site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
किन एमबाप्पेलाई बेच्न खोज्दै छ पीएसजी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरुवा बजारमा पछिल्लो समय काइलियन एमबाप्पेको भविष्य सबैभन्दा चर्चाको विषय बनेको छ । अझ गएको शुक्रबारदेखि यो विषय सबैजसो अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको मुख्य ‘हेडलाइन’ बनिरहेको छ ।

प्रि–सिजन टुरको चार खेलका लागि एसिया भ्रमणमा निस्किएको फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रान्सका कप्तानसमेत रहेका प्रमुख फरवार्ड एमबाप्पेलाई टिममा राख्न आवश्यक सम्झिएनन् । पीएसजीले अर्को वर्ष सम्झौता समाप्त भएपछि स्पेनिस क्लब रियाल मड्रिड जाने एमबाप्पेको मानसिकता बुझेर एसिया भ्रमणमा उसलाई टिममा राख्न चाहेनन् ।

सोमबार पीएसजीले साउदी अरेबियन क्लब अल हिलालबाट एमबाप्पेका लागि कीर्तिमानी ३०० मिलियन युरोको प्रस्ताव पाएको छ । र, क्लबले नयाँ सम्झौताका लागि अल हिलाललाई २४ वर्षीय एमबाप्पेसँग छलफलको अनुमति समेत दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आगामी एक वर्षमा समाप्त हुने सम्झौता नवीकरणका लागि इच्छुक नदेखिएका एमबाप्पेको सरुवा चर्चामा यो पछिल्लो प्रस्ताव हो ।

प्रि–सिजन टुरका लागि पीएसजीले एमबाप्पेलाई किन  टिममा राखेन ?
प्रि–सिजन टुरका लागि पीएसजी प्रमुख फरवार्डबिना नै एसिया भ्रमणमा निस्किएको छ । यस्तो कार्यको जवाफमा पीएसजीले एमबाप्पेलाई टिमको आगामी योजनामा नरहेको बताएको छ । एमबाप्पे अहिलेको सरुवा बजारमा बिक्रीमा छन् । यसैकारण शनिबार जापान र दक्षिण कोरियाका क्लबसँग हुने चार खेलका लागि एसिया आएको पीएसजीले एमबाप्पेलाई टिममा नराखेको हो ।

Global Ime bank

एमबाप्पे पछिल्लो केही वर्षयता नै सरुवा बजारमा चर्चाका विषय बन्दै आएका छन् । रियाल मड्रिडको चासो र एमबाप्पेकै आंकाक्षाका कारण २०२२ मा पनि उनी सरुवा बजारको चर्को चर्चाका विषय बनेका थिए । तर, अहिले भने एमबाप्पेको यो चर्चा केही उत्सर्गमा पुगेको छ । किनभने एमबाप्पे कसैगरी पनि पीएसजीसँग सम्झौता नवीकरण नगर्नेमा दृण देखिन्छन् ।

यसैकारण आगामी वर्ष फुकुवा भएपछि एमबाप्पेले क्लब छोड्ने अनुमान निश्चित गरेको पीएसजीले फ्रान्सको कप्तान तथा वर्तमान समयकै सबैभन्दा उत्कृष्ट खेलाडीलाई नैतिक दबाब दिन (लियोनल मेसीबाट माफीको आशा) टिमबाट बाहिर राखेको हो । सम्झौता समाप्त भएपछि उनले ‘फ्रि ट्रान्सफर’ मा सम्भवतः रियाल मड्रिडसँग सम्झौता गर्नेछन् । तर, पीएसजी कुनै पनि हालतमा आफ्नो क्लबमा रहेका विश्वकै उत्कृष्ट खेलाडीलाई ‘फ्रि ट्रान्सफर (शून्य प्रतिफल)’मा छोड्न चाहदैन ।

गत वर्षको समरमा एमबाप्पेले पीएसजीसँगको सम्झौता दुई वर्षका लागि नवीकरण गरेका थिए । र, अब एमबाप्पेको चाहनामा मात्र उक्त सम्झौता नवीकरण हुन सक्छ । जसका लागि जुलाई ३१ सम्मको ‘डेडलाइन’ छ ।

