काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक डाकेका छन् । गएको ६ दिनसम्म चलेको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय तयार पार्नका लागि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।
देउवानिवास धुम्बाराहीमा मंगलबार अपराह्न ४ बजे पदाधिकारीको बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
जारी केन्द्रीय समिति बैठकमा नेता बलबहादुर केसीले सभापतिले पार्टी घरबाटै चलाएको बताएका थिए । महामन्त्रीहरू पनि पार्टी चलाइदिन सभापतिकै निवासमा जाने गरेको भन्दै उनले प्रश्न उठाएका थिए ।
सोमबार महामन्त्री विश्वप्रकाश शर्माले सभापतिसँग आफूसहित अर्का महामन्त्री गगन थापा पनि शुक्रबार एक दिन कार्यालय जाने कि भनेर प्रस्ताव गरेका थिए । शर्माको भनाइ नटुंगिदै देउवाले शुक्रबारबाहेक अरू दिन पनि कार्यालय आउने बताएका थिए ।
देउवाको भनाइपछि शर्माले केन्द्रीय सदस्यतर्फ हेर्द ‘सभापतिज्यूले नै यति भनिसकेपछि अब सभापतिलाई हप्ताको एक दिन कार्यालयमा भेटिने विषयमा शंका गर्नु नपर्ने’ बताएका थिए । त्यसबाट एक ‘स्टेप’ अघि बढेर देउवाले बैठक गर्ने समयमा जुनसुकै दिन आफू कार्यालय आउने बताए ।
त्यसपछि शर्माले बैठक नभएका दिन पनि कम्तीमा एक दिन कार्यालय आएर कार्यकर्तालाई कार्यालयमै भेट्ने प्रस्ताव गरेको बताएका थिए । लगत्तै देउवाले आफूले कार्यकर्तालाई जहाँ भेट्दा पनि हुने बताएका थिए । त्यसरी केन्द्रीय समितिमा प्रश्न उठाइए पनि देउवाले पदाधिकारी बैठक निवासमै डाकेका हुन् ।
आज तयार पारिने निर्णयका आधारमा सभापति देउवाले बुधबार बस्ने केन्द्रीय समिति बैठकमा आफूमाथि उठाइएका प्रश्नको जवाफसहित सम्बोधन गर्नेछन् । केन्द्रीय समिति बैठक हिजोपछि बुधबार अपराह्न ४ बजे बस्ने गरी तय गरिएको छ ।