site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

संसद्का बैठकहरू अवरुद्ध भइरहेका छन् । बिहीवारको बैठकमा त सांसदहरूबीच धकेलाधकेलसम्म भयो । विपक्षले गृहमन्त्रीलाई सदनमा बोल्न नदिन बेल घेरेकै बेला  नेकपा ९एमाले०का अध्यक्षलगायत सांसदहरू प्रतिकारमा उत्रिएपछि प्रतिनिधि सभामा ‘रणभूमि’ बन्न पुगेको थियो ।

सहकारी ठगीका सम्बन्धमा छानबिन गर्न संसदीय समिति गठन गर्ने विषयमा विपक्षले आफ्नो अडान र धारणा स्पष्टरूपमा राखेको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलगायत सबै विपक्षी दलहरू संसदीय छानबिन समितिको मागमा एकमत देखिएका छन् ।

सत्ता पक्षले भने अहिलेसम्म आफ्नो धारणा स्पष्टसँग राखेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले  स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् भने सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओली संसदीय छानबिनविरुद्ध देखिएका छन् ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सहकारी ठगीका मामिलामा मुछिएका रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछाने पहिले संसद्‌मा बोल्न पाए छानबिन समिति गठन गर्न सहमत भएको प्रचार गरिएको थियो । बिहीवार संसद्‌मा बोल्न नपाएपछि भने रास्वपाका नेताहरूले समिति गठन हुनसक्तैन भन्न थालेका छन् ।  

प्रधानमन्त्री दाहाल भने नेपाली कांग्रेसका नेताहरूसँग लगातार वार्तामा छन् । तर, प्रधानमन्त्री दाहाल संसदीय छानबिन समिति बनाउन ‘सकारात्मक’ रहेको जानकारी कांग्रेसका नेताहरूले मात्र दिएका छन् । लाग्छ, नेपाली कांग्रेसका नेताहरू नै प्रधानमन्त्री दाहालका प्रवक्ता हुन्  ।

राष्ट्रपतिको सम्बोधनका लागि पनि यसरी नै वार्ता भएको थियो भने प्रधानमन्त्री समिति गठन गर्न  ‘सकारात्मक’ भएको जानकारी कांग्रेसका नेताहरूले नै दिएका थिए । प्रधानमन्त्री दाहाल साँच्चै नै सहकारी ठगीमा संसदीय छानबिन समिति बनाउन तयार भए त उनैले यसको घोषणा गर्नुपर्ने हो । 

नेपाली कांग्रेस छानबिन समितिको कार्यादेशमा सहकारी ठगीमा गृहमन्त्री लामिछानेको नाम वा सम्बन्धित सहकारीहरूको नाम उल्लेख होस् भन्ने चाहन्छ । रास्वपाका नेता नाम किटान गर्न नहुने अडानमा छ । एमाले सम्भवतः सहकारी ठगीमा छानबिनै नहोस् भन्ने चाहन्छ ।

प्रधानमन्त्री दाहालको भने धारणा स्पष्ट हुनसकेको देखिँदैन । लाग्छ, उनी कांग्रेससँग छानबिन समितिका पक्षमा सकारात्मक बन्छन् भने सत्तारुढ गठबन्धनमा एमाले अध्यक्षको ‘लाचार छाया’ बन्न विवश हुन्छन् । उनको दोधारे प्रवृत्तिले समस्या झन् बल्झाएको मात्र छ । 

संसद् सञ्चालनको वातावरण बनाउने मुख्य दायित्व भने मूलतः प्रधानमन्त्रीकै हो । यसैले अरू राजनीतिक दलहरूको बीचमा खेलेर तनाव बढाउँदा प्रधानमन्त्रीकै लागि बढी प्रत्युत्पादक हुनसक्छ भन्ने उनले हेक्का राख्नुपर्ने देखिन्छ । जालझेल धेरै समय जो टिक्दैन ।

यसरी नै अलमल्याइयो भने जनस्तरबाट सहकारी ठगीमा छानबिनका लागि अधिकारसम्पन्न ‘न्यायिक छानबिन आयोग’ गठनको माग उठ्न सक्छ । यसै पनि जनमानसमा संसदीय छानबिन समिति प्रभावकारी नहुने छाप परेको छ । 

यसैले प्रधानमन्त्री दाहालले यथाशीघ्र स्पष्ट शब्दमा आफ्नो अडान सार्वजनिक गर्नुपर्छ । उनी सहकारी ठगीको निष्पक्ष छानबिन होस् भन्ने चाहन्छन् कि गृहमन्त्री लामिछानेलाई छानबिनबाट जोगाउन पक्षमा छन् भन्ने विषयमा विपक्षको मात्र होइन जनसाधारणको पनि भ्रम निवारण गरून् !

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १३:०९
प्रतिक्रिया दिनुहोस्