गत महिना एमबाप्पेले पीएसजीलाई सम्झौता नवीकरण नगर्ने स्पष्ट पारेका थिए । तर, उनले सार्वजनिक रुपमा भने आफू सम्झौता समाप्त नहुँदासम्म पीएसजीमै बस्न चाहेको प्रतिक्रिया दिएका थिए । एमबाप्पेले सम्झौता नवीकरण नगर्नु र सिजनको अन्त्यसम्म बसेर ‘फ्रि एजेन्ट’ बन्नु दुवै अवस्थाले पीएसजीका लागि ठूलो घाटा पुर्‍याउने छ ।

एमबाप्पेको यस्तो प्रतिक्रियाले तातेको पीएसजीको हेडक्वार्टरले तीन पेज लामो चिठी लेख्यो । जसमा एमबाप्पेलाई सम्झौता नवीकरण गर्न वा सरुवाका लागि तयार रहन निर्देशनात्मक सन्देश थियो । यसका लागि क्लबले जुलाई ३१ सम्मको डेडलाइन तोक्यो ।

शनिबार एमबाप्पेबिना नै एसियाका लागि उडेको पीएसजीले भविष्यको निश्चितताबिना फ्रान्सका कप्तानलाई टिममा राखेर ‘प्यारालासिस’को अवस्थामा जान नसक्ने प्रष्ट्याएको छ । क्लबले भविष्यको निर्धारण नहुँदासम्म एमबाप्पेलाई टिमको योजनामा नराख्ने बताइसकेको छ ।

पीएसजीले जुलाई १५ देखि नै यसबारे स्पष्ट जवाफ माग गरे पनि प्रशिक्षणका लागि फर्किएदेखि हालसम्म एमबाप्पेसँग कुनै वार्ता नभएको जनाएको छ । जवाफ नआएकै कारण पीएसजी एमबाप्पेलाई नैतिक दबाब दिन बिक्रीमा राख्दै एसिया भ्रमणमा निस्कियो ।

के यो एमबाप्पेलाई टिमबाट निकाल्ने खेल हो ?
पक्कै पनि यो एक खेल हो । यो सम्झौता समाप्त भइसकेपछि एमबाप्पेले क्लबलाई छोडेर जाने परिस्थिति टार्नका लागि पीएसजीले खेलेको खेल हो ।

माथि बताइएजस्तै, पीएसजीले एमबाप्पेलाई दुई विकल्प दिएको छ । सम्झौता नवीकरण गर्ने वा क्लब छोडेर जाने । क्लब छोडेर जाने विकल्प दिएको पीएसजीले ‘फ्रि ट्रान्सफर’ को विकल्प भने राखेको छैन ।

किन ? किनकी एमबाप्पेलाई आगामी सिजन शून्य प्रतिफलमा छोड्नु पीएसजीका लागि निकै ठूलो घाटा हुनेछ । एमबाप्पेको सम्झौता विश्वकै सबैभन्दा महंगोमध्येको एक हो, यसका कारण यो आफैँमा ठूलो आर्थिक स्वरुप बनेको छ । ‘फ्रि एजेन्ट’ को रूपमा एमबाप्पेको बहिर्गमन हुँदा पीएसजीले विश्व स्तरीय खेलाडीबाट पाउँने ठूलो शुल्क गुमाउनु पर्नेछ ।

यसले पीएसजीलाई खेलको आर्थिक पारदर्शिता नियममा ठूलो प्रभाव पार्नेछ । पीएसजीले दाबी गरेअनुसार यस्तो अवस्थामा क्लबले आर्थिक स्थितिलाई नियन्त्रणमा ल्याउन अन्य खेलाडीहरू र स्टाफहरूसमेत परिवर्तन गर्नुपर्ने हुन्छ ।

पीएसजी क्लबभन्दा कुनै खेलाडी माथि नहुने कुरालाई लागु गर्न पनि अभ्यास गरिरहेको छ । क्लबको नयाँ युगका लागि पीएसजीले लामो रुपरेखा बनाएको छ । जहाँ खेलाडी क्लबभन्दा माथि हुने छैनन् । क्लबको अनुमतिबिना साउदी भ्रमणमा गएका मेसीलाई गत सिजन प्रशिक्षणमा निश्चित समयका लागि प्रतिबन्ध गर्नु यसको उदाहरण हो । एमबाप्पेलाई दिएको दुई विकल्पको अडान पनि यही अभ्यासको निरन्तरता हो ।

