site stats
बाह्रखरी :: Baahrakhari
खेल
फिफा महिला विश्वकप : स्विडेन र नेदरल्यान्ड्सको सुखद सुरुआत

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध पुनरागमन जित निकाल्दै फिफा महिला विश्वकपमा स्विडेनले सुखद सुरुआत गरेको छ ।

आइतबार अस्ट्रेलियाको वेलिङ्टन क्षेत्रीय रंगशालामा सम्पन्न खेलमा १–० ले पछि परेको अवस्था उल्टाउँदै स्वीडेनले जित निकालेको हो । खेलको ४८औँ मिनेटमा हिलदाह मागाइयाले गोल गर्दै दक्षिण अफ्रिकालाई अग्रतामा राखेका थिए ।

तर, ६५औँ मिनेटमा फ्रिडोलिना रोल्फाले गोल गर्दै स्विडेनलाई खेलमा फर्काएका थिए । यस्तै, निर्धारित समयको अन्तिम मिनेटमा आन्डा इलेस्टेटले निर्णायक गोल गरेपछि स्विडेनले महत्त्वपूर्ण तीन अंक सुरक्षित गर्‍यो ।

जितसँगै तीन अंक जोडेको स्विडेन समूह ‘जी’को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार बेहोरेको दक्षिण अफ्रिका तालिकाको पुछारमा छ ।

आइतबार नै भएको समूह ‘ई’ को खेलमा नेदरल्यान्ड्सले पोर्चुगलविरुद्ध १–० को साँघुरो जित निकालेको छ । नेदरल्यान्ड्सको जितमा १३औँ मिनेटमा स्टेफानी भान डेर ग्राटले गरेको गोल निर्णायक बन्यो ।

जितसँगै तीन अंक जोडेको नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए पनि अमेरिका तालिकको शीर्ष स्थानमा छ । पहिलो खेलमै हार बेहोरेको पोर्चुगल तालिकाको तेस्रो स्थानमा छ ।

यस्तै, समूह ‘एफ’को खेलमा फ्रान्स र जमैकाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  २२:३४
प्रतिक्रिया दिनुहोस्