राखेको कुरा बक्न थान् ि। त्यसै समयमा गुभाजुले आफ्नो तान्त्रिक विद्याको शक्तिले कुमारी नै रहेछ भन्ने थाहा पाएपछि क्षमा मागी बर्सेनि गाईजात्राको भोलिपल्टदेखि पूर्णिमाको द्वितियादेखि षष्ठी तिथिसम्म पाँच दिन कुमारीको जात्रा निकाल्ने सर्तमा कुमारीलाई बसमा पारे । सोही समयदेखि नै यो जात्राको सुरुवात भएको हो भन्ने कुरा स्थानीय बूढापाका बताउँछन् ।
कुमारीले कुनै पनि समयमा केही न केही विध्वंश गर्न सक्ने आशंकामा विध्वंश हुनबाट बचाउनका लागि कुमारीको पति भैरवलाई पनि जात्रामा सहभागी गराइने भएकोले यो जात्रालाई भैरवकुमारीको जात्रा पनि भन्ने गरिन्छ । जात्रा प्रदर्शनको समयमा जहिल्यै भैरव अगाडि र कुमारी पछाडि बस्नुपर्ने, प्रत्येक रातको जात्रा अवधिभरि बाजा बजाउन रोक्न नहुने, कसैले सिठ्ठी बजाउन नहुने अन्यथा कुनै अनिष्ट हुनसक्ने किंवदन्ती छ ।
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७३ १२:१७
प्रतिक्रिया दिनुहोस्