नयाँ सिजनका लागि लुईस एनरिकेलाई मुख्य प्रशिक्षकको रूपमा सार्वजनिक गर्दा पीएसजीका अध्यक्ष नासेर अल–खेलाइफीले क्लबभन्दा माथि रहेको सोच राख्ने खेलाडी क्लब छोडेर जानसक्ने बताएका थिए ।

“यदि कसैले आफूले क्लबमा बसेर सहयोग गरेको सोच्छ वा आफूलाई क्लबभन्दा माथि राख्छ भने उनीहरू क्लब छोडेर जान सक्छन्,” त्यसबेला खेलाइफीको प्रतिक्रिया यस्तो थियो ।

यसमा बलियो को ?
पीएसजीले एमबाप्पेलाई आफ्नो जापान र दक्षिण कोरिया भ्रमणबाट हटाउन चालेको अभूतपूर्व कदमको तथ्यले शक्ति कहाँ छ भन्ने कुरामा जोड दिन्छ । यसको ‘कार्ड’ एमबाप्पेसँग छ । उनको सम्झौता आगामी सिजनको अन्त्यसम्म चल्नेछ । र, पीएसजीले एमबाप्पेलाई नै सम्झौता नवीकरण गर्ने वा क्लब छोडेर जाने भन्नेबारे निर्णय अधिकार दिएको छ । तर, पीएसजी एमबाप्पेको बहिर्गमनलाई पूर्वनिर्धारित भन्दा केही फरक बनाउन चाहन्छ ।

यदि पीएसजीबाट एमबाप्पेको अन्तिम सिजन बेन्चमा नै सीमित भएर समाप्त हुन्छ भने त्यसले मैदानमा रहेको उनको ‘लिगेसी’ ठूलो असर पुर्‍याउने छ । र, ‘फ्रि ट्रान्सफर’ मा अन्यत्र जाँदा पीएसजीले दाबी गरेजस्तै क्लबलाई आर्थिक रूपमा ठूलो नोक्सान हुनेछ । यसले उनीहरूको भविष्यमा सफल हुने क्षमतालाई पनि प्रभावित बनाउनेछ ।

एमबाप्पेलाई कस्तो जोखिम छ ?
पक्कै पनि एमबाप्पेमाथि पनि केही जोखिम छ । त्यसमध्ये एक एमबाप्पेबाट पीएसजीका समर्थक अलग हुनेछन् । क्लबमा उनकोे गर्विलो ‘लिगेसी’ पनि धुमिल बन्नेछ । पीएसजीका समर्थकहरू क्लबको नयाँ प्रस्ताव कुल्चिएर हिँड्नेलाई पनि माफ गर्ने जत्तिको दयालु नबन्न सक्छन् ।

अर्को चुनौती भनेको आगामी सिजन क्लबले एमबाप्पेको खेल समय सीमित बनाउन सक्छ । एमबाप्पेका लागि ‘लिगेसी’ ले महत्व राख्छ । जे भए पनि पीएसजी उनको घरेलु क्लब हो ।

नयाँ चुनौतीमा विजयी पाउने र कीर्तिमान बनाउने चाहनालाई एमबाप्पेले लुकाएर राखेका छैनन् । उनको यो चाहनामा पीएसजी पनि समावेश भएको छ । उनी गत सिजन २१२ गोलसहित क्लबको उच्च गोलकर्ता समेत बनेका थिए ।

कम समय खेल्न पाउनुले उनको नयाँ कीर्तिमान बनाउन सक्ने सक्षमतालाई प्रभावित बनाउन सक्छ । र, आगामी वर्ष हुने युरोपियन च्याम्पियनसिपका लागि राम्रो तयारी नबन्न सक्छ (फ्रान्स चार खेलमध्ये चारमै जित निकालेर च्याम्पियनसिपको छनोटमा बलियो अवस्थामा छ) । तर पनि एमबाप्पेका लागि यो कुरा कत्ति महत्वपूर्ण छ भन्ने नितान्त उनको व्यक्तिगत मामिला हो । उनको सम्झौताको भविष्य र यसले लिने आगामी बाटो सबै एमबाप्पेकै हातमा छ ।

किन रिसायो पीएसजी ?
एमबाप्पेको सम्झौता र पीएसजीबीच परिस्थितिले ‘डेजा भु’ (पहिलो पटक भएको भए पनि पहिले नै भइसकेको जस्तो अनुभव)को अनुभव हुन सक्छ । र, यसमा केही त्यस्तो अनुभव छ पनि । पछिल्ला तीन समरहरूमा, एमबाप्पेको भविष्य, र उनी रियाल मड्रिडमा जाने चर्चाको भूत फ्रान्सको राजधानीमा ठूलो छ । तर, यसपटक भने वस्तुगत रूपमै परिस्थिति बेग्लै छ ।

एकातर्फ पीएसजी क्लबको ‘नयाँ युग’मा चढ्ने प्रयास गर्दै छ । र, अहिलेको यो स्थितिले उनीहरूको यो लक्ष्यलाई अवरोध पु¥याउँछ । अर्कोतिर दुई पक्षबीचको सम्बन्धमा दरार आएको छ । एमबाप्पेले ‘फ्रि ट्रान्सफर’ मा क्लब नछोड्ने बचन दिए पनि अहिले परिस्थिति बेग्लै बनेको कारण पीएसजी रिसाएको छ । पीएसजीसँग क्लबले एक खेलाडीको रूपमा एमबाप्पेलाई सात वर्ष सहयोग गरेको भावना छ । र, अहिले कुनै शुल्कबिना नै बहिर्गमनको दिशामा जाँदा क्लबका लागि एमबाप्पेले धोका दिएको बराबर बनेको छ ।

तर, एक वर्ष अघिको सम्झौतामा पीएसजीले भविष्यको निर्णयका लागि एमबाप्पेलाई नै अधिकार दिनु यसको प्रतिजवाफ हुन सक्छ ।

रियाल मड्रिडको चासो वास्तविक हो ?
मड्रिडले विगतका गल्तीबाट सिकेको छ । एक रिर्पोटका अनुसार एमबाप्पे र मड्रिडबीच १३० मिलियन युरो सम्झौता बापतको बोनस, प्रतिसिजन पारिश्रमिक २६ मिलियन र शतप्रतिशत ‘इमेज राइट्स’सहितको सहमति बनिसकेको थियो ।

यसैकारण एमबाप्पेको सरुवा चर्चामा रियाल मड्रिड जोडिने गर्दछ । अहिले आधिकारिक रूपमा एमबाप्पेप्रति बर्नबेउको कुनै चासो छैन । तर, वास्तविकता भने यो भन्दा केही फरक छ ।

यसै हप्ताको सुरुआतमा मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई एमबाप्पेको बारेमा सोधिएको थियो ।

“मैले रियाल मड्रिडमा नभएका खेलाडीको बारेमा अहिलेसम्म कुनै कुरा गरेको छैन । म अहिलेको हाम्रो नयाँ सम्झौता जुड बेलिङ्घम, एर्डा गुएर, फ्रान गार्सिया, ब्राहिम डियाजको बारेमा बोल्न सक्छु । यहाँ नभएका खेलाडीको बारेमा बोल्नु मेरो लागि सही होइन,” एन्सेलोट्टीले भने ।

तर, दी एथलेटिकले जनवरीमा मड्रिडले एमबाप्पेसँगको सम्पर्क कहिल्यै पनि बन्द नगरेको खुलाएको थियो । यदि एमबाप्पे सरुवा बजारमा उपलब्ध रहे प्रस्ताव गर्ने मड्रिडको योजना थियो र अझै पनि छ ।

यद्यपि, मड्रिडमा केही दोधारको परिस्थिति छ । उनीहरू विगतमा के भएको थियो भन्ने अनुभवका कारण एमबाप्पेलाई पूर्णरूपमा विश्वास गर्दैनन् । न त पछिल्लो समय मड्रिडको प्रमुख संस्थागत प्रतिस्पर्धी बनेको पीएसजीप्रति नै गर्छन् । मड्रिड एमबाप्पेले पीएसजीसँगको सम्झौता नवीकरण गर्नसक्ने कुरा असम्भव ठान्दैन । किनकी लुईस एनरिकेको प्रशिक्षणमा पीएसजीमै रहेका आफ्नो भाइ १६ वर्षीय इथानको उज्वल भविष्य एमबाप्पेको सरुवामा कारण बन्नसक्ने मड्रिडको ठम्याइ छ ।

पीएसजी र एमबाप्पेबीचको सम्बन्ध बिग्रने कुरामा मड्रिड सँधै विश्वस्त थियो । पीएसजीले एमबाप्पेलाई आवश्यकभन्दा धेरै अधिकार दिएको मड्रिडको बुझाइ छ । यसैकारण मड्रिडका एक अधिकारीले ‘एकदिन यहाँ खेल्नका लागि, एमबाप्पेले फेरि एकपटक फुटबल खेलाडी बन्नपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

के एमबाप्पेले अन्य कतै सम्झौता गर्नेछन् ?
यस समरमा एमबाप्पेका लागि महत्वपूर्ण आर्थिक प्रस्ताव लिएर आउने जो कोही पनि चाँडै सान्दर्भिक बन्न सक्छन् । तर, उनीहरूले एमबाप्पेलाई युरोपेली फुटबलमा सबैभन्दा धेरै कमाउने खेलाडी बनाउनुपर्छ, जुन उनी अहिले नै पीएसजीमा छन् । र, एमबाप्पेलाई आगामी सिजन ‘फ्रि एजेन्ट’का रूपमा भित्र्याउने भएपनि सम्झौतावापतको बोनसले मुख्य भूमिका खेल्न सक्छ ।

एमबाप्पेसँगको सम्झौताका लागि विगतमा लिभरपुल जोडिएको भए पनि उनीहरूले आवश्यक प्याकेजमा किन्न सक्नेबारे कुनै संकेत आएको छैन । यस समरमा साउदी प्रो लिग खेलाडीहरूलाई आकर्षण गर्नका लागि जस्तोसुकै रकम खर्च गर्न तयार छ । र, अहिले पीएसजीले पनि एमबाप्पेका लागि साउदी अरेबियाको क्लब अल हिलालबाट ३०० मिलियन युरोको आधिकारिक प्रस्ताव पाएको छ । रियाद आधारित यो क्लबले यसै समरमा प्रिमियर लिगबाट रुबेन नेभेस र कालिडोउ कौलीबालीलाई र इटालीटबा लाजियोका सर्जे मिलिन्कोभिच–साभिचलाई अनुबन्ध गरिसकेको छ । यसका लागि अल–हिलालले एमाबाप्पेसँग छलफलको अनुमति पनि पाएको छ ।

एमबाप्पेका लागि साउदी अधिकारीहरू ठूलो शुल्कसहित ‘लोन’मा लैजाने वा एक वर्षको सम्झौता गर्ने विकल्पमा पनि छलफल गरिरहेका छन् । जसले पीएसजीलाई पनि केही आर्थिक सहयोग पुग्नेछ र एक वर्षपछि एमबाप्पेलाई ‘फ्रि ट्रान्सफर’ मा रियाल मड्रिड जाने अवसर पनि दिनेछ । तर, यसका लागि २४ वर्षीय एमबाप्पेले युरोपेली फुटबल छोड्न चाहने कुनै सम्भावना देखिएका छैनन् ।

अबको सम्भावना के छ ?
अहिलेका लागि जुलाई ३१ यो दोधार समाधानको मुख्य मिति हो । ठ्याकै अबको एक हप्ता । त्यसबेला एमबाप्पेसँग एक वर्षअघि भएको सम्झौताअनुसारको नवीकरण गर्ने मिति समाप्त हुन्छ । यदि त्यसबेलासम्म कुनै निर्णय हुन नसकेको खण्डमा एमबाप्पेले आगामी सिजनपछि मात्र ‘फ्रि ट्रान्सफर’को रूपमा पीएसजी छोड्नेछन् ।

वर्तमान परिस्थितिमा एमबाप्पेका लागि दबाब थप्न क्लबसँग सीमित विकल्प छ । यसमध्ये प्रमुख एमबाप्पेमाथि क्लब छोड्नका लागि नैतिक दबाब बढाउनु हो । एमबाप्पेलाई एसिया भ्रमणमा नलैजानु यसैको एक स्वरुप हो ।

जुलाई ३१ को ‘डेडलाइन’ सम्ममा कुनै निर्णय नभए एमबाप्पे आगामी एक वर्षसम्म पीएसजीकै खेलाडी बन्नेछन् । त्यसबेलासम्म एमबाप्पे र उनको टिमले कस्तो निर्णय गर्नेछन्, त्यो हेर्न रोचक हुनेछ । वर्तमान अवस्थामा उनले केही नगर्नु वा नबोल्नुले पनि ठूलो प्रभाव पार्न सक्